कोरोनाको जोखिमका कारण डिपिएल पूर्व निर्धारित मितिमा  नहुने

कोरोनाको जोखिमका कारण डिपिएल पूर्व निर्धारित मितिमा  नहुने

लोकसंवाद संवाददाता  |  खेलकुद  |  आश्विन १९, २०७७

धनगढी । कोभिड—१९सङ्क्रमणको जोखिमका कारण धनगढीमा आयोजना हुँदै आएको धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिता यस वर्ष पूर्व निर्धारित मितिमा आयोजना नहुने भएको छ । एकेडेमीले आगामी कात्तिक ८ देखि २४ गतेसम्म प्रतियोगिताको मिति तय गरेको थियो ।  

आयोजक धनगढी क्रिकेट एकेडेमीले कोरोनाको जोखिमका कारण पूर्व निर्धारित मितिमा प्रतियोगिता  आयोजना गर्न असम्भब भएको आज प्रेस विज्ञप्ति मार्फत् जानकारी गराएको छ ।  प्रतियोगिता आयोजना हुने नयाँ मिति यथाशीघ्र घोषणा गरिने प्रेस विज्ञप्तिमा जनाइएको छ । 
 
प्रतियोगिता शुरु भएसँगै देशमा पहिलो पटक विभिन्न शहरको टिम सहितको फ्रेन्चाइज क्रिकेटको अवधारणा शुरुआत भएको थियो ।  विभिन्न शहरको नाममा फ्रेन्चाइजी टोली बनाई ती टोलीले खेलाडीहरुको अक्शन (बोलकवोल)  गर्दै आ आफ्नो टिममा खेलाडी भित्र्याउने व्यवसायिक काम समेत  शुरुआत समेत भएको थियो ।  विगतका वर्षमा तीन संस्करण भइसकेको यो प्रतियोगिताको पहिलो संस्करणदेखि धनगढी, महेन्द्रनगर, अत्तरिया, रुपन्देही, विराटनगर र काठमाडौँ गरी छ टोलीले सहभागिता जनाउँदै आएका छन् ।