योग अभ्यासका लागि एक कोठे सभाहल निर्माण

योग अभ्यासका लागि एक कोठे सभाहल निर्माण

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन १६, २०७७

बेनी । बेनी नगरपालिका–८ कालीपुलमा योग भवन निर्माण भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा तला थपेर योग अभ्यासका लागि एक कोठे सभाहल भएको भवन निर्माण भएको हो । 

सो योगहल थेरापियुटिक योग (रोगसम्बद्ध योग)का लागि प्रयोग गरिने केन्द्रका प्रमुख चिकित्सक मधुकरजी ढकालले बताउनुभयो । ढाड, घुँडाको हड्डी खिइएकाजस्ता समस्या भएका बिरामीलाई योगको माध्यमबाट उपचार सेवा शुरु गर्न लागिएको उहाँले बताउनुभयो । 

सो हलमा एक पटकमा बीस जनाभन्दा बढीले योग गर्न सक्ने क्षमताको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा ठेक्का प्रक्रियाबाट योगहल निर्माण भएको प्रमुख ढकालले बताउनुभयो । 

१९ लाख ३० हजार ९५९ रुपैयाँ लागत अनुमान गरिएको योगहल बनाउन भगवती मालिका कन्स्ट्रक्सनले १५ लाख ९५ हजार ८५५ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । कोरोनाको जोखिम र लकडाउनको असहज अवस्थाका बाबजुद स्थानीय मजदूर परिचालन र निर्माण सामग्री जुटाएर छोटो समयमा योगहल बनाएको निर्माण व्यवसायी गोपालप्रसाद भट्टचनले बताउनुभयो ।