दिनहुँका बलात्कारका घटना : मृत्युदण्ड दिैंदैमा रोकिन्छ र ?
आश्विन २०, २०७७

महिला तथा बालबालिका माथि हुने गरेको बलात्कारका घटनाहरू दिन प्रतिदिन बढ्दै छन् ।  केही दिन पहिले बझाङमा १२ वर्षीय सम्झना कामी माथि सामूहिक बलात्कार गरी हत्या गरियो । यो घटनाले केही महिला अधिकारकर्मीहरू ताते, मिडियामा समाचार आयो । महिला सांसदहरू भेला भएर अब बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय गर्नुपर्छ भन्ने मागको लागि सामूहिक धारणा समेत  बनाए ।

बझाङकी सम्झनाको विकको हत्या भएको केही दिन पछि नै गृहमन्त्री रामबहादुर थापा बादलले,  प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा उपस्थित भएर बलात्कारका घटना अन्य देशको तुलनामा कम हुने भएकाले चिन्तित हुनु नपर्ने अवस्था रहेको अभिव्यक्ति दिए । यो अभिव्यक्ति सुनेर, कत्तिले मन्त्रीज्यूले समाचार नै पढ्नु हुन्न की के हो भनेर खिल्ली उडाए । धेरैले कस्तो गैर जिम्मेवारी अभिव्यक्ति दिएको भने । मन्त्री ज्यू,  यति महत्त्वपूर्ण ओहदामा बसेर यस्तो अभिव्यक्ति दिंदा धेरैको मन विचलित हुन पुग्यो । 

गृहमन्त्री रामबहादुर थापा बादलले यस्तो अभिव्यक्ति दिएपछि पनि सञ्चार माध्यममा बलात्कार सम्बन्धी समाचारहरू एकपछि अर्को गर्दै  आइरहेका छन् । कान्तिपुर दैनिकमा छापिएको समाचारलाई मात्र हेर्दा पनि  गत शुक्रवार कन्चनपुरमा ५५ वर्षीय पुरुषले १५ बर्सिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ, असोज १३ मा बलात्कार प्रयासको आरोपमा दुइ जना पक्राउ,  दुइ जना अझै फरार,  असोज १८ नै बझाङकी २१ बर्सिया महिला आफ्नै पति र ससुराबाट बलात्कृत लगायतका समाचारहरू प्रकाशित भए ।

सुन्दै घृणित लाग्ने यस्ता कुकृत्य किन बारम्बार भइरहन्छन् अनि हाम्रा छोरी चेलीहरू आफ्नै घरभित्र पनि किन सुरक्षित हुन सकेका छैनन् ? यो प्रश्न गम्भीर छ । यौन तृष्णा मेटाउनका लागि गरिने यस्ता कुकृत्यहरूको जति निन्दा गरे पनि अपुग हुन्छ । 

यो आलेख  तयार पार्दासम्म भक्तपुरमा लठीने औषधी खुवाएर १६ वर्षीय किशोरी माथि बस भित्र सामूहिक बलात्कार गरेको समाचार आएको छ । सुन्दै जीउ नै जिरिङ्ग हुने यस्ता समाचारहरू एक पछि अर्को सार्वजनिक हुँदा यस्तै हुने हो भने छोरी, चेली ,बुहारी कसरी जोगिने र जोगाउने भन्ने कुराले पिरोल्दो रहेछ । यस्ता घटनाबाट पीडितहरूले भोग्नु परेको मानसिक र शारीरिक समस्या वर्णन गरी साध्य हुँदैन तर मन्त्री जस्तो उच्च ओहदामा बस्नेहरू, यस्ता घटनालाई सामान्य रुपमा लिन्छन् अरु देशको जस्तो विकराल नभएकोले चिन्तित हुन नपर्ने सुझाव दिन्छन् ।

आफ्नै पति र ससुराबाट लगातार २ वर्षसम्म बलात्कार हुँदा पीडित महिलाले कसरी सहिन् होलिन् कति दुःख खेपिन् होलिन् यसको कुनै मापन छ मन्त्री ज्यू ? यसलाई शब्दमा लेखेर लेख्न, बोलेर बोल्न सकिन्छ मन्त्री ज्यू ? बलात्कार पछि हत्या भएकी बझाङकी १२ बर्सिया सम्झना कामीको बाबु आमाको पिडा कति दर्दनाक छ,  मन्त्रीज्यूले अलिकति भए पनि महसुस गर्न सक्नु नभएको कुरा प्रस्ट झल्किन्छ । 

बलात्कार एक जघन्य अपराध हो । यो कसैले गरे पनि क्षम्य  हुनुहुँदैन । तर उच्च ओहदामा बसेकाले यस्तो गम्भीर अपराधलाई निकै हल्काफुल्का रुपमा लिँदा जिम्मेवार नभएको भान हुँदो रहेछ । बलात्कार सम्बन्धी ऐन, कानुन नभएका त होइनन् तर कार्यान्वयनको पक्ष निकै फितलो हुँदा अपराधीले यस्ता कुकृत्य गरी नै रहेका छन् । बलात्कार नियन्त्रणका लागि मृत्युदण्डको सजाय दिँदैमा बलात्कारका घटना राेकिन्छ नै  भन्न सकिँदैन ।

सरकार,राज्य पक्ष र जिम्मेवार निकायका व्यक्तिहरू यस विषयलाई लिएर जहिलेसम्म गम्भीर हुँदैनन् यस्ता घटना भई नै  रहने निश्चित छ । अनुसन्धान निकै नै फितलो, कसुर ठहर गर्न प्रमाणको अभाव र न्यायमा ढिलाइ हुने हुँदा र अपराधीले सजाय भन्दा उन्मुक्ति पाउने भएकाले पनि बलात्कार जस्तो जघन्य अपराधले प्रशय पाइरहेको छ ?

नेपालमा दैनिक ७ जना महिला तथा बालबालिका बलात्कार हुने गर्छन् । नेपाल प्रहरीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयका अनुसार, २० वर्ष भन्दा कम उमेरका किशोरी तथा बालिका बढी पीडित हुने गरेका छन् । कञ्चनपुरकी निर्मला पन्तको पनि बलात्कार पछि हत्या गरिएको थियो तर अहिलेसम्म अपराधी पक्राउ हुन सकेको छैन ।

राजविराजकी १७ बर्सिया किशोरीले बलात्कार भएपछि न्याय माग्दा स्थानीयले मेलमिलाप गराउन खोजेपछि आत्महत्या गरेकी छिन् ।  बझाङमा १२ बर्सिया सम्झना कामी माथि सामूहिक बलात्कार पछि हत्या गरिएको छ । बझाङकै २१ बर्सिया महिलामाथि आफ्नै पति र ससुराले पालैपालो गर्ने गरेको बलात्कारको घटना त निकै नै पिँडादायी र घिनलाग्दो छ ।

सुन्दै घृणित लाग्ने यस्ता कुकृत्य किन बारम्बार भइरहन्छन् अनि हाम्रा छोरी चेलीहरू आफ्नै घरभित्र पनि किन सुरक्षित हुन सकेका छैनन् ? यो प्रश्न गम्भीर छ । यौन तृष्णा मेटाउनका लागि गरिने यस्ता कुकृत्यहरूको जति निन्दा गरे पनि अपुग हुन्छ । 

कानून फितलो भएकै कारण यस्ता कुकृत्य हुने गरेका हुन् त ? कानुन भन्छ, १० वर्ष मुनिका बालिकालार्ई जबरजस्ती करणी गरेमा १६ देखि २० वर्ष कैदको सँजाय हुने कानुनी व्यवस्था छ । यसैगरि १० वर्ष भन्दा बढी १४ वर्ष भन्दा कम उमेरकी बालिका भए १४ देखि १६ वर्ष सम्म कैद सजाँय,१४ वर्ष भन्दा बढी १६ वर्ष भन्दा कम उमेरकी बालिका भए १२ देखि १४ वर्ष , १६ वर्ष भन्दा बढी १८ वर्ष भन्दा कम उमेरकी महिला भए १० देखि १२ वर्षसम्म,  १८ वर्ष भन्दा बढी उमेरकी महिला भए ७ देखि १० वर्ष सम्म कैद सँजाय हुने व्यवस्था छ । 

तर दुःखको कुरा हाम्रो देशमा कानुनको पालना नै हुँदैन । कतिपय धरौटीमा छुट्ने गर्छन् । यस्ता अपराधीहरूलाई धरौटीमा छुट्न नसकिने कानुन बनाइनु पर्छ । कानुन कडा रुपमा कार्यान्वयन नहुँदा नै अब समाजबाटै यस्ता अपराधीलाई मृत्युदण्ड दिने कानुन बन्नु पर्छ भन्ने आवाज उठिरहेको छ ।के मृत्युदण्ड दिैंदैमा बलात्कार नहोला त ?

यसै भन्न सकिने अवस्था छैन । भएका कानुनहरूको पूर्ण रुपमा पालना हुनु पर्छ । बलात्कारीलाई राजनीतिक छत्रछाया प्राप्त हुनु हुँदैन । मिलाप पत्र गराएर बलात्कारीलाई उन्मुक्ति दिनु हुँदैन । विद्यमान कानुनको परिपालन र कडा रुपमा कार्यान्वयन हुन सके मात्र पनि बलात्कारका घटनाहरू यसरी बढ्ने थिएनन् की ?