वैकल्पिक मार्ग प्रयोग गर्न अपिल

वैकल्पिक मार्ग प्रयोग गर्न अपिल

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १३, २०७७

ललितपुर । ललितपुर महानगरपालिका–२८ र २९ का वडाध्यक्षले वैकल्पिक मार्ग प्रयोग गर्न नगरवासीलाई अपिल गर्नुभएको छ । 

यही आउँदो असोज १५ देखि २५ गतेसम्म हरिसिद्धिको मूल सडकमा साइट ड्रेन तथा मेनहोल र ढल निकास व्यवस्थापनको कार्य हुने भएको हुँदा उहाँहरुले वैकल्पिक मार्ग प्रयोग गर्न नगरवासीलाई अपिल गर्नुभएको हो । 

हामीले हरिसिद्धिको मूल सडक कालोपत्र गर्न आवश्यक काम गर्ने भएकाले ठैवचोकबाट छिरेर महालक्ष्मी नगरपालिकाको सानागाउँ र इमाडोलको सडक भएर आवतजावत गर्न नगरवासीलाई अपिल गरेको वडा नं २९ का वडाध्यक्ष गणेशकुमार महर्जनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'यदि मौसम परिवर्तन भई बाधा अवरोध भएमा कार्यको मिति तथा समय हेरफेर हुनसक्ने छ ।' हरिसिद्धिको साँघुरा क्षेत्र आठ मिटर सडक यथास्थितिमै कालोपत्र हुने भएको महर्जनले बताउनुभयो ।

आउँदो बिहीबारदेखि आइतबारसम्मका लागि १० दिन सो सडक खण्ड बन्द गरिने भएकाले यसको साटो वैकल्पिक मार्ग प्रयोग गर्न नगरवासीलाई आग्रह गरेको वडा नं २८ का वडाध्यक्ष राजेश महर्जनले बताउनुभयो । सो सडक खण्ड हुँदै गोदावरी नगरपालिका–१ गोदामचौर, २ विशङ्खु, नं ३ साविकको गोदावरी, नं ४ बडिखेल, नं ५ लेले र नं १४ बाडेगाउँका वडावासीले दैनिक यात्रा गर्ने गर्छन् । हाल सो सडक खण्डमा एकतर्फी सवारीसाधन दैनिक चलिरहेका छन् ।