उद्धार र राहतमा प्रमुख दलको साथ

उद्धार र राहतमा प्रमुख दलको साथ

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १९, २०७५

काठमाडाैं । प्रमुख दलहरू बारा र पर्सामा आइतबार साँझ आएको हावाहुरीबाट पीडितको उद्धार र राहत सहयोगमा जुटेका छन् । सत्तारुढ नेकपा, कांग्रेस, राजपा, संघीय समाजवादी फोरम र राप्रपालगायतका दल प्रभावित क्षेत्रमा सोमबारदेखि नै जुटेका हुन् । नेकपाले संघीय संसद्का सांसदहरूको एक दिनको तलब पीडितहरूलाई दिने घोषणा गरेको छ । नेकपाको संघीय संसद्मा १ सय ७५ सांसद छन् । 

प्रधानमन्त्री केपी ओली घटनास्थलको निरीक्षण गरेर उद्धार, राहत र उपचारमा खटिन सरकारी अधिकारी र पार्टीपंक्तिलाई निर्देशन दिएर सोमबार फर्किएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्थलगत अवलोकन र उद्धार र राहतलाई तदारुकता दिन मंगलबार बारा जाने तयारीमा छन् ।

नेकपाले बारा र पर्सा घटनाका पीडितहरूको उद्धार, राहत र क्षतिपूर्तिका साथै घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराख्न सरकारको ध्यानाकर्षण गराएको छ । अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै त्यस्तो ध्यानाकर्षण गराएका हुन् । नेकपाले अकल्पनीय त्रासदीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । त्यस्तै, वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पीडितहरूको उद्धार, राहत र घाइतेहरूको उपचारमा जुट्न अपिल गरेका छन् । आजको नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गरेकाे छ ।