विभिन्न मुद्दामा सजाय पाएका तीन फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्दामा सजाय पाएका तीन फरार प्रतिवादी पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  आश्विन २३, २०७७

दमौली । दमौली जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा सजाय पाएका तीन फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सवारी ज्यान मुद्दाका दुई र कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । सवारी ज्यान मुद्दामा स्याङ्जाको आँधीखोला गाउँपालिका–२ स्थायी घर भई तनहुँको भानु नगरपालिका–१ पुल्चोक बस्ने अविनास बस्याल डेढ वर्षपछि पक्राउ परेका छन् । बस्याललाई जिल्ला अदालत तनहुँले विसं २०७५ फागुन २८ गते सात महिना कैद सजाय तोकेको थियो । 

सवारी ज्यान मुद्दामै फरार रहेका बन्दीपुर गाउँपालिका–१ रिमाल्नी बस्ने सुजन खड्गी पक्राउ परेका छन् । खड्गीलाई जिल्ला अदालत तनहुँले विसं २०७५ फागुन २८ गते  दुई हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । कर्तव्य ज्यान मुद्दामा भानु नगरपालिका–४ बस्ने बेदबहादुर कँडेल पक्राउ परेका छन् । निजलाई जिल्ला अदालतले विसं २०७३ असोज १० गते रु ५०० जरिवानाको फैसला गरेको थियो । फरार तीन जनालाई नै सम्बन्धित घरवतनबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । पक्राउ परेकालाई जिल्ला अदालत पेश गरिएको छ । 

विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो तिर्न बाँकी भएका व्यक्तिको खोजीका लागि प्रहरीले अभियान सञ्चालन गरिरहेको छ ।