काउन्सिलको सेवामा 'आजको काम आजै सम्पादन' गर्ने प्रतिबद्धता !

काउन्सिलको सेवामा 'आजको काम आजै सम्पादन' गर्ने प्रतिबद्धता !

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १४, २०७७

काठमाडौँ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले काउन्सिलबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कार्यवाहक अध्यक्ष बुढाथोकीले आज दशबुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै काउन्सिलमा नयाँ शैली अवलम्बन गरी आजको काम आजै सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।  

प्रतिवद्धतापत्रमा काउन्सिलले अबदेखि उपत्यकाबाहिर टाढाबाट आउने सेवाग्राहीलाई पहिलो प्राथमिकता दिएर प्रक्रिया पुगेको अवस्थामा सोही दिन वा २४ घण्टाभित्र काम फत्ते गर्ने भनिएको छ । बुढाथोकीले साँघु साप्ताहिकको सम्पादक नरहने जानकारी समेत गराउनुभएको छ । उहाँले पदमा रहुञ्जेल कुनैपनि सञ्चारमाध्यमको सम्पादक र राजनीतिक दल तथा सङ्घ–सङ्गठनमा नरहने घोषणा गर्नुभएको छ । 

यही असोज ९ गते कार्यवाहक अध्यक्षमा नियुक्त हुनुभएका बुढाथोकीले काउन्सिलको नेतृत्वमा रहँदा कार्यालय समयभन्दा बाहिर कार्यालयको सवारीसाधन प्रयोग नगर्ने बताउनुभएको छ । उहाँले  आमसञ्चारका नयाँ–नयाँ माध्यम र प्रविधिको व्यवस्थापनाका लागि नीतिगत पहल गर्ने बताउनुभएको छ । उहाँले अनलाइनको नियमन र सुविधाको लागि श्रेणीकरण हुनुपर्ने उल्लेख गर्नुभएको छ । त्यसैगरी काउन्सिलले गर्दै आएको पत्रपत्रिका वर्गीकरण सम्परीक्षणको काम अघि बढाउन पहल गर्ने बताउनुभएको छ । साथै उहाँले आफ्नो पारिश्रमिकको दश प्रतिशत रकम सामाजिक सेवा, असहाय, अपाङ्गता भएका बालबालिका र राष्ट्रिय महत्वका अनुसन्धान तथा खोजमा संलग्न व्यक्ति/संस्थाको लागि उपलब्ध गराउने पनि बताउनुभएको छ ।