विमान चार्टर गरी गर्भवती महिलाको उद्धार

विमान चार्टर गरी गर्भवती महिलाको उद्धार

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १९, २०७५

काठमाडाैं । बुढीनन्दा नगरपालिका–३ बस्ने आठ महिनाकी गर्भवती सेतु ल्वारलाई विमान चार्टर गरी उद्धार गरिएको छ । ४० वर्षीया ल्वारलाई जिल्लामा उपचार सम्भव नभएपछि सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको पहलमा सीता एयरलाइन्सको विमान चार्टर गरेर कोहलपुर मेडिकल कलेज पठाइएको हो । 

ल्वारमा उच्च रक्तचाप, फोक्सोमा पानी जमेको र गर्भवती अवस्थामा हुने जटिल अवस्था देखिएको स्वास्थ्यकर्मीको भनाइ छ । चारवटी छोरी जन्माइसकेकी ल्वार पाँचौँ सन्तानका लागि गर्भवती थिइन् । आर्थिक अवस्था कमजोर भएकाले समयमै उपचार गर्न नसकेको सेतुका श्रीमान् तुले ल्वारले बताए । 

तत्काल उपचार नगरिए ज्यान नै जोखिममा पर्ने र तुरुन्तै आइसियुमा राख्नुपर्ने खबर सुनेपछि सामाजिक विकासमन्त्री कृष्णप्रसाद सुवेदीले विमान चार्टर गरेर ल्वारको उद्धार गर्न निर्देशन दिएको एक कर्मचारीले जानकारी दिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।