शेरबहादुर देउवा : नियुक्ति भागबन्डामा प्रतिपक्षी दल र नेताको भूमिका साट्दै !

शेरबहादुर देउवा :  नियुक्ति भागबन्डामा प्रतिपक्षी दल र नेताको भूमिका साट्दै !

विश्वामित्र शर्मा  |  दृष्टिकोण  |  आश्विन १८, २०७७

नेपाली कांग्रेस अहिले झन्डै दुई तिहाइ बहुमतप्राप्त नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारको प्रमुख प्रतिपक्ष हो । लामो राजनीतिक इतिहास बोकेको कांग्रेससँग विभिन्न समयमा सञ्चालित शासन प्रणालीसँग लडेको, भिडेको र जितेको अनुभव छ भने २००७ सालयता धेरै समय सत्ता सञ्चालनको अनुभवसमेत छ ।

सत्ता पक्ष हुँदाको र प्रतिपक्ष हुँदाको पनि राम्रै अनुभव छ कांग्रेससँग । अझ आफूलाई ठूलो लोकतान्त्रिक दल दाबी गर्ने कांग्रेसलाई लोकतान्त्रिक विधि, पद्धति र व्यवहार अनि आचरणको ज्ञान नै छैन भन्न सकिँदैन ।

तथापि, कांग्रेस आज यस्तो देखिँदैन । कांग्रेसको लामो राजनीतिक अनुभव, संसदीय राजनीतिको अभ्यास र लोकतान्त्रिक पद्धतिको मर्म अनि भावनाप्रतिको बुझाइ निकै कमजोर देखिन्छ आज ।

तीन वर्षअघि सम्पन्न तीनै तहका निर्वाचनपछि नयाँ संविधानको कार्यान्वयन सुरु भएको हो । तीनै तहका सरकारले संविधानतः आआफ्ना कामकारबाही अगाडि बढाइरहेका छन् । कतिपय अवस्थामा तीन तहबीचका अधिकारक्षेत्रका विषयमा अलमल भए पनि कामकारबाही रोकिएका छैनन् ।

मूलतः मुलुकको शासनको वास्तविक सञ्चालक केन्द्रीय सरकार नै रहेको छ हामीकहाँ, भलै, ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक’ पदावली झुण्ड्ण्याइएको छ संविधानमा नै । संविधानमा लेखिएकै आधारमा सबै कुराको निर्धारण र निश्चितता नहुने रहेछ भन्ने पनि यसबाट प्रस्ट त भएकै छ ।

कांग्रेसको नेतृत्व शेरबहादुर देउवाको हातमा छ, जोसँग नेतृत्व गुणबाहेक सबैथोक छ । नेतृत्वमा हुनुपर्ने जिम्मेवारीबोध, शालीनता, भद्रता, मिलनसारिता, शिष्टता आदि कुनै पनि गुण र स्वभाव शेरबहादुर देउवामा छन् भनेर हृदयदेखि भन्ने व्यक्ति पाउन निकै गाह्रो छ, भलै, केही हनुमानहरूले उनको अपानवायुसमेत सुगन्धित भनिदेलान् ।

कुरा गर्न खोजिएको भने अर्कै सन्दर्भको हो ।

कांग्रेस आजका मितिमा प्रस्ट बहुमतप्राप्त कम्युनिस्ट सरकारको प्रमुख प्रतिपक्ष हो । लोकतन्त्रमा प्रतिपक्षको व्यवस्था गरिनुका खास कारण हुन्छन् । जस्तो कि जनताद्वारा निर्वाचित प्रतिनिधिहरू निश्चित अवधिका लागि संसदमा गएका हुन्छन् । उनीहरूलाई जनता र देशप्रति उत्तरदायी बनाई राख्न ‘चेक एण्ड ब्यालेन्स’सँगै गलत कामकारबाहीबाट बचाउन अङ्कुश जरुरी ठानिन्छ । यस्तो अवस्थामा प्रतिपक्षले त्यो महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने मान्यता रहेको छ ।

अर्को कुरा, संसदमा बहुमतप्राप्त वा बढी मतप्राप्त राजनीतिक दलले सरकार बनाउँछ लोकतन्त्रमा । बढी सिट प्राप्त राजनीतिक दलले नीति, कानुन, ऐन निर्माणका सवालमा मनपरी गर्न सक्छ, स्वेच्छाचारी बन्न सक्छ । त्यस्तो अवस्थामा संसदबाटै विरोध, आलोचना गरेर उक्त कार्य गर्नबाट रोक्ने काम पनि प्रतिपक्षले गर्छ ।

कतिपय सवालमा काम गर्दै जाँदा सरकारले संविधानविपरीत, जनविरोधी, राष्ट्रघाती कदम पनि चाल्न सक्छ । त्यस्तो अवस्थामा आमजनताको पक्षबाट सरकारलाई त्यस्ता कदमबाट पछि हट्न बाध्य पार्ने काम पनि प्रतिपक्षकै मानिन्छ ।

यस कारण पनि प्रतिपक्ष सधैँ सिर्जनशील आलोचक हुनुपर्छ भन्ने मान्यता राखिन्छ । सिर्जनशील आलोचक भन्नाले सरकार र संसदका नकारात्मक वा आलोचनायोग्य कामकारबाहीप्रति औँला ठड्याएर खबरदारी गर्दै नराम्रो काम हुनबाट रोक्ने हो । 

तर, हामीकहाँ सुरुवातदेखि नै अभ्यास यस्तो भयो कि प्रतिपक्ष भनेको सत्ताको, सत्तारुढ दलको, सत्तारुढ दलका नेतृत्वको खोइरो खन्ने, असल र इमान्दार कामकारबाहीको पनि आलोचना, विरोध गर्ने, सानातिना कमजोरीलाई पहाड बनाइदिएर सडकदेखि सदनसम्म कार्यकर्ता उचालेर तोडफोड गर्ने काममा प्रतिपक्ष परिचालित भयो ।

विगतमा अहिलेका सत्तारुढ दलहरूले तत्कालीन सरकारका प्रतिपक्षमा रहँदा गरेका अराजक, उद्दण्ड र गैरराजनीतिक÷गैरमानवीय व्यवहारकै सिको पछि कांग्रेसलगायतका दलले पनि गरिरहे । यसले मुलुकको स्थिरता, समृद्धि र विकासमा नराम्रो असर गर्‍यो र आजसम्म त्यसकै प्रभावको छायामा छ मुलुक ।

कांग्रेस आज प्रतिपक्षमा छ । यो उसैले निम्त्याएको अवस्था हो । जनताले पटकपटक सत्तामा पुर्‍याए पनि जनअभिमतको कदर गर्न कहिल्यै सकेन कांग्रेसले । जनताका दुःख, आवश्यकता, समस्या, चाहनाप्रति कांग्रेस सधदैव निस्पृह रह्यो । हो, यसकै परिणाम हो– अहिले कांग्रेस प्रतिपक्षमा खुम्चिनु ।

उसो त, लोकतान्त्रिक पद्धतिमा सत्तामा पुग्नु र प्रतिपक्षमा रहनु चक्र जस्तै हो तथापि यो चक्रलाई केही समय तोड्न सक्ने अवस्था पनि कांग्रेसले दिएन वा सकेन ।

कांग्रेसभित्रको स्थापनाकालदेखिकै आन्तरिक शक्तिसंघर्ष, भाले जुधाइ, नेतृत्वबीचको टकराव, गुटबन्दी, धोखाधडीको परिणाम आज कांग्रेस अत्यन्त कमजोर र विवश बनेको छ ।

यहीबेला कांग्रेसको नेतृत्व शेरबहादुर देउवाको हातमा छ, जोसँग नेतृत्व गुणबाहेक सबैथोक छ । नेतृत्वमा हुनुपर्ने जिम्मेवारीबोध, शालीनता, भद्रता, मिलनसारिता, शिष्टता आदि कुनै पनि गुण र स्वभाव शेरबहादुर देउवामा छन् भनेर हृदयदेखि भन्ने व्यक्ति पाउन निकै गाह्रो छ, भलै, केही हनुमानहरूले उनको अपानवायुसमेत सुगन्धित भनिदेलान् ।

मूलतः गिरिजाप्रसाद कोइरालाको अवसानपछिको कांग्रेस निकै विचलित देखियो । गिरिजापछिका सभापति सुशील कोइरालाले नबोली नबोली विरोधीलाई ठेगान लगाउने नीति अख्तियार गरेर पार्टीलाई सुस्त नै भए पनि गति दिएका भए पनि सुशीलको पनि अवसान भएपछि पार्टीको नेतृत्वमा देउवा आएपछि कांग्रेस भन्ने पार्टी एउटा ‘बिग क्लब’ जस्तो बन्यो ।

देउवा कोटरीमा अटाउनेहरूले पौडेल, सिटौला वा अन्य कोटरीकाहरूलाई एक प्रकारको बन्देज नै लगाए भने अन्य कोटरीकाहरूले देउवा कोटरीकाहरूसँग टाढै रहे । 

उता, कोइराला विरासत जोगाउन नसकेर आफैँभित्र प्याकप्याक बनेका बीपीपुत्र डा. शशांक कोइराला, नोनापुत्र डा. शेखर कोइराला र गिरिजापुत्री सुजाता कोइरालाको दुःख अर्कै छ ।

बीपीपुत्र भएका ‘हैसियत’ले अबको पार्टी सभापतिको दाबेदारका रूपमा आफूलाई प्रस्तुत गर्दै आएका शशांक, गिरिजापुत्रीको ब्याज मागिरहेकी सुजाता र नोनापुत्रको हुनुको अधिकार खोज्दै पार्टी नेतृत्व चाहिरहेका शेखर, तीनै जना तीनतिर छन् अझै । 

आफ्नै परिवारभित्रको मतभेद र विभाजन मिलाउन नसक्ने यी तीन जनाले यति धेरै विवादित, विचलित र असंगठित बनेको कांग्रेसको नेतृत्व लिएर मिलाएर लैजान सक्लान् भन्ने अनुमान पनि गलत हुन्छ सायद ।
  
सन्दर्भ फेरि शेरबहादुर देउवाः ओलीका छाया !

वास्तवमै लोकतन्त्रको कम्युनिस्ट सरकारको प्रमुख प्रतिपक्षी नेताको पछिल्लो चालढाल हेर्दा नै यो प्रस्ट हुन्छ । ओलीसँग विभिन्न नियुक्ति र भागबण्डासँग प्रतिपक्षी नेताको भूमिका साट्दै  सरकारका अनेक गलत निर्णयमा अघोषित सही छाप लगाउँदै आएका छन् देउवाले । पछिल्लो पटक विभिन्न विश्वविद्यालयका उपकुलपति नियुक्तिदेखि भर्खरैको राजदूत सिफारिससम्म पनि देउवा ओलीसँग भागबण्डामा मिलेका प्रस्ट देखिन्छ ।

यस्तो अवस्थामा प्रमुख प्रतिपक्षको नाममा सरकारको र प्रधानमन्त्री ओलीको प्रत्यक्ष छाया देखिनु अस्वाभाविक पनि होइन ।

जबसम्म प्रतिपक्ष सत्ताको वा प्रधानमन्त्रीको छाया रहन्छ, तबसम्म मुलुकमा सरकार निरङ्कुश बन्छ र राजनीतिक, आर्थिकलगायतका क्षेत्रमा जाँच र सन्तुलन नहुनाले अराजकता निम्तिइरहन्छ ।