दमकमा कोरोनाको त्रास बढ्दो : आइसोलेसन निर्माण सुस्त

दमकमा कोरोनाको त्रास बढ्दो : आइसोलेसन निर्माण सुस्त

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन २२, २०७७

झापा । झापाको दमक नगरपालिकामा कोरोना भाइरसको सङ्क्रमणको त्रास बढ्दो छ । अहिलेसम्म नगरपालिकामा १८९ जनामा कोरोना सङ्क्रमण देखिसकेको छ । तीमध्ये १५५ जना सङ्क्रमित भने उपचारपछि निको भएर घर फर्किसकेका छन् भने एक सङ्क्रमित महिलाको ज्यान गएको छ  । वडा नं १ का ५८ वर्षीय सङ्क्रमित एक पुरुषको भने काठमाडौँमा उपचारका क्रममा ज्यान गएको थियो ।

पछिल्ला समय कोरोना सङ्क्रमणबाट नगर प्रमुख रोमनाथ ओलीसहित तीन जना जनप्रतिनिधि उपचाररत हुनुहुन्छ । अहिले नगरमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ रहेको छ ।  तीमध्ये २५ जना होम आइसोलेसनमै उपचाररत रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

दुई दिनअघि यहाँ ३०० जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि कन्काई नगरपालिकाको कोटीहोमस्थित प्रयोगशालामा पठाइएको छ । यसअघि सङ्क्रमण देखिइसकेका व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिको स्वाब सङ्कलन गरिएको छ । नगरपालिकामा व्यवस्थित आइसोलेसन नहुदाँ समस्या भएको छ ।

सङ्घीय सरकारले स्थानीय तहमै कोभिड–१९ विशेष कम्तीमा ३० बेडको आइसोलेसन कक्ष निर्माण गर्न सर्कुलर गरिसकेको भए पनि यहाँ भने अहिलेसम्म छुट्टै आइसोलेसन कक्ष सञ्चालनमा आउन सकेको छैन । आम्दा अस्पतालमा केही आइसोलेसन कक्ष रहेका भए पनि प्राय खाली छैनन् । नगरपालिकाले छुट्टै कोरोना विशेष उपचारस्थल र सङ्क्रमितको मृत्यु भइहाले शव व्यवस्थापनका लागि कुनै पूर्वतयारी नगर्दा सङ्क्रमितको उपचार तथा मृत्युपछि हुने अन्त्येष्टि कार्यमा समस्या हुँदै आएको छ ।

नगरपालिकाले कोभिड–१९ को उपचारका लागि वडा नं २ स्थित पुरानो शरणार्थी समन्वय एकाइको कार्यालय रहेको भवन र सशस्त्र प्रहरीको बेलडाँगी–१ स्थित बेस क्याम्प परिसरमा एक महिना अघिदेखि भौतिक पूर्वाधारको व्यवस्था मिलाउने गरी काम अघि बढाए पनि त्यसले अझैसम्म पूर्णता पाउन सकेको छैन ।