लोकस‌ंवाद प्रभाव : प्रज्ञा–प्रतिष्ठानद्वारा प्राध्यापक खगेन्द्र लुइँटेले 'बौद्धिक चोरी' का बारेमा छानबिन समिति बनायो

लोकस‌ंवाद प्रभाव : प्रज्ञा–प्रतिष्ठानद्वारा प्राध्यापक खगेन्द्र लुइँटेले 'बौद्धिक चोरी' का बारेमा छानबिन समिति बनायो

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २०, २०७७

काठमाडाैँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, प्राज्ञ परिषद्को २०७७ असोज १८ गते आइतबारका दिन बसेको  बैठकले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइँटेलको 'बौद्धिक चोरी' का  विषयमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न तीन सदस्य  छनबिन समिति नै  गठन गरेकाे  जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइटेलको 'बौद्धिक चोरी' का बारेम लाेकसंबाद डटकमले २०७७  असाेज १६ गते शुक्रबार  प्राध्यापक खगेन्द्र लुइँटेल माथि लज्जास्पद 'बौद्धिक चोरी' का आरोपै-आराेप ! भन्ने  शिर्षकमा सम्पर्ण तथ्य- प्रमाण सहित समाचार प्रकाशित गरेकाे थियाे । प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइटेल समाचारलाई  लिएर आपत्ती जनाउँदै आउनु भएकाे  थियाे ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, प्राज्ञ परिषद् बैठकको निर्णयमा भनिएकाे छ-  त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइटेलकोबौद्धिक चोरी भनी विभिन्न सञ्चार माध्यममा नेपाल प्रज्ञा–प्रतिष्ठानको परियोजनाअन्तर्गत प्रा.डा. लुइटेलद्वारा लिखित तथा प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित अनुसन्धानात्मक पुस्तक ‘कविता सिद्धान्त र नेपाली कविताको इतिहास’ (२०६०) को सैद्धान्तिक खण्ड लुइटेलले आफ्नो विद्यावारिधि शोधप्रबन्ध ‘कविताको संरचनात्मक विश्लेषण’ (२०५८) बाट हुबहु सारेको  र यसबाट उनले ‘बौद्धिक चोरी’ गर्नुका साथै प्रज्ञा–प्रतिष्ठानलाई गुमराहमा राखी आर्थिक अनियमिततासमेत गरेको तथा यसैगरी लुइँटेलद्वारा नै लिखित र प्रज्ञा–प्रतिष्ठानबाटै प्रकाशित ‘नेपाली उपन्यासको इतिहास’ (२०६९) नामक अनुसन्धान विधिको प्रयोग नगरी उनले लेखेको पुस्तकलाई  प्रज्ञा–प्रतिष्ठानले छापेको भनेर प्रज्ञा–प्रतिष्ठानप्रति समेत प्रश्न उठाइएको पाइएकाले सो सम्बन्धमा  सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न समिति गठन गरेको छ ।'

नेपाल प्रज्ञा–प्रतिष्ठान, प्राज्ञ परिषद्ले  प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख प्रा. दिनेशराज पन्तको संयोजकत्वमा गठित उक्त छानबिन समितिमा  प्राज्ञ परिषद् सदस्यद्वय प्रा.डा. हेमनाथ पौडेल र प्रा.डा. गोपीन्द्र पौडेल सदस्य रहनुभएको छ ।

यसका अलवा बैठकले प्राज्ञ सभाको ३५ औँ बैठक मङ्सिरको चौथो साता बोलाउने निर्णय गरेको छ । यसै गरी उक्त बैठकले विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) का  कारण निर्धारित मितिमा हुन नसकी स्थगित भएको राष्ट्रिय कविता महोत्सव मङ्सिरको चौथो साता भौतिक दूरी कायम गरी सम्पन्न गर्ने गरी प्रज्ञा भवन, कमलादीमा आयोजना गर्ने निर्णय गरेको छ । बैठकले राष्ट्रिय कविता महोत्सवको पुरस्कार राशिसमेत वृद्धि गर्ने निर्णय गरेको छ । निर्णयअनुसार अब कविता महोत्सवमा प्रथम हुनेलाई ५० हजार,  द्वितीय हुनेलाई ४० हजार र तृतीय हुने तीन जनालाई जनही ३० हजार नगदसहित पदक र प्रमाणपत्र प्रदान गरिने छ । यसअगि नगद पुरस्कारको राशि ३०, २५ र २० हजार रहँदै आएको थियो । 

यसै गरी बैठकले सवारी साधनमा प्रयोग गरिने इम्बोस्ड नम्बरमा  देवनागरी लिपिको नेपाली भाषाको प्रयोगलाई यथावत् कायम राख्ने सम्बन्धमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठानका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर लिखित पत्रसहित  अनुरोध गर्नुभएकोमा प्रधानमन्त्रीले  कुलपति गङ्गाप्रसाद उप्रेतीज्यूसँग देवनागरी लिपिको नेपाली भाषा यथावत् कायम रहने आश्वासन दिँदै मातहतका निकायहरूलाई निर्देशन दिनुभएको र त्यस्तै गरी प्रतिष्ठानका तर्फबाट देवनागरी लिपिको नेपाली भाषाको प्रयोगलाई यथावत् कायम राख्न अनुरोध गरी लिखित र सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायद्वारा   हस्ताक्षरित पत्रसहित सदस्य सचिव उपाध्याय र प्राज्ञ परिषद् सदस्य प्रा.डा.हेमनाथ पौडेललेभौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङज्यूलाई भेटेर ध्यानाकर्षण गराउनुभएकोमा इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषाको देवनागरी लिपिकै प्रयोग गरिने प्रतिबद्धता प्रकट गर्नुभएकोमा सोका निम्ति प्रधानमन्त्री र मन्त्री प्रति धन्यवाद व्यक्त गरेको प्रतिष्ठनकाे बैठक पश्चात जारी प्रेस नाेटमा उल्लेख गरिएको छ । 

यो पनि 

प्राध्यापक खगेन्द्र लुइँटेल माथि लज्जास्पद 'बौद्धिक चोरी' का आरोपै-आराेप !