दाताको सहयोगपछि आँखाको शल्यक्रिया शुरु

दाताको सहयोगपछि आँखाको शल्यक्रिया शुरु

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन २३, २०७७

झापा । झापाको भद्रपुर–५ स्थित भद्रपुर आँखा उपचार केन्द्रमा आँखाको शल्यक्रिया शुरु गरिएको छ ।

साताको एक पटक प्रत्येक आइतबार मोतियाविन्दुको शल्यक्रिया गरिने उपचार केन्द्रका सचिव प्रदीपमणि रेग्मीले जानकारी दिनुभयो । मेची आँखा अस्पताल सङ्घ विर्तामोड शाखाको रुपमा सञ्चालित सो केन्द्रमा ५५ लाख रुपैयाँको शल्यक्रिया कक्ष र ५५ लाखकै लागतमा आवश्यक उपकरण खरिद गरिएको छ । उक्त रकम भद्रपुर निवासी सत्यनारायण सरियाले उपलब्ध गराउनुभएको हो । 

यसअघि स्व जयनारायण सरियाको स्मृतिमा उहाँका भाइ सत्यनारायण सरियाले नै आँखा उपचार केन्द्रका लागि एक बिघा जग्गा दान दिनुभएको थियो । सोही जग्गामा बनेको आँखा उपचार केन्द्रमा आँखाको परीक्षण गरी हप्तामा एक दिन शल्यक्रिया नै गरिने सचिव रेग्मीले बताउनुभयो ।

केन्द्रमा उपचारका लागि आएका बिरामीको शल्यक्रिया गर्नुपरे त्यसमा लाग्ने खर्चको ५० प्रतिशत रकम दाता सरियाले व्यहोर्ने उहाँले बताउनुभयो ।