फरार अभियुक्त पक्राउ गर्दै २३ लाख १५ हजार ८५३ रुपैयाँ रकम सङ्कलन

फरार अभियुक्त पक्राउ गर्दै २३ लाख १५ हजार ८५३ रुपैयाँ रकम सङ्कलन

लोकसंवाद संवाददाता  |  अपराध  |  आश्विन १२, २०७७

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका व्यक्तिहरुलाई धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, कोर्ट फी र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेको व्यक्तिलाई खोजीखोजी पक्राउ गरेको हो ।

प्रहरीले असार दोस्रो सातादेखि फरार व्यक्तिको खोजीलाई तीव्र गति दिँदै आएपछि करीब तीन महिनाको अवधिमा फरार व्यक्ति पक्राउ परेका हुन् । प्रहरीका असारमा नौ, साउनमा ४५, भदौमा ५४, असोज महिनाको १० दिनको अवधिमा २६ गरी १३४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । उहाँका अनुसार जरिवाना भुक्तान हुन बाँकी रहेका व्यक्तिबाट हालसम्म २३ लाख १५ हजार ८५३ रुपैयाँ रकम सङ्कलन भएको छ । 

प्रहरीले ठगी, चोरी, बहुविवाह, सवारी ज्यान, कर्तव्य ज्यान लागुऔषध, बैंकिङ कसुर, कीर्ते, सार्वजनिक अपराधलगायतका मुद्दामा फरार रहेका व्यक्तिहरु पक्राउ परेका छन् ।  जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फी र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेका २५ जनालाई प्रहरीले पक्राउ गरेको हो । बहुविवाह मुद्दामा तनहुँ जिल्ला अदालतको २०७३ चैत १७ गतेको फैसलाले एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुने गरी सजाय सुनाएको थियो । अपराध गर्नेहरु निस्फिक्री हिँड्दा अपराध गरेपनि केही हुँदैन भन्ने भावनाको विकास हुने हुँदा त्यसलाई अन्त्य गर्न अभियानकै रुपमा टोली परिचालन गरिएको तनहुँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो ।