सप्तरीका थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

सप्तरीका थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन १४, २०७७

सप्तरी । सप्तरीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सप्तरी अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ का ३५ वर्षीय पुरुष रहेको छ । मिर्गौला रोगबाट पीडित उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज मृत्यु भएको हो । अक्सिजन कम भएपछि प्रतिष्ठानको कोभिड अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनको आज मृत्यु भएको उनका भाइ पिन्टुकुमार यादवले जानकारी दिनुभयो ।


बालकैदेखि मधुमेहबाट पीडित उहाँको आठ दिन उपचार गरेपछि गोल्डेन अस्पताल विराटनगरले दुवै मिर्गौलाले काम गर्न छाडेको भन्दै घर फर्काएको थियो । गोल्डेन अस्पतालमा भदौ २७ गते गरिएको परीक्षणमा कोरोना सङ्क्रमण नेगेटिभ आएको थियो । खर्चविहीन भएर अस्पतालबाट घर फर्किएका उनलाई अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ का वडाध्यक्ष तेजनारायण यादवले रु १५ हजार दिएर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउनुभएको थियो । उपचारका क्रममा परीक्षण गर्दा यही असोज ८ गते उनमा कोरोना सङ्क्रमण पुष्टि भएको वडाध्यक्ष यादवले जानकारी दिनुभयो ।  नेपाली सेनाले अहिले उनको शव व्यवस्थापन गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो ।