२ हजार बिजुलीका पोल ढले, १५ करोडको क्षति

२ हजार बिजुलीका पोल ढले, १५ करोडको क्षति

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १९, २०७५

बारा । बारा–पर्साको दक्षिणी भेगमा हावाहुरीले नेपाल विद्युत् प्राधिकरणको प्रसारण तथा वितरण पूर्वाधारमा झन्डै १५ करोड रुपैयाँको क्षति पुगेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार प्रसारण तथा वितरण लाइन, ट्रान्सफर्मर र सबस्टेसनमा क्षति पुग्दा बारा–पर्सा क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ । 

भारतबाट विद्युत् आयात गरिरहेको रक्सौल–परवानीपुर (बारा) १३२ केभी प्रसारण लाइनको टावर नै ढलेको छ भने तार चुँडिएको छ । यो प्रसारण लाइनमार्फत प्राधिकरणले आवश्यकताअनुसार ५० मेगावाटसम्म विद्युत् आयात गर्दै आएको थियो । 

त्यस्तै, भारतबाट विद्युत् आयात गरिँदै आएको रक्सौल–वीरगन्ज ३३ केभी प्रसारण लाइन मर्मतपछि सञ्चालन भएको छ । यो लाइनमार्फत १२ मेगावाटसम्म विद्युत् आयात गरिँदै आएको छ । यसबाट आयात भएको बिजुली कलैया केन्द्रले वितरण गर्ने भए पनि हाल परवानीपुर–वीरगन्ज ६६ केभी अवरुद्ध भएकाले वीरगन्ज केन्द्रले वितरण गरिरहेको छ । यो लाइनबाट आएको विद्युत् अस्पताल, खानेपानी, टेलिफोनलगायत अत्यावश्यक सेवालाई प्राथमिकतामा राखेर वितरण गरिएको छ । आजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।