‘युद्ध, सहअस्तित्व र सिर्जना’मा सहअस्तित्वको खोजी

‘युद्ध, सहअस्तित्व र सिर्जना’मा सहअस्तित्वको खोजी

पूर्ण इन्फादा  |  साहित्य  |  आश्विन १६, २०७७

पहिलो विश्वयुद्ध (सन् १९१४–१८) देखि नै असङ्ख्य नेपालीले बेलायती साम्राज्यका लागि विश्वका विभिन्न ठाउँमा गोर्खा रेजिमेन्टका नाममा रगत र पसिना बगाउने मात्र होइन, जीवन बलिदान दिने काम गर्दै आएका छन् । यो रगत र बलिदानको इतिहासलाई बेलायती सरकारले सम्मान गर्नुको सट्टा उपेक्षा भावले हेर्ने दृष्टि अहिलेसम्म पनि रोकिएको छैन । तर नेपालीहरूले बेलायती साम्राज्यका लागि अहिले पनि विश्वका विभिन्न ठाउँमा भएका युद्धमा साथ दिइरहेका छन् । आफ्नो वीरता र साहसको प्रदर्शन निर्भीक भएर गरेका थिए र गरिरहेका छन् । युद्धका अनेकन उकुसमुकुस पीडालाई गोर्खा रेजिमेन्टले आत्मसात् गरिरहेकै छ । त्यति मात्रै होइन उनीहरूका परिवारले पनि मुटुमाथि ढुङ्गा राखेर बस्नुपरेको कारुणिक अवस्था छ । 

यी यस्ता समस्यासँग लड्दै बेलायती सेनामा काम गर्ने सेनाहरू र तिनका परिवारका सदस्यहरूले नेपाली साहित्यको उत्थानका लागि अर्काे महत्वपूर्ण कार्य गर्दै आइरहेका छन् । यही क्रममा दीपा लिम्बू राई यस्ती प्रतिभा हुन् जो बेलायती सेनामा काम गर्ने यक्षराज लिम्बूकी जीवनसङ्गिनी हुन् । झापाको लेखनपुरमा वि.सं. २०३२ माघ २१ (सन् १९७६ फ्रेब्रुअरी ४) बुधबारका दिन बाबु मुलुकसिंह राई र आमा सानु मुकारुङको कोखबाट जन्मिएकी दीपा लिम्बू राईले सुरूआती दिनमा आफ्नो साहित्यिक यात्रा गीतिसाहित्यबाट प्रारम्भ गरेकी हुन् । उनले युद्ध, सहअस्तित्व र सिर्जना (कवितासङ्ग्रह २०६८) प्रकाशित गर्नु अघि नै गीतहरूको श्रव्यसङ्ग्रह निकालिसकेकी छिन् । असाध्यै कम तर बहुप्रवृत्तिको काव्य सिर्जना गर्ने उनको प्रवृत्ति देखिन्छ । 

१. युद्ध साहित्यमा कलम चलाउने प्रखर महिला अध्येता 

सस्तो प्रचारबाजीमा नलाग्ने र आफ्नो लेखनलाई निरन्तरता दिइरहने कवि दीपा लिम्बू राईका कवितामा नेपाली युद्धको पीडा छचल्किएको हुन्छ । साहित्यमा पछिल्लो चरणमा जबरजस्त स्थापित युद्ध साहित्य विधामा कलम चलाउने असाध्यै थोरै महिला साहित्यकारमा पर्दछिन् उनी । प्रायः युद्धमा होमिएका वा प्रत्यक्ष युद्ध लडेका मान्छेले मात्रै युद्ध साहित्यमा कलम चलाएका छन् । तर दीपा लिम्बू राई प्रत्यक्ष युद्धमा सामेल त भएकी छैनन् तर उनका पति यक्षराज लिम्बू विश्वमा भएका विभिन्न देशका धेरै लडाइँमा संलग्न भएका छन् । त्यही क्रममा उनी कहिले बेलायत, कहिले बुनाई त कहिले जर्मनी पुगेकी छन् र धेरथोर मात्रामा उनले युद्धको अनुभूति बटुल्न सकेकी छिन् । अर्काेतिर युद्धमा प्रत्यक्ष रूपमा संलग्न भएका उनका पतिले उनीसँग युद्ध अनुभूति बाँडेका कारणले पनि उनलाई युद्ध साहित्यमा प्रत्यक्ष संलग्न भए झैँ गरी कलम चलाएकी छिन् । 
       युद्धमा तिमीले जित्छौ ?
      जित्छौ ??
      जित्छौ ??
      यदि मैले हारिदिनँ भने ? 
   (युद्धमा; युद्ध, सहअस्तित्व र सिर्जना; पृष्ठः ४८) 

युद्धमा शारीरिक रूपमा मात्रै तन्दुरूस्त भएर हुँदैन; मनोगत रूपमा पनि तन्दुरूस्त हुनुपर्छ । मानसिक रूपमा चोटग्रस्त छ भने त्यस मान्छेले केही पनि गर्न सक्तैन । युद्धमा हरेक पक्षले जितको चाहना राख्छन् तर जसको मनोबल बलियो छ उसैले मात्रै युद्ध जित्न सफल हुन्छ । यस कवितांशमा कवि दीपा लिम्बू राईले यही कुराको उद्बोधन गरेकी छिन् । मनोबल कमजोर भएका खण्डमा जतिसुकै आधुनिक हातहतियारले सुसज्जित भए पनि युद्धमा पराजित हुने नग्न सत्यलाई देखाइएको छ ।
 रगताम्य अनुहारमा
 लाठी बर्साइरहेको देख्छु ।
 पानी पानी पानी
 पानी मागिरहेछ ।
 त्यो आवाज मलाई किन आफन्त लाग्छ ?
 (आफन्त आवाज; युद्ध, सहअस्तित्व र सिर्जना पृष्ठः ४९) 

कवि दीपा लिम्बू राई युद्धको प्रत्यक्षदर्शीका रूपमा यस कविताशंमा उभिएकी छन् । रगताम्य भएर लडेको युद्ध सिपाहीलाई उसको चीत्कारको कुनै पर्वाह नगरी त्रासद ढङ्गले यातना दिएको विद्रूप रूप कविले यहाँ प्रस्तुत गरेकी छन् । युद्ध जब अतिवादी र जातिवादीको नियन्त्रणमा पुग्दछ तब त्यो निर्मम र निर्दयी बन्न पुग्छ । तालिवानीहरूले अफगानिस्तान युद्धमा एम्बुसमा परेर छटपटाइरहेको सिपाहीमाथि निर्मम र त्रासद ढङ्गले लाठी बर्साएको युद्धको कुरूप रूप यस कवितामा देख्न सकिन्छ । नेपाली जातिप्रतिको तीब्र सहानुभूति र अतिवादी असहिष्णुताप्रति आक्रोशको ज्वाला दन्किएको छ कविको कलममा ।
एकदिन परबाट आएको युद्धको आँधीले 
बाँकी केही राखेन । 
(युद्धको पक्ष; युद्ध, सहअस्तित्व र सिर्जना; पृष्ठः ५५) 

कवि दीपा लिम्बू राईको सबभन्दा ठूलो खुबी भनेकै आफै युद्धमा प्रत्यक्ष सहभागी भएको जस्तो अनुभूतिलाई कवितामा अभिव्यक्त गर्नु हो । युद्धको भुमरीमा परोक्ष वा अपरोक्ष रूपमा जो कोही मानिस पनि पर्ने र त्यसको अमिलो पीडा भोग्न बाध्य हुने मनोविज्ञानलाई कविले पस्केकी छन् । युद्धले आफ्नो बिरानो केही नभनी सम्पूर्ण रूपमा विनाश गर्छ र वर्षाैँदेखि विश्वमा चल्दै आएका विविध खाले युद्धले मात्र विनाश र संहारको काम गरेका हुन्छन् भन्ने दृष्टिकोण उनका कवितामा बिग्रेल्ती भेटिन्छ ।
युद्धमा
या त तिम्रो जित हुन्छ
या त तिम्रो हार हुन्छ
जित र हार त हुन्छ हुन्छ ।
(हार्नेहरूको अस्तित्व; युद्ध, सहअस्तित्व र सिर्जना पृष्ठः ५८)

राष्ट्रलाई साझा फूलबारी वा बहुजातीय फूलबारीका रूपमा विकास गर्नुपर्छ भन्ने अवधारणा काव्यका माध्यमबाट राखेकी छन् । कसैलाई काखा र कसैलाई पाखा गर्ने विभेदकारी नीतिले मान्छे मान्छेबीच विभेदको अनुभूति गराउँछ र सामाजिक, आर्थिक, जातीय, धार्मिक अनेक किसिमका द्वन्द्वको उद्भवको कारक बन्दछ भन्ने अभिव्यक्ति उनका कवितामा पाइन्छ ।

युद्धको मैदानमा युद्धको खेल खेल्नेहरू सबैले खेल जित्छन् भन्ने हुँदैन । जसले युद्धकला प्रस्तुत गर्न सक्छ त्यसैले जित्छ । तर विश्व इतिहासमा जित्नेहरूको मात्र प्रशंसा गरिन्छ र हार्नेहरूको गुण जति सबै बिर्सिएर अवगुणको मात्रै प्रचार गरिन्छ । युद्धमा हार्नेको अवगुण मात्रै देख्नुलाई कवि बिडम्बना रूपमा लिन्छिन् । प्रशंसाको हावादारी वेगमा हुर्किँदै युद्ध जित्ने अहङ्कार गर्नु मूर्खता मात्र हो भन्ने सल्लाह दिन्छिन् युद्धपिपासु नरसंहारकारीलाई कवि दीपा ।

अतः दीपा लिम्बू राई कि त पल्टनघरभित्र बस्छिन्, कि त अन्य कुनै ठाउँमा । उनी मात्र पल्टनेकी जीवनसङ्गिनी हुन् । तर उनले कवितामा आफू प्रत्यक्ष रूपमा युद्धमा सम्मिलित भए जसरी युद्धको पीडालाई अभिव्यक्त गरेकी हुन्छिन् । थोरै महिलाले मात्र युद्ध साहित्यमा कलम चलाएका छन्; तिनै थोरै मध्ये एक सशक्त नारी हस्ताक्षर हुन् कवि दीपा लिम्बू राई । थोरै लेख्ने तर जति लेख्यो त्यति सशक्त रूपमा कलम चलाउने दर्बिली नारी हस्ताक्षर हुन् उनी । युद्धको पीडा प्रत्यक्ष रूपमा पुरुषलाई मात्रै हुन्छ भन्ने भ्रमलाई कवि दीपाले चिर्ने काम गरेकी छन् । यसबाट उनलाई नेपाली युद्ध साहित्यकी प्रखर ऐतिहासिक अध्येता हुन् भन्न अप्ठ्यारो मान्नुपर्दैन ।

२. युद्धको विपक्षमा

विश्वमा अहिलेसम्म अनेक युद्ध भए र भइरहेका छन् । खास गरेर विश्व इतिहासमा नेपाली जनको रगत पहिलो विश्वयुद्धदेखि बग्न सुरू गर्‍यो । त्यो रगत नेपालको राष्ट्रिय स्वाभिमानलाई जोगाउन बगेको होइन । नेपाली जातजातिको संस्कृतिको संरक्षण गर्न पनि होइन । नेपालीको अस्मिता रक्षाका लागि पनि होइन । नेपालीको रगत बेलायती साम्राज्यको रक्षाका लागि बग्यो । बेलायती साम्राज्यले जहिले पनि नेपालीको रगतको अवमूल्यन गरिरहेको छ र दोस्रो दर्जाको हेपाहा व्यवहार देखाउँदै आएको छ । बेलायत अहिले पनि विश्वमा भएका जुनसुकै युद्धमा पनि कुनै न कुनै रूपमा संलग्न हुँदै आएको छ भने उसले गोर्खा रेजिमेन्टका नाममा नेपालीको युद्ध कलालाई प्रयोग गरिरहेकै छ । यही कारणले आजसम्म असङ्ख्य नेपाली नारीले युद्धको पीडा भोग्न बाध्य भएका छन् । युद्धले असङ्ख्य नेपाली महिला एकल जीवन जिउन बाध्य छन्; असङ्ख्य बालबालिका टुहुरा बनेका छन् । यस कारण पनि कवि युद्धको विपक्षमा छिन् । आफ्ना पति पल्टने भएका कारणले पनि उनी बढी द्रविभूत भएर निर्मम युद्धको कोलाहलबाट विश्वलाई अलग गर्नुपर्छ भन्ने दृष्टिकोण अघि सार्छिन् ।
के थिएन र यहाँ
सानो सानो खालको सपनाको गमला
सपनाको बार्दलीबाट टिपेको
फूलको माला
वन पाखाभरि चाँप र गुराँस
बिहानै टाँगिएको नीलो आकाश
बतासिएर उडी हिँड्ने चराचुरूङ्गी
कल्पनाको खुला संसार
तिमी भएर म, म भएर तिमी
एउटा सँगै अर्काको अस्तित्व
बीच बाटोमा आत्मीयता साट्ने मनहरू
(युद्धको पक्ष; युद्ध, सहअस्तित्व र सिर्जना; पृष्ठः ५५)

सहअस्तित्वपूर्ण सांसारिक जीवन खुला आकाशमुनि चराचुरुङ्गीले जस्तै जिउने सपना देखेका प्रेमी–प्रेमिका, पति–पत्नी, घर–परिवार सबैमाथि युद्धको बज्र परेपछि स्वैरकल्पनामा परिणत भएको तीतो यथार्थ कवि कवितामा पोखिन्छन् । सुन्दर मानवीय संवेदनाको हुर्मत लिने कुरूप युद्धको विपक्षमा उभिन्छिन् कवि दीपा सधैँ । फूलजस्ता सपनामा युद्धको विभिषिकाले बारूद छर्केपछि कवि निराश बनेकी छन् । युद्धको भुमरीमा पर्दा पनि कवि आफ्नो देशका चाँप र गुराँस जस्ता नेपालको पहिचान दिने फूलहरूलाई सम्झिन्छिन् र मानव सभ्यतासँग न्यानो अनुभूति साट्न पुग्छिन् ।
जब मलाई हल्लाहरूले बिथोल्छ
म जोडले ढोका बन्द गर्दछु
बन्द कोठाभित्रबाट
अलिकति झ्याल उघारेर
पूर्व क्षितिजलाई चियाउँछु ।
(युद्धभूमिको झल्को; युद्ध, सहअस्तित्व र सिर्जना; पृष्ठः ५६)

आफ्नो जीवनसाथी पल्टने भएर पनि हुनुपर्छ कवि दीपालाई युद्धका नकारात्मक र निर्मम हल्लाहरू मन पर्दैन । युद्ध त्रासदीको हल्ला मानवतावाद र मानव सभ्यता विरूद्धमा हुन्छ भन्ने दर्शनसँग कवि सहमत छिन् । विश्व मानव समाज आज अनेकन युद्धको झल्कोबाट प्रताडित हुनु परेको छ । सन्त्रासपूर्ण युद्धको कोलाहलबाट एकछिन भए पनि मुक्त रहन ढोका बन्द गरेर बस्दाको कारुणिक अनुभूति कवि कविताभरि छताछुल्ल पोखिन्छन् । पृथ्वीबाट युद्धको उन्माद अन्त्य भयो कि भनेर झ्याल खोली पूर्व क्षितिजतिर शान्तिको उज्यालो झुल्कियो भनी हेर्न आजको मान्छे विवश छ । युद्ध मनोविज्ञानले मानिसको मानसिक अवस्था नकारात्मक सोचकी बाढी मात्र आइरहेको छ । विकृत मानसिकता मानव समाजका लागि हानिकारक हुन्छ ।
युद्धभूमि नादीयालीको आकृति ल्याउँछ
छरिन्छ उसको आकार,
समयको बजारमा
टिप्छु
बटुल्छु
सम्हाल्न खोज्छु
फेरि एउटा सग्लो आकृति पुग्दैन ।
(युद्धभूमिको झल्को; युद्ध, सहअस्तित्व र सिर्जना; पृष्ठः ५६) 

युद्ध मनोविज्ञानको असर लामो  समयसम्म रहिरन्छ । युद्धले मानव मस्तिष्कमा सधैँ नकारात्मक र विध्वंसको विकृत मनोविज्ञान मात्रै जन्माउँछ । अफगानिस्तानमा युद्ध भएको वर्षाैँ भइसक्यो । त्यहाँबाट युद्धको अन्त्य हुनुको साटो नादीयालीजस्ता ध्वंसात्मक र अमानवीय नयाँनयाँ एम्बुस स्थलहरू जन्मिने क्रम जारी छ । युद्ध एम्बुसले मानिसलाई शारीरिक र मानसिक रूपमा रूपमा क्षतविक्षत बनाइरहेको छ । यसले मानव धर्म र सभ्यतामाथि नै खरो प्रश्नचिह्न तेर्सिएको छ । मान्छेको सुन्दर विचार, सभ्यता, संस्कृति र भौतिक शरीरलाई सग्लो हुन नदिने रक्तपिपासु युद्धको औचित्य विश्व समाजबाट सकियो भन्ने उद्घोष कवि दीपा गर्छिन् र युद्धको विपक्षमा उभिन मानव जातिलाई आग्रह गर्छिन् । 
तिमीसँग कुनै दुश्मनी थिएन
म आफ्नै संसारमा थिएँ 
यसरी नै बाँचेर खेल्छन् समुन्द्रमा
सोडफिस र मर्लिनहरू
कहिले पानीमा तैरिँदै
कहिले पानीमा फाल हान्दै
(निरन्तर युद्ध; युद्ध सहअस्तित्व र सिर्जना; पृष्ठः ५७)

युद्धले आफ्नो पक्षमा र स्वार्थमा जस्तोसुकै षड्यन्त्र गर्ने गर्छ । निर्दाेष र निमुखामाथि जबरजस्त युद्ध थोपर्ने काम गर्छ । युद्धले आफ्नो अस्तित्वको खोजी मात्रै गर्छ र अरूको अस्तित्वलाई नकार्ने मात्र होइन समाप्तै पार्ने षड्यन्त्र गर्छ । विश्व राजनीति र इतिहासलाई हेर्दा यही कुरा देखिन्छ । जाति, भाषा, धर्म, संस्कृति, भूगोल आदिका नाममा मान्छे मान्छेबीच विद्वेषको बीउ रोपी मानवीय संंवेदनामा तीखो झिर रोप्ने काम गर्छ । कसैसँग दुश्मनी र युद्ध उन्माद नराखी समुद्रमा अभ्यास गरिरहँदा पनि सोडफिस र मर्लिनहरूले युद्ध अपराधीको सजाय भोग्न बाध्य हुनु परेको नग्न चित्रण कवि दीपा युद्ध, सहअस्तित्व र सिर्जनाभित्रका कवितामा गर्छिन् । निरन्तरको युद्धले मानव निर्मित भौतिक संरचना मात्रै होइन मानव मस्तिष्कको निरन्तर क्षयीकरण पनि भइरहेको युद्धको कुरूप अवस्था कवितामा प्रस्तुत गरेकी छन् कवि दीपाले । सहअस्तित्वको विचारधारालाई पनि युद्धले समाप्त पारिदिन्छ भन्ने विश्व दृष्टिकोण उनका कवितामा पाइन्छ ।
मान्नू गुलाबको आदान प्रदानविना
पनि प्रेम हुन सक्छ,
मान्नू यो उजाड मरुभूमिमा
फूलहरूलाई फुल्ने स्वतन्त्रता कहाँ छ र ?
(14 february; युद्ध, सहअस्तित्व र सिर्जना; पृष्ठ ५९)

त्रासदीपूर्ण युद्धले प्रेमी–प्रेमिका बीचको सम्बन्धमा पनि अवरोध सिर्जना गर्दछ । प्रेम दिवसका दिन प्राणप्रिय प्रेमिकालाई भेट्न नपाउँदाको पीडा यस कवितामा कवि दीपाले पोखेकी छन् । प्रेमी युद्ध भूमिमा युद्ध लडिरहेको र प्रेमिका भाव विह्वल भएर बस्न बाध्य भएको नग्न सत्यलाई यहाँ देखाउने काम भएको छ । सैनिक ब्यारेकभित्र पसेको प्रेमी नफर्किएपछि प्रेमिकाले त्यसलाई मरुभूमिका रूपमा चित्रण गर्न पुगेकी छन् । ब्यारेकभित्र युद्ध, लडाइँ र मार्नेबाहेक अन्य केही कुरा नहुने हुनाले कविले यसलाई मरुभूमिका रूपमा चित्रण गरिएकी हुन् । स्वतन्त्रता खोसिएको निरीह सिपाही युद्धको विपक्षमा हुँदाहुँदै पनि जबरजस्ती तिरस्कृत युद्धमा होमिन बाध्य हुन्छन् । सैनिक ब्यारेक र युद्धभूमिमा हुने गोर्खाली सेनाहरूले गुलाब होइन प्रणय दिवसमा आफ्नै देशको लालीगुराँसलाई सम्झिएर मन भित्रभित्रै प्रेमिकाको सम्झना गरेका छन् । आफ्नो देशलाई सम्झिएको परिदृश्य कवितामा कविले देखाएकी छन् । संवेदनाहीन युद्धको विपक्षमा कवि उभिएकी छन् ।
मेस पार्टी, क्यान्डल लाइट, डिनर
टेबलमाथि जल्दै गरेका रङ्गीन लाइटहरू
युद्ध नायक यो अन्तिम पनि हुन सक्छ
यो बेलामा बिदा माग्न सकिनँँ ।
(एउटा मेस पार्टी, युद्ध, सहअस्तित्व र सिर्जना; पृष्ठः ६०) 

कवि दीपा राई लिम्बूले युद्धको सिपाहीलाई बलेर खिइँदै गरेको क्यान्डलसँग, खाएर सिद्धिँदै गरेको खल्लो भोजसँग तुलना गरेकी छन् । बहादुरीपूर्वक लडाइँ लड्ने युद्धवीर सिपाहीले खिन्न हुँदै भोज खाएको परिदृश्यलाई देखाएर युद्धको सन्त्रास कस्तो हुन्छ भन्ने कुरा यस कवितामा देखाइएको छ । भोज खाँदा पनि मन फुकाएर प्रशन्न मुद्रामा नखाई दुखित् मन लिएर खानु परेको कारुणिक अवस्थालाई कविले यहाँ उजागर गरेकी छन् । एउटा सिपाहीको मनमा भोजले युद्धको उन्माद बढाउनुको सट्टा जीवन, घरपरिवार र आफ्नो देशको चिन्ताले बढी सताएको त्रासद दृश्य कविले कावितामा पस्किएकी छन् ।
बुद्ध र गान्धीलाई नजिक राखेको छु
म युद्ध विरोधी मानव
युद्धकालको यो समय
पेट्रोलले मलाई नै खोजिहिँड्छ
राइफलको ब्यारेलले मलाई ताकिरहन्छ
युद्ध विमानले मलाई नै खेदिरहन्छ
(अर्काे दिन, युद्ध, सहअस्तित्व र सिर्जना; पृष्ठः ६१)

कवि दीपा लिम्बू राई आफ्ना कवितामा बुद्ध होइन सहअस्तित्व र सिर्जनाको खोजीमा एक्लो वृहस्पति झैँ उभिएकी छन् । कवि बुद्ध र गान्धीको मानवीय विचारबाट मानव जाति अनुगृहीत हुन सके विश्व रङ्गमञ्चबाट युद्धको त्रासदीपूर्ण बादल हट्ने कुरामा विश्वस्त छिन् । त्यही कारणले सधैँ आफू युद्ध विरोधीका रूपमा काव्यिक साधनाका माध्यमबाट त्रासदी र बर्बर यातनाबाट मुक्ति चाहन्छिन् । यही युद्धको क्रूर यातनाबाट मुक्ति पाउनका लागि विश्वमा विभिन्न देशबीच विभिन्न समयमा सन्धिहरू भएका छन् । नेपाल अङ्ग्रेजबीच भएको सुगौली सन्धि होस् या सन् १९४७ मा भएको सन्धि होस्, ती सबै युद्धको नरसंहारबाट उन्मुक्तिका लागि गरिएका सन्धि थिए । जेनेभा कन्भेन्सनपछि त मान्छेले युद्धबाट मुक्ति मिल्यो र अब कुनै पनि बहनामा निर्दाेष मान्छेमाथि युद्धको पीडा थोपरिने छैन भनी विश्वास गरेका थिए ।

पहिलो विश्वयुद्धभन्दा पहिलेदेखि नै जबरजस्त लादिएको युद्धले आज पर्यन्त पनि मानव जातिको सभ्यता र अस्तित्वमाथि धावा बोल्न नछाडेकोमा कवि अत्यन्तै भावुक र चिन्तित बनेकी छन् यस सङ्ग्रहभित्रका कवितामा जुन मान्छे युद्ध विरोधी र निर्दाेष छ, त्यसैलाई युद्ध पिपासुहरूले आक्रमण गरिरहेको कुरूप दृश्यचित्र कविले कवितामा उद्बोधन गरेकी छन् । युद्ध, सहअस्तित्व र सिर्जना एकैपटक हिँड्न नसक्ने अनि विनाश र सिर्जनाको सङ्गम कहिल्यै हुन नसक्ने उद्घोष गरेकी छन् कवि दीपा लिम्बू राईले । मानव सभ्यता माथि चरम सङ्कट उत्पन्न गराउने युद्धलाई सबैले अस्वीकार गर्नुपर्ने मानवतावादी अवधारणा अघि सारेकी छन् उनले ।

३. युद्धका नकारात्मक पक्षको उजागर 

मानवतावादी दृष्टिकोणमा विश्वास गर्ने कवि दीपा लिम्बू राई युद्धका नकारात्मक पाटाहरूलाई अघि सारी त्यसप्रति नकारात्मक धारणा काव्यका माध्यमबाट अघि सारेकी छिन् । उनलाई युद्धले मानव सभ्यतामा इँटा थप्छ भन्ने कुरामा एकरति पनि विश्वास छैन । युद्धले राजनीतिक, आर्थिक, भौतिक, सांस्कृतिक आदि विनाश बाहेक अरू सिर्जनात्मक कार्यमा टेवा पु¥याउने काम गर्नै सक्तैन भन्ने कुरामा सगरमाथा जस्तै अटल विश्वास छ । युद्धले तिरस्कार, घृणा, सङ्कीर्णता, अराजकता, सांस्कृतिक, धार्मिक, जातीय र क्षेत्रीय विद्वेष फैल्याउने बाहेक अन्य सिर्जनात्मक र सभ्य सोचका दृष्टिले कहिले पनि युद्धको आरम्भ हुन सक्तैन । एकपटकको युद्धले दसकौ‌ं पछिसम्म पनि अनेकन नकारात्मक पक्षको पक्षपोषण गरिरहेको हुन्छ । युद्धले बन्धुत्व र भातृत्वमाथि नै निर्मम धावा बोल्छ । 
उसको के दोष थियो 
र हातमा बाँधेर तालिवानहरूले बुटैबुटले हानिरहेछन्
 फिजिकल टर्चर दिइरहेछन् 
म झस्केर ब्युँझन्छु ।
(आफन्त आवाज, युद्ध, सहअस्तित्व र सिर्जना; पृष्ठः ४९) 

कवि दीपाले एउटा निर्दाेष र निरीह सिपाहीलाई शारीरिक यातना दिएको र यसले मानवीय सभ्यताको उपहास र उलङ्घन गरेको कुरालाई जोडतोडका साथ उठाएकी छन् । युद्धका यस्ता नकारात्मक परिदृश्यले मानव मस्तिष्कलाई नै विदीर्ण र विक्षिप्त बनाएर नकारात्मक सोचको विकास हुन सक्ने गम्भीर विषयवस्तुको उठान गरेकी छन् ।
अब यसरी बाँच्ने लय उसले पक्रेको छ 
भावना, संवेदना छातीभित्र गुटमुटाएर
मार्सल लको आदेशभित्र बाँच्न सिकेको छ 
केही गुमाएको महसुस छ ।
सपथपत्र ब्रिगेड अफ गोर्खाजको, युद्ध, सहअस्तित्व र सिर्जना; पृष्ठः ५१) 

युद्धमा होमिएको मान्छेले आफ्ना मनका भावना र संवेदनालाई निर्मम रूपमा बन्दुकको मोहोरीले थिचेर हिँड्न तयार रहनुपर्ने, सैनिक कानुन अनुसार मात्रै हिँड्ने बाचा गर्नुपर्ने जस्ता निष्ठुरी सपथपत्रमा सिपाहीले हस्ताक्षर गर्नुपरेको कठोर परिदृश्यलाई कविले यस कवितांशमा देखाएकी छन् । युद्धमा पाउने होइन गुमाउने कुरा मात्रै बढी हुन्छ । आफू जस्तै सिपाहीहरूलाई ट्रिगर दबाउन तम्सिनु पर्छ भने आफूलाई पनि अर्काेले त्यस्तै गर्छ । युद्धका सारथिहरूको जीवनको लय नै बिग्रेको हुन्छ । अरूकै इसारामा हिँड्न बाध्य हुनुपर्ने कुरालाई कविले उदाङ्गो पारेकी छन् यहाँ ।
तर उसले गुनासो कोसँग पोखोस् ?
बरू फुट रेन्चले पैताला खियाउँदै
यो जिन्दगी जिउन अभ्यस्त छ ।
(सारावकको जङ्गलमा, युद्ध, सहअस्तित्व र सिर्जना; पृष्ठः ५२) 

युद्धमा समाहित भएका सिपाहीहरूले आफ्नो मनमा लागेका कुराहरू समेत बाहिर निकाल्न नसक्ने, आफ्ना समस्यालाई गुनासोका रूपमा पोख्न नपाउने विद्रूप मनको उद्वेगलाई कविले यस कवितांशमा प्रस्तुत गरेकी छन् । युद्धमा होमिएको मान्छे फुट रेन्चले पैताला खियाउँदै जिउन अभ्यस्त र बाध्य हुन्छ । उसको व्यक्तिगत स्वत्व केही पनि हुन्न भन्ने नग्न सत्यलाई उनले यहाँ प्रस्तुत गरेकी छन् । युद्धको सबैभन्दा नकारात्मक र दारुण अवस्थालाई कवि दीपाले यस कवितांशमा पस्केकी छन् ।
प्रिय तिमीदेखि हजारौँ माइल टाढा
हेल्मन्ड प्रोविन्सको मुसाकोलामा
मृत्युसँग जुद्धै सेन्ट्रिपोष्टमा उभिएको छु ।
यतिबेला सङ्कटको चेपमा
मुटुको गति बढिरहेछ ।
म यति विक्षिप्त छु ।
(चिठीको माग फारम, युद्ध, सहअस्तित्व र सिर्जना; पृष्ठः ५३) 

युद्धमा खटिएको मान्छेको दुर्दान्त पीडा र जीवनको उहापोहलाई कविले यस कवितांशमा प्रस्तुत गरेकी छन् । हेल्मन्ड प्रोविन्सको मुसाकोलालाई बिम्बका रूपमा ठड्याएर कविले विश्वका अनेकन युद्धग्रस्त क्षेत्रमा खटिएका युद्धवीर सिपाहीको नग्न सत्यलाई देखाएकी छन् । कतिखेर मृत्युको मुखमा पुगिने हो भन्ने कुरा टुङ्गो नभएको ठाउँमा सेन्ट्रिपोष्टमा बस्दा विक्षिप्त जस्तै अवस्थामा पुगेको र मारिने डरले मुटुको धड्कन तीव्र गतिले बढेको सत्यलाई कविताले एकातिर देखाएको छ भने अर्काेतिर युद्ध पीडाले मान्छेको अवस्था कस्तोसम्म हुन्छ भन्ने रहस्यको उद्घाटन गरिएको छ । युद्धको चेपुवामा परेका थुप्रै मानिसको मनोवैज्ञानिक पीडालाई उधिन्ने काम गरेकी छन् कवि दीपाले ।
 माटो गुमाउँदाको कथा
ग्रिनेट लन्चरले ध्वंस भएको छातीको आँसु
यी, यस्तै साँझहरूमा
समुद्रलाई सुनाउँदै धुन्छ ।
(समुद्र, ध्वस्त छाती र साँझहरू, युद्ध, सहअस्तित्व र सिर्जना; पृ.: ५४)

कविले युद्धको पीडाप्रति तीव्र असहमति व्यक्त गरेकी छन् । युद्ध मानव जातिको अभिशाप हो । यसले मान्छेलाई हरेक कुरा गुमाउने अवस्थामा मात्रै पुर्‍याउँछ । युद्धले जीवन, माटो, संस्कृति, जाति, आफन्त अनेक कुरा त्याग्न बाध्य बनाउँछ । युद्धबाट पीडित मान्छे एकाङ्की बन्दै जान्छ । मनोरोगी बन्दछ । एक्लै बर्बराउने र रूने गर्दछ तर उसले आफ्नो पीडालाई कतै पोख्ने ठाउँ पाउँदैन । कवि दीपा कविताका माध्यमबाट युद्धप्रति तीव्र नकारात्मक भाव व्यक्त गर्छिन् । 
एक दिन परबाट आएको युद्धको आँधीले 
बाँकी केही राखेन । 
(युद्धको पक्ष, युद्ध, सहअस्तित्व र सिर्जना; पृ.: ५५)

युद्ध मानव जातिको विपक्षमा उभिन्छ जहिले पनि । यो विध्वंसको पर्याय हो । यो मानव समुदायको लागि हिंस्रक र विध्वंसात्मक बनेर आउँछ । मानव मस्तिकलाई छियाछिया पार्छ । यसले मानव अस्तित्वलाई नै सङ्कटमा धकेलिरहेको छ । यसैकारण कवि दीपा आफ्ना कवितामा युद्धप्रति असहमतिगत काव्यिक धारणा अभिव्यक्त गर्छिन् ।

४. जातीय पहिचानको अस्तित्वको खोजी

कवि दीपा लिम्बू राई आफ्नो काव्यिक सिर्जनाका माध्यमबाट नेपाल बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक देश भएकोले राज्य पक्षबाट सबैलाई समान किसिमको व्यवहार हुनुपर्छ । उत्पीडनमा परेकाहरूलई सामाजिक न्याय दिनुपर्छ । राष्ट्रलाई साझा फूलबारी वा बहुजातीय फूलबारीका रूपमा विकास गर्नुपर्छ भन्ने अवधारणा काव्यका माध्यमबाट राखेकी छन् । कसैलाई काखा र कसैलाई पाखा गर्ने विभेदकारी नीतिले मान्छे मान्छेबीच विभेदको अनुभूति गराउँछ र सामाजिक, आर्थिक, जातीय, धार्मिक अनेक किसिमका द्वन्द्वको उद्भवको कारक बन्दछ भन्ने अभिव्यक्ति उनका कवितामा पाइन्छ । यस्तै उनका कवितामा बेलायती साम्राज्यका लागि लड्ने बेलायतले गोर्खाली सेनालाई समान किसिमको व्यवहार नगरेकोमा आक्रोशको अभिव्यक्ति अघि सारेकी छन् कवितामा ।
रगताम्य अनुहारमा
लाठी बर्साइरहेको देख्छु
पानी पानी पानी
पानी मागिरहेछ
त्यो आवाज मलाई किन आफन्त लाग्छ ?
(आफन्त आवाज, युद्ध, सहअस्तित्व र सिर्जना; पृ.: ४९)

यस कवितामा कविले एकातिर सिङ्गो नेपाली जातिले पाएको दुःख निर्मम रूपमा उठाएकी छन् भने अर्काेतिर जनजातीय आवाजलाई पनि उत्तिकै प्रखर रूपमा मुखरित गरेकी छन् । निर्मम र दारुण यातनाको सिकार नेपाली जनजाति विदेशी भूमिमा हुनु परेकोमा कविको गम्भीर आक्रोश र चिन्ता मिश्रित स्वर यस कवितामा उद्वेलित हुन पुगेको छ । 
यो जीवनको अर्थ कसले बुझिदिन्छ हँ ?
सपथ परेडबाट निस्किँदै गर्दा २० वर्षे जवान सोच्छ
मुलुकसिंह राई
छातीमा हात राखेर
साँच्चै अब मलाई मर्नुदेखि डर छैन त 
नेपाली आदिवासी, जनजातिलाई ।
थामुसिंह राईको छोरालाई ।
.......राईको नातिलाई ।
रमाइलो डाँडा थामथुम निवासी ।
(सपथपत्र ब्रिगेड अफ गोर्खाजको, युद्ध, सहअस्तित्व र सिर्जना; पृ.: ५१)

यस कवितामा कविले स्पष्ट रूपमा नेपाली आदिवासी जनजातिको तीतो पीडालाई छताछुल्ल पोखेकी छन् । यस कविताको पात्र मुलुकसिंह राईले गोर्खा रेजिमेन्टको सिपाही हुने बेलामा सपथपत्रमा हस्ताक्षर गर्दैगर्दा आफ्नो जातीय अस्तित्व र पहिचानलाई लुटाएको वा बिर्सिन बाध्य भएको नग्न दृश्यले आङ जिरिङ्ग बनाएको छ । नेपाली जाति आफ्नो सांस्कृतिक धरोहरलाई बिर्सिन र मृत्युलाई नतमस्तक भएर स्वीकार्न किन बाध्य छन् भनेर गम्भीर प्रश्न उठाइएकी छन् कवि दीपा लिम्बू राईले ।
तर उसले गुनासो कोसँग पोखोस् ?
बरू फुट रेन्चले पैताला खियाउँदै
यो जिन्दगी जिउन अभ्यस्त छ ।
(सरावाकको जङ्गलमा, युद्ध, सहअस्तित्व र सिर्जना; पृ.: ५२)

नेपाली जातिले विदेशी भूमिमा आफ्नो मनको पीडा पोख्ने ठाउँ नपाएको र जुनसुकै हुर्मत लुटिए पनि खप्न विवश भएको हुन्छ । यसो गर्दागर्दै नेपालीहरूले आफ्नो पहिचान नै भुल्न लागेको अवस्थालाई उधिन्ने काम गरेकी छन् कविले ।
पृथ्वीनारायण शाहहरू
यो बुहरङ्गीन नेपाल
तिम्रो मात्र होइन
म र मजस्तै हारिदिनेहरूको पनि हो । 
(हार्नेहरूको अस्तित्व, युद्ध, सहअस्तित्व र सिर्जना; पृ.: ५८)

यस कवितामा कवि दीपाले नेपाल एकीकरणका क्रममा नेपालका अन्य जातिमाथि समान किसिमको व्यवहार नगरेकोमा गुनासो गरेकी छन् । यो देश निर्माणमा सबै जातिको उत्तिकै महत्वपूर्ण भूमिका भएकोले सबैलाई समान व्यवहार गर्नुपर्ने आग्रह गरेकी छन् । उनले विभेदको अनुभूतिलाई मौलाउन दिन नहुने कुरामा जोड दिएकी छन् ।

५. प्रवृत्ति

कवि दीपा लिम्बू राईको कविताको मूल प्रवृत्ति भनेको नेपाली जातिको अस्तित्व र स्वाभिमानको खोजी नै हो भन्दा कुनै अतियुक्ति नहोला । उनको अर्काे प्रवृत्ति भनेको नेपालभित्रै सहअस्तित्वपूर्ण व्यवहार सबै जातजातिमा किन हुन सकेन भन्ने हो । यस्तै नेपाली जाति किन विदेशमा गएर आफ्नो स्वाभिमान गुमाउन बाध्य छ भन्ने प्रश्न उठाएकी छन् । उनको अर्काे प्रवृत्तिगत विशेषता भनेको आफू युद्धमा प्रत्यक्ष संलग्न नभए पनि आफन्तहरू प्रत्यक्ष रूपमा विश्वमा भएका विभिन्न खाले युद्धमा संलग्न भएका कारणले उनले यस कवितासङ्ग्रहमा युद्ध अनुभूतिलाई बाहिर ल्याउने प्रयास गर्नु हो । यससँगै युद्ध साहित्य लेखनमा नारी प्रतिभाको पनि सम्मान हुनुपर्छ र त्यो सम्मान गर्न योग्य आवाज आफूले कविताका माध्यमबाट उठाउने कुरा यस कवितासङ्ग्रहमा प्रस्तुत गरेकी छन् । यस कविताकृतिभित्र समेटिएका सत्र ओटा कवितामा प्रायः सबैले युद्ध उन्मादको विरोध गरेका छन् । कविको मूल प्रवृत्ति भनेको युद्धको नकारात्मक पक्षलाई देखाउनु हो । युद्धले संवेदनाहीन बनाउँछ, यो विध्वंसक हुन्छ, त्यसकारण मानव जातिले जहिले, जस्तोसुकै अवस्थामा र जहाँ भए पनि विरोध गर्नुपर्छ भन्ने आवाजलाई चर्को स्वरमा उठाएकी छन् । कवि दीपा लिम्बू राई मूलतः युद्ध विरोधी चिन्तन भएकी मानवीय एकता र सिर्जनात्मक सहअस्तित्वमा विश्वास गर्ने कवि हुन् ।

उपसंहार 

कवि दीपा लिम्बू राईको युद्ध, सहअस्तित्व र सिर्जना (कविताकृति २०६८) नेपाली साहित्यको एउटा महत्वपूर्ण उपलब्धि हो । विदेशी भूमिमा बसेर नेपाली भाषा–साहित्यको सेवामा समर्पित हुनु महत्वपूर्ण कार्य हो । नेपाली नारी साहित्यकारहरूमा भिन्नै किसिमको विषयवस्तुलाई आँगाली कविता लेख्नु पनि चानचुने कुरा होइन । युद्ध साहित्यको नयाँ ढङ्गले प्रवद्र्धन हुनुपर्ने नयाँ धारणा पनि उनको कविताकृतिको सुषुप्त अभिव्यक्ति हो । यस कृतिको प्रखर अभिव्यक्ति भने विश्वबाट युद्धको अन्त्य र न्याय, समानता, सद्भाव र मानवीय सहअस्तित्वको खोजी गर्नुपर्छ भन्ने नै हो । यस कृतिका सबै कविताले सुन्दर विचार बोकेका छन् तर यति हुँदाहुँदै पनि भाषागत त्रुटि भने छरपस्ट छन् । यसलाई सुधार गर्न सकेको भए कृतिमा सुनमा सुगन्ध थपिन्थ्यो । जे होस् नयाँ विषयवस्तुको खोजी गर्दै कविता लेख्ने कवि दीपा लिम्बू राई नेपाली कविता साहित्यकी उत्कृष्ट कवि हुन् । उनलाई पहिलो लाहुरेनी कवि भन्दा अनौठो मान्नु पर्दैन कि जस्तो लाग्छ । 

सन्दर्भ साम्रगीः 

१. दीपा लिम्बू राईः युद्ध, सहअस्तित्व र सिर्जना (वि.सं.२०६८, प्र.सं.; नेपाली प्रतिभा प्रतिष्ठान बेलायत/बु्रनाई ।
२. पुरूषोत्तम सुवेदीः संक्रमणको साहित्य र समकालीनता (वि.सं.२०६६) प्र.सं.; साझा प्रकाशन, पुल्चोक ललितपुर ।
३. विभिन्न पत्रपत्रिका र वेभ साइटहरू