भोजपुरमा रङ्गशाला निर्माण जारी

भोजपुरमा रङ्गशाला निर्माण जारी

लोकसंवाद संवाददाता  |  खेलकुद  |  आश्विन १९, २०७७

भोजपुर । प्रदेश नं १ सरकारको प्राथमिकतामा रहेको भोजपुर रङ्गशाला निर्माणको काम ४० प्रतिशत सम्पन्न भएको छ । वर्षात् तथा लकडाउनमा समेत निरन्तरता दिएकाले कामले गति लिएको हो । सदरमुकाम नजिकै रहेको कोदारमा शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको १४ करोड पाँच लाख रुपैयाँ लागतमा गत मङ्सिर महिनाबाट रङ्गशालाको निर्माण शुरु भएको हो । विसं २०८० सम्म निर्माण अवधि भए पनि सरकारले समयमा बजेट दिएमा सम्झौताअघि नै काम सम्पन्न गर्ने निर्माण कम्पनी रायामाझी, मार्सेली जेभीले जिकिर गरेको छ ।

मार्सेली निर्माण कम्पनीका प्रमुख श्याम श्रेष्ठले भन्नुभयो, 'लकडाउनमा चार महिना हामीले काम गर्न पाएनाैं, त्यसपछि हामीले तीव्रगतिमा सञ्चालन गरिरहेका छौँ । सरकारले समयमा बजेट पठाउन सक्यो भने चालू आर्थिक वर्षको असार महिनासम्म निर्माण पूरा गर्छौँ ।'

हालसम्म कार्यालय भवन, फाउण्डेशन लगाउनेलगायत स्ट्रक्चरको काम ६० प्रतिशत बढी सकिएको छ भने प्यारापिट, बनाउने, रिटेनिङवाल लगाउनेलगायतका काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । तेइस रोपनी क्षेत्रमा निर्माण भइरहेको रङ्गशालामा पाँच हजार मानिस अट्न सक्ने गरी सात प्यारापिट निर्माण हुने कार्यालयले जनाएको छ ।  शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाले समेत अनुगमन गर्दै आएको छ । यो विषम परिस्थितिमा पनि कामको प्रगति राम्रो पाइएको कार्यालयले जनाएको छ ।

 शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाका प्रमुख मिलन आचर्यले भन्नुभयो, 'निर्माणस्थलमा भइरहेको काम हेर्दा तीव्रगतिमा गुणस्तरीय ढङ्गबाट भइरहेको छ । निर्माण कम्पनीले समयमा बजेटको व्यवस्था भएमा तोकिएको अवधिभन्दा अगाडि नै काम सक्छु भनेका छन्, तर कोभिडका कारण बजेट पठाउन केही समस्या देखिएको छ, यद्यपि सरकारले यस्ता काम बजेटको कारण अलपत्र बनाउँदैन ।'

अनुगमनको क्रममा ४० प्रतिशत बढी काम सकिएको पाइएको उहाँले बताउनुभयो । कोभिडका कारण  निर्माण कम्पनीलाई हालसम्म कुनै पनि भुक्तानी दिन नसकेको समेत जानकारी दिनुभयो । 'उहाँले काम निरन्तर गरिरहनुभएको छ, कोभिडका कारण हामीले हालसम्म कुनै पनि भुक्तानी दिएका छैनाैं, तर पनि उहाँले काम निरन्तर गरिरहनुभएको छ, यो खुशीको कुरा हो, हामी पनि समय अगाडि नै सक्नका लागि उहाँलाई बजेट दिनेमा सकारात्मक छौँ', प्रमुख आचार्यले भन्नुभयो ।
 
कामलाई गुणस्तरिय बनाउनका लागि इञ्जीनियरहरुले नियमितरूपमा अनुगमन तथा जाँचसमेत गर्दै आएका छन् । निर्माणमा प्रयोग भएका सामग्री मापदण्डअनुसारको रहेको शहरी विकास तथा भवन निर्माण कार्यालयका इञ्जीनियर रजनिशकुमार झाले बताउनुभयो । उहाँले भन्नुभयो, 'हामीले कार्यालयको तर्फबाट नियमित अनुगमन गरिरहेका छौँ, निर्माणकार्य गुणस्तरीय तवरबाट तोकिएको मापदण्डअनुसार नै भएको छ, कामको गुणस्तरमा कुनै प्रश्न गर्ने ठाउँ छैन ।'