महिलाहरु सिलाइकटाइ व्यवसायप्रति आकर्षित

महिलाहरु सिलाइकटाइ व्यवसायप्रति आकर्षित

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन १६, २०७७

कालिकोट । पछिल्लो समय  महिलाहरु सिलाइकटाइमा व्यस्त देखिन्छन् । सदरमुकाम मान्म बजारको जिरोप्वाइन्टदेखि प्रतिमाचोकसम्मका महिलाहरु दिनभरि सिलाइकटाई व्यवसायमा लागिरहेका छन् । कोही सिकाउने गर्छन् भने कोही सीप सिक्ने तयारीमा छन् ।
 
थोरै लगानीमा राम्रो आम्दानी हुन थालेपछि  महिलाहरु सिलाइकटाइ व्यवसायप्रति आकर्षित भएका  हुन् ।  सिलाइकटाइ व्यवसाय गरी घरपरिवार पाल्न र आफूलाई चाहिने खर्चको जोहो गर्न सजिलो भएको सान्नी त्रिवेणी गाउँपालिका ६ की कोइला सन्ज्यालले बताउनुभयो ।  सन्ज्याल मात्र हैन रास्कोट नगरपालिका वडा नं १ निवासी नौरता शाही पनि सीप सिकाउँदै र सिक्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “सिलाइकटाइ व्यवसाय गरे राम्रो आम्दानी हुन्छ, तालीम लिनका लागि आउनेहरुको सङ्ख्या जिल्लामा झन्झन् बढ्दै गएको छ । ”

सिलाइकटाइ व्यवसाय सिक्नेहरुको सङ्ख्या बढ्दै गएपछि सिकाउनेहरुलाई पनि फाइदा पुगेको छ । सुर्खेत जिल्लामा जन्मथलो हुनुभएका ज्योति खत्रीले कालीकोटलाई कर्मथलो बनाएर सिलाइकटाई व्यवसाय सिकाउँदै आउनुभएको छ ।  उहाँ भन्नुहुन्छ,  “अहिलेसम्म एक हजार भन्दा बढीलाई सिलाइकटाइ व्यवसाय सिकाउने मौका पाएकी छु ।” 

निजीस्तरमा खुलेका तालीम केन्द्रमा करीब १० महिलाले सिलाइकटाइको तालीम लिइरहेका छन् । सरकारीस्तरमा खुल्ने तालीमको अवसर  प्रायःजसो कमै  छ । सान्नी त्रिवेणी गाउँपालिकाले औजार उपकरणका लागि सहयोग गरेको छ । हाल ज्योति एण्ड टीका सिलाइकटाइ प्रशिक्षण केन्द्रलाई सादा नेपाल र सान्नी त्रिवेणी गाउँपालिकाले औजार उपकरणका लागि सहयोग गरी सिलाइकटाइ तालीम सञ्चालन भइरहेको छ । एक महिनाको तालीममा सीप सिकेर गाउँमै व्यवसाय सञ्चालन गरिने महिलाहरु बताउँछन् ।  
(((