मेडिकल शिक्षाको बारेमा नकारात्मक धारणा विकास गर्नमा एउटा गिरोह नै लागेको देखिन्छ

मेडिकल शिक्षाको बारेमा नकारात्मक धारणा विकास गर्नमा एउटा गिरोह नै लागेको देखिन्छ

लोकसंवाद संवाददाता  |  अन्तर्मन्थन  |  चैत्र १७, २०७५


प्रा.डा.चन्दा कार्की

प्रा.डा.चन्दा कार्की बरिष्ठ स्त्री रोग विशेषज्ञ तथा काठमाण्डौ मेडिकल कलेजको प्रिन्सिपल हुनुहुन्छ । चार वर्षसम्म नेपाल मेडिकल काउन्सील सदस्य तथा परीक्षा समितिको संयोजकको जिम्मेवारी समेत सम्हाल्नु भएको उहाँ मेडिकल शिक्षालाई बढी प्रचारात्मक र आकर्षणको विषय बनाइएकोमा सन्तुष्ट हुनुहुन्न् । समग्रमा नेपालमा मेडिकल शिक्षाको अवस्था कस्तो छ ? मेडिकल शिक्षामा किन बढी नै आकर्षण र विवाद छ ? मेडिकल शिक्षाले डाक्टर त बनायो तर आचरण सिकाउन भने बिर्सिएको त होइन ? नेपालमा विरामीको डाक्टरसँगको सहज पहुँच छ कि छैन ? यिनै समय सान्दर्भिक विषयलाई लिएर काठमाडौ मेडिकल कलेजको प्रिन्सिपल प्रा.डा.चन्दा कार्कीसँग लोकसंवाद डटकमले अन्तर्मन्थन गरेको थियो । प्रस्तुत छ उक्त अन्तर्मन्थनको मूल अंश :

एउटा मेडिकल कलेजको प्रिन्सिपलको नाताले भन्नुपर्दा नेपालमा मेडिकल शिक्षाको अवस्था कस्तो रहेको छ ?

मैल भन्नुपर्दा नेपालको मेडिकल शिक्षाको अवस्था अत्यन्तै राम्रो छ । यो आकर्षणका हिसाबले मात्र होइन पहुँचका हिसाबले पनि सन्तोष जनक छ । नेपालको मेडिकल शिक्षामा प्राइभेट क्षेत्रको प्रवेशले झनै पहुँच विस्तार भएको छ, र राम्रो नै भएको छ । हाम्रो पालामा जस्तो मेडिकल पढ्न अब गाह्रो छैन । अव सजिलै मेडिकल शिक्षा प्राप्त गर्ने वातावरण बनेको छ । यस क्षेत्रमा सरकारी वा प्राइभेट क्षेत्रको प्रवेश नहुन्जेल विदेश नै जानुपर्ने वाध्यात्मक अवस्थाको अन्त्य भएको छ । नेपालको मेडिकल शिक्षा अत्यन्तै राम्रो र सफल छ भन्ने मेरो बुझाई रहेको छ । यसले चिकित्सकहरु उत्पादन गर्ने कुरामा नेपाल आफैं सक्षम हुँदै गएको छ । 

विगत एक दशकलाई हेर्ने हो भने जति मेडिकल शिक्षाको विस्तार र विकास भएको छ त्यति नै मेडिकल शिक्षाका बारेमा बहस र विवाद पनि आएको छ नि ?

जहाँ पैसाको कुरा आउँछ, त्यहाँ अलिअलि विवाद हुनु स्वाभाविक हो । खासगरी मेडिकल कलेज सञ्चालन गर्ने भनेको राज्यको स्वीकृति नलिई, कुनै पनि नियामक निकायमा दर्ता नगरी हुने कुरा होइन । उक्त नियामक निकायहरुले समय समयमा आफ्नो भूमिका निर्वाह नगरेका कारण मेडिकल शिक्षाको विवाद बाहिर आएको हो जस्तो लाग्छ । मेडिकल कलेजहरुले नियम पालना नगरेका खण्डमा  पहिला सम्झाउने, त्यसलाई पनि अटेर गरेमा चेतावनी दिने र अन्तिममा कलेजलाई कारवाही गर्ने कानूनी प्रावधान त छँदैछ । तर त्यसो नगरी सबै कलेजहरुलाई एउटै बास्केटमा राखेर बदनाम गर्ने कार्य भइरहेको जस्तो लाग्छ । 

मेडिकल शिक्षालाई नियमन गर्ने निकायहरु विश्वविद्यालय, मेडिकल काउन्सील, शिक्षा मन्त्रालय तथा स्वस्थ्य मन्त्रालय हुन् । यी निकायले कलेजलाई उसको गुण र दोषको आधारमा पुुरस्कृत गर्ने र कारवाही नगरेका कारण पनि यस्ता कुरा बाहिर आएका हुन् । अर्को कुरा मेडिकल शिक्षाका बारेमा सञ्चार माध्यम पनि नकरात्मक रह्यो भन्ने मेरो बुझाई हो । नेपालमा मेडिकल शिक्षाको विकास यति राम्रोसँग भएकोमा समेत सो बारेमा नकरात्मक कुरा मात्र बाहिर लेराई भ्रम फैलाउनु सञ्चार माध्यमको धर्म हो जस्तो लाग्दैन मलाई । 

मेडिकल शिक्षाका बारे नकरात्मक धारणा विकास गराउनमा मेडिकल कलेजहरु स्वयं जिम्मेवार छैनन ?

केही हदसम्म मेडिकल केलजको पनि भूमिका होला । तर मेडिकल शिक्षालाई कस्ले सञ्चालन गर्ने, कसरी गर्ने भन्ने कुरा त अनुमति दिने निकाय र अनुगमन गर्ने विषय हुन् । यदि विश्वविद्यालय, मेडिकल काउन्सील र राज्यको ऐन, कानून र नियम मानेर अगाडि बढ्ने र बढाउने हो भने मेडिकल कलेजले के नै गर्न सक्छ र ? तर फेरी पनि मेरो बुझाई के हो भने मेडिकल शिक्षाको बारेमा नकारात्मक धारणा विकास गर्नमा एउटा गिरोह नै लागेको देखिन्छ र यसमा सञ्चार माध्यम पनि जिम्मेवार रहेका छन् । नकरात्मक कुरा मात्रै दिने सञ्चार माध्यमको धर्म हो जस्तो लाग्दैन् । नेपालमा प्रदान गरिने मेडिकल शिक्षा एकदमै राम्रो छ र स्तरीय शिक्षा दिइरहेका छौं भन्ने लाग्छ । 

नेपालको मेडिकल शिक्षा राम्रो र सफल छ भनिरहँदा मेडिकल काउन्सीलले लिने लाइसेन्सको परीक्षामा धेरै विद्यार्थीहरु असफल भइरेहका छन नि ?

समग्रमा मेडिकल काउन्सिलको पास फेलको रेटको बारेमा भन्ने आधिकारीक व्यक्ति त म होइन् । त्यो काउन्सिलको प्रवक्ताले भन्ने कुरा हो । तर म के भन्न सक्छु भने ‘हाइयर एजुकेशन’मा पास र फेल भन्ने कुरा भइरहन्छ । तपाईँ किन मेडिकल शिक्षा वा कलेजको मात्र कुरा गर्नुहुन्छ । इन्जिनियरिङ्गको कुरा गर्नुस, अन्य स्कुल वा कलेजको कुरा गर्नुस, त्यहाँपनि विद्यार्थीहरु सफल र असफल हुन्छन् । परीक्षा भन्ने वित्तिकै सफल र असफल भन्ने कुरा भइहाल्छ । त्यसैले त परीक्षा भनेको हो । कसलाई माथि लैजाने र कतिलाई अझ सुधार गरेर माथि लैजाने भनेर नै परीक्षा लिने हो । अथवा न्यूनतम ज्ञान र सीपको परिक्षण गर्ने हो । 

यसमा के कुरा पनि ख्याल गरिनुपर्छ भने नेपाल मेडिकल काउन्सीलको परीक्षा नेपालमा पढेका विद्यार्थीले मात्र  दिंदैनन् । विभिन्न देशमा पढेका विद्यार्थीले पनि त्यो परीक्षा दिन्छन् । अन्यत्रको कुरा छोडिदिनुहोस, भारतमा के अभ्यास छ भने भारतमा आफ्नै देशको कलेजबाट अध्ययन गरेका विद्यार्थीहरुले काउन्सिलको परीक्षा नदिई नै काम गर्न पाउने व्यवस्था छ । मेडिकल काउन्सिलले हेरेर, अनुगमन गरेर शिक्षा दिएको हुन्छ, मन्त्रालय र विश्वविद्यालयको मापदण्डमा रहेर शिक्षा दिएको हुन्छ । सबै मापदण्डमा रहेर शिक्षा दिने र परीक्षा पास गराउने अनि त्यही विद्यार्थीलाई काउन्सिलको परीक्षामा फेल गराउने कुरा त हुँदैन नि दुनियामा  ।

 के नेपालमा मात्रै काउन्सीलको परीक्षा लिएर सफल र असफल बनाउने गरिएको हो ?

नेपालमा परीक्षा लिने जुन व्यवस्था छ सोे कुराको प्रशंसा हुनुपर्छ । जनताको स्वास्थ्यप्रति सजग रही हामी आफैंले उत्पादन गरेको जनशक्तिलाई काममा पठाउनुभन्दा पहिला फेरी पनि जाँच लिंदै छाै‌ । यसले उत्पादित जनशक्तिको न्यूनतम ज्ञान र सीपको सुनिश्चितता गर्छ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ । अर्को कुरा काउन्सीलको परीक्षामा नेपालमा पढेका विद्यार्थीले मात्र भाग लिंदैनन् । विदेशमा पढेर आएका विद्यार्थीले पनि उक्त परीक्षामा भाग लिन्छन । भारत, चीन, बंगलादेश लगायतका दर्जनौं देशमा पढेर आएका विद्यार्थीले पनि मेडिकल काउन्सीलको परीक्षामा भाग लिन्छन् । अनि कुन देशमा पढेर आएका कति विद्यार्थी असफल भए भनेर बाहिर आउँदैन । सञ्चार माध्यममा यति प्रतिशत विद्यार्थी असफल भए भनेर नेपालका मेडिकल कलेजलाई बदनाम गराउने हिसाबले उछाल्दीने प्रवृत्ति पनि छ । कतिपय सन्दर्भमा तीन वर्ष पहिलाको परीक्षाको आंकडा प्रस्तुत गरेर मेडिकल कलेज र शिक्षाको बदनाम गर्ने गरेको पनि पाइएको छ । 

फेरी परीक्षा भन्ने वित्तिकै को को सहभागी हुन्छन भन्ने कुरा पनि  हेरिनुपर्छ । जस्तो त्यही परीक्षामा सहभागी नियमित व्याचको नतिजा राम्रो हुन्छ भने विभिन्न कारणले पुनः परीक्षा दिनेहरु अलि बढी असफल भएका हुन्छन् । यस बारेको यथार्थ बाहिर नआउँदा पनि बाहिर नकरात्मक सन्देश गइरहेको छ । असफल हुने कुरा भनेको सबै ठाउँमा हुन्छ । तपाईँ एसईई परीक्षामा पनि त्यत्रो संख्यामा विद्यार्थी असफल भइरहेका छन, छैनन र ? त्यो पनि नेपालको परीक्षा बोर्डले लिएको हो नि ? विद्यार्थीहरु असफल भए भनेर भन्ने हो भने सबै विद्यालयहरु बन्द गर्नु पर्ने हुन्छ । 

डाक्टरहरुले आजभोली आचारसंहित विपरित गएर बढी नै ल्याब परीक्षण गराउने, औषधी कम्पनीको प्रभाव वा दवावमा परेर बढी औषधी लेख्ने गरेका छन् भन्ने गुनासो आउने गरेको छ, यसो हुनुमा नेपालको मेडिकल शिक्षा कति जिम्मेवार छ ?

हिजो डाक्टरको संख्या थोरै थियो भने जनसंख्या पनि त्यही अनुपातमा थियो । डाक्टर र आममानिसकाबीचको अन्तरसम्बन्ध एकदमै राम्रो थियो । न्यूनतम कुरा गरेर राम्रो हुँदा पनि राम्रो भन्थे । नराम्रो भयो भने पनि खासै दोष दिइँदैनथ्यो । आज डाक्टरहरुको संख्या पनि वृद्धि भएको छ भने जनसंख्यामा पनि धेरै नै वृद्धि भएको अवस्था छ । जनता पनि सचेत हुँदै गएका छन भने  उनीहरुको अपेक्षा पनि बढेको छ । ‘क्लिनीकल जजमेण्ट’ भन्दा प्रविधि र उपकरणमा बढी भर पर्नुपर्ने हुन्छ ।  यसले नराम्रो कुराको विकास हुँदै आएको छ । त्यो के भने डाक्टर र विरामीको सम्बन्ध बिग्रने क्रम बढ्दै छ । पैसा जहाँ देखापर्छ त्यहाँ केही गडबड त अवश्य हुन्छ ।  डाक्टर र विरामीको बीचमा रहेको सुमधुर सम्बन्धमा बाहिरका पैसा कमाउने तत्वहरु पनि हावी भएको देखिन्छ । अर्को कुरा कथंकदाचित डाक्टरले उपचार गर्दा तलमथि हुन गएमा जेल हाल्ने कानून बनाएर सरकारले पनि बिरामी र डाक्टरको सम्बन्ध बिगार्ने काम गरिरहेको छ । 

म एउटा व्यवसाय गरेर खाने डाक्टर, मैले कहिल्यै पनि बिरामीको कुभलो चाहन्न । मेरो हुनपर्ने न्युनतम गुण पनि यहि हो । म कति सफल र असफल भन्ने कुरा पनि त्यसैमा जोडिएको हुन्छ । एउटा डाक्टरले कहिलै पनि बिरामीको अहित चाहँदैन् । डाक्टरहरुको ज्ञान र सीप अलिअलि फरक हुनसक्छ । अहिले त डाक्टरले आफूलाई पनि सुरक्षित राख्नुपर्ने भयो । मैले नेपालमा मेडिकल क्षेत्रमा काम गरेको ३४ वर्ष भयो । आज पनि मैले एउटा बिरामी जाँचे वापत करीव २५०–३०० नेपाली रुपैयाँ लिने गरेको छु, जुन चार डलर भन्दा कम हो । तर कुनै बिरामी वा बिरामीको आफन्तले उजुरी हाल्यो भने ५० लाख देखि एक करोडसम्म क्षतिपुर्ती माग गर्ने, अनि सरकारले पनि जेल हाल्ने कानून निर्माण गर्दा एउटा डाक्टरले कसरी काम गर्न सक्छ ?

रोगको परिक्षणकालागि सैद्धान्तिक रुपमा जति परिक्षण गर्न भनिएको छ ती सबै परिक्षण गराउनै पर्‍यो । बिरामी तलमाथि भएका खण्डमा अदालतमा त डाक्टरले कागजका आधारमा नै प्रमाणित गर्नुपर्ने हुन्छ । कागज मात्र बोल्छ । मेडिकल प्रोफेशनमा रोगको ज्ञानको बारे अन्त नै छैन । जताबाट जे सोधेपनि हुन्छ । यसबाट बच्नको लागि पनि डाक्टरहरुले बढी अनुसन्धान गराउनुपर्ने अवस्था छ । 

कानूनी प्रावधानका कारण डाक्टरले आवश्यकता भन्दा बढी परिक्षण गर्नुपर्ने बाध्यता भएको हो ?

मैले अवश्यकता भन्दा बढी भनेको होइन् । हिजो आवश्यता भन्दा कम गर्दा पनि हुन्थ्यो भने आज चाँहि आवश्यक जति सबै गर्नुपर्ने भयो । यो भन्दा पहिला ‘क्लिनीकल जजमेण्ट’मा बढी भर पर्नुपर्ने अवस्था थियो भने अहिले चाँहि अनुसन्धानबाट प्राप्त रिपोर्टमा भर पर्नुपर्ने अवस्था छ । किनभने अदालतमा त कागजै बोल्ने हो । यस कारण पनि कितावमा लेखेका सबै कुरा परिक्षण गराउनुपर्ने भयो भन्न खोजेको हो । मसंग ‘क्लिनीकल’ अनुभव र ज्ञान राम्रो छ भने कतिपय कुरा हेरेर पनि थाहा हुन्छ, ल्याबमा नै जानुपर्छ भन्ने हुँदैन् । तर आज कानूनबाट जोगिनको लागि पनि ल्याब परिक्षणमा जानु पर्ने बाध्यात्मक अवस्था छ । 

औषधीको कुरा.... ?

औषधीको सबै कुरा नियन्त्रण गर्न गाह्रो छ । बजारमा धेरै खालका औषधीहरु बिक्री वितरण भइरहेका छन् । कतिपय औषधी बिरामीको अनुरोधमा लेख्नुपर्ने हुन्छ । कोही डाक्टर नै पनि बढी लेख्ने हुन्छन्, कोही घटी लेख्ने हुन्छन् । मेडिकल साइन्समा कसलाई कति औषधी लेख्ने भन्न गाह्रो हुन्छ । अर्को कुरा औषधी कम्पनी वा व्यवसायीले भनेर डाक्टरले औषधी लेख्छन् जस्तो मलाई लाग्दैन । मैले लेखेको औषधीले विरामी ठिक भए मात्र मेरो जीत हो नी । त्यसो भएको हुनाले पनि जुन गुणस्तरीय उत्पादन छ ,त्यो औषधी लेख्ने हो । कुनै औषधी व्यावसायीले पैसा दिएर वा घुमाई दिएर लेख्ने होइन् । डाक्टरको पनि इथिक्स हुन्छ । भर्खरै नेपाल मेडिकल काउन्सिलले डाक्टरको इथिक्सको बारेमा कितावै निकालेको छ । मेडिकल इथिक्सको बारेमा बोलाएर भन्ने गरेको छ । समाजमा कोही साधु सज्जन पनि हुन्छन भने कोही चोर फटाहा भएर लुटेर खान्छन नि ? यो ठूलो समूहमा अपवादका रुपमा केही मानिसले त्यसो गरेको भए पनि समग्रमा त्यस्तो गर्छन जस्तो लाग्दैन । अझ एउटा डाक्टरले त्यसो गर्दैन,गर्न मिल्दैन पनि । 

यी विषयले शिक्षण तथा सिकाईमा कत्तिको प्रथामिकता पाउँछ ?

डाक्टरको शिक्षा भनेको धरै लामो शिक्षा हुन्छ । एमबिबिएस अन्तिम त होइन नि । यसमा त बेसीक कुरा सिकाउने गरिन्छ । प्लस २ गरेपछि गरिने साढे पाँच वर्षको कोर्ष त हो एमबिबिएस भनेको । यसमा इथिक्स र पब्लिकेशनको कुरा पनि सिकाइन्छ । एमबिबिएस भनेको त अब तँ मेडिकल लाइनमा काम गर्न सक्षम भइस है भन्ने कुरा मात्र हो । एमबीबीएस गरेको मानिसले बजारमा सबै कुरा त गर्देन नि ? त्यसपछि कुन क्षेत्रमा जाने हो निधो गर्नुपर्छ । त्यो विषयमा विशेषज्ञता हासिल गर्न थप अध्ययन गर्नु पर्‍यो, थेसीस र तालिम धेरै कुरा गर्नुपर्ने हुन्छ । एउटा चिकित्सकले विज्ञता हासिल गर्नको लागि यति लामो समय गुजारेको हुन्छ । समग्रमा हाम्रो भाषामा भन्ने हो भने ‘टोटल क्वालिटी पेसेन्ट केयर’ कसरी गर्न सक्छ ? त्यो गर्ने हो अथव सिकाउने हो । चिकित्सकको बारेमा केही इथिक्सको कुरा पनि सिकाउने हो  । तर सबै कुरा एउटा मेडिकल कलेज वा डाक्टरले मात्र गर्ने होइन, सबै क्षेत्रले हेर्नु पर्ने हुन्छ । 

डाक्टरले पैसा लिएर बिरामी जाँचेको भनेर आलोचना हुने गरेको छ । तर राज्यले डाक्टरलाई के कुरामा सुविधा दिएको छ र डाक्टरले पैसा लिएर जाँच्न नहुने ? म स्वयं बिरामी भएँ भने एउटा सिटामलसम्मको मैले पैसा तिर्नुपर्छ । मैले काम गर्ने अस्पतालमा पनि उपचारको लागि पैसा तिर्नुपर्छ, भलै केही प्रतिशत छुट होला । दैनिक जीवन चलाउँदा, टेलिफोन गर्दा पनि मेरो खल्तीको पैसा नै जान्छ, छोराछोरी पढाउँदा पनि पैसा नै तिर्नुपर्छ । एउटा डाक्टरको लागि गाडि चढ्नु अब सुविधाको कुरा रहेन, न्यूनतम आवश्यकताको विषय बनिसकेको छ । राज्यलाई सबै विषयमा कर तिर्नुपर्छ कतैबाट पनि केही विषयमा पनि छुट छैन । यस्तो अवस्थामा एउटा डाक्टरलाई सितैमा उपचार गर् भनेर भन्न मिल्छ ? मेरो विचारमा त भन्न मिल्दैन । त्यतिले मात्र नभएर गर्दागर्दै केही गल्ती भयो भने सरकारले जेलै हाल्ने कुरा पनि छ ।

चिकित्सकले निःशुल्क उपचार गर्नुपर्छ भन्ने हो भने राज्यले पनि चिकित्सकलाई यी यी विषयमा छुट हुन्छ भनेर भन्नुपर्‍यो । आज कति डाक्टरले आफ्नो आम्दानीले प्राडो र पजेरो जस्ता सुविधा सम्पन्न गाडी चढेका छन । हिजो केही नभएका मानिसहरु अहिले रातारात अति नै सुविधा सम्पन्न घर  र मंहगा गाडि चडेर हिंडेको यो समाजमा डाक्टरले पनि देखेकै छन । ती व्यक्तिलाई भने कारवाही नहुने तर बिरामीको सेवा गर्ने डाक्टरलाई भने कारवाही हुने । 

विगत एक दशक नियाल्ने हो भने मेडिकल शिक्षा बढी नै आकर्षणको विषय किन बनिरहेको छ ?

यो दुःखको कुरा हो । यति बढाइ चढाइ नभएको भए पनि हुन्थ्यो जस्तो लाग्छ ।  जे कुरा फल्न र फूल्न लाग्यो त्यसका विरुद्ध जाने प्रचलन नेपालमा छ । त्यसैले त सतिले सरापेको देश भनेर भनिएको होला । मेडिकल शिक्षा अलि राम्रो हुन लाग्यो, देशको इज्जत बढ्न लाग्यो भने सबै मिलेर त्यसलाई समातेर तल झारिदिने काम भइरहेको छ । मेरो निश्कर्ष त के छ भने डाक्टर र नर्सहरु एकदमै पिडामा छन । धेरै अप्ठेरो अवस्थामा छन् । डाक्टरसँग मानिस र सरकारको अपेक्षा ठूलो छ । डाक्टरले पैसा लियो भनेर जनताले पनि भन्ने सरकारले पनि भन्ने चलन छ । 

तपाईँलाई म मेरो कुरा भनाैं, मैले ३४ वर्षदेखि करिव चार डलरमा विरामी हेरिरहेको छुु । बजार भाउ अरु विषयमा कहाँ पुगेको छ । तर मैले आज मेजर सर्जरी गरें भने ६ हजारदेखि नौ हजारसम्म मात्र प्राप्त गर्छु । यो मानिसको जीवन बचाउने ठूलो काम हो । अन्य पेसा व्यावसायको तुलना गर्ने हो भने डाक्टर त सबैभन्दा तल परिसक्यो । 

एक चिकित्सकको अनुभवमा भन्ने हो भने बिरामीको चिकित्सक सेवामा पहुँच कति सहज छ ?

नेपालमा जत्तिको चिकित्सकको सहज पहुँच कहीँ पनि तपाईँ पाउनु हुन्न । म जत्तिको ३४ वर्ष सेवा गरेको मान्छे भेट्न अन्यत्र देशमा त्यति सजिलो छैन । यहाँ त ६० रुपयाँको टिकट काटेर सजिलै भेट्न सकिन्छ । नेपाली ६० रुपयाँले के हुन्छ ? आज धेरै ठाउँमा त्यो भन्दा कम पनि लिने गरिएको छ । अझ चिनजान र सम्बन्धको हिसावले पनि त्यत्तिकै उपचार गरेर पठाउने काम अन्यत्र हुँदैन । तर हामी त्यो काम गरिरहेका छाैं । हामी अझ सस्तो भयौं कि भने जस्तो लाग्छ । अहिले म के सोच्न वाध्य भएको छु भने मेरो शुल्क अलि बढी राखेको भए मेरो मान्यता अलि बढी हुने थियो कि भन्ने लाग्छ । स्वास्थ्यकर्मीहरुले घर, परिवार नभनी, रातभरी नसुतेर जुन बिरामी बचाइराखेका छन, जुन किसिमले सेवा गरिरहेका छन समग्रमा त्यसको मूल्यांकन हुन सकेन वा भएन भन्ने मेरो कुरा हो । एकदमै नकारात्मक मूल्यांकन बढी भयो । मैले शुरुमा पनि भने यो नकरात्मक धारणा विकास गराउने भूमिका मिडियाले नै खेलिरहेको छ भन्ने लाग्छ । नेपालमा सञ्चार माध्यमले जे दियो त्यसैमा धारणा बनाउने चलन छ । ९९ प्रतिशत मानिसहरु सञ्चार माध्यमबाट प्रकाशन र प्रशारण भएको विषयका आधारमा धारणा बनाउने गरेका छन ।

यसको अर्थ मेडिकल शिक्षालाई आकर्षक र विवादमा ल्याउने काम सञ्चार माध्यमले गरिरहेको छ हो ?

सबै काम सञ्चार माध्यमले गर्‍यो त म भन्दिन । तर मेडिकल शिक्षालाई आकर्षक र विवादमा ल्याउने कुरामा ठूलो योगदान चाँहि सञ्चार माध्यमको रह्यो । सञ्चार माध्यमले राम्रो काम पनि गरेको छ । त्यसको म तारिफ नै गर्छु । तर धेरै झुठो विवरण पनि प्रशारण भइरहेको छ । 
 

याे पनि

रेट नै तोकेर कमिसन लिने कुरा चिकित्सकहरुको आचरण भित्र पर्दैन