व्यवहार र गुणको कसीमा साथी र मित्रता : को हो साथी ? को हो मित्र ?

व्यवहार र  गुणको कसीमा साथी र मित्रता : को हो साथी ?  को हो मित्र ?

विनोद पोख्रेल  |  दृष्टिकोण  |  आश्विन १९, २०७७

आज एउटा फरक प्रसङ्गमा अलि कति कोट्याउन मन लाग्यो । भाषा, शब्द र अर्थको प्रसङ्ग। अहिले सरल, सहज र धेरै प्रयोग हुने शब्दमा पर्दछ  साथी । समान अर्थी शब्दहरू भए पनि ती शब्दहरूका आफ्नै शाब्दिक अर्थ हुन्छन् भने फरक फरक परिभाषा पनि गरिएका हुन्छन् र ती शब्दहरूका आ-आफ्ना उपयुक्त प्रयोग गर्ने स्थान पनि हुन्छन्। देख्दा एउटै अर्थ देखिने साथी र मित्रको जसलाई अङ्ग्रेजीमा Friend, buddy,ally तथा अरू धेरै शब्दहरूले परिभाषित गर्न सकिन्छ भने हिन्दीमा दोस्त, मित्र, यार आदि शब्दबाट  साथीलाई सम्बोधन गरिन्छ । 

हाम्रो नेपाली शब्दकोशमा साथीको अर्थ '(साथ+ई) एकसाथ रहने वा सँगै बस उठ गर्ने व्यक्ति, सँगी',  कुनै कामकुरामा साथ दिने व्यक्ति, परिआएका बेलामा मद्दत गर्ने व्यक्ति, सहायक, सहयोगी, मदतगार' भनि उल्लेख गरिएको छ भने मित्रको अर्थ- 'साथी, सखा, सँगी, दौँतरी, सँगाती, सहयोगीस शुभचिन्तक' भनेर व्याख्या गरेको छ।

सामान्यतया आफ्नो साथमा रहने, साथ साथै हिडने र सधैँ आफूलाई साथ दिने सहयोगी व्यक्ति तथा शुभचिन्तकलाई साथी भन्ने चलन रहेकाे छ ।  माथिका दुवै शब्दको अर्थमा मित्रको अर्थ भित्र साथी रहेको छ भने साथीको अर्थ भित्र भने मित्र देखिँदैन। यस कारण सबै मित्र साथी हुन्छन् तर सबै साथी मित्र हुँदैनन् भन्ने शब्दकोशको आशय पनि देखिन्छ। 
 
साथी शब्दको उत्पत्ति सामान्य साथ भने शब्दबाटै भएको हो आफूलाई साथ दिने सहयोग गर्ने व्यक्तिलाई साथी भनियो त्यसैगरी वैदिक शब्द मित्रा र फारसी भाषा मिथ्रा शब्द दुवै इन्डो इरानियन शब्दबाट आएको हो ।  मित्राको अर्थ 'वाचा, सन्धि, सम्झौता, वचन' भन्ने बुझिन्छ भने मिथ्राको अर्थ ‘बाचा’ भन्ने बुझिन्छ। यसरी आधुनिक इन्डो इरानियन तथा संस्कृत भाषामा मित्राको अर्थ दुई पक्ष बिचको विशेष सम्बन्ध भन्ने बुझिन्छ।यसरी मित्रा बाटै मित्र शब्दको चलन चल्ती र प्रयोग भएको हो भन्ने विभिन्न विद्धानहरूको मत रहेको छ। यसरी राम्रो सम्बन्ध भएका दुई राष्ट्रलाई साथी राष्ट्र नभनेर मित्र राष्ट्र भनिन्छ, त्यसैगरी एउटै उद्देश्य बोकेर हिँडेका दुई सहयोगी शक्ति समूहलाई मित्र शक्ति मानिएकाे छ ।  
 
साथी शब्द बाहिरी आवरण हो भने मित्र शब्द हृदयको भावना हो। साथी भित्र विभिन्न स्वार्थ निहित हुन्छ भने मित्रता भनेकाे निःस्वार्थी हुन्छ। साथी जीवनको एउटा व्यवहार हो भने मित्रता त्यसको गुण हो ।सबै साथी हुन सक्छन् तर मित्र हुन सक्दैनन्। जीवनमा धेरै साथी हुन सक्छन् तर जसलाई चिरकाल सम्म स्मरण गर्न सकिन्छ, आफ्नो जीवनको हरेक क्षणमा उसलाई सम्झना गर्न सकिन्छ त्यस्ता व्यक्ती वास्तविक मित्र हुन्। सामान्य अवस्थामा साथ दिने सबै साथी हुन तर दुःखमा साथ सहयोग गर्ने यथार्थमा मित्र हुन। जसको घरमा उसलाई पूर्व जानकारी नगराई तपाईँ सोझै पस्न सक्नु हुन्छ ती मित्र हुन। 

अहिलेको समयमा  साथी बनाउन सजिलो छ । हरेक एउटासँग भेट वा कुनै संस्थामा आबद्ध वा सामाजिक सञ्जालमा जोडिए साथी भई हालिन्छ तर मित्र भेट्न गाह्रो छ तर एउटा कुरा के अबस्य हो भने यस्ता संस्था तथा समुहहरु मित्रताका श्रोत भने अबश्य हुन । साथीहरुकाे समूहबाट  हामीले असल साथी वा मित्र भेटन वा पहिचान गर्न सक्छौ। त्यसैले बिचार, जात, क्षेत्र भाषा फरक हुँदा पनि अटाउन सक्ने साथी बनाऔँ र ती मध्ये कम्तीमा दस प्रतिशतलाई मात्र मित्र बनाउन सके हाम्रो ठुलो उपलब्धि मानिनेछ ।


 
सामान्यतया साथी बाल अवस्थामा खेल्दा, स्कुल कलेज पढ्दा, कामकाजको सिलसिलामा भेट हुँदा, यात्राका क्रममा भेटघाट हुँदा, विभिन्न सङ्घ संस्थामा काम गर्दा, बिचारबाट नजिक हुँदा, छर छिमेक तथा समाजमा निरन्तर भेटघाट हुँदा साथी बन्ने र बनाउने गरिन्छ। प्रसिद्ध हास्य व्यङ्ग्यकार भैरव अर्यालले हास्यव्यङ्ग्य 'इतिश्री' मा साथी र साथी शीर्षकको निबन्धमा साथीहरूलाई व्यङ्ग्यात्मक रूपमा पाँच प्रकारका रहेकाे भनी उल्लेख  गरेको पाइन्छ । ती यस प्रकार रहका छन् । 

पहिलो: हेलो साथी-हिँडडुलको क्रममा बाटोमा भेटिएर बनेका साथी, उसमा न कुनै स्वार्थ, न कुनै भावना न केही लिनु, न दिनु पर्ने रहन्छ। 

 दोस्रो : चलो साथी- उद्देश्यविहीन क्षणिकलाई रमाइलो र आनन्दको बाटो तर्फ हाम फाल्न उक्साउने साथी, साथमा पैसा पाइन्जेल उडाइ दिने, जो किशोर अवस्था देखि युवा अवस्था सम्मका हुन सक्छन्। 

तेस्रो:  भलो साथी - साथीका हरेक समस्या आफ्नै सम्झेर सहयोग गर्न सक्ने, साथीलाई निःस्वार्थ भावले सम्बन्ध बढाउने साथी नै भलो साथीको रूपमा व्याख्या  गरिएकाे छ ।

 चौथौँ : दलो साथी-  जसले स्वार्थको लागि साथी बनाउने तर काम पेलाउने, दलाउने र उसकै खर्च पर्चमा रमाउने गर्छन् भनेर उल्लेख छ । 

 पाँचौँ :   ढलो साथी- साथीलाई ढलाएर, तल झारेर आफू रमिता हेर्ने, मोज गर्ने साथीलाई उनले ढलो साथीको रूपमा व्याख्या गरिएकाे छ । 
 
भैरव अर्यालले गरेको व्यङ्ग्य अनुसार नै हाम्रो समाजमा पाँचै प्रकारका साथी तथा मित्रहरू रहेको हामी पाउँदछाै‌ं । उनले व्याख्या गरे अनुसार पहिलोदेखि पाँचौँ सम्ममा तेस्रो प्रकारका साथी वास्तविक मित्र हुन भने बाँकी साथी मात्र हुन। समय र परिस्थिति अनुकूल उनीहरूको व्यवहार परिवर्तन हुँदै जान्छ।

यसै सन्दर्भमा एउटा साथी र मित्रता सम्झाउने कथा मैले कहीँ पढेको थिए उक्त कथालाई छोटो रूपमा यहाँ उल्लेख गर्न चाहन्छु।

'कसैको एउटा छोराको धेरै साथी रहेछन् र धेरै साथी भएको मा उसलाई घमण्ड पनि थियो तर उसको बाउको एउटा मात्र मिल्ने साथी रहेछ । एक दिन बाउले छोरालाई भनेछ ल छोरा तेरा धेरै साथीहरू छन् मेरा एउटा मात्र छन् आज राती जाँच गरौँ कसको साथी वास्तविक साथी रहेछन्। छोराले घमण्डका साथ मन्जुरी गरेछ र दुवै बाउ छोरा पहिले छोराको साथीको घरमा रातीको २ बजे गएनछ त्यो बेला फोनको सुविधा थिएन घरको ढोका धेरै पटक ढकढकाए छन् खुलेन यसो कान राखेर सुन्दा छोराको साथीले उसकी आमालाई घरमा छैन भनिदिनुस् यो रातीमा को उठ्छ भन्दै गरेको बाहिरबाट सुनेछन्। त्यो सुनेर छोरा निराश भएको देखेर बाउले छोरालाई भनेछन् म अब तिमीलाई मेरो साथीकोमा लिएर जान्छु। दुवै राती नै बाउको साथीकोमा गएर साथीलाई पहिले बाहिरबाट बोलाए छन् उताबाट जवाफ आएछ पर्ख म आउँदै छु। एक छिनमा बाउको साथी रुपैयाँको मुठो र खुकुरी लिएर निस्केछन्।' 

किन यस्तो भनेर बाउले सोधे छन् उनको साथीले जवाफ दिएछ आधी रातमा जब मेरा साथी मेरो घरमा मलाई बोलाउन आउँछ भने पक्कै कुनै समस्यामा हुनु पर्छ। कि त घरमा कोही बिरामी पर्‍यो होला कि त कहीँ विवाद पर्‍यो होला। यदि कोही बिरामी परेको छ भने पैसाको व्यवस्था गरेको छु यो लिएर जाऊ यदि कहीँ वाद-विवाद परेर समस्या हो भने म तिमी सँगै यो खुकुरी लिएरै जान्छु। यो सुनेर बाउले आँखा भरि आँसु निकाल्दै आफ्नो साथीलाई भनेछ मित्र मलाई केही भएको छैन मैले मेरा छोरालाई मित्रताको परिभाषा सिकाउन खोजी रहेको थिए भनेर बाउ छोरा घर फर्के छन्। 

आजको समयमा खुकुरी र पैसा बोकेर निस्कनु नपर्ला तर आफूले गर्न सक्ने सामान्य सहयोग गर्न पनि मानिस हिचकिचाने प्रबृति समाजमा माैलाउँदै छ । खुसीमा साथ दिने र तर दुःखमा पन्छिने अवस्था धेरै ठाउँमा देखिन्छ।

मित्रकाको परिभाषा ऊसँगको सङ्गत, व्यवहार र कर्मले होइन जात, क्षेत्र, भाषा, आस्था र बिचारले पनि गर्ने गरेको देखिन्छ। बिचारले नजिक हुँदा घर परिवार भन्दा पनि नजिक तर अलि कति बिचार फरक पर्दा दुष्मन सम्मको व्यवहार गर्ने गरेको पनि हाम्रो समाजमा नदेखिएको होइन।

वास्तवमा जातियता, क्षेत्रीयता, भाषा तथा बिचार मिल्नेसँग उसले गरेका काम र बिश्वास प्रति समर्थन वा समर्पण गर्न सकिन्छ उसको अनुयायी बन्न सकिन्छ उसको लागि मत माग्न सकिन्छ तर साथी तथा मित्र नबन्न पनि सकिन्छ तर मित्रता नहुनु भनेको दुस्मनी हो भन्ने सोच्नु पनि हुँदैन। जबसम्म साथ तथा निःस्स्वार्थ सहयोगको भावना रहँदैन र हृदयले उसलाई सम्मान गर्न सक्दैन उ एउटा सामान्य साथी हुन सक्ला तर मित्र हुन सक्दैन। 
 

हुन त अहिलेको युग इन्टरनेटको माध्यमले सारा संसार औलामा घुमेको यथार्थलाई भुल्न पनि हुँदैन। विभिन्न चिठ्ठी पत्र, फोन वा सामाजिक सञ्जालबाट पनि साथी बनाउन सकिन्छ। तिनीहरूसँग प्रत्यक्ष बोलचाल तथा सम्पर्क गरेर घनिष्ठता बढाउन पनि सकिन्छ तर त्यस्ता सम्पर्क वा सम्बन्ध निश्चित उद्देश्यका लागि हुन्छन् व्यापार व्यवसायका लागि वा आफ्नो करियरको लागि हुन सक्छन् उनीहरू एउटा सहयोगी साथी हुन सक्छन् तर यथार्थमा मित्र नहुन सक्छन् । किनकि उनीहरूले एक आपसको व्यवहार र भित्री भावना बुझ्ने र चिन्ने अबसर पाइएकै हुँदैनन्। 

अहिलेको समयमा  साथी बनाउन सजिलो छ । हरेक एउटासँग भेट वा कुनै संस्थामा आबद्ध वा सामाजिक सञ्जालमा जोडिए साथी भई हालिन्छ तर मित्र भेट्न गाह्रो छ तर एउटा कुरा के अबस्य हो भने यस्ता संस्था तथा समुहहरु मित्रताका श्रोत भने अबश्य हुन । साथीहरुकाे समूहबाट  हामीले असल साथी वा मित्र भेटन वा पहिचान गर्न सक्छौ। त्यसैले बिचार, जात, क्षेत्र भाषा फरक हुँदा पनि अटाउन सक्ने साथी बनाऔँ र ती मध्ये कम्तीमा दस प्रतिशतलाई मात्र मित्र बनाउन सके हाम्रो ठुलो उपलब्धि मानिनेछ । सदा मित्र बढाउने प्रयास गरौँ जीवन सुखमय हुनेछ। 
 
 

तुल्सिपुर- १८ दाङ हाल : टेक्सास अमेरिका   
सेप्टेम्बर ३०, २०२९