भारत विभाजनले कोरेको घाउ : विछोडिएको ७३ वर्षमा आफन्तसँग भिडियो कल !
आश्विन २१, २०७७

गुलाम आयशालाई आफ्नो बचपनका केही केही कुरा याद छन् । बच्चा उमेरमा उनको नाम दाफिया बाई थियो । उनी चोलिस्तान मरुभूमि क्षेत्रमा बालुवाका थुप्रोसँगै आफ्ना भाइ बहिनीसँग खेल्दै आफ्ना बाबु आमालाई नजिकै काम गरेको देख्थिन् । यो भारत र पाकिस्तान विभाजन हुनुभन्दा अघिको कुरा हो । उनलाई यो पनि याद छ कि बिकानेरको मोरखाना क्षेत्रमा आफ्ना मामाको विवाहमा जानका लागि उनले केही माइलको यात्रा गरेकी थिइन् । त्यसको केही समयपछि नै उनका बाबुआमाले दाफिया बाईको विवाह गरिदिए । विदाईको समय उनको उमेर करिब १२ वर्षको थियो । जब उनका बाबुआमाले बहावलपुर जिल्लाको अहमपुर क्षेत्रमा दाइजो दिएर पति हमला रामसँग खैरपुर तमिवली पठाउँदा उनलाई आफ्नो परिवारलाई अन्तिमपटक देखिरहेकी छु भन्ने थाहा थिएन । दाफिया बाई खैरपुरमा आफ्नो पतिको खर पुगेको ३/४ दिनमा नै भारत र पाकिस्तान विभाजनको औपचारिक घोषणा भयो ।

यो घोषणापछि एक भागदौडको अवस्था सिर्जना भयो । जब लुटपाट सुरु भयो तब उनको परिवारका महिलाले उनको पहिचान नहोस र कसैले लैजान नसकोस भनेर गहना समेत उतारे र लुकाए । उनी भन्छिन, ‘सबैतिर नरसंहार र हत्या सुरु भयो । मानिसहरु ज्यान बचाउनका लागि भाग्न थाले ।

केही अन्य हिन्दु परिवारजस्तै उनको पतिको परिवारले पनि पलायन हुने निर्णय गर्‍यो । जुन दिन उनी त्यहाँबाट निस्कनुथियो, त्यसदिन बख्शान्दे खान कान्जु नामका एक स्थानीय जमिन्दारले दाफियालाई साँझसम्म काम सकेर खाली हुने भन्दै जान रोके । उनी भन्छिन्, ‘म सानी थिए, केटाकेटीसँग खेल्दाखेल्दै रात पर्‍यो । मेरो परिवारका सबै हिँडिसकेका थिए । उनीहरु कहाँ गए भन्ने मलाई थाहा भएन । पछि मलाई अरु महिलाहरुले उनीहरु छिट्टै निस्किएको बताए ।’ यस्तो अवस्थामा अब उनी बख्शान्दे खानको दयामा निर्भर थिइन् । दाफियाका अनुसार जमिन्दारले दुई वटा गोरुको बदलामा उनलाई गुलाम रसूल नामका एक व्यक्तिको परिवारलाई बेचिदिए । दाफिया बाईको जीवन पूर्ण रुपमा बदलियो । उनलाई गन्जियावाला खोमा उनका बाबुआमा र भाइबहिनीको अवस्था कस्तो भयो भन्ने पनि जानकारी थिएन ।

के उनका बाबुआमाले खोजे त ?

त्यसपछिका केही वर्षसम्म दाफिया बाईलाई आफ्नो परिवारबारे केही जानकारी प्राप्त भएन । यो समयमा उनी आफ्नो नयाँ मुस्लिम परिवारमा घुलमिल भएकी थिइन् । उनी बच्चाहरुसँग कुरान पढ्न पनि जान्थिन् । उनी अब मुस्लिम भएकी थिइन् र उनको नाम गुलाम आयशा राखिएको थियो ।

यस्तो अवस्थामा उनले यसबारेमा कुरा गर्ने या नगर्ने, गरेपनि कोसँग गर्ने भन्ने समस्याका कारण आफ्नो परिवार खोज्न सकिनन् । तर गुलाम आयशाको मनमा आफ्ना बाबु नोला राम, आमा सोनिया बाई, बहिनी मिरा बाई र भाइहरु अस्सु राम र चोथु रामसँग भेट्ने इच्छा समय बितेसँगै बढ्दै गएको थियो । तर उनीहरुले पनि दाफियालाई खोज्ने कोशिस गरे ? यो त भेटर मात्रै भन्न सकिन्थ्यो । उनको विवाह छिट्टै नै गुलाम रसूलका छोरा अहमद बख्शसँग गराइयो । गुलाम आयशाका अनुसार उनको नयाँ परिवारले उनलाई धेरै माया गर्‍यो । उनका लागि अलग कोठा दिएको थियो ।

उनी भन्छिन्, ‘कसैले पनि म माथि हुकुम चलाएन र कसैले मलाई गिलास भरेर पानी देउसम्म पनि भनेन ।’

‘म चाहन्छु कि मेरो जीवनमा एक पटक उनीसँग भेटाइदेउ । उनलाई भिसा देउ ताकि उनले मलाई भेट्न सकुन् । तर उनको इच्छा वास्तविकतामा परिणत हुनका लागि भारत र पाकिस्तानबीचको तनावपूर्ण सम्बन्ध बाधक बनेको छ । ८६ वर्षीय गुलाम आयशा आफ्नो दशकौं देखिको खोजले सार्थकता पाएकोमा सन्तुष्ट छिन् । तर उनको मनभित्रकी १२ वर्षीय दाफिया बाईको पखाई अझै जारीछ ।

पैसा र घ्यु दिएर आमाबाबुको खोजी

अहमद बख्ससँग विवाह गरेपछि उनका ७ जना छोराछोरी भए । जसमा तीन छोरा थिए । उनले आफ्ना २ सन्तान भएदेखि नै आफ्नो परिवारको खोजी सुरु गरिन् । उनका पति अहमत बख्शले पनि उनको यो काममा सहयोग गरे । उनले गुलाम आयशा रोएको देखोपछि परिवार खोज्न सहयोग गरे । अहमदपुरतर्फ जाने मानिसलाई आफ्ना बाबुआमा खोज्ने कोशिस गर्न आग्रह गर्दथे ।

‘जो अहमदपुरतर्फ गइरहेका हुन्थे, म उनीहरुलाई पैसा र घ्यु दिएर मेरा बाबु आमा पनि त्यही बस्नुहुन्छ, उहाँहरुको अवस्था बुझिदिनु भनेर पठाउँथे । तर कोही पनि फर्किएर आएनन्,’ उनी भन्छिन् ।

केही समयपछि गुलाम आयशा आफ्ना पति सहित खैरपुरबाट वहाडी जिल्लाको मेल्सी तहसिलमा बसाइ सरिन् । अब उनी त्यही आफ्ना नाती र छोराछोरीसँग बस्न थालिन् । उनको उमेर करिब ८६ वर्ष भयो । उनका पतिको पनि मृत्यु भइसकेको र अब २ छोरी मात्रै जिवित छन् ।

मेरो भाइ आएजस्तै लाग्छ

अब खोजीको ७३ वर्षपछि उनले विभाजनको समयमा बिछोडिएको आफ्नो परिवारको पत्ता लगाएकी छन् । हालै उनको आफ्नो एक भतिजा र भतिजाको छोरासँग भिडियो कलमा कुराकानी भयो, जो यतिबेला भारतमा बस्छन् । हरियो खेतको बिचमा एक रुखको छायाँमा बसेर जब उनले पहिलो पटक आफ्नो भतिजासँग कुराकानी गरिन्, तब उनका आँखा आँशुले टिलपिल भएका थिए । उनले आफ्नो मोबाइलको स्क्रिन चुमिन र रुदै आफ्नो भतिजालाई भनिन्, ‘मलाई मेरो भाइ आफ्नै अघि आएको जस्तो भइरहेको छ । मैले आफ्नो सारा जीवन तिमीहरुलाई देख्ने पखाईमा रुदै बिताइदिएँ ।’ 

तर समस्या यस्तो थियो कि अब उनका आँखाको ज्योति कम भइसकेको छ र उनी आफ्ना भतिजालाई मोबाइलको स्क्रिनमा राम्रोसँग देख्न सक्दैनथिइन् । उनी राम्रोसँग भाषा पनि बुझिनन् । किनकि उनीहरु मारवाडी बोलिरहेका थिए भने दाफिया बाई केबल सरायकी मात्रै बोल्न र बुझ्न सक्छिन् ।

उनी भन्छिन्, ‘जब मैले फोन नजिक ल्याए तब मैले उनको हाँसिरहेको अनुहार देखे । केही दिनअघि उनीसँग कुराकानी भयो । मेरो भतिजो हासिरहेको थियो । उ गोरो थियो र उसको दाँत चम्किरहेको थियो । नवासे नसिर खानले उनको अनुवादकका रुपमा काम गरेका थिए ।’

गुलाम आयशा परिवारसम्म कसरी पुगिन् ?

नसिर खानले उनको परिवार खोज्न सहयोग गरे । उनको परिवार भारतको पञ्जाबको एक क्षेत्र बिकानेरको मोरखाना इलाकामा बस्दथ्यो र खेती गर्दथ्यो । यो त्यही मोरखाना हो, जहाँ विभाजनभन्दा पहिले दाफिया बाई आफ्ना मामाको विवाहमा गएकी थिइन् । यो मेल्सीबाट करिब दुई सय किलोमिटर टाढा थियो । गुलाम आयशाको एक कहानीले उनको भतिजसम्म पुग्न सहयोग पुग्यो । तर उनको यादमा छापिएका केही मानिस अब यादमा मात्रै सीमित हुनेछन् र उनको भेट भने हुनेछैन ।

‘मेरो भाइको मृत्यु भएछ, भतिज छ र उसँग भेट्न चाहन्छु । मेरी बहिनी जिवित छ, उसँग पनि भेट्न चाहन्छु,’ उनी भन्छिन् । उनले अहिलेसम्म आफ्नी कान्छी बहिनी मिरा बाईसँग कुराकानी गर्न पाएकी छैनन् । किनकि उनी भतिज भएको भन्दा अर्कै गाउँमा बस्छिन् । तर उनका भतिजले उनलाई छिट्टै भेट गराउने बाचा गरेका छन् । उनी त्यो समयको पखाईमा छिन् ।

सामाजिक सञ्जाल काममा आयो

आयशाका पतिको मृत्युपछि नसिर खानले यो खोजीमा उनलाई साथ थिए । उनलाई साथ लिएर अहमदपुर र खैरपुर पनि गए । हरेक प्रयास असफल भएपछि उनी सामाजिक सञ्जालको सहारा लिने सोच बनाइन् । केही वर्षअघि १४ अगस्टमा एक स्थानीय पत्रिकामा गुलाम आयशा आफ्नो परिवारबाट बिछोडिएको कहानी छापियो । यो पढेपछि टिभीसम्म खबर पुग्यो, तर त्यहाँभन्दा अघि बढेन । यसवर्ष उनले १४ अगस्टमा नै यो समाचार प्रकाशित गराइन् । यो पटक उनको कहानी सामाजिक सञ्जालसम्म पुग्यो र भारतको दिल्लीस्थित मोहम्मद जाहिद नामका एक पत्रकारसम्म पुग्यो । उनले नसिरसँग सम्पर्क गरे ।

‘मैले उनलाई आमाको परिवारका बारेमा सारा बताएँ र उनले पत्ता लगाएर छिट्टै जानकारी गराउने आश्वासन दिए,’ नसिर भन्छन्, ‘अर्को दिन उनको फोन आयो कि आमाको परिवार फेला पर्‍यो ।’

नसिर खानका अनुसार त्यसपछि गुलाम आयशासँग उनको भतिजाको कुराकानी भयो । उनको परिवार र गुलाम आयशाले बताएको कहानीबीच मेल खान्थ्यो र सरकारी तथ्याङ्क र परिस्थितिमा समानता मिलेपछि यसको पुष्टि भयो ।

एक पटक मलाई भेटाइदिनुहोस्

गुलाम आयशा अब सहारा बिना धेरै हिडडुल गर्न पनि सक्दिनन् । उनी अब आफ्नो परिवारको तस्बिर हेर्छिन् र उनीहरुसँग भेट्ने दिनको पखाईमा छिन् । उनी भारत र पाकिस्तानको सरकारसँग आफ्नो भतिजलाई भिसा जारी गरेर आफूसँग भेट गर्न आउन दिन आग्रह गर्छिन् ।

‘म चाहन्छु कि मेरो जीवनमा एक पटक उनीसँग भेटाइदेउ । उनलाई भिसा देउ ताकि उनले मलाई भेट्न सकुन् । तर उनको इच्छा वास्तविकतामा परिणत हुनका लागि भारत र पाकिस्तानबीचको तनावपूर्ण सम्बन्ध बाधक बनेको छ । ८६ वर्षीय गुलाम आयशा आफ्नो दशकौं देखिको खोजले सार्थकता पाएकोमा सन्तुष्ट छिन् । तर उनको मनभित्रकी १२ वर्षीय दाफिया बाईको पखाई अझै जारीछ ।