नगरपालिकाका नौ वटै वडामा एकएक  प्राविधिक

नगरपालिकाका नौ वटै वडामा एकएक  प्राविधिक

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन १३, २०७७

कैलाली । कैलालीको भजनी नगरपालिकाले एक वडा एक प्राविधिक हुने गरी काममा खटाएको छ । वडास्तरबाट हुने विकास आयोजनालाई समयमै लागत अनुमान दिन र काम शुरु गर्न समस्या भइरहेकाले नगरपालिकाका नौ वटै वडामा एकएक  प्राविधिक खटाइएको हो । 

कुनै पनि योजना बन्दा सम्बन्धित वडाबाटै स्थलगत अनुगमन गरी लागत अनुमान बनाउन सकिने तथा योजना सम्पन्न हुँदा पनि त्यहीँका प्राविधिकले स्थलगत अनुगमन गर्ने, कामको मूल्याङ्कन समयमै हुनेजस्ता योजनाका कामका लागि नगरपालिकाबाट प्राविधिकको टोलीले सबै काम गर्न सम्भव नभएपछि वडामै प्राविधिक रहने व्यवस्था गरिएको नगर उपप्रमुख छाया देवकोटाले जानकारी दिनुभयो  ।

‘वडामै प्राविधिक राखियो भने उपभोक्ता समितिले नबुझेका सबै कुराहरुलाई राम्रोसँग बुझेर निर्माणको काम गर्न सहज हुनाका साथै योजना निर्माणमा प्राविधिकको निगरानी, परामर्श हुने भएका कारण वडास्तरमै प्राविधिक राखेका हौंँ ’, नगर उपप्रमुख देवकोटाले भन्नुभयो, ‘गुणस्तरीय काम र स्टिमेट निर्माण गर्दा भौगोलिक अवस्था र विपत्को अवस्था हेरी प्रत्यक्ष निगरानी गर्न सकिनेछ । समयमा उपभोक्ता समिति गठन, काम सम्पन्न हुनेछ ।’

यसअघि प्रत्येक वडाका योजनाको लागत अनुमान र अनुगमन नगरपालिकाबाटै गर्दा उपभोक्ता समितिलाई समयमै योजनाको लागत अनुमान दिन र काम शुरु गर्न समस्या भइरहेकाले नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिराम चौधरीले स्थानीयवासीको सुविधाका लागि वडामै प्राविधिक राख्ने निर्णय गरिएको जानकारी दिनुभयो ।  

‘जनताको सेवा घरदैलोमा पुर्‍याउने उद्देश्यले नगरपालिकाले प्रत्येक वडामा कामको विभाजन गरी प्राविधिक खटाइएको छ’,  चौधरीले भन्नुभयो, ‘कुनै पनि योजना निर्माणाधीन चरणमा अनुगमन गरियो भने समयमै सुधार गरी  दीर्घकालीन र गुणस्तरीय बनाउन सकिन्छ । त्यसका लागि भए पनि वडामै प्राविधिक रहने व्यवस्था गरिएको हो ।’