तारागाउँ रिजेन्सीमा 'नक्कली कारोबार'

तारागाउँ रिजेन्सीमा 'नक्कली कारोबार'

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १७, २०७५

काठमाडौँ । सरकारी लगानी रहेको पब्लिक कम्पनी तारागाउँ रिजेन्सी होटल्स लिमिटेडमा ‘नक्कली कारोबार’ हुने गरेको भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानमा अस्वाभाविक देखिएका केही कारोबारमा सहायक कम्पनीहरूले नक्कली भ्याट बिल प्रयोग गरेको भेटिएको हो । तीमध्ये केही कम्पनीको कारोबारबारे राजस्व अनुसन्धान विभागले छानबिन गरिरहेको छ । 

‘पछिल्लो समय हरेक वर्ष ५ करोडभन्दा बढीका दरले होटलको मर्मत खर्च देखाइएको छ। मर्मतका नाममा भुक्तानी भएका केही कम्पनी हेर्दा आर्थिक कारोबार भएको भेटियो तर सामानको आपूर्तिबिना भ्याट बिल जारी भएको आशंका छ,’ अख्तियार स्रोतले कान्तिपुरसित भन्यो, ‘पछिल्लो समय नक्कली भ्याट बिल जारी गर्ने कम्पनीहरूले कर तिर्नुका साथै झुक्याउन यथार्थ बैंकिङ कारोबारसमेत गरेको भेटिएको थियो, तर सामानको आपूर्ति हुँदैनथ्यो। तारागाउँ रिजेन्सी होटल्स लिमिटेडमा समेत त्यस्तै भेटिएको छ।’ झन्डै ४० प्रतिशतको सरकारी सेयर रहेको उक्त कम्पनीमा निजी सञ्चालकहरूको चलखेलका कारण सरकारी सेयर १० प्रतिशतमा सीमित भएको छ। आजको कान्तिपुर दैनिकमा खबर छ ।