'क्षमस्तस्यै क्षमस्तस्यै क्षमस्तस्यै सर्वदा', मैले चिनेका पुरुषोत्तम दाहाल

'क्षमस्तस्यै क्षमस्तस्यै क्षमस्तस्यै सर्वदा', मैले चिनेका पुरुषोत्तम दाहाल

ज्ञानमित्र  |  साहित्य  |  आश्विन १६, २०७७

बडो असहज त्यसबेला हुन्छ, जब कसैले मलाई 'ए तपाईं त सन्यासी, तपाईंको गुरु को हो नि' भनेर प्रश्न गर्छन् l

मलाई भने उनीहरुको प्रश्नको आशय अनुसारको गुरु बनाउने आवश्यकता नै परेन। सन्यासी जीवनमा भेटिएका एउटा गुरुले 'वेट एन्ड वाच' र अर्का गुरुले 'गो एहेड' मन्त्र दिई मलाई यस बन्धन र जन्जालबाट सधैंका लागि मुक्त बनाई दिए। मेरो सन्यासी जीवनको, आध्यात्मिक जीवनको गुरु म आफै हो। तर, मेरा अन्य थुप्रै गुरु छन् जीवनमा।

पोखराका बोक्सिंग गुरु विध्याजी र सुरेश (उहाँको थर याद छैन), काठमाडौँको लोकल बस यात्रामा भेटिएकी एउटी अन्जान महिला, भैरहवाका व्यापारी आदित्य, बद्रीनाथ यात्राका बस खलासी, चित्रकुट जाँदा भेटिएका एक मुस्लिम युवक, पुणेको रेस्टुरेन्टमा भेटिएका अज्ञात सन्यासी, मित्र देवनारायण पुरी, हिमान्चल प्रदेशको व्यास नदी किनारका रवि गिरी, त्रिलोकीनाथका 'म न्यायाधीश होइन' भन्ने सन्यासी, जर्मन महिला मित्र हालिना आदि आदि l

मेरो गुरुहरुको लिष्ट लामै छ। मैले सबैसँग केही न केही सिकेको छु। पुरुषोत्तम दाहाल पनि मेरो एउटा गुरु हुनुहुन्छ, म उहाँको एकलव्य l गुरु भेटीमा औंला बुझाउन नपरेको एकलव्य l उहाँ स्वयमलाई भने थाहा छैन, उहाँ मेरो जीवनको एउटा गुरु हो भन्ने !

मैले पत्रकारिता सिकेको नवआवाज साप्ताहिकको प्रकाशन अर्थाभावले बन्द भइसकेको थियो । नेपालको बहुदलीय व्यवस्थाको तेश्रो आमचुनावसम्म त जेनतेन प्रकाशित भयो नवआवाज़। हामी सबैलाई आशा थियो वामदेवजीले माउ दल टुक्र्याएर बनाएको नयाँ दल नेकपा मालेले चुनावमा अपेक्षित परिणाम ल्याउला र पत्रिका चलिरहन्छ । तर, प्रदिप नेपालको मुखमा सरस्वती नै बसेकी रहेछिन्, उनले चुनावपूर्व नै मालेले 'शानदार जीरो सीट ल्याउने' घोषणा गरेका थिए। चुनाव परिणाम आउँदा उनको भनाई अक्षरशः सत्य साबित भयो।

विस्तारै माले पार्टी खिइन थाल्यो । वामदेवजीको एउटा भनाइ मैले आज पर्यन्त बिर्सन सकेको छैन, बागबजारस्थित पार्टी कार्यालयमा एक दिन उहाँले आजित भएर भन्नुभयो, ‘हाम्रो पार्टी माले, राजनीतिक पार्टी नै बन्न सकेन, हामी झुण्ड मात्रै भयौं।'

नवआवाज प्रकाशनमा असमर्थ भएपछि शिव ढकाल, भरत पोख्रेल, कृष्णज्वाला देवकोटा र मैले साइन्स पत्रिका ‘आवृति’ निकाल्ने प्रयास गर्यौ l चारवटा आवृति भयो आवृतिको l तर, त्यसपछि निरन्तरता हुन सकेन । यसैबीच थाहा भयो, बलबहादुर केसीले टीम जुटाएर दैनिक पत्रिका निकाल्ने जमर्को गर्दै हुनुहुन्छ । केही महिना पहिला उहाँलाई विपद पर्दा माथवरसिंह बस्नेत, पुरुषोत्तम दाहाल र मैले निकै सहयोग गरेका थियौँ र हामी तीनैजनाले उहाँलाई एउटा दैनिक पत्रिका निकाल्ने चाजोपाँजो मिलाउन परामर्श समेत दिएका थियौ ।

नभन्दै, श्रम मंत्रालय सम्हालिरहनु भएका केसीले मानव तस्कर कै नामले कुख्यात 'म्यान पावर' व्यवसायीहरु परिचालित गरेर दैनिक पत्रिका निकाल्ने योजनासहित उत्सर्ग प्रकाशन स्थापना गराउनु भएछ ।  

त्यसपछि पत्रिका प्रकाशनको समस्त अभिभारा पुरुषोत्तम दाहाललाई प्राप्त भएको थियो । पहिलो व्यावसायिक दैनिक पत्रिका कान्तिपुरको संस्थापनकालमा त्यहिँ आवध्द जिवेन्द्र सिम्खडा पछि स्पेशटाइम दैनिकको स्थापनामा पनि सरिक हुनुभएको थियो । त्यसैले उहाँलाई दैनिक पत्रिका स्थापना र सञ्चालनको राम्रो अनुभव थियो l डेढमहिना अघिमात्र स्पेशटाइम दैनिकको कार्यकारी सम्पादकबाट राजिनामा गर्नुभएको उहाँ उत्सर्ग प्रकाशनमा पनि कार्यकारी सम्पादक नियुक्त हुनुभयो । पञ्चायत कालमा कांग्रेस पक्षबाट निक्लिने एउटा साप्ताहिकको नामबाट नै उत्सर्ग प्रकाशनले दैनिक पत्रिका प्रकाशन गर्ने भयो ,यसरी शुरुवात भयो- राजधानी दैनिक  ।

पत्रिका प्रकाशनको तैयारी चलिरहेको थियो । जिवेन्द्र सिम्खडाको कल्पनामा राजधानी दैनिकमा एउटा रङ्गीन पृष्ठ  राखिने थियो इन्द्रेणी, त्यसमा कुनै एक विषयमा बृहत खोजनीतिमूलक कथा छाप्ने l साताको सातै दिन एउटा एउटा इन्द्रेणी । केही वर्ष पूर्व कसमस विश्वकर्माले प्रकाशित गरेको रङ्गीन साप्ताहिक पत्रिका, जुन त्यतिबेला बन्द भैसकेको थियो, 'पत्रिका सातदिने'को चाङ्ग मलाई दिँदै उहाँले भन्नुभयो, ‘कविजी, यसको अध्ययन गर्नुहोस् l मेरो परिकल्पनाको इन्द्रेणी पृष्ठमा यस्तै किसिमका विभिन्न विषयको ‘डेफ्थ स्टोरी’ दैनिक प्रकाशित गर्नु हो ।' जेठ १० गते प्रकासित राजधानी दैनिकको पहिलो नमूना अंकको इन्द्रेणीका लागि मैले राजधानी दैनिककै इतिहास खोतल्दै ‘स्टोरी’ तैयार पारेको थिएँ, सहकर्मी मित्र कवि तथा साहित्यकार राजेन्द्र पराजुलीकासाथ ।

बर्षौ भइसक्यो उहाँसँग क्षमा गर्ने कला सिकेको । कैयन पटक आवेग र आवेशमा उहाँले उपहार दिएको विद्या मबाट क्षतिग्रस्त भयो होला l म चुके हुँला ....हुँला होइन, धेरै पटक चुकेकै स्मरणसमेत छ। तर, विश्वास गर्नुस् पुरुषोत्तम दाई ! होश आउने बित्तिकै, मैले ग्लानिको अग्निकुण्ड बनाई  पश्चातापको इन्धन बाली तपाईंलाई स्मरण गरी 'क्षमस्तस्यै क्षमस्तस्यै क्षमस्तस्यै सर्वदा' मन्त्र जप गरी आफुलाई साम्य पारे ।

दोश्रो नमूना अंक जेठ २० गते निकाल्ने र २२ गतेदेखि नियमित प्रकाशित हुने कार्यतालिका तय गरिएको थियो, जेठको पहिलो साता नै  l जेठ १९ गते बेलुका हामी दोश्रो नमुना अंक फाइनल गर्दै थियौँ, नारायणहिटी राजदरबारमा राजा बीरेन्द्रको बंश नै बिनाश गर्ने हत्याकाण्ड भयो l हाम्रो समस्त टीम नै कार्यालयमा थियो, जति प्रयास गर्दा पनि दरबारभित्र गोली चलेकोभन्दा बढी समाचार प्राप्त हुन सकेन। हामीलाई मात्र होइन, कुनै पनि मीडिया हाउसलाई वास्तविक समाचार प्राप्त हुन सकेन l

हाम्रो त नमूना अंक थियो, वितरित नै गरेनौ । किशोर नेपाल भने बाठा ! उनले प्रकाशित भएको  आफ्नो पत्रिका 'नयाँ सडक' वितरणमा पठाएनन् र बिहान १० बजेतिर थप जानकारी प्राप्त भएपछि आफ्नो ‘नयाँ सडक दैनिक'मा विस्तृत समाचार छापेर बजारमा पठाए। त्यो दिन 'नयाँ सडक' ब्ल्याकमा १०० रुपैयाँसम्ममा बिक्री भएको थियो ।

हाम्रो पत्रिकाको सम्पादन र व्यवस्थापन पक्षले जुन दिनदेखि पत्रिकाको नियमित अंक प्रकाशित गर्ने 'टाइट' कार्यतालिका तय गरेको थियो, जिवेन्द्र सिम्खडाको नेतृत्वमा हामीले त्यो पूरा गरेर देखायौँ । संयोगले अधिराजकुमार ज्ञानेन्द्र पनि त्यहि दिन राजा भए l युवा पत्रकार रामप्रसाद दाहालले राजदरबार हत्याकाण्डबारे निकै गहकिला तथ्य पेश गर्दै रिर्पोटिङ्ग गरे । राजदरबारमा भएको त्यो विभत्स हत्याकाण्डले नव प्रकाशित राजधानी दैनिक रातारात स्थापित हुन सहयोग पुग्यो ।

राजधानीको पहिलो अंक प्रकाशनको पूर्व सन्ध्यामा कार्यकारी सम्पादक जिवेन्द्र सिम्खडाले मलाई भन्नुभयो, 'कविजी ! तपाईं युवालक्षित ‘लास्टपेज’ सम्हाल्नुस् यार ! युवा पाठक आकर्षित गर्ने सामग्री तपाईंले पस्कन सक्नु हुन्छ ।'

म ‘डे डेस्क’बाट ‘नाइट डेस्क'मा सरुवा भएँ । मैले अन्तिम पेजमा फैशन, मोडलिग, सिनेमा, कला, विज्ञान, प्रकृतिका तीनवटासम्म फोटो ‘इन्टरनेट’बाट खोजी खोजी हाल्थें l यसकार्यमा सहकर्मी नवीन रायमाझीको मलाई वान्छनीय सहयोग रहन्थ्यो । प्रथम पेजबाट 'जम्प' भएर आएका समाचारबाहेक अन्तिम पेजमा हल्का फुल्का, रमाइला, आश्चर्यजनक र अपराधसम्वन्धी समाचारलाई प्राथमिकता दिइन्थ्यो । कार्यकारी सम्पादक मेरो कामबाट सन्तुष्ट हुनुहुन्थ्यो l तर, बेलामौकामा प्रधानसम्पादकलाई भने मैले स्पष्टीकरण दिनु पर्थ्यो l उहाँ भन्नुहुन्थ्यो, 'पार्टनर' तपाईंको पेज अश्लील चैं हुनु भएन है !'

माओवादी हिंसाको बेला थियो त्यो l पत्रपत्रिकाहरुमा माओवादीले गरेको नरसंहारको सूचना दिने होड नै चलेको थियो । हामी पनि राति १२–१ बजेसम्म माओवादीका समाचार पर्खेर बस्थ्यौँ । माओवादीले कहाँ कुन जिल्लामा हानिहाल्छन् कि भनेर ! माओवादीले  राति नरसंहार मच्चाएको ठाउँमा भोलिपल्ट हेलिकोप्टर चार्टर गरेर पुग्ने प्रतिश्पर्धा थियो पत्रिकाहरुमा l र, छापिन्थे सूचना प्रदान गर्ने नाममा रक्तरंजित, क्षतविक्षत  शवहरुका तस्बिर ! मैले त्यसखाले पत्रकारिताको आशय कहिल्यै बुझ्न सकिन ।

एकदिन कार्यकारी सम्पादकसँग सोधेँ, ‘यो रक्तरंजित विभत्स फोटाहरु प्रकाशित गर्नु के पत्रकारिताको धर्मभित्र पर्छ ?' उहाँले सहजै भन्नु भयो, 'हामी त समाजको ऐना हौँ नि, समाजमा जेजस्ता गतिविधि हुन्छन्, हामी त्यसैको समाचार पस्किन्छौँ l'

मैले उहाँलाई स्मरण गराएँ, अमेरिकाको ‘ट्विन टावर’मा आतंककारी आक्रमण हुँदा कुनै पनि अन्तराष्ट्रिय पत्रपत्रिकामा त्यहाँको एउटा पनि शव, रक्तको थोपो र विभत्स भग्नावशेषको फोटो छापेको पाइन भनेर ।

उहाँले गम्भीर भएर भन्नुभयो, 'हो त है कविज्यू ! तर के गर्नु, देश गुणाको भेष भनिन्छ नि, हाम्रा प्रतिष्पर्धी सबै नै यही गर्दैछन् l आदर्शवादी बनेर हामी पछाडि पर्न चाहँदैनौं l'

गजबको थियो हाम्रो त्यसबेलाको पत्रकारिता l मलाई अझै याद छ, नुवाकोटमा माओवादी आक्रमण हुँदा बैंकमा एकजना निम्न श्रेणीमा कार्यरत कर्मचारी मारिएका थिए l टेलिभिजन प्रस्तोता विजयकुमार पाण्डे उनको पत्नीको अन्तर्वार्ता लिन पुगे। वार्ताकारले चार पाँच पटक प्रश्न गरे ‘होइन तपाईंलाई आफ्नो पतिको मृत्युको समाचार पहिलो पटक सुन्दा कस्तो लाग्यो ?’

माओवादीको कर्तुतभन्दा पनि जघन्य, कायरतापूर्ण र असम्वेदनशील क्रियाकलाप थियो शठ अन्तर्वार्ताकारको।  मेरो नजरमा मानवताका सबै सीमाना नाँघेका थिए विजय कुमारले l उनको त्यो कार्यक्रम हेरेपछि, मैले त्यस उप्रान्त टेलिभिजनमा उनको कुनै पनि कार्यक्रम हेरिन। मैले आफ्नो स्वेच्छा र विवेकले विजय कुमारलाई 'ब्लैक लिस्ट'मा राखेँ।

कार्यकारी सम्पादकको तर्कमा म सहमत हुन नसके पनि मैले आफ्नो स्वेच्छा र विवेकले विजय कुमारलाई 'ब्लैक लिस्ट'मा राखेजस्तै गरेर राजधानीबाट राजीनामा भने गरिन l कार्यकारी सम्पादकको 'बाध्यता' जस्तै मेरो पनि आफ्नै खालको बाध्यता थियो l

राजधानी दैनिकमा जागिरे भएपछि मेरा आयका अन्य श्रोत समाप्त भएका थिए । नवआवाज़ साप्ताहिकमा पत्रकारिता सिक्दा मैले काठमाडौँमा हिन्दीको ट्युसन पढाउने गर्थे।  राम्रै कमाई हुन्थ्यो त्यसबाट। दुइटा ट्युसनबाट महीनाको ७-८ हजार कमाई हुन्थ्यो। ट्युसन पढाउने कार्यले नै म काठमाडौँमा टिकेको थिए। म मात्रै होइन, मित्र कृष्णज्वाला देवकोटा पनि त्यस बेला अध्यापन र ट्युसनबाटै काठमाडौँमा टिकेका थिए।

तर, राजधानीको जागीरपछि ट्यूशनका लागि मसँग समय हुन्न थियो र मैले त्यो काम छोडिसकेको थिएँ । त्यसैले जागिर च्याट्ट छोड्न सकिन्न थियो । त्यसैले मैले पैसाका लागि काम गरेको हुँ, पत्रकारिताको कुनै आदर्स स्थापित गर्न म आएको पनि त होइन भनेर चित्त बुझाउँथें।

समग्रमा राजधानीमा काम गर्दा रमाइलो नै थियो l प्रधान सम्पादक पुरुषोत्तम दाहालको शालीनता र कार्यकारी सम्पादक जिवेन्द्र सिम्खडाको सिर्जनशीलता राजधानी दैनिकको दुई पाँग्रा बनेको थियो र पत्रिकाले निरन्तर अग्रगति लिइरहेको थियो l

खै के के स्वार्थ, महत्वाकांक्क्षा वा कारणहरुले हो, लगानीकर्ताहरुकाबीच भने आपसी मनमुटाव बढ्दै गएको रहेछ l त्यसैबीच बल बहादुरजीले पुनः  मन्त्रीपद पाएपछि आफुलाई राजधानीको व्यवस्थापनबाट अलग्याउनु भयो l उहाँसँगै अन्य केही लगानीकर्ता पनि बाहिरिए l शेष रहेको व्यवस्थापनले संस्थाको संरचना अलि सानो बनाउने निर्णय गरेछ l हुन पनि राजधानीको सम्पादकीय टीम भद्दा नै थियो l हामी अधिकांश पत्रकारहरु जेठको पहिलो सातातिर भर्ती भएका थियौँ l हामीलाई ६ महीने करार पत्र  दिइएको थियो । व्यवस्थापनले 'काम नलाग्ने' ठानेको पत्रकारहरुलाई सिधै निकाल्नुभन्दा दशैं-तिहार लगत्तै सकिने करारको अवधि पर्खेको रहेछ ।

व्यवस्थापनले कात्तिक मसान्तमा डेढ दर्जनजति हाम्रा सहकर्मीको करार म्याद थपेन l पुरुषोत्तम दाहालले व्यवस्थापनको त्यो कदममा कडा आपत्ति जनाउनु भयो, तर व्यवस्थापनले कुनै सुनुवाई नगरेपछि उहाँले राजीनामा दिनुभयो। उहाँले राजीनामा दिँदा उहाँका धेरै शुभचिन्तकले पनि राजधानी छाडे l
यो मेरो जीवनको बिडम्वना नै भयो, मैले भने त्यतिबेला पुरुषोत्तम दाहाल दाईलाई साथ दिन सकिन।

साँझमा कार्यालय पुग्दा सुनसान थियो, कार्यकारी संम्पादकले सबै कुरा भन्नु भयो l भोलिको पत्रिका कसरी निकाल्ने भन्ने ठूलो समस्या थियो त्यहाँ l कम्प्युटर अपरेटर र प्रुफरीडर अधिकांशले राजधानी छाडेर हिँडेका थिए । त्यो सङ्कट टार्न हारगुहार गर्ने मेसोमा मैले पनि आफ्नो एकजना साथी नवराज न्यौपानेलाई बोलाएर टाइप गर्न लगाएँ । जेनतेन गरेर पत्रिका प्रकाशित भयो ।

कार्यकारी सम्पादक जिवेन्द्र सिम्खडाले मलाई भोलिपल्ट दिउँसो १२ बजे नै कार्यालयमा बोलाउनु भयो । मेरो करार भने त्यै दिन सकिनेवाला थियो । कार्यालय पुग्दा उहाँले भन्नुभयो, 'अर्को व्यवस्था नभएसम्म ‘फिचर डेस्क' पनि तपाईंले हेरिदिनु पर्यो।'

कार्यकारी सम्पादक जिवेन्द्र सिम्खडाले निकै मिहेनत र सुझबुझपूर्ण कार्य गरेर त्यो बेलाको 'क्राइसिस म्यानेज' गर्नु भएको थियो l उहाँले पाका पत्रकार तर अत्यन्तै प्रतिष्ठित र भद्र पुरुष बालमुकुन्ददेव पाण्डेलाई प्रधानसम्पादक बनाउन लगाउनु भयो भने काम गर्न युवा पत्रकारहरु खोज्नु भयो l व्यवस्थापनसँग निकै करै गरेर अल्लारे केटा कृष्णज्वाला देवकोटालाई  सिधै फिचर चिफ बनाएर राजधानीमा भित्र्याउनु भयो। यसरी कृष्णज्वाला देवकोटाको पत्रकारिताको पहिलो जागीर नै वरिष्ठ पदबाट शुरु भएको थियो ।      

कृष्णज्वालाको त्यो शानदार 'डेब्यु'मा मेरो पनि हात थियो l  त्यसताका कृष्णज्वाला मेरा अभिन्न मित्र थिए l कार्यकारी सम्पादक जिवेन्द्र सिम्खडाले राजधानीको त्यो रिक्तताका बेला अब ककस्लाई ल्याउन उपयुक्त हुन्छ भनेर मसँग पनि परामर्श गर्नु भएको थियो।  मैले शिव ढकाल, भरत पोख्रेल, कृष्णज्वाला देवकोटा, उमेश चौहान, पद्म गौतमको नाम सुझाएको थिएँ । र, पद्म गौतमबाहेक मेरा सबै बागबजारे साथीहरु राजधानी दैनिकसँग आबद्ध हुन आइ पुगे पनि।

त्यो घटनापछि राजधानीमा मेरो महत्व त बढ्यो l तर, म सम्मानित पुरुषोत्तम दाहाल दाईको नजरमा भने खासै , मैले आफ्नो निहित स्वार्थले उनलाई साथ दिन सकिन । विनम्रताका प्रतिमूर्ति पुरुषोत्तम दाईले  भने मसँग यस विषयमा कहिल्यै कुनै गुनासो गर्नु भएन ।

पुरुषोत्तम दाईकै कार्यकालमा, अन्तिम पेजकै सम्पादन गर्ने क्रममा मबाट दुईपटक ठूल्ठूला गल्ती भए ।  ती गल्ती र मेरो हाकिमको मेरा ती गल्तीप्रति मसँग भएको व्यवहारले  मलाई जीवनकै ठुलो शिक्षा दियो।

पहिलो, रौतहट जिल्लामा एउटा वृद्ध महिलालाई गाउँलेहरुले बोक्सीका आरोप लगाई चरम यातना दिइ बडो अमानवीय व्यवहार गरेका रहेछन् । म कार्यालय पुग्नुअघि नै त्यो समाचार पत्रिकाका स्थानीय संवाददाताले पठाइसकेका रहेछन्। प्रधान सम्पादक  पुरुषोत्तम दाहाल स्वयंले त्यो समाचार हेर्नु भएको रहेछ । मेरो कोठामा उहाँ स्वयम् नै आएर त्यो समाचार दिँदै भन्नुभयो, 'पार्टनर, यस समाचारलाई विशेष महत्त्वसहित आफ्नो पेजमा स्थान दिनुस् ल l हेर्नुस्त, आजको एक्काइसौ शताब्दीमा पनि मानिस अझै सोह्रौ शताब्दीको मानसिकता लिएर बाँचिरहेका छन् ।'

मैले समाचारलाई आफ्नो क्षमताले भ्याएअनुसार बनाइ टाइपमा पठाइ दिएँ । राजधानी दैनिकमा त्यसबेला प्रत्येक पेजका 'डेस्क एडिटर'ले आफ्नो पेज तैयार गरी A-४ प्रिन्ट निकाली कार्यकारी सम्पादकलाई देखाउने चलन थियो। बोक्सीको आरोप लगाई महिलालाई यातना दिइएको समाचारलाई मैले अन्तिम पेजको मुख्य समाचार बनाएको थिएँ । कार्यकारी सम्पादक जिवेन्द्र सिम्खडाले पेज हेर्दै भन्नुभयो, 'होइन कविजी, यो बोक्सीवाला समाचार महत्वपूर्ण छ, यसलाई पहिलो पेजमै राख्नु पर्यो l अन्य कुनै 'न्युज' छ भने त्यो राखेर, नत्र कुनै फोटो हालेर तपाईं पेज भर्नुस्।'

मैले कम्प्युटर अपरेटर भाईलाई त्यो समाचार प्रथम पेजमा पठाउन लगाएर त्यहाँ अरु नै समाचार हाली 'पेज कम्प्लीट' गरी घर गएँ ।

भोलिपल्ट हाम्रो पत्रिकाको प्रथम पेजमा त्यो समाचार छापिएको रहेनछ। अन्य पत्रिकाहरुले भने त्यस समाचारलाई प्रमुखताका साथ छापेका थिए  । म प्रायः बेलुका ६ बजे कार्यालय पुग्ने गर्थे। कार्यालयमा भेट हुँदा कार्यकारी सम्पादकले भन्नुभयो, हिजो त ठूलै गल्ती भएछ नि कविजी। बोक्सीवाला समाचार मैले तपाईंको पेजबाट झिक्न लगाएँ, तर अन्तिम  समयमा खै के गरी समाचार 'क्यारी' भएनछ । तर, केही बात छैन कविजी, राम्रो गर्न खोज्दा कहिलेकाहिं यस्तो हुन्छ।'

अब त  पत्रकारिताको स्वरुप नै दिन प्रतिदिन बदलिदै गइ रहेको छ।  अनलाइन पत्रकारिताले भष्मासुरको मुख झैँ अन्य सबैलाई विस्तारै आफ्नो ग्रास बनाउदै लगिरहेको छ। अनलाइन पत्रकारितामा कुनै चुनौती नै छैनन् जस्तो लाग्छ। 'प्रिन्ट' पत्रकारिताको 'डेस्क एडिटर'ले बुद्धि विवेक प्रयोग गरी त्वरित निर्णय लिने जस्तो कुनै जिम्मेवारी हुँदैन अनलाइनका पत्रकारहरुसँग । 'प्रिन्ट' पत्रकारितामा 'डेस्क एडिटर'ले उपलब्ध समाचारमध्ये कुन समाचार प्रकाशित गर्नु पर्ने हो, निर्णय लिनु पर्ने हुन्छ।  र, त्यसमाथी समाचार 'सेलेक्ट' गरी सकेपछि थाहा हुन्छ, आज पेजमा यति विज्ञापन छ । अब कुन समाचार हटाउने, कुन राख्ने त्वरित निर्णय लिनु पर्ने हुन्छ।  यी सब चुनौती अनलाइन पत्रकारितामा कहाँ हुनु ? यहाँ त समाचार पस्किदा भएका गल्ती तत्काल सुधार्ने सुविधासमेत हुन्छ।

साँझमा प्रधान सम्पादक घुम्दै मेरो कोठामा आउनु भयो र सोध्नु भयो, 'पार्टनर, तपाईको अभियान जारी छ होइन ?'

मैले कलम टेबलमा राख्दै भने, 'दाई जारी नै छ।'

'मैले तपाईंको कामका बारे सोधेको होइन, धुम्रपान जारी छ कि छैन भनेर सोधेको हो', उहाँले भन्नुभयो l
टेबलमा रहेको ऐष्ट्रेमा चुरुट सल्केकै अवस्थामा थियो। कार्यालयमा हामी ४-५ जना 'स्मोकर' थियौँ ।  म, चेतन पाण्डे, नवीन रायमाझी, मोहन दाहाल, जिवेन्द्र सिम्खडा लगायत ।

 जिवेन्द्र दाईको कोठामा धुम्रपान स्वीकृत थियो।  म बस्ने कोठामा अर्थ ,खेलकुद र विदेश पेजका साथीहरु पनि बस्थे। अर्थ र विदेश पेजका साथीहरु भला मानिस थिए दुवै अर्थमा। उनीहरु सिगरेटपानबाट टाढा थिए भने उनीहरुलाई मैले, चेतन र नवीनले चुरुट तानेकोमा आपत्ति पनि हुँदैन थियो।  

मैले हाँस्दै भने, 'दाई चुरुटले काम 'फास्ट' हुन्छ।'

उहाँले चिरपरिचित हाँस्य मुद्रामा कोठाबाट निस्किदै भन्नुभयो, 'तपाईको बुटी सकेर एकपटक मेरो कोठामा आउनु होला।'

मैले केही दिनमै उहाँको बानी थाहा पाई सकेको थिएँ। उहाँले कुनै गम्भीर विषयमा केही भन्नु पर्दा प्रायः सम्बन्धित व्यक्तिलाई आफ्नो कोठामा एक्लै बोलाई भन्ने गर्नु हुन्थ्यो।

मेरो छैठो इन्द्रिय सक्रिय भयो- निश्चय पनि यो बोक्सी प्रकरणकै सन्दर्भमा बोलाहट हो।

बुद्धिमत्ता के हो, के र कसलाई  बुद्धिमान भन्ने ? मलाई यसबारे केही थाहा छैन।  म औसत बुद्धिको सामान्य प्राणी हुँ। जीवनमा सोच विचारपूर्वक  बुद्धि खियाएर लिएका मेरा अधिकांश निर्णय गलत साबित भएका छन्। बरु, हठात लिएका निर्णय, जसलाई प्रत्युत्पन्न्मति भनिन्छ, तिनको प्रतिशत ५०-५० रहेको पाएको छु।

मैले प्रधान सम्पादक पुरुषोत्तम दाईले समाचार छुटेको विषयमा प्रश्न गरे के जबाब दिने भन्ने निर्णय लिन शायद २ सेकेन्ड पनि लगाइन।  म मस्तिष्कमा जबाब लिइ उहाँको कोठामा गएँ।

उहाँले मसँग त्यो समाचार कसरी छुट्यो भन्ने नै प्रश्न गर्नुभयो। बडो मृदुल स्वरमा उहाँले सोध्नु भयो, 'मैले आफैं आएर त्यो समाचार तपाईंलाई दिएको थिएँ l तपाईंजस्तो जिम्मेवार मान्छेबाट त्यो समाचार कसरी छुट्यो पार्टनर ?'

कल्पना गर्नुस्, तपाईं मेरो ठाउँमा भएको भए के जबाब दिनु हुन्थ्यो ? निश्चय पनि तपाईंको कुनै गल्ती थिएन। तपाईंसँग आफ्नो (मसँग) निर्दोषिताको प्रमाण पनि थियो। त्यै के, छुटेको समाचारलाई मुख्य समाचार बनाएर निकालेको A -४ प्रिन्ट !

म उहाँलाई सम्पूर्ण वृतान्त सुनाएर अर्काका काँधमा दोषारोपण गर्ने पक्षमा विल्कुलै थिइनँ l मैले आफुबाट गल्ती भएको स्वीकार गरें।  तर, 'दाई एक छिन् है' भनी म उहाँको कोठाबाट बाहिर आएँ र आफ्नो कोठाबाट A-४ प्रिन्ट लिइ पुनः उहाँको कोठामा गएँ।

'दाई, हाम्रो पत्रिकामा समाचार नआएकोमा गल्ती त मेरो हो तर यसमा मेरो गल्तीभन्दा पनि शायद मेरो प्रविधिको अल्पज्ञानले गर्दा यो गल्ती भएको हो', मैले उहाँको टेबलमा A-४ प्रिन्ट राख्दै भनें, 'मैले यस समाचारलाई बिर्सेको होइन, प्रमुखता साथ नै 'स्पेस' दिएको थिएँ l'

A-४ मा समाचार हेरेपछि उहाँले भन्नु भयो, ' A-४ मा आएको समाचार कसरी छुट्यो त ?'

मलाई टाइप र 'पेज मेकिङ्ग'सम्बन्धी कुनै ज्ञान छैन दाई ! एक पटक A-४ प्रिन्ट निकालेपछि कार्यकारी सम्पादकलाई देखाउँछु।  उहाँले गरेको 'करेक्सन'पछि पेज फाइनल हुन्छ। दाई, यो समाचार कसरी छुट्न गयो, मलाई कुनै 'आइडिया' छैन।

पत्रकारितामा बीसौं वर्ष बिताएका पुरुषोत्तम दाईसँग तपाईंलाई सेतो, कालो, नीलो जस्तो मन लाग्छ ठान्नुस्, त्यस्तै झुट्ठो बोली रहेको थिएँ म।

उहाँले अत्यन्त विनम्रतापूर्वक स्वरलाई अत्यधिक मृदुल बनाई भन्नुभयो, 'मानवीय संवेदनाका समाचारमा हामीले अरु केही गर्न नसके पनि तिनलाई उचित स्थान त दिनुपर्छ पार्टनर  !' उहाँले यो बाहेक मसँग एक शब्द पनि भन्नु भएन । म त्यो दिन उहाँको शालीनताबाट प्रभावित नभइ रहन सकिन। उहाँबाट आफ्ना  जुनियर सहकर्मी ,सहयोगीहरुसँग गरिने व्यवहारको जुन पाठ पाएँ, मैले त्यसलाई आफ्नो जीवनमा ओराल्ने प्रयास गरें, कैयन पटक असफल भए हुँला l तर, प्रत्येक पटक पुरुषोत्तम दाईले मसँग गरेको व्यवहार स्मरणले म आफुलाई सच्याउन सघायो ।

केही समय उप्रान्त म पत्रकारिता परित्याग गरी सन्यासमा प्रवृत भएँ। साथीभाईले अझैँ पनि सोध्छन्, 'आध्यात्मिक मानिसले झुट्ठो बोल्छन् कि बोल्दैनन् ? झुट्ठो बोल्नु हुन्छ कि हुँदैन ?'

मेरा लागि झुट्ठो र साँचो सापेक्ष कुरा हुन् । महत्वपूर्ण बोल्नेको 'एटीट्युड' हो। तपाईंले साँचो बोलेर हिंसा गर्न सक्नु हुन्छ, झुट्ठो बोलेर पनि समाजमा सौहाद्र, शान्ति र बन्धुत्व स्थापना गर्न सक्नु हुन्छ। तपाईंको सोह्रै आना सत्यले यदि समाजमा विखण्डन ल्याउँछ भने त्यस्तो सत्यलाई आर्यघाटमा लगेर भष्म पारी दिए हुन्छ। बोल्दा सत्य असत्यको होइन, आफ्नो 'एटीट्युड' र 'इन्टेसन'को बोध हुनुपर्छ।  

पुरुषोत्तम दाहाल दाईसँग काम गर्दाको अर्को एउटा प्रसंग पनि मेरा लागि सधैँ प्रेरणादायी रह्यो । एकदिन मित्र नवीन रायमाझीले इन्टरनेटबाट संकलित गरी मलाई एउटा समाचार दिए, मैले अन्तिम पेजमा त्यसलाई स्थान दिएँ । बेलायतमा बस्दै आएकी ‘नेपाली मूलकी महिला वेश्यावृत्तिमा संलग्न’ समाचार छापियो ।

प्रधान सम्पादक त्यो बेला कुनै गोष्ठीमा भाग लिन पूर्वाञ्चल जानु भएको थियो । समाचार छापिएको दुई तीन दिनपछि उहाँ फर्कनु भयो।  

 साँझ मेरो कोठामा आएर उहाँले भन्नु भयो, ‘पार्टनर , चुरोट जारी  छ ?'

 प्रत्युत्तरमा म हाँसे मात्र।

उहाँले कोठाबाट निक्लिदै भन्नुभयो, 'तपाईंसँग एउटा गोप्य कुरा छ, बुटी सकेर मेरो कोठामा आउनुस् ल।'

म दस मिनेटपछि उहाँको कोठामा हाजिर भएँ। उहाँले सोध्नु भयो, 'दुइतीन दिनअघि तपाईको पेजमा वेश्यावृत्ति सम्बन्धी समाचार आएको थियो ?'

 मैले परिस्थितीको गम्भीरता नबुझ्दै भने, ‘दाई, मेरो पेजमा त प्रायः दिनहुँ एउटा यस्तो खाले समाचार हुन्छ l'

उहाँले अझ विनम्र हुँदै सोध्नु भयो ‘होइन, त्यो विदेशको समाचार थियो, कुनै नेपाली मूलको महिला त्यहाँ वेश्यावृत्तिमा संलग्न भएको l'

अब भने मैले सम्झिसकेको थिएँ, उहाँको इशारा कुन समाचारप्रति लक्षित थियो । मैले भने, 'हो दाई, त्यो लण्डनको घटना थियो l'

'तपाईंले कहाँबाट त्यो समाचार पाउनु भयो ?' उहाँले प्रश्न गर्नु भयो ।

 मैले इन्टरनेटबाट प्राप्त भएको जानकारी दिएँ।

उहाँले बडो शालीनतापूर्वक भन्नु भयो, ‘होइन पार्टनर, ती मेरो मित्रकी श्रीमती हुन्, त्यो समाचार प्रकाशन भएपछि नेपालस्थित उनको  घरमा रुवाबासी चलेको छ l तिनको श्रीमानले स्वयं मलाई फोन गरेर दुखेसो पोख्नु भयो l'

अब भने मैले गम्भीर हुनु पर्‍यो, ‘दाई, त्यसमा त कसैको असली नाम थिएन, परिवर्तित नाम थियो र नेपालको कुनै ठेगाना पनि थिएन, न लण्डनकै निर्दिष्ट ठेगाना थियो।'

उहाँले भन्नु भयो, 'पार्टनर, चोट लाग्न र बदनाम हुनलाई नाम र ठेगाना आवश्यक पर्दैन, स्त्रीको चरित्र विषयी घटना हाम्रो समाजमा जंगलको आगोजस्तै फैलिन्छ। अब हामीले त्यस परिवारको सन्तुष्टीका लागि के गर्दा राहत हुन्छ, त्यो दिशामा सोच्नु पर्यो ।

मेरो गल्तीलाई केही नभनी तत्काल क्षमा गर्दै उहाँले उल्टै मसँग परामर्श पो माग्नु भयो !

मेरो चिन्तनको दृष्टिकोण भने सधैँ अरुभन्दा फरक नै रही आएको थियो । मैले उहाँलाई हामीले पत्रिकाका माध्यमले केही नगर्ने, बरु परिवारसँग प्रत्यक्ष क्षमायाचना गर्ने सुझाव दिएँ । मेरो तर्क थियो, 'समाचार प्रकाशित हुँदा नपढेका पाठकले समेत क्षमायाचना पढेपछि त्यो समाचार खोजी खोजी पढ्छन्।'

उहाँ सहमत हुनु भयो र मलाई यति मात्र भन्नुभयो, 'महिलाको अस्मितासम्बन्धी समाचार दिदाँ तपाईं हामी सम्वेदनशील हुनै पर्छ, हाम्रो समाचारले कसैको जीवनमा आघात पुग्नु हुन्न ।'

राजधानीले त्यस समाचारप्रति क्षमायाचना प्रकाशित गरेन।

पुरुषोत्तम दाईसँग म ती दुबै  घटनाले अत्यन्त प्रभावित भएँ, उहाँसँग आफ्ना कनिष्ठहरुको गल्तीमा संयम वर्तने अनुपम कला थियो । सन्यासी जीवनमा रुपान्तरित हुँदा मैले उहाँसँग सिकेको यो पाठ कहिल्यै बिर्सिन , जसले मलाई सन्यासी जीवनमा झनै उपयुक्त बनायो ।

बर्षौ भइसक्यो उहाँसँग क्षमा गर्ने कला सिकेको । कैयन पटक आवेग र आवेशमा उहाँले उपहार दिएको विद्या मबाट क्षतिग्रस्त भयो होला l म चुके हुँला ....हुँला होइन, धेरै पटक चुकेकै स्मरणसमेत छ। तर, विश्वास गर्नुस् पुरुषोत्तम दाई ! होश आउने बित्तिकै, मैले ग्लानिको अग्निकुण्ड बनाई  पश्चातापको इन्धन बाली तपाईंलाई स्मरण गरी 'क्षमस्तस्यै क्षमस्तस्यै क्षमस्तस्यै सर्वदा' मन्त्र जप गरी आफुलाई साम्य पारे ।

पाठलाई जीवनमा उतार्ने सन्दर्भमा महाभारतको एउटा प्रसंग याद आउँछ।  गुरुकुलमा पाँच पाण्डव र सय कौरव विद्या आर्जन हेतु थिए।  गुरुले एउटा पाठ दिनु भयो र सबै विद्यार्थीलाई त्यो पाठ स्मरण गरेर आउँन भन्नुभयो। युधिष्ठिरबाहेक सबैजनाले गुरुले दिएको पाठ याद गरे। गुरुले सोध्दा युधिष्ठिरबाहेक सबैले पाठ सुनाए।  युधिष्ठिरले क्षमा माग्दै आफुलाई पाठ याद नभएको र आफुलाई त्यो पाठ याद नहुन्जेल अर्को पाठ नदिनसमेत अनुरोध गरे।  

दिन बित्दै गए, अरु विद्यार्थीलाई गुरुले सधैँ एउटा नयाँ पाठ दिनु हुन्थ्यो, उनीहरुले त्यो पाठ कन्ठस्थ गरेर गुरुलाई सुनाउथे। तर, युधिष्ठिरले पहिलो पाठ नै गुरुलाई सुनाउन सकेनन्। अन्ततः एकदिन गुरुले झर्किदै सोध्नु भयो, 'युधिष्ठिर तिम्रो समस्या के हो ? तिम्रा भाइहरुले कति अध्ययन गरिसके, तिमी पहिलो पाठमै अड्केका छौ।'

'गुरुदेव, जति याद गरे पनि म त्यो बिर्सिहाल्छु, के गरौँ ? त्यो स्मृतिमै रहँदैन', युधिष्ठिरले भने l  

'तिमीलाई एक लाइनको पाठ याद गर्न यतिको हम्मे ? के गाह्रो छ याद गर्न ?' गुरु कड्किए l  

त्यो पाठ थियो, 'म सदा सत्य बोल्छु l'

'गुरुदेव,' युधिष्ठिरले भने, 'यो वाक्य त मलाई याद छ तर व्यवहारमा म सधैँ बिर्सी हाल्छु , पालन गर्न सक्दिन।'

गुरुलाई आफ्नो भुलको अहसास भयो l उनले भने, 'युधिष्ठिर ! तिम्रो पढाई पुरा भयो। यो एक वाक्यलाई आफ्नो आचरणमा ढाल, तिमीले अरु केही पढ्नु पर्दैन। यही एउटा कुराले जीवनभरी तिम्रो कल्याण गर्नेछ ।'

तपाईंसँग सिक्ने 'हुनर' छ भने जोसुकैबाट, जेसुकैबाट तपाईं केही न केही सिक्न सक्नु हुन्छ, चाहे त्यो तपाईंको परम रिपु नै किन नहोस् । 'पर्टीकुलर' एउटा गुरुको आवश्यकता अपांगताको प्रतीक हो। गुरु होइन, तपाईं बैशाखीको तलाशमा हुनुहुन्छ।