जिल्ला कारागारमा १५ श्ययाको आइसोलेशन कक्ष निर्माण

जिल्ला कारागारमा १५ श्ययाको आइसोलेशन कक्ष निर्माण

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन १९, २०७७

दमौली । तनहुँको सदरमुकाम दमौलीस्थित जिल्ला कारागारमा १५ श्ययाको आइसोलेशन कक्ष निर्माण गरिएको छ । कारागारको पुरानो भवनमा आइसोलेसन कक्ष निर्माण गरिएको कारागार प्रशासनले जनाएको छ । 

कैदीबन्दीमा कोरोना भइहालेमा बाहिर लगेर राख्दा भाग्न सक्ने खतरा रहेकाले कारागारभित्रै आइसोलेसन निर्माण गरिएको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी  दिनुभयो । पुरानो भवनको दुई कोठालाई हालै आइसोलेसन निर्माण गरिएको छ । उहाँले भन्नुभयो, 'आइसोलेसन निर्माणपश्चात सुरक्षाका दृष्टिले पनि सहज भएको छ ।' 

पच्चीस जना क्षमताको सो कारागारमा हाल १३२ कैदी र ६४ जना थुनुवा गरी १९६ कैदीबन्दी रहेका छन् । कारागार परिसरमा तीन भवन निर्माणपछि कैदीबन्दीलाई सजिलो भएको छ । ठाउँको अभावमा चिसो भूइँमा सुत्नुपर्ने बाध्यताको अन्त्य भएको छ । 

पुरानो भवनमा १०७ जना र अन्यलाई नयाँ भवनमा स्थानान्तरण गरिएपछि कैदीबन्दीलाई अहिले खाना बस्न, सुत्न र शौचालय प्रयोगमा सहज भएको छ । कारागार परिसरमा निर्माण गरिएको कार्यालय भवन, सुरक्षा ब्यारेक र बन्दीगृह गरी तीन वटा भवन भ्याटबाहेक रु छ करोड ४४ लाखको लागतमा नयाँ भवन निर्माण गरिएको हो । 

नयाँ भवन निर्माणपछि ८० जनाभन्दा बढी कैदीबन्दी राख्न सकिने क्षमताको बन्दीगृह रहेको कारागारका सूचना अधिकारीले जानकारी दिनुभयो । पछिल्लो समय जिल्ला अदालतबाट फैसला भई विभिन्न मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरी कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेकालाई कारागार पठाउन थालेपछि कैदीबन्दीको सङ्ख्या बढेको हो ।  

कारागारमा रहेका कैदीबन्दीमध्ये अधिकांशले मुढा बुनेर मासिक सात हजारदेखि १० हजार रुपैयाँसम्म कमाउने गरेका छन् । बन्दाबन्दीका कारण मुढा बुन्न प्रयोग गरिने सामग्री ढुवानी हुन नसक्दा उनीहरुले मुढा बुन्न पाएका थिएनन् ।