गान्धी, बहुलतावाद  र सामाजिक समरसता
सन्दर्भ : गान्धी दिवस
आश्विन १६, २०७७

शान्ति, अहिंसा र स्वराजका जसरी गान्धी एक निर्विवाद प्रतीक हुन्, त्यसै गरी उनी बहुलतावाद र समाजिक समरसताका पनि एक अद्वितीय प्रणेता हुन् । नेपालजस्ता भर्खरै बहुलतावादलाई संस्थागत रूपमा स्वीकार गरेका, समानतालाई विधिवत् वैधानिकता दिएर अगाडि बढिरेहेका र वर्गहरूमा विभाजित समाजमा समानताको संस्थागत खोजी गरिरहेका अनेकन मुलुकहरूका लागि गान्धीको बहुलतावादी चिन्तन र सामाजिक समरसताको दृष्टि एक मार्गदर्शक सिद्धान्त बनेर रहँदैआएको छ । यसका लागि गान्धीका राजनैतिक र नैतिक आदर्शमात्रै होइन, वर्गीय समाजबारेका उनका बुझाइ, र विविधतालाई आआफ्नै मूल्यहरूको जगमा स्वीकारेर विभेदबाट माथि उठ्नुपर्ने आदर्श जो छोडेर गएका छन्, त्यो वर्गीय व्यवस्था भएका समाजहरूका लागि सदैव एक प्रेरणाको अजस्र स्रोत बनेर रहिरहने कुरामा कुनै विभेद छैन । यस संक्षीप्त लेखमा गान्धीको त्यही बहुलतावाद र सामाजिक समरताको सिद्धान्तको विवेचना गर्ने कोसिस गरिएको छ ।  

गान्धीको बहुलतावादको दृष्टि र समाजिक समरताको आदर्शलाई मूल्याङ्कन गर्नका लागि उनका दुई कदमको विवेचना गर्नुपर्ने हुन्छ । पहिलो, पराधीनताबाट स्वराजतर्फ उन्मुख भारतको आसन्न राजनैतिक व्यवस्थामा, नीति निर्माणमा, विकास कार्यमा, तथा जनप्रतिनिधित्वको सवालमा सबै वर्गका मानिसको प्रतिनिधित्व सुनिश्चित होस् भन्ने प्रश्नमा गान्धीको मत के थियो, त्यो हेर्नुपर्ने हुन्छ । दोस्रो, जातहरूका विभक्त भरतीय समाजमा छुवाछुत र भेदभावका विरुद्ध गान्धीको अभिमतहरू कस्ता थियो, तिनको पनि मूल्याङ्कन गनुपर्ने हुन्छ ।  

तत्कालीन भारतवर्षमा बहुलतावादको वकालत दुई कारणले महत्वपूर्ण थियो । पहिलो, राजनैतिक नेतृत्व अङ्ग्रेजको हातमा भए तापनि भारतको सामाजिक, धार्मिक अथवा सांस्कृतिक नेतृत्वमा वर्गविशेषका थोरै माभनिसहरूको वर्चश्व थियो । अरू वर्ग सहभागी थिए अथवा अनुयायी थिए, तर अग्रणी थिएनन् । यसले के पनि सङ्केत गरेको थियो भने, अङ्ग्रेजले भारत छोडेर गएपछि जुन प्रकारको राजनैतिक व्यवस्थामा स्वतन्त्र भारतको निर्माण हुन जाने छ, त्यसमा पुनः त्यसै वर्गको वर्चश्व कायम हुने छ । यसको अर्थ, एक प्रकारको पराधीनतालाई परास्त गरेर अगाडि बढेको भारत, पुनः वर्गीय भासहरूका कारण अवनतिको बाटोतिर अग्रसर हुने छ । त्यो प्रजातन्त्रको के काम, जो समाजको पंक्तिमा, अन्तिम धर्कोमा उभिएको अन्तिम मान्छेसम्म विकास, सुरक्षा र अधिकारको प्रत्याभूति लिएर पुग्दैन? गान्धीलाई यस कुराको सायद पूर्वाभास थियो । त्यसैले, बहुलतावादको पक्षमा उनको मत सदा स्थिर र अक्षुण्ण रह्यो । र यही बहुलतावाद आजको भारतको परिचायक पनि त हो । 

महाराष्टबाट सुरु गरिएको यो आन्दोलन, विनोभा भावेको नेतृत्वमा भूमध्यभारतका धेरै स्थानमा पुग्यो, र भूमिहीन दलितहरूका लागि घर बनाउने जग्गा उपलब्ध गराउने दिशमा पूर्ण कटिबद्धताका साथमा अगाडि बढ्यो । यसका पछाडि गान्धीकै निर्देशन र प्रेरणा थियो, जसलाई विनोभा भावेले आफ्ना उद्गारहरूमा प्रस्टताका साथ भनेको छन् । अगान्धीले बनारस हिन्दू विश्वविद्यालयमा दिएको एउटा भाषण प्रत्रिकामा प्रकाशित भएपछि त्यो पढेर भावे प्रभावित भएको कथा छ ।

जुन बेला गान्धी विश्व राजनीतिको पटलमा सबैभन्दा प्रभावशाली आवाज बनेर मुखरित बनेका थिए, त्यो बेला विश्वका कुनै पनि मुलुकमा व्यवहारतः बहुलतावाद थिएन । त्यसलाई संस्थागत गरिएको पनि थिएन । अमेरिकाले १६६३ तिरै संविधानतः स्वीकार गरेको बहुलतावादलाई व्यवहारमा उतारेको भए त्यसको एक शताब्दीपछि, यानि सन् १९६३ मा, गान्धीकै पथगामी अश्वेत नेता मार्टिन लुथर किङले लिङ्कन मेमोरियलमा, हजारौँ नागरिकका सामु उभिएर भन्नैपर्ने थिएन-  समानता अझै पनि एउटा सुदूरको सपना हो ! हामी खोक्रा आश्वासनका सिकार भयौँ ! चीनमा, त्यस बेला चलिरहेको नवक्रान्तिको अन्तर्य सानो सङ्ख्याममा रहेको राजशाही र उसैका दरबारिया–चौतारियाहरूको हैकम थियो, जसलाई हटाउनु चिनियाहरूको प्रमुख अभीष्ट थियो । यानि, त्यो बहुलतावादतर्फको एक अभियान थियो, यद्यपि, चीनको हकमा, एक प्रकारको एकात्मकता हटाएर अर्को प्रकारको एकात्मकता त्यहाँ स्थापित गरियो । दक्षिण अफ्रिकामा श्वेत एकात्मकतावादविरुद्ध चलिरहेको आन्दोलतसँग त गान्धी आफैँ संलग्न थिए, त्यो हामी धेरैलाई थाहै छ । 

गान्धीको बहुलतावादी राजनीतिक चिन्तन उनको अद्वेत धार्मिक चिन्तनको जगमा उभिएको छ । 'ईश्वर सत्य हुन्' को विश्वमान्य सिद्धान्तको विपरित 'सत्य नै ईश्वर हो' को सिद्धान्त उनले अङ्गीकार गरे । ईश्वर सत्य हुन् भन्नका लागि ईश्वरको कल्पना जरुरी छ । ईश्वरको कल्पना सामान्यतः धर्महरूले कोरेका निश्चित समीमारेखाहरूभित्र मात्रै सम्भव छ र ती रेखाहरूभित्र रहेर गरिएको ईश्वरको कल्पनाबाट अनुप्राणित सत्य पनि सापेक्षित हुन्छ । अर्थात्, त्यो पूर्णसत्य हुँदैन । त्यसैले ईश्वरको कल्पनाभन्दा अघि गान्धीले सत्यको कल्पना गरे, र त्यसै सत्यको धरातलमा ईश्वरको प्राणप्रतिष्ठा गर्नुपर्ने तर्क प्रस्तुत गरे ।

यसो गरिरहँदा गान्धीले, एडोक्स हक्स्लीको 'अविछिन्न दर्शन' बाट आफूलाई पृथक गरे । अविछिन्न दर्शनले सबै धर्मको अन्तिम विन्दू एकै ईश्वर यानि आत्मब्रह्म हो भन्छ, तर ईश्वरै विविध स्वरूपको विरोध गर्छ । त्यसैले, विविध स्वरूप र अवतारमा विद्यमान, सगुण ईश्वर सत्ता मान्ने हिन्दू, सनातन र प्रकृतिउपासक धर्महरूको धार्मिक दर्शनको बर्खिलाफ, तथा बौद्ध र जैनजस्ता एकात्मक धार्मिक व्यवस्थाको निकट देखिन्छ । त्यसैले विविधताको जगमा उभिएको एसियाजस्तो भूगोलमा अविछिन्न दर्शन स्वीकार्य हुने कुरै छैन । यो कुराको बोध गान्धीलाई थियो । त्यसैले पनि उनले आम मान्छेको, व्यवाहारिक कसीमा बुझ्ने 'सत्य' लाई नै ईश्वरको उच्च प्रतिरूप माने । यसो गरेर उनले, ईश्वर प्राप्तिका लागि कुनै निश्चित ईश्वर वा उपासना पद्धतिको अनिवार्यतालाई अस्वीकार गरे ।

हुन त गान्धीले हिन्दुत्वका बारेमा आफैँ पनि लेखे, तर उनको हिन्दुत्व सनातनी हिन्दुत्वको बिल्कुल विपरीत, एउटा व्यवाहारिक हिन्दुत्व हो, जसले क्लिष्ट उपासना पद्धति र ग्रन्थ अध्ययनभन्दा सत्य र अहिंसाको मार्गबाट ईश्वर प्राप्ति सम्भव छ भन्ने कुरा स्थापित गरिदिए । सनातन हिन्दू उपासना पद्धतिबाट शताब्दियौँ पूर्वदेखि वहिष्कृत दलितलाई 'हरिजन' भनेर नामाकरण गर्नु एउटा दार्शनिक छलाङ पनि त्यस अर्थमा थियो, जसबाट ईश्वरको परिभाषा नै सत्य, समानता र अहिंसासँग लगेर जोड्नु थियो  ।

बरू जोन हिकले, 'द फिफ्थ डाइमेन्सन' मा उल्लेख गरेको धार्मिक बहुलतावादको निकट हामीले गान्धीलाई पाउँछौँ । हिकको तर्क छ- एउटा अन्तिम गन्तव्य भन्नु 'रियल' यानि 'यथार्थ' हो, तर यसको प्राप्तिका लागि उनले, फेरि पनि, धार्मिक पद्धतिकै वकालत गरे । फरक यत्ति हो, अन्तिम गन्तव्य ईश्वरबाट उनी यथार्थमा आए । यथार्थ पनि त संस्कर र परिस्थितिअनुसार पृथक र परस्पर विरोधाभासी हुन सक्छ ! गान्धी अझै अगाडि बढे, र सत्य र अहिंसामा आए । यसो गरिरहँदा गान्धीले धर्म र अध्यात्मकै बाटोबाटमात्रै कोही सन्त हुन सक्छ भन्ने पुरानो चिन्तनलाई विस्थापित गरे ।

गान्धीको बुझाइअनुसार सत्य र अहिंसाको हिमायती कोही पनि सन्त हुन सक्छ, उसले ईश्वर अथवा कुनै निश्चित उपासना पद्धतिलाई माने पनि, अथवा नमाने पनि । उनको उत्तरआधुनिक बहुलतावादमा उनको सम्पूर्ण समाजिक र राजनैतिक चिन्तनको जग उभिएको छु । अखिर उनले हिन्दू, सिख वा मुसलमानमा भन्दा पनि उत्तम हिन्दू, मुसलमान वा इसाई हुनुमा जोड दिएका थिए । इन्टरनेशनल फेलोसिप अफ रिलिजन्सले सावर्मती आश्रममा, जनवरी १९२८  मा गरेको एउटा कार्यक्रममा उनले भनेका थिए- ' हामी केवल प्रार्थना गर्न सक्छौँ-  हामी हिन्दू हौँ भने कुनै इसाई हिन्दू हुनु जरुरी छैन, मुसलमान हौँ भने एक हिन्दू वा इसाई मुसलमान हुनु जरुरी छैन, अथवा हामीले कसैको धमान्तरण होस् भनेर गोप्य प्रार्थना गर्नु पनि उचित हुँदैन । हाम्रो भित्री प्रार्थना भनेको एक उत्तम हिन्दू, मसलमा वा इसाई हुनुका लागि हो ।' 

 आखिर, 'सेलेक्टेड वक्र्स अफ माहात्मा गान्धी' मा उनले भनेकै छन्- 'मैले सबै धर्मभन्दा माथि भनेर हिन्दू धर्मलाई राखेको होइन । मैले त्यस धर्मलाई राखेको हो, जो हिन्दुत्वभन्दा पनि माथि होस्, जसले सबैको प्रकृति परिवर्तन गरोस्, जसले सबैलाई सत्यसँग अन्तघुर्लित हुने गरी एकाकार गरोस् र शुद्धीकरण पनि गरोस् ।' 

गान्धीमा, धर्मको प्रस्थानविन्दु कुनै उपासना पद्धति वा ईश्वरवादबाट हटेर सत्य र अहिंसाको राजमार्गमा देखा पर्दछ । त्यस मार्गको बाटो कुनै पनि पन्थ वा धर्मका अनुयायीहरू, अथवा अनिश्वरवादीहरू पनि त्यस सत्यको उक्त विराट सत्तामा पुग्न सक्छन् भन्ने विन्दुमा पुग्छ । यसैमा गान्धीको धार्मिक चिन्तनको उत्कर्षविन्दु फेला पर्दछु । उनले ' हिन्दू धर्म ' नामक  पूरा ग्रन्थ नै लेखे, र गीतादर्शनलाई आफ्नै बुझाइका अनुसार व्याख्या गरे, तर उनले सर्वोच्च मानेको सत्य वा धर्म, उनका लागि जहिल्यै पनि वहुलताको एउटा साझा उत्कर्ष हो, जसको अन्तर्यमा न्याय र समानता निहित छ । 

जहाँसम्म सामाजिक समरताको प्रश्न छ, त्यससँग धेरै आयाम गाँसिएका भए पनि, गान्धीको भारतीय दलित मुक्ति आन्दोलन, र दलित उत्थान र उनीहरूको समुचित राजनीतिक प्रतिनिधित्वप्रतिको लगावको विवेचना गर्नुपर्ने हुन्छ । कारण, तीस–चालीसको दशकमा, अङ्ग्रेजशासित भारतका आर्थिक वर्गहरूबीचको असमानाता र खाडल एक गौण विषय थियो । के धनी, के गरिब- सबै त पराधीन थिए । तर, समाजको भित्री तहसम्म, सरकार, न्याय प्रणली र सुरक्षा व्यवस्थाको पहुँच नभएका दूरदराजका गाउँ, कुना र कन्दरासम्म पनि जरा गाडेर बसेको जात प्रथा र छुवाछुत सबै भन्दा ठूलो विभेदको आन्तरिक काराण थियो । त्यस विभेदको निराकरणबिना भारतको राजनैतिक स्वतन्त्रताको त्यति ठूलो अर्थ हुँदैन भन्ने हेक्का गान्धीलाई पूर्णतामा थियो । 

राजनीतिक शक्तिसन्तुलन र जातीय विभेदबीच के सम्बन्ध छ, यसको सैद्धान्तिक विवेचना जरुरी छ । पूर्वीय धार्मिक अथवा दार्शनिक परम्परामा हुँदै नभएको, अथवा अन्य व्यापक अर्थमा, प्रतीकात्मक रूपमा प्रयोग गरिएको सामाजिक वैविद्य, श्रमदायित्वको विभाजन आदि कुरालाई परम्पराका हिमायतीहरूले जातको स्वरूप दिएका हुन् र त्यसको अन्तर्यमा छुवाछुत र विभेदको विष घोलेका हुन् भन्ने कुरामा कुनै पनि विवाद छैन ।

शक्तिसम्पन्नहरू, शासनसत्ताको बागडोर आफ्नो हातमा हुनेहरू तथा श्रोतसाधनमाथि आधिपत्य हुनेहरू आफ्नो सत्ताको सुरक्षका लागि सैन्य र प्रशासनिक उपायका अतिरिक्त धार्मिक, सामाजिक वा सांस्कृतिक 'सङ्कथन' हरूको पनि निर्माण गर्छन् र ती सङ्कथनहरू स्वाभाविक यथार्थको रूपमा व्याख्यातित गर्छन् र स्वीकार गराउँछन् । संभावित विद्रोहको दमनका लागि यस्ता सङ्कथनलाई सत्यको रूपमा क्रियान्वित गराउँछन् । जातीय भेदभाव यस्तै एउटा सङ्कथन हो, र यसको शक्तिसँग निकटको सम्बन्ध हुन्छ । यस सत्यप्रति गान्धी सचेत थिए, र यसको विनिर्माण सामाजिक र राजनैतिक न्यायको दिशमा एक अपरिहार्य कदम हो भन्ने कुरामा उनी विश्वस्त थिए । 

सामाजिक समरसताको कसीमा गान्धीको कार्यशैलीलाई तत्कालीन भारतको दलित मुक्ति आन्दोलनसँग जोडेर हेर्नुपर्ने हुन्छ । यसका लागि, दलितमुक्तिमा उनको निजी धारणा, भीमराव रामजी अम्बेडकरसँगको उनको सम्बन्ध, तथा आचार्य विनोभा भावेको अगवाइमा भारतभरि चलेको भूदान आन्दोलनलाई आधार मानेर हेर्न सकिन्छ, यद्यपि भावेको आन्दोलन गान्धीको जीवनकालभन्दा केही वर्ष पछि सुरु उत्कर्षमा पुग्यो ।

तर, गान्धी त्यसका प्रेरणा थिए, उनी गान्धीबाटै दीक्षित थिए । अम्बेडकर सनातनी हिन्दू व्यवस्थाबाट थोरै हटेर, विशुद्ध सामाजिक परिपाटीमा दलित मुक्तिको सम्भावना खोज्ने पक्षमा थिए भने, गान्धी हिन्दू जीवन पद्धतिकै दायराभित्र, जात र छुवाछुतका आधार हटाई समताको खोजीमा थिए । उनी गाउँ गाउँबाट उक्त अन्दोलनको सुरुवात होस् भन्ने चाहन्थे भने अम्बेडकरको जोड सरहहरूमा व्याप्त वर्गीय असमनतालाई पनि सँगसँगै उखेल्दै लानुपर्ने, र यसका लागि बढीभन्दा बढी संविधान र व्यवस्थामा परिवर्तन गर्दै लानुपर्ने पक्षमा थिए ।

यसरी हेर्दा, गान्धी र अम्बेडकको कार्यपद्धतिमा केही भिन्नता अवश्य पनि देखिएला, तर अन्तर्यमा उनीहरूको दृष्टि पनि एक थियो, र लक्ष्य पनि एकै थिए । छुवाछुतको उन्मूलन उनी दुवैको साझा लक्ष्य थियो । 'हरिजन' मा उल्लेख भएअनुसार २ फरवरी १९३४ मा गान्धीले भनेकै थिए, ' एक सवर्ण हुन्दू हनुका नाताले जब म अवर्ण हुन्दूहरू पनि भएको कुरा मनन गर्छु, मेरो न्याय र सत्यप्रतिको निष्ठामा चोट पुगेको पाउँछु । यदि आज भनिएजस्तो गरी मैले पनि हिन्दू शास्त्रहरूले छुवाछुवा र भेदवाको समर्थन गरेको पाएँ भने म हिन्दुत्वकै विरोध पनि गर्ने छु ।'  'यङ इन्डिया' मा प्रकाशित एक लेखमा गान्धीले वर्ण व्यस्थालाई हिन्दू धर्मको विद्यमान एक कालो धब्बा भनेका छन् । 'द हिन्दू' मा गान्धीलाई यसरी उद्धृत गरिएको छः 'यदि छुवाछुत  हिन्दू धर्मको नैसर्गिक पाटो हो भनेर सिद्ध गरियो भने म हिन्दुत्का विरुद्ध खुला विद्रोह गरेर उभिने छु ।' उनी सोच्थे, छुवाछुत भन्दा नराम्रो अर्को कुनै पनि पक्ष हिन्दू समाजमा छैन ।

जातीय विभेदको विपक्षामा गान्धीको दृढता आचार्य विनोभा भावेको भूदान आन्दोलनको ऐनाबाट पनि हेर्न सकिन्छ । महाराष्टबाट सुरु गरिएको यो आन्दोलन, विनोभा भावेको नेतृत्वमा भूमध्यभारतका धेरै स्थानमा पुग्यो, र भूमिहीन दलितहरूका लागि घर बनाउने जग्गा उपलब्ध गराउने दिशमा पूर्ण कटिबद्धताका साथमा अगाडि बढ्यो । यसका पछाडि गान्धीकै निर्देशन र प्रेरणा थियो, जसलाई विनोभा भावेले आफ्ना उद्गारहरूमा प्रस्टताका साथ भनेको छन् । अगान्धीले बनारस हिन्दू विश्वविद्यालयमा दिएको एउटा भाषण प्रत्रिकामा प्रकाशित भएपछि त्यो पढेर भावे प्रभावित भएको कथा छ ।

स्कुल र कलेजका प्रमाणपत्र जलाएर गान्धीलाई भेट्न उनी अहमादावाद पुगे र उनको अभियानमा लागे । पछि वर्धामा खोलिएको गान्धीको आश्रमका हर्ताकर्ता भए । महाराष्ट धर्म नाम गरेको पत्रिका पनि सञ्चालनमा ल्याए, जसमा आफूले लेखेको उपनिषद् सम्बन्धी लेख प्रकाशित गरे । पछि गान्धीकै अनुरोधमा हरिजनलाई मन्दिर प्रवेश गराउने हेतुले उनी केरल प्रान्तको वाइकोम पुगे । पटक पटक गिरफ्तार र जेल चलान । गान्धीले उनले नयाँ अहिंसात्मक सत्याग्रहमा समेल गरेपछि उनी लोकप्रिय हुन थाले । गान्धीको सबर्मती आश्रममा पनि केही समय बिताए । भारत स्वतन्त्र भएपछि भूदान अभियान चलाए । जसमा उनी घरघर जान्छे, र आफूलाई पुत्र मानेर जम्मा जमिनको एक–छैटौँ भाग दान दिनू भन्थे । उक्त जमिन भूमिहीन हरिजनलाई दिन्थे । 

यस सन्दर्भको अर्थ हो- सामाजिक समरसताका लागि केवल धार्मिक सुधार मात्रै होइन, आर्थिक सुरक्षा र उन्नति पनि जरुरी छ भन्ने कुराको बोध गान्धीलाई थियो । वर्गीय तथा जातीय व्यवस्था भएका समाजहरूमा आजको समयमा प्रजातन्त्रलाई सफल बनाउने हो भने यिनै सूत्रहरू अवलम्वन गर्नु जरुरी छ । छुवाछुत सहितको समाज अग्रगतिमा जान सक्दैन । आर्थिक सुरक्षा बिनाको दलित मुक्तिको आन्दोलनको खासै अर्थ छैन । समानताको सिद्धान्तअनुरूप राज्यका सबै तहमा समान प्रतिनिधित्वको सूत्रलाई कार्यान्वयत गरिएन भने समाज अझै पनि विभाजित हुँदै जाने खतरा विद्यमान छ । यी तमाम समस्याको सम्यक समाधानका लागि आज पनि गान्धीका सूत्रहरू हामी सबैका लागि प्रेरणाका विषय हुन् । 

 


पौड्याल त्रिभुवन विश्वविद्यालयको अङ्ग्रेजी केन्द्रीय विभागमा प्राध्यापन गर्नुहुन्छ ।