प्रा. डा.काजोल चक्रवर्ती : चार पुस्ते डाक्टर अर्थात् वरिष्ठ चिकित्सकसँग कुनै आफ्नो सवारी साधन छैन
आश्विन १७, २०७७

सामान्यतया मानिसहरू पहिरन, रुपरंग हेरेर उसको मूल्याङ्कन गर्ने गर्छन् । तर, यदि तपाईँले पनि यस्तै भुल गर्नुभयो भने प्रा. डा.काजोल चक्रवर्तीलाई चिन्न सक्नुहुने छैन । सामान्य भेषभुषा, पहिरन र सरल स्वभावका उहाँलाई देख्दा लाग्दैन कि उहाँ नेपालको वरिष्ठ मनोचिकित्सक हो भनेर  । अनि अझै थप्नुपर्दा प्राध्यापक पनि । 

प्रायः नेपालका वरिष्ठ चिकित्सकहरू सवारीसाधन विहीन कमै होलान् । उहाँ त्यस्तैमा पर्नुहुन्छ । उहाँसँग न दुईपांग्रे, न चार पाङ्ग्रे कुनै साधन नै छैन् । 

शारीरिक अनि मानसिक अवस्था पूर्ण रुपमा ठिक भए पनि काउन्सिलले बनाएको नियमका कारण प्राध्यापन सेवाबाट समेत वञ्चित हुनुपरेकोमा उहाँको चित्त दुखाई छ । 

उहाँको जीवनका यस्तै विविध आयामहरूको चित्रण हो यो आलेख । 

जन्म र बाल्यकाल 

उहाँको जिजु बुबा भारतको आसामबाट नेपाल छिर्नुभएको हो रे ! हजुरबुबाले बताए अनुसार उहाँको जिजु बुबा पनि डाक्टर हुनुहुन्थ्यो रे ! उहाँको हजुरबुबाले बताउनुभएको उहाँले वर्माको युद्ध लड्नुभएको थियो रे ! 

उहाँको बुबा पनि डाक्टर । फिजिसियन । यसरी उहाँ चौथो पुस्ताको डाक्टर । शायद उहाँको छोरा पनि डाक्टर भएको भए पाँचौँ पुस्ताको डाक्टरका रुपमा एउटा छुट्टै बिराधरि हुन्थ्यो होला । तर, संयोग त्यस्तो भएन । 

उहाँको जन्म सन् १९४२ मा भएको हो । नारायणी जिल्लाको वीरगन्जस्थित मिना बजारमा । उहाँलाई पनि एसएलसीको चक्करले केही तन्नेरी बनाएको छ । नागरिकतामा उहाँको जन्म मिति सन् १९४४ रहेको छ । सोह्र वर्षमा एसएलसी दिने मान्यताले उहाँको उमेरलाई गाँजेको छ यहाँ । 

सानोमा उहाँलाई फुटबल खेल्न एकदम मन पथ्र्यो । त्यो पनि गोलकिपर । किनकि उहाँलाई गोल हुन नदिन मन पर्थ्याे  रे ! 

उहाँ समेत गरी चार पुस्ते डाक्टरको सन्तान पक्कै सम्पन्न होला नि भन्दा उहाँ त्यसलाई नकार्दै मध्यम स्तरको परिवार बताउनुहुन्छ आफूलाई । त्यस बेला उहाँको बुबाले बिरामी जाँचेको फी एक रुपैयाँ लिनुहुन्थ्यो रे ! 

उहाँ बच्चा हुँदा एक पटक बुबाले आमालाई सिनेमा हेर्न लिएर जानुभयो । उहाँ पनि सँगै हुनुहुन्थ्यो । उहाँलाई सिनेमा भन्दा पनि सिनेमा देखाउने लाइटिंग अनि हेर्ने पर्दा भने बडो अनौठो लागेको रहेछ । 

शायद सिनेमाको प्रभाव होला उहाँलाई स्कुल पढ्दा सिनेमा हलको गेट किपर हुन मन लाग्दो रहेछ । कारण सिनेमा हेर्न आउने सबैको टिकट च्यातिसकेपछि त आफू उभिएरै भए पनि फ्री मा सिनेमा हेर्न पाइन्छ भन्ने उहाँको सोचाई रैछ । 

उहाँको प्रारम्भिक शिक्षा वीरगन्जको त्रिजुद्ध विद्यालयमा भएको हो । उहाँले विद्यालय शिक्षाको समाप्तिसमेत यसै विद्यालयबाट नै गर्नुभएको थियो । 

उहाँको कक्षामा तीन वटा लहर हुन्थ्यो बेन्चको । उहाँ तेस्रो लहरको दोस्रो बेन्चको भित्तामा बस्नुहुन्थ्यो । उहाँ सानो हुँदा चकचके हुनुहुन्थ्यो । तर, छ कक्षामा भने उहाँ प्रथम हुनुभयो । प्रथम भएपछि विद्यालयमा निःशुल्क पढ्न पाइन्थ्यो । यसले उहाँलाई आकर्षित गर्‍यो । र, उहाँले दश कक्षासम्म नै पैसा नतिरी पढ्नुभयो । 

उहाँले सन् १९६१ म एसएलसी दिनुभएको हो । उहाँ त्यस बेला अलि माथिल्लो दोस्रो श्रेणीमा उर्तिण हुनुभएको थियो । 

उच्च शिक्षा 

एसएलसी पछि उहाँ आइएस्सी गर्न कलकत्ताको सेन्ट जेभियर्स कलेज जानु भो । त्यहाँ फरक वातावरण भएकोले कहिले त भागेर घरै आउँ जस्तो लाग्थ्यो रे ! रुन पनि मन लाग्थ्यो उहाँ भन्नुहुन्छ । 

तर, उहाँले नभागीकनै दुई वर्षमा आइएस्सी सकेर वीरगन्ज फर्कनुभयो । त्यो पनि दोस्रो श्रेणीमा । 

कान राम्रो सुन्नुहुन्छ । आँखा राम्रो देख्नुहुन्छ । स्मरण शक्ति राम्रो छ । पढ्न लेख्न त्यत्तिकै सक्रिय हुनुहुन्छ । उभिन, हिँड्न सक्नुहुन्छ । आफ्ना कुनै साधन छैन । सार्वजनिक सवारीमा यात्रा गर्नुहुन्छ । भने भन्नुस अब म कसरी बुढो ?

आइएस्सी सकेपछि के गर्ने भन्दा बुबाले डाक्टरको छोरो डाक्टर नबनेर के गर्ने भन्नुभयो । अनि बुबाले नै डाक्टर पढ्नका लागि कहाँ के के छन् भनेर बुझ्न थाल्नुभयो । 

त्यस बेला एउटा जगदम्बा ट्रस्ट भन्ने थियो जसले एमबिबिएस पढ्न पठाउने रहेछ । तर, उहाँ भने इन्डियन एम्बेसीको कोटामा कोलम्बो प्लान अन्तर्गत एमबिबिएस गर्न जानुभयो । बिहार युनिभर्सिटीको दरभंगा मेडिकल कलेज अन्तर्गत । हाल भने त्यसको नाम मिथिला युनिभर्सिटी भएको छ । 

उहाँ एमबिबिएसको लागि पहिलो पटक काठमाडौँ आउनु भएको थियो । काठमाडौँ पुरै खालि खालि थियो । बस आएर सुनधारामा रोकिन्थ्यो । अनि त्यहीँको डिलक्स लजमा उहाँको बास हुन्थ्यो । उहाँ कामको सिलसिलामा धेरै पटक डिलक्स लजमा बस्नुभएको छ । त्यस बेला उहाँले ठ्याक्कै नसम्झे पनि लजको भाडा तीन चार रुपैयाँ थियो कि ! 

उहाँले हेर्दाहेर्दै सैनिक मञ्च बन्यो । भद्रकालीको बाटो बन्यो । पाँच बजे सिंहदरबारबाट कर्मचारी निस्कँदा केही भिड हुन्थ्यो । अनि अलि भिड भनेको न्यूरोडको पिपल बोटमा । पत्रिका पढ्नेहरू र अन्य भेटघाटको गर्नेको ।

उहाँले पाँच वर्ष एमबिबिएस, एकवर्ण इन्टर्नशीप गरेर छ वर्षमा एमबिबिएस सकाउनु भयो । तर, त्यस बेला छ महिना सर्जरी र छ महिना मेडिकल गरेका खण्डमा बेलायत पढ्न जान पाउने नियम थियो । त्यस कारण उहाँले छ महिना कार्डियोलोजीमा र छ महिना सर्जरीमा काम गर्नुभयो । 

पहिलेको काजोल चक्रवर्ती त्यसपछि डा. काजोलको रुपमा नेपाल फर्कनुभयो  । 

पहिलो जागिर 

एमबिबिएस सकेपछि उहाँ नेपाल फर्कनु भयो । नेपाल फर्केर स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागमा उहाँले एमबिबिएस सकेर आएको र अब जागिर चाहिएको बताउनु भयो । त्यस बेला महानिर्देशक हुनुहुन्थ्यो भरतराज वैद्य । 

वैद्यले काम गर्न डोटी जानका लागि पत्र दिनुभयो । डोटीमा त्यस बेला पन्ध्र शय्याको अस्पताल थियो । त्यस बेला डोटी हिँडेरै जानु पथ्र्यो । साढे उनन्चालिस कोष । थर्ड क्लास अफिसर भएका नाताले उहाँले दश दिनमा डोटी पुग्नुपर्थ्यो । उहाँ एउटा भरिया सहित सात दिनमा पुग्नुभयो । 

यो नै उहाँको जीवनको पहिलो जागिर थियो उहाँको । 

पहिलो तलब

त्यस बेला उहाँको तलब थियो चार सय पचहत्तर रुपैयाँ । सुन तोलाको पाँच सय पचास थियो । तलब भने उहाँले आमालाई पठाइदिनुभयो । किनकि बुबा त आफैँ कमाउनु हुन्थ्यो । 

तलब चार सय पचहत्तर भए पनि भत्ता तथा अन्य गर्दा उहाँले झन्डै सात सय जति पाउनुहुन्थ्यो । त्यो उहाँका लागि त निकै ठुलो रकम भइहाल्यो । 

सामान धेरै महँगो थियो । त्यहाँ दसैँको बेला बाहेक अन्य समयमा चिउरा पाइँदैन थियो । क्वार्टर र अस्पताल गरेर समय बित्थ्यो । 

डेढ वर्ष डोटी 

त्यस बेला दुर्गममा डाक्टर बस्न मान्दैन थिए । हाजिर गरेर काज मिलाएर फर्किहाल्थे । तर, उहाँ भने जरा गाडेर बस्नुभयो डोटीमा । डेढ वर्ष । त्यो पनि तराईको मान्छे । त्यस्तो दुर्गम पहाडमा । 

त्यहाँ एक जना कम्पाउन्डर थिए । अहेब । अहेबलाई त्यस बेला कम्पाउण्डर भनिन्थ्यो । औषधि त उहाँले लेखिदिनुहुन्थ्यो । तर, औषधि दिने भने कम्पाउण्डरसाप । उहाँको औषधि पसल टुँडिखेलको अलि तलतिर थियो । बिरामीलाई डाक्टरले टाउको दुखेको औषधि लेखे पनि उहाँ भने बिरामीलाई यो त पेट दुखेको औषधि भनेर डाक्टरलाई बदनाम गराउन खोज्ने । शायद डाक्टर लामो समय बसिदिँदा उहाँले अस्पतालको औषधि आफ्नो पसलबाट बिक्री गर्न नपाउने भएका हुनाले त्यसो गरेको हुनुपर्छ उहाँले भन्नु भयो । 

यो २०२८ सालको कुरा हो । राजा महेन्द्रको स्वर्गारोहण भएका बेला सबैले अनिवार्य रुपमा कपाल खौरनु पथ्र्यो । उहाँले पनि खौरनु भो । तर, उहाँ भने धेरै रुनु भो । 

एक जना जिल्ला शिक्षा अधिकारीले भने कपाल टोपीले छोपिने ठाउँसम्म भने नखौरीकन देखिने ठाउँमा मात्र खौरनुभएको रहेछ । त्यस बेलाका सिडिओ बबन ठाकुरले त्यो कुरा चाल पाएपछि उहाँलाई तुरुन्त कपाल खौरन लगाउनु भएको थियो । 

डोटीपछि नारायणी 

डेढ वर्ष डोटी बसेपछि उहाँको सरुवा भयो नारायणी अञ्चल अस्पताल वीरगन्ज । यहाँ पनि उहाँको पद उही राजपत्राङ्कित तृतीय श्रेणी, फिजिसियन । ज.हे.स । जनरल हेल्थ सर्भिस । उहाँ वीरगन्ज पनि डेढ वर्ष नै बस्नुभयो । त्यसपछि उहाँको फेरि सरुवा भयो सिन्धुपाल्चोकको चौतारा । 

अब चौतारा 

उहाँको बुबाले घरमै बिरामी हेर्नुहुन्थ्यो । यसो गर उसो गर भनेर बुबाले सिकाउनु पनि हुन्थ्यो । तर, उहाँलाई भने घरमा बिरामी हेर्नै मन नलाग्ने । घरमा बिरामी हेरेर पैसा कमाउने भन्ने उहाँको मस्तिष्कमा कहिले पनि आएन, उहाँ भन्नुहुन्छ । त्यस कारण आफू अहिलेसम्म पनि दुखी नै रहेको उहाँ बताउनुहुन्छ । 

आजसम्म उहाँसँग चार पाङ्ग्रे त कुरै छोडौँ दुई पाङ्ग्रे सवारी समेत छैन । उहाँको अवस्था सरसरती हेर्ने जो कोहीले पनि उहाँ विशेषज्ञ डाक्टर हो भनेर पत्याउन मुस्किल छ । उहाँ अढाई वर्ष चौतारामा बस्नुभयो । 

चौतारामा बिरामीको चाप धेरै । दिनमा पचास साठी जनासम्म । लुतोदेखि सबै रोग हेर्नुपर्ने । एक दिन उहाँ चिया खाँदै हुनुहुन्थ्यो एक जना महिला हातमा बच्चा बोकेर रोइरहेकी थिइन् । उहाँ हत्त न पत्त जानुभयो । के भयो भनेर सोध्दा महिला रुने मात्रै । 

अनि फेरी भन्नुभयो, किन रोएको भन्नुस । महिलाले आफूले सद्दे बच्चा कसैलाई हेर्दे भनेर छोडेर मेलापात गएको तर, फर्केर आउँदा त बच्चा बिरामी भएछ । सास फेर्न गाह्रो भइरहेको थियो । निमोनिया जस्तो घ्यार घ्यार सुनिन्थ्यो बाहिरैसम्म । ढुङ्गा निलेजस्तो छ भन्छन् अरूले । 

ती महिला धामीकहाँ पनि गएकी रहिछन् । धामीले अस्पताल गएर चिप्लो औषधि खानासाथ ढुङ्गा फुत्त पेटमा जान्छ र ठिक हुन्छ भनेछन् । 

उहाँले टर्च बालेर बच्चाको सबै जाँच गर्नुभयो । पछि आँखा हेर्दा त आँखाको नानी तोरीको गेडाजस्तो भएको रहेछ । अनि उहाँले विष कसले खाइदियो भनेर सोध्नुभयो । 

अनि महिलाले जेठाजुले मकैमा हाल्न औषधि लिएर आउनु भएको थियो । त्यो मैले कपालमा हालेँ र बच्चाले कपाल चुसेको थियो भनिन् । 

अनि ती महिलाको कपाल पनि एकदमै गनाई रहेको थियो । ती महिलालाई उहाँले ढुंगेधारामा नुहाउन पठाई दिनुभयो । बच्चालाई भने एट्रोपिन दिन थाल्नुभयो । चालिस पचास एम्पुल हालिसकेपछि बेलुकातिर बच्चा होसमा आयो । अनि त्यो बेला यस्तो विषको केस प्रहरीलाई खबर गर्नुपर्थ्यो । उहाँले पनि प्रहरीमा खबर गर्नुभयो । 

अर्को एउटा चौताराको केस पनि उहाँले सम्झनुभयो । एक जना पुरुषले विवाहित महिला लिएर आएका थिए जँचाउन । उनले अब म यसलाई छोड्दिन्छु यसबाट बच्चै भएन भनेर भने । 

अनि उहाँले ती महिलाको जाँच गर्नुभयो । महिलाको पेटमा जालो अनि मुस्लोजस्तो लाग्यो उहाँलाई । महिलाको गर्भाशयमा एक प्रकारको जाली हुन्छ जसबाट महिनावारी हुँदा रगत निस्कन्छ । तर, ती महिलाको जाली भने एकदमै कडा भएकोले रगत बाहिर आउन नपाई भित्र भित्रै बस्ने भएछ । 

अब काठमाडौँ रेफर गर्दिऊँ भने पनि जाने कहिले, पैसा छैन । अनि उहाँले म गर्दिन्छु तर भर्ना गर्नुपर्छ भन्नुभयो । भर्ना गरियो । सप्लाइन चढाइयो । र त्यो जाली काटेर रगत बग्न दिइयो । सबै कालो रगत बगेर सकिएपछि स्टिचिङ भयो र बिरामी ठिक भयो । 

अर्को भनेको चौतारामा अक्सिजन सिलिन्डर थिएन । उहाँले आफ्नो पैसा हालेर अक्सिजन सिलिन्डर को व्यवस्था पनि गर्नुभयो । 

अहिले पनि उहाँ बाटोमा हेर्दा प्रायः मान्छेका अनुहार हेर्नु हुन्न रे ! कारण उसले नमस्कार गर्‍यो भने ऊ बिरामी हो कि, चिनेको अरु नै मान्छे हो कि, वा को हो भन्ने लाग्छ रे ! बिरामीले नै देख्यो भने पनि उसलाई पनि नबोल्न पनि अप्ठेरो बोल्न पनि अप्ठेरो होला । अहिले पनि उहाँ आफ्ना विद्यार्थीलाई बाटोमा भेट्दा नमस्कार नगर्न भन्नुहुन्छ रे ! कतै झुक्किएर औषधि खाएको छ कि छैन भनेर भनियो भने के गर्ने ?

त्यस्तै पोस्टमार्टम गर्न पनि कुनै घर थिएन । यसमा पनि उहाँले त्यहाँका मान्छेलाई भनेर आफ्नो पैसा पनि हालेर दुई कोठाको एउटा घर बनाइदिनु भयो । पछिल्लो कोठामा शव राख्ने र अघिल्लो कोठामा शव कुरुवा बस्ने व्यवस्था पनि उहाँले मिलाउनुभयो । 

अब भने जिरी 

चौताराबाट उहाँको सरुवा भयो जिरी । तराईको मान्छेको सरुवा पहाडमा मात्रै । कारण रहेछ उहाँले पहाडमा राम्रो काम देखाउनु भएछ । त्यस कारण उहाँको सरुवा पहाडमा धेरै । 

जिरीको नाम नै सुन्नुभएको थिएन उहाँले । कहाँ कसरी जाने भन्ने नै अत्तोपत्तो थिएन । वीरगन्ज घरमा गएपछि उहाँलाई थाहा भयो कि जिरी जान त काठमाडौँ गएर प्लेनमा जानुपर्ने रहेछ । त्यसपछि उहाँ काठमाडौँ आउनुभयो । 

त्यस बेला पन्ध्र केजी सामान लान पाइन्थ्यो प्लेनमा । जाडोको ठाउँ अनि तराईको मान्छे । सामान त हुने नै भयो । उहाँले एउटा अलि गह्रौँ ओभरकोट हातमा लिनुभएको थियो । प्लेनको मान्छेले उहाँलाई हपार्नु सम्म हपारे । प्लेन नै रिजर्भ हो कि के हो भनेर ? 

जिरी अस्पताल जिरी एयरपोर्टबाट करिब पाँच सात मिनेटको दूरीमा । ढुगांको बाटो । अस्पतालका डाक्टर आएर स्वागत त गरे । तर, अस्पतालमा बस्ने ठाउँ नै रहेनछ । 

भएको एउटा क्वार्टरमा त्यहीँका डाक्टर साप बसिरहनु भएको थियो जसको सरुवा भएको थियो । ती डाक्टर सापले अब एक दुई दिनमा म जान्छु त्यसपछि तपाईँ बस्नुहोला अहिले चाहिँ मेरो कोठा मुनि एउटा काठ राखेर कोठा छ त्यहीँ बस्नु होला भन्नुभयो । 

म अर्को फ्लाइटबाट जान्छु । त्यसपछि तपाईँ क्वार्टरमा बस्नु होला । खाना उहाँले नै खुवाउनु हुन्थ्यो । त्यसरी त्यो कोठामा उहाँले सात दिन बिताउनु भयो । 

जिरीमा सरकारको तर्फबाट खास बजेट भनेर त्यस्तो व्यवस्था थिएन । खानामा हुने खर्चलाई गाभेर उहाँले सरकारी तवरबाट नै बिरामीलाई सबै औषधि दिने व्यवस्था मिलाउनु भयो । त्यसले गर्दा औषधि किन्न मान्छेलाई चरिकोट अथवा नपाएको खण्डमा काठमाडौँ आउने खर्च पनि जोगियो । 

जिरीको एउटा घटना सम्झनुहुन्छ उहाँ, भएको के रहेछ भने मासुमा डिडिटि पाउडर हालेर बाघ मार्न भनेर केही मान्छेले राखेछन् । अनि राति बाघले खायो कि खाएन भनेर हेर्न गएको उल्टै बाघले आक्रमण गर्‍यो । बाघको पञ्जाले मुखको मासु नै छैन । राति आठ बजे त्यस्तो केस आयो । बत्ती थिएन । पेट्रोलमेक्स बालेर राति नै उपचार गरेर पठाउनु भयो । उहाँलाई अचम्म लागेको एउटा कुरा त्यस बेला पहाडमा टिटानसको उपचार पनि थिएन र टिटानस पनि थिएन । 

अर्को घटना चाहिँ एक जना महिलाले गाईलाई खोले दिँदा गाईको सिङ्गले हानेर पेट नै चिरियो । कपडा बेरेर लिएर आए । अब पठाउने, कहाँ पठाउने । 

त्यो बिरामीलाई पनि उहाँले घाउ सफा गरेर स्टिचिङ गरेर सप्लाइन चढाउँदै उपचार गर्नुभयो । सरकारी अस्पताल कुनै शुल्क तिर्नुपर्ने थिएन । सबै राम्रो भयो । मानसिक अस्पतालका बिरामीको केस त छँदैछ यी केसहरू भने उहाँको स्मृतिमा अझै ताजै छन् । 

हुन् यो सबै टिमको काम हो । तर, केही भएका खण्डमा त्यो दोषको भागिदार त जिम्मेवार भएका नाताले उहाँ मात्रै पर्नुहुन्थ्यो । त्यस कारण पनि यी घटनाहरू गर्व गर्न लायक हुन भन्ने उहाँको ठम्याई छ ।

पानी माना 

पानी माना भन्ने उहाँले पहिलो पटक जिरीमा सुन्नु भएको हो । हाटडाँडामा हप्ताको एक दिन बिहीबार हाट लाग्दो रहेछ । हाटमा गएर किन्यो भने किन्यो नत्र भोकै बस्नु पर्ने रहेछ । सामान साह्रै महँगो । 

पानीमाना भनेको एकमानको भाँडोमा मट्टितेल भरेर बिक्री गर्ने रहेछन् त्यसलाई पानी माना भन्ने चलन रहेछ । एकमना मट्टितेलको साँढे तीन रुपैयाँ । 

उहाँले पानी माना किन्नुभयो । सबैले अस्पतालकै मट्टितेल प्रयोग गर्छन् भने तपाईँले चाहिँ किन किनेको भनेर अस्पतालका कर्मचारीले समेत उहाँलाई भने । 

तर, उहाँले मैले त्यसो गर्ने बित्तिकै सबैले त्यसो गर्छन् त्यसो हुँदा अस्पतालको पैसा दुरुपयोग हुन्छ । त्यस कारण पनि म त्यसो गर्दिन भनेर उहाँले भन्नुभयो । उहाँसँग दुई वटा लाल्टीन रहेछ । त्यो सँगै अरु लाल्टीन पनि उहाँले सफा गर्नुहुन्थ्यो । 

जिरीमा जुगा अति लाग्ने । पानी पर्‍यो कि जुगा लाग्ने । रुखबाटै खस्थ्यो जुगा त । त्यो देख्दा उहाँलाई डर लाग्थ्यो रे !  पूर्वको स्वीट्जरल्याण्ड भनेको त यस्तो पो रहेछ भन्ने उहाँलाई लाग्दो रहेछ । 

हाटडाँडा जाँदा उहाँलाई पनि जुगा लाग्यो । नून र टिम्मुर दलेर जाँदा पनि टोक्थ्यो रे ! बाघको पनि डर थियो रे ! राति बाहिर ननिस्कनुस र निस्कन परे पियनलाई साथमा लिएर मात्र जानुहोला भनेको थियो अस्पतालले । 

बल्ल एमडीको बाटो 

पहाडका यी विविध ठाउँमा सेवा गरेपछि सरकारले उहाँलाई एमडीको लागि कोलम्बो प्लान अन्तर्गत बनारस हिन्दु विश्वविद्यालयमा पठायो । 

त्यस बेला भारतको केन्द्र सरकार अन्तर्गत पाँच वटा इन्सिट्युटहरु थिए । जसमा एम्स, चण्डीगढ, बनारस हिन्दु विश्वविद्यालय, बैंगलोर र जितमार । यी सबैमा पियन देखि प्रोफेसरसम्म राख्ने काम केन्द्र सरकारले नै गथ्र्यो । 

बनारस हिन्दु विश्वविद्यालय बनारसको लंका भन्ने स्थानमा थियो । धेरै ठुलो क्षेत्रफलमा । त्यहाँ विद्यार्थी, शिक्षक र कर्मचारी सबै गरेर करिब करिब चालिस हजार मानिस थिए होलान् उहाँ भन्नुहुन्छ । 

खासमा उहाँको रुचि सर्जरीमा हो । सर्जन बन्ने भन्ने हो । उहाँको प्राक्टिस पनि थियो सर्जरीमा । तर, उहाँले के कुरा बुझ्नु भएको थियो भने पञ्चायतकलामा सर्जरीमा प्लान पाउन धेरै नै पापड पेल्नुपर्ने थियो । 

यस कारण पनि उहाँले कोलम्बो प्लान अन्तर्गत आएको साइक्याट्रीको अवसर किन छोड्ने भनेर पढ्न जानु भएको हो । कोलम्बो प्लान अन्तर्गत साइक्याट्री पढ्नेमा डा.धु्रबमान पहिलो र उहाँ दोस्रो भएको उहाँ बताउनु हुन्छ । 

उहाँ सन् १९८० मा पढ्न जानु भएको हो र तीन वर्षको अध्ययन पछि १९८३ मा साइक्याट्रीमा एमडी गरेर फर्कनु भयो ।

वीर अस्पतालको सेवा 

एमडी गरेर आएपछि उहाँ वीर अस्पतालमा काम गर्न थाल्नुभयो । किनकि त्यो बाहेक मानसिक बिरामीका लागि कुनै अस्पताल थिएन । 

वीरको छिँडीमा छ शय्याको मानसिक वार्ड थियो । बस्ने कुर्सी समेत थिएन । एउटा भएको कुर्सीमा नेपालको पहिलो मानसिक रोग विशेषज्ञ डा. विष्णु प्रसाद शर्मा बस्नुहुन्थ्यो । बाँकी सबै डाक्टर उभिन्थे । जसको पालो पर्छ उसले बेन्चमा बसेर बिरामी हेर्दै लेख्नुपर्थ्यो । यस्तो हविगत थियो मानसिक वार्डको र डाक्टरको । उहाँलाई वीरको विगतले तान्यो

डा.विपि शर्मा दिवङ्गत पछि वीर अस्पतालमा एउटा शोक समारोह आयोजना गरिएको थियो । सबैले डा. विपिका बारेमा र उहाँको योगदानको बारेमा चर्चा गरे । 

नेपालको पहिलो मानसिक रोग विशेषज्ञ डा विपिले एमडिजिपि गर्नु भएको भनेर कसैले भन्दै गर्दा त्यहाँ उपस्थित डा.देशराज कुँवरले जुरुक्क उठेर ड्यासमा गएर उहाँ डिपिएम मात्र हो र उहाँलाई एमडिजिपि मानार्थ मात्र दिइएको हो भनेर आएर आफ्नो ठाउँमा बस्नु भयो । डा.कुँवर सेनाको मान्छे र बडो निर्भीक पनि हुनुहुन्थ्यो । त्यसैले उहाँले त्यति बोल्ने हिम्मत गर्नुभयो नत्र त यहाँ मरेपछि सबै राम्रो र ठिक भन्ने चलन रहेको उहाँ सम्झनु हुन्छ । 

विवाह 

उहाँको पहिलो विवाह क्षेत्री केटीसँग भएको हो । मागी विवाह नै हो । बुबाले कुरा गरेर बिहे भएको । तर, उहाँको पहिलो विवाहको भने दुखद अन्त्य भयो । काठमाडौँमा उपचारपछि सँगै चौतारा लिएर गएको श्रीमती त्यहीँ बित्नुभयो । 

पछि उहाँ लाजिम्पाट बस्नुहुन्थ्यो । कान्ति बाल अस्पतालमा काम गर्ने एक जना नर्ससँग चिनजान भयो । माया प्रेम बस्यो । विवाह गर्नुभयो । 

उहाँ एमडीका लागि बनारस जानु अघि बुबाले अब तँ एक्लै जान पाउँदैनस् भन्नुभयो । अनि सँगै जानु भो बनारस । बनारसमा श्रीमती चक्रवर्ती तीन महिना बस्नुभयो । त्यहीँ गर्भधारण भयो । बनारस देवताको पवित्र धाम । यस्तो देवभूमिमा आशिष् प्राप्त भएकोले उहाँले छोराको नाम राख्नुभयो देवाशिष । 

श्रीमती चक्रवर्ती नर्स हुनुहुन्छ । उहाँ कान्ति बाल अस्पतालबाट रिटायर्ड हुनुभयो । 

उहाँको एउटा मात्र सन्तान । एसएलसी पास भएपछि अब डाक्टर बन्नुपर्छ आइएस्सी पढ्नुपर्छ बाबु भन्दा छोरोले डाक्टर बन्ने भए त म घरै छोडेर जान्छु भनेकोले तेरो रोजाई अनुसार पढ् भन्नुभयो । 

छोराले होटेल मेनजमेण्ट पढ्यो, उहाँ भन्नुहुन्छ । दुबईमा क्रुजको तालिम लियो अनि सिंगापुरको एसियन एयरलाइन्सको क्रुजमा काम गर्‍यो । तर, अहिले भने त्यो काम छोडेर अरु कामको खोजीमा छ, उहाँ भन्नुहुन्छ । 

 सरकारी सेवाबाट राजीनामा 

उहाँ बढुवा भएर राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत   हुनुभयो । त्यसपछि उहाँलाई सरुवा गरियो वीरगन्ज । वीर गन्जमा बस्ने कोठा छैन । काम गर्ने केही छैन । अब यस्तो ठाउँमा कसरी काम गर्ने । अब परिवार सबै यतै छन् बुढेसकालमा के एक्लै वीरगन्ज बस्ने । 

त्यसपछि उहाँले वीरगन्ज हाजिर भएर त्यसै दिन राजीनामा दिनुभयो । यसरी उहाँले चौबिस वर्ष डाक्टरी सेवामा काम गरेर अवकाश लिनुभयो सरकारी सेवाबाट । 

पाटन अस्पताल 

अवकाश पछि उहाँले पाटन अस्पतालमा दुई जनालाई एमडिजिपि पढाउने काम गर्नुभयो । हप्ताको एउटा क्लास लिने गरी । 

त्यसपछि उहाँले प्रहरी अस्पतालमा करारमै काम गर्नुभयो एक वर्ष । एक दिन ड्युटी जाँदा नर्सले प्रहरी पोशाकमा हतियार सहित स्याइलुट गरेपछि उहाँलाई अनौठो अनुभव भयो र त्यहाँ पनि छोड्नु भो जागिर । 

उहाँले शिक्षण अस्पताल महाराजगन्जमा, एमबिबिएस र पोस्ट ग्रयाजुएटलाई पनि पढाउनु भयो । साथै शिक्षण अस्पताल अन्त्रगतको मेन्टल हेल्थ प्रोजेक्टमा पनि पढाउनुहुन्थ्यो । 

प्रोजेक्ट निश्चित अवधिको मात्र हुन्थ्यो । त्यसको पनि समय सकियो । अब उहाँले काम गर्न थाल्नुभयो नेपाल मेडिकल कलेज जोरपाटीमा एशोसियट प्रोफेसरका रुपमा । 

पढाएर मात्र भएन अब प्रोफेसर नै हुने हो भने लेख्नु पनि पर्छ भनेर उहाँले लेख्न थाल्नुभयो । नौ दश वटा इन्डेक्स जर्नल पनि लेखिसक्नु भएको छ उहाँले । 

यसले उहाँलाई प्रोफेसर बन्न मद्यत गर्‍यो । अब प्रोफेसर भएपछि कलेजले उहाँलाई फेरि करारमा जानका लागि भन्यो । यतिन्जेलसम्म उहाँको उमेर हद नाघिसकेको थियो । 

कलेजले उहाँलाई राजीनामा गर्न भन्यो । उहाँले अब म करारमा भएको मान्छेले किन राजीनामा दिनु प¥यो । करार अवधि सकिएपछि स्वतः जागिर सकिहाल्यो नि ! 

तर, कलेजले उहाँलाई राजीनामा दिनका लागि पत्र लेखेर घरमै पठायो । यसमा उहाँको चित्त दुखाई छ । करार अवधि सकिए पनि म हाजिर गर्न त जाँदैन थिएँ नि तर, कलेजले एक किसिमले भन्दा आफूमाथि दुर्व्यवहार नै गरेको उहाँ सम्झनुहुन्छ । 

उहाँको मातहतमा अहिलेसम्म नौ जनाले एमडी गरिसकेका छन् । तर, उहाँलाई दुःख यस कुरामा रहेछ कि यति दुःख गरेर आफूले एमडी पढाएका तीन जना बाहेक कसैले पनि गुरु पूर्णिमाको दिन धन्यवाद सम्म व्यक्त गरेनन् । 

उहाँले डब्लुएचओ अन्तर्गत साइक्याट्रीस्टहरुलाई पनि पढाउनु भयो । 

अर्को भनेको लोकसेवा आयोगले बेला बेलामा उहाँलाई नवौँ, दसौँ तहको प्रश्न पत्र तयार गर्न बोलाउँछ । त्यसमा अरूहरूले प्रश्न पत्र पहिले नै तयार गरेको हुन्छ । कसले तयार गरेको हो थाहा हुँदैन । ती प्रश्न पत्र मध्येबाट उत्कृष्ट छान्न उहाँको अनुभव उपयोग गरिँदो रहेछ । त्यस कारण पनि उहाँलाई लोकसेवा एकदमै निष्पक्ष लाग्दो रहेछ । 

बिरामीसँगका कुरा 

एक पटक एक जना बिरामी आमासँग जँचाउन मानसिक अस्पताल आएका थिए । पछि उहाँ कमलाक्षीको क्लिनिकमा बसिरहनु भएको बेला त्यो बिरामी आएछ । उसले आउँदै लात हानेर एउटा कुर्सी भाँच्यो । 

पछि भित्र छिरेर उहाँलाई तँ मलाई सिजोफ्रेनिक भन्ने होइनस् भन्न थाल्यो । जाडोको महिना थियो । ज्याकेट लगाएको थियो उसले । ब्लड प्रेसर हेर्दे भन्न थाल्यो । प्रेसर हेर्न भनेर ज्याकेटको बाहुला सार्न लगाउँदा उसले लुकाएर ल्याएको एउटा चक्कु झर्‍यो । 

चक्कु टिपेर टेबलमा राख्दै उसले पाउरोटी काट्न काम लाग्छ भन्न थाल्यो । उसलाई करिब चालिस मिनेट काउन्सिलिङ गरेर केही रोग छैन भनेर पठाउनु भयो । जाँदा पनि उसले तल बसेका मान्छेलाई हान्दिऊँ भन्दै थियो ।

यो घटना पछि भएको युएनको मिटिङमा जाँदा उहाँ मौन हुनुहुन्थ्यो । यो उहाँको स्वभाव होइन । अरूहरूले किन यस्तो भने । उहाँले बेलिबिस्तार लगाउनु भयो । पछि अरूहरूले पनि आफूसँग घटेका घटना बताउन थाले त्यसपछि बल्ल उहाँले अलि राहत महसुस गर्नुभयो । 

यो घटना पछि उहाँले अहिले आफ्नो पर्दा पछाडि लट्ठी र ढुङ्गाहरू राख्ने गर्नुभएको छ । काम गर्ने मान्छे पनि एक जना थप गर्नुभएको छ । 

शायद यसै कारण होला डब्लुएचओले मानसिक रोगी हेर्दा त्यहाँ अनिवार्य रुपमा दुई वटा ढोका हुनुपर्छ भनेको छ । 

अर्को एउटा केस डिमेन्सियाको छ । एक पटक बिरामी लिएर दुई जना आइपुगे । उहाँलाई थाहा भो डिमेन्सियाको केस हो भनेर । उहाँले केही नभनी एउटा सिटी स्क्यान गरेर रिपोट लिएर आउन भन्नुभयो । तर, बिरामीलाई भने नल्याउन पनि भन्नुभयो । अनि रिपोट हेरेर यो रोग ठिक हुँदैन उपाय छैन भनेर भन्नुभयो । तर, त्यही बिरामीलाई अरु कुनै डाक्टरले भने धेरै थरिका औषधि लेखेका थिए रे ! 

अर्को एउटा यस्तै केसमा एक जना कडा मानसिक रोग भएको बिरामीलाई काठमाडौँमा सबैले उपचार गरेर नसकेपछि उहाँले इन्डिया लैजान सुझाव दिनुभयो । 

त्यस बेला डब्लुएचओले एउटा औषधिको परीक्षण गरिरहेको थियो । उक्त बिरामीलाई पनि त्यो औषधि परीक्षण गरियो । बिरामी डेढ वर्ष उपचार पछि ठिक भएर आयो । तर, पछि यहाँका एक जना डाक्टरले उक्त औषधि बन्द गरिदिए । पछि रोग बल्झेर बिरामीको देहान्त भयो । 

हुन त सबै बिरामीलाई डाक्टरले बचाउन सक्दैन तर, यस्ता कुराले डाक्टरलाई पीडा दिन्छ, उहाँ भन्नुहुन्छ । 

पागलको डाक्टर 

सामाजिक विभेदको रूप अहिले हामीले कोरोनाका बारे देखिहाल्यौँ भने त्यो बेलामा झन् नहुने कुरै भएँ । बिरामी र उसका आफन्त भन्दा पनि डाक्टरबाटै धेरै थियो । बिरामीले यसो देख्यो भने मुन्टो निहुराउने गर्थे । अहिले पनि छ सामाजिक विभेदका कारण त्यो छँदैछ । 

अहिले पनि उहाँ बाटोमा हेर्दा प्रायः मान्छेका अनुहार हेर्नु हुन्न रे ! कारण उसले नमस्कार गर्‍यो भने ऊ बिरामी हो कि, चिनेको अरु नै मान्छे हो कि, वा को हो भन्ने लाग्छ रे ! बिरामीले नै देख्यो भने पनि उसलाई पनि नबोल्न पनि अप्ठेरो बोल्न पनि अप्ठेरो होला । अहिले पनि उहाँ आफ्ना विद्यार्थीलाई बाटोमा भेट्दा नमस्कार नगर्न भन्नुहुन्छ रे ! कतै झुक्किएर औषधि खाएको छ कि छैन भनेर भनियो भने के गर्ने ? उहाँले पीडा र हाँसो एकै पटक ओकल्नु भयो । 

उहाँको दुखेसो 

प्रोफेसर बन्नु भनेको सानो कुरा होइन र यसका लागि कम्ती लगन, मेहनत र लगानीले पुग्दैन । तर, नेपालको कानुन दैवले जानुन्, उहाँ भन्नुहुन्छ । 

नेपाल मेडिकल काउन्सिलले एउटा नियम लेरायो । ७५ वर्ष काटेका कोही पनि डाक्टरले काम गर्न नपाउने । यदि कुनै कलेजले राख्छ भने कलेजको मान्यता नै खारेज गर्ने । काउन्सिलको यो नियममा उहाँको आपत्ति र दुखेसो दुबै छ । 

कार्डियाक तथा अन्य सर्जरीका डाक्टर जसले चिरफार गर्नुपर्छ तिनलाई यो नियम ठिक होला । तर, साइक्याट्री जस्तो क्षेत्रमा यसको के काम । 

ठिक छ कोही डाक्टर कुनै शारीरिक अक्षमताका कारण पढाउन सक्दैन, डाक्टरी गर्न सक्दैन भने उसलाई काम नगराए भैगो । तर, जो तगडा छ, जसले काम गर्न सक्छ उसलाई पनि यो नियमले काम नै गर्न दिएन । 

यसरी एउटा प्रोफेसरको यति लामो अनुभव, मेहनत र लगानीको उपयोग गर्न व्यक्ति मात्र होइन यसको लाभ उठाउन राष्ट्र पनि त चुक्यो नि ? यसका बारेमा अझै पुनर्विचार गर्न सकिने उहाँको तर्क छ । 

उहाँ भन्नुहुन्छ कतिपय मेडिकल कलेज र युनिभर्सिटीमा पनि अहिले पनि प्रोफेसर छैनन् । जबकि उहाँ जस्ता अनुभवी र पाका प्रोफेसरलाई त्यहाँ मात्र काम दिए पनि राष्ट्र र समाजले नै फाइदा उठाउन सक्ने थियो । अरु कोही नयाँ प्रोफेसर आयो उमेर हद ननाघेको भने उसलाई मौका दिए भैगो । सरकार भनौँ वा काउन्सिलले यति सम्म पनि सोच्न सक्दैन । अचम्म लाग्छ, उहाँ भन्नुहुन्छ ।

उहाँको अर्को एउटा गुनासो छ मानसिक अस्पतालको नामप्रति । डब्लुएचओले समेत मानसिक अस्पताल भनेर नाम नराख्न सुझाव दिएको छ, उहाँ भन्नुहुन्छ । 

भारत लगायत अन्य देशमा साइक्याट्रीक अस्पतालको नाम परिवर्तन भएर अरु नाम भएका छन् । तर, हाम्रो देशमा भने अझै उही नाम छ, मानसिक अस्पताल । यसो गर्दा बिरामी हिचकिचाएर पनि अस्पताल जान नसक्ने हुन्छ । अरूले देख्ला कि भन्ने सङ्कोच रहन्छ । बिरामीप्रति सामाजिक विभेद हुन्छ ।

चुनौती 

उहाँलाई यसो हेरेर अथवा उमेरको कसीमा राखेर अब बुढो हुनुभयो भन्नेहरू धेरै छन् । तर, उहाँ चुनौती दिनुहुन्छ उमेरले केही बुढो अवश्य होला तर, उहाँमा कुनै शारीरिक एवं मानसिक रोग छैन । बुढ्यौलीका लक्षणहरू छैनन् । 

कान राम्रो सुन्नुहुन्छ । आँखा राम्रो देख्नुहुन्छ । स्मरण शक्ति राम्रो छ । पढ्न लेख्न त्यत्तिकै सक्रिय हुनुहुन्छ । उभिन, हिँड्न सक्नुहुन्छ । आफ्ना कुनै साधन छैन । सार्वजनिक सवारीमा यात्रा गर्नुहुन्छ । भने भन्नुस अब म कसरी बुढो ? उहाँको प्रश्न छ । 

म मेरो विषयमा यहाँका युवाहरूलाई चुनौती दिन्छु, आएर मसँग बहस गर । अब भन्नुस म कसरी बुढो भएँ, फेरी उहाँको उही प्रश्न अनि उही चुनौती । 

सङ्घसंस्थामा संलग्नता 

उहाँको सङ्घसंस्थामा पनि खासै संलग्नता छैन । अहिले उहाँ भिमसेनगोलामा रहेको निर्मल बाल विकास केन्द्रमा हप्ताको एक पटक जाने गर्नुहुन्छ । त्यो सुस्त मनस्थिति भएकाहरूको संस्था हो । उहाँको जाँच पडताल र अनुमति पछि मात्रै यहाँ भर्ना हुन सकिन्छ । 

त्यस्तै अर्को एउटा संस्था छ, एसोसिएसन अफ वेलफेयर अफ मेन्टल रिर्टाडेसन, सिनामंगलमा त्यहाँ पनि हप्ताको एक पटक जानुहुन्छ उहाँ । 

अर्को भनेको नेपालको पहिलो मनोविद् डा.विष्णु प्रसाद शर्माले खोलेको संस्था आरोग्य मन्दिरमा पनि जानुहुन्छ उहाँ । 

मान, सम्मान र पदक

मान, सम्मान र पदकमा उहाँको पनि गुनासो छ यसका लागि धेरै पापड बेल्नुपर्छ । साधारण मान्छेले यसको कल्पना नगरे पनि हुन्छ । 

तर, पनि उहाँले पञ्चायतको समयमा सिन्धुपाल्चोकको चौतारामा हुँदा सेवा पदक प्राप्त गर्नुभएको थियो । 

अनि साइक्याट्रक एसोसिएसन नेपाल (प्यान) नेपालले पोखरामा लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको बाहेक उहाँले आजसम्म केही पाउनु भएको छैन । उहाँ भन्नुहुन्छ, यसमा मेरो कसैप्रति गुनासो पनि छैन । 

डेनमार्कको नसकिएको भिसा

पहिले मानसिक अस्पतालमा रहँदै उहाँ भुटानी शरणार्थी शिविरमा जानुहुन्थ्यो । ननेको एयरबाट । शुक्रवार बेलुकी गयो अनि शनिवार बसेर आइतबार अस्पतालमा हाजिर हुन आइपुग्ने गरी । संस्थाको नाम थियो । टर्चर अफ भिक्टिम्स । 

संस्थाले डेनमार्कमा काममा जानका लागि अफर गर्‍यो । उहाँले भिसाका लागि आवेदन दिनुभयो । भिसा लाग्यो । अनि संस्थाले भन्यो अहिले आफ्नो पैसा हालेर जानुस् पछि शोधभर्ना गरौँला । तर, उहाँसँग पैसा थिएन । पछि त्यस संस्थामा अरु नै मनोविद नियुक्त गरियो । उहाँलाई जानकारीसम्म गरिएन । उहाँको डेनमार्कको भिसा भएको पासपोर्ट अझै छँदै छ । उहाँको कहिले नसकिने डेनमार्कको भिसा । 

लकडाउनको रमाइलो 

यो लकडाउन भने उहाँलाई रमाइलो लाग्यो । रमाइलो यस अर्थमा कि उहाँले यो लकडाउनको अवधिभर उहाँले घरमा भाँडा माझ्नु भो, घर पुछ्नु भो, सरसफाइ गर्नु भो अनि केही काम नभए तलमाथि मात्रै भए पनि गरिरहनु भयो । यसले उहाँलाई शारीरिक र मानसिक रुपमा स्वस्थ रहन मद्दत गर्‍यो उहाँ भन्नुहुन्छ । 

उहाँ भन्नुहुन्छ, यो सबै बताइरहँदा मलाई लाज लाग्दैन । आफ्नो काम गर्न के को लाज ? पढ्ने लेख्ने मात्रै कति गर्ने भनेर पनि उहाँले यो लकडाउनमा घरको काम गर्नुभएको हो । 

उहाँ भन्नुहुन्छ, म मेरो विषय त पढिराखेकै हुन्छु त्यसदेखि बाहेक मेडिकलका पुराना र अन्य पुस्तक पढ्न पनि उहाँ रुचि राख्नुहुन्छ । पहिले टिबी लागेको मान्छेलाई कसरी राख्थे र कसरी उपचार गरिन्थ्यो भन्ने एउटा दुर्लभ किताब पनि छ रे उहाँसँग । यस्ता किताब पनि हेर्ने गर्नुहुन्छ, उहाँ यदि कसैले पढेको छैन भने ‘एसजी वेल्सको द कन्ट्री अफ ब्लाइन्ड म्यान’ पढ्न पनि सुझाउनुहुन्छ उहाँ । 

अन्त्यमा 

आफ्नो मेहनत, अनुभव साथै लगनले एउटा उचाइमा पुगेको विशेषज्ञ डाक्टरले केवल उमेर हदका कारण मात्र प्राध्यापन वा डाक्टरी गर्नबाट वञ्चित हुनु भनेको राष्ट्रका लागि पनि ठुलो नोक्सानी हो । 

यस्ता कुरामा सरकारले हेरेर पुनर्विचार गर्न सकेमा त्यसले देश र जनतालाई नै लाभ पुर्‍याउने छ । यस्ता नियमहरु केवल नियमका लागि भन्दा पनि हाम्रो जस्तो देशका लागि कत्तिको उपयोगी छन् भनेर विचार गर्न सकेमा अन्ततः यसले अवश्य सबैलाई लाभान्वित बनाउनेछ ।