मध्य अफगानिस्तानमा बिस्फोट, १५ जनाको मृत्यु
आश्विन १३, २०७७

एजेन्सी ।  मध्य अफगानिस्तानको डेकुन्डी प्रान्तमा भएको बम बिस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको अफगान गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता तारिक आरियनका अनुसार डकुन्डीको कर्जान जिल्लामा तालिबान लडाकू समूहले बिछ्याएको भूमिगत बारुदी सुरुङ बिस्फोटबाट ठूलो क्षति पुगेको हो । 

उहाँले बिस्फोटबाट मारिनेहरुमा अधिकांश महिला र बालबालिका रहेको जानकारी दिनुभयो । तालिबान समूहले भने उक्त घटनाका बारेमा केही बताएको छैन । 

अफगान सरकार र तालिबानबीच कतारको राजधानी दोहामा वार्ता जारी रहेकै अवस्थामा सशस्त्र भिडन्त र बम बिस्फोटनका घटना रोकिएका छैनन् । 

अन्तर–अफगान वार्ता गत सेप्टेम्बर १२ देखि जारी छ । दुबै पक्षले अफगानिस्तानमा जारी लामो सशस्त्र द्वन्द्व अन्त्य गर्ने उद्देश्यले दिर्घकालीन युद्धबिराम गर्न प्रयासरत रहेको बताएका छन् ।