चौबिस श्ययाको काेरोना अस्पताल निर्माण

चौबिस श्ययाको काेरोना अस्पताल निर्माण

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन १४, २०७७

वाग्मती । विश्वव्यापीरुपमा फैलिएको कोरोना सङ्क्रमण नियन्त्रण तथा त्यसको उपचारका लागि मनहरी गाउँपालिकाले २४ श्ययाको आइसोलेसनसहित कारोना विशेष अस्पताल निमार्ण शुरु गरेको छ ।  

सो गाउँपालिकाको वडा नं ८ सिम्पानीमा रहेको आइसोलेसन कक्षलाई स्तरोन्नति गरी २४ श्ययाको कोरोना विशेष अस्पतालका रुपमा स्थापना गरेको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । स्वास्थ्य मन्त्रालयको  १० लाख रुपैयाँ अनुदान र वाग्मती प्रदेश सरकारको १० लाख रुपैयाँ सहयोगमा उक्त अस्पताल निमाण भइरहेको बताइएको छ । 

अस्पतालका लागि आवश्यक सामान खरिदको काम भएको र थप उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयले पाँच श्ययाको अस्पताल स्थापनाका लागि आदेश गरेको तर २४ श्ययाको अस्पताल स्थापना शुरु भएको अस्पताल निर्माण समितिका संयोजक ज्योतिराज लुइँटेलले बताउनुभयो । 

अस्पतालमा एक जना चिकित्सक, दुई नर्स तथा स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । त्यहाँ सघन उपचार कक्षसमेत बनाइनेछ । अध्यक्ष उप्रेतीका अनुसार उत्कृष्ट एवं नमूना कारोना आइसोलेसन अस्पताल निर्माण गर्नेगरी काम भइरहेको छ । मनहरि गाउँपालिकामा एक व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ ।