भरतपुर महानगरपालिकाद्वारा रङ्गशाला निर्माणलाई ५० लाख रुपैयाँ हस्तान्तरण

भरतपुर महानगरपालिकाद्वारा  रङ्गशाला निर्माणलाई   ५० लाख रुपैयाँ हस्तान्तरण

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १३, २०७७

चितवन । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि भरतपुर महानगरपालिकाले २०७७ असाेज १३ गते मंगलबार  ५० लाख रुपयाँ हस्तान्तरण गरिएको छ ।

महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई सो चेक हस्तान्तरण गर्नुभएको हो ।

महानगरपालिकाले आन्तरिक स्रोतबाट विनियोजित रु ४ करोड मध्ये पहिलो चरणमा रु ५० लाख प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले जानकारी दिनुभयो । उहाँले क्रिकेट रङ्गशाला कोरोना कहरका बीचमा पनि तीव्र गतिमा अगाडि बढिरहेको बताउँदै निर्माण प्रगतिका आधारमा विनियोजित मध्येको रकम थप्दै लगिने जनाकारी दिनुभयो ।

महानगरपालिका प्रमुख दाहालले फाउण्डेसनले सन्तोषजनक ढङ्गले निर्माणको काम अगाडि बढाइरहेकोमा खुशी व्यक्त गर्दै अन्य रकम पनि आवश्यकता र कार्य प्रगतिका आधारमा निकासा गरिँदै जाने बताउनुभयो । उहाँले रङ्गशाला निर्माण कार्यलाई तदारुकताका साथ अगाडि बढाउन आग्रह गर्दै सङ्घ, प्रदेश र अन्य निकायले गर्ने आर्थिक

सहयोगका लागि आफूले समन्वय र सहजीकरण गरिरहेको जानकारी दिनुभयो । भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा रङ्गशाला निर्माणको काम भईरहेको छ ।