नयाँ सन्न्यासीलाई मुस्लिम युवकको सन्देश ! बनावटी र देखावटी धर्म पाखण्ड,आडम्बरमात्र !!
आश्विन २३, २०७७

यात्रा संस्मरण र व्यक्ति संस्मरण बारेका  लेख प्रकाशित भए पछि पाठकीय गुनासोबाट गुज्रिनु परयो।  मलाई  विषय वस्तुमा  सीमित अथवा केंद्रित  भएर  लेख्न  आउँदैन।  लेखको बिचमा कता कताका प्रसंग आई  दिन्छन। यस्तै कुनै लेखमा हस्तमुद्रा बारे अलि कति उल्लेख हुन गएको रहेछ।  भेट हुँदा अनामनगरका मित्रे राजेश कड्किये - के के न होला भनेर पढेको ,हस्तमुद्राबारे एक दुइ थोपा चुहाएर  अरु  त आफ्नै गन्थन गर्नु भएको रहेछ ? होइन तपाई लेखक हो कि 'सेल्सम्यान' ?? हस्तमुद्राबारे पूरै लेख  नआएसम्म  मेरो गुनासो रही रहन्छ।

यस्तै गुनासो झमसीखेलका मित्रद्वय चिरन खड्का  र कृष्ण  खनाल दाईको पनि आयो।  कुनै एउटा लेखमा जीवन यात्रामा भेटिएका एकजना मुस्लिम युवक बारे 'ती मुस्लिम युवक'  भनेर उल्लेख  गरेको रहेछु।  उहाँहरुको भनाइ थियो ,ती मुस्लिम युवकलाई तपाईँले बड़ो सम्मान र श्रध्दा व्यक्त गरेको  झल्को पाइयो तिनको बारे विस्तृतमा जान्ने इच्छा भयो।

चिया गफमा मैले उहाँहरुलाई मुस्लिम युवकसँगको भेटबारे भने र म माथि त्यस भेटले परेको असरबारे भने।  दुबैले 'यसरी भनेर हुँदैन, यसबारे   तपाईँले लेखनै पर्छ' भन्ने आग्रह गर्नु भयो।

ती मुस्लिम युवकलाई सम्झिदा आज पनि मन श्रध्दाले नतमस्तक हुन्छ  ।  म सन्यासी हुनुमा र सन्यासी कै भेषभूषामा जीवन निर्वाह गर्दै आउनुमा अनेको व्यक्तिको परोक्ष/ अपरोक्ष सहयोग र प्रेरणा छ।  रसायन विज्ञानमा 'क्याटलिक एजेन्ट'को बडो महिमा छ।  यसले स्वयं केही गर्दैन  तर क्रिया सम्पादित हुनुमा यसको उपस्थिति अनिवार्य हुन्छ । म आज जे छु, जस्तो छु त्यस्तो हुनुमा ती मुस्लिम युवकसँगको भेटले मेरो जीवनमा 'क्याटलिक एजेन्ट'को भूमिका निर्वाह गर्‍यो। ४-५ घण्टाको उनको संगतले संन्यास पथमा उकलेको म नव सन्यासीलाई यस पथका गौरीशंकर र सगरमाथा चढ़न सहज बनायो।

अहिले म भारत र नेपालका सैयो आश्रम र नाम चलेका  गुरु चिन्छु।  ती सबै आश्रम मेरा मुफलिसीका ठेगाना हुन तर कसरी बिर्सौ मलाई यतिको परिचित र परिपक्व बनाउन ती मुस्लिम युवकले रेल यात्रामा लेखेर दिएका २ वटा पत्र नै यसको आधार बने ।

सनु २००३ को नासिक महाकुम्भ पछि केही दिन हाम्रो (सहयात्री जर्मन महिला मित्र हालीना )  बसाईको केन्द्र  ओशोनगरी पुणे भएको थियो।  पुणेको बसाई पछि खजुराहो जाने क्रममा हामी जबलपुर पुगेका थियौं । त्यो वर्ष त्यस क्षेत्रमा घनघोर पानी परेको थियो, सारा प्रदेश नै बाढीमय बनेको थियो । हामी जबलपुर पुग्दा पनि इन्द्रदेव  रौद्ररूपमा मेहरबान थिए । बाध्य भएर हामीले यात्रा रोकिनु पर्यो । भारत दर्शन नामक यात्रा विवरण सम्बन्धी पुृस्तक धेरै समय आफ्नो ‘गीता’ बनेकाले जबलपुरका विषयमा प्रायः ज्ञात नै थियो ।

त्यहाँको प्रमुख आकर्षण थियो भेडाघाट, जहाँ नर्मदा नदी क्रीडामय भएर बग्छिन । मलाई नर्मदाको त्यो प्राकृतिक दृश्यावली हेर्ने अलिक बढी नै चाहना थियो, तर झरी थियो आफ्नै हठमा अविरल, अविचल, सतत झरेको झरै । स्थानीय पत्र पत्रिकामा भेटघाटबारे समाचार आइ नै रहेका थिए, त्यहाँ पानी खतराको निशान भन्दा माथि बगिरहेको थियो । तर मेरो अदम्य इच्छामा भने विचलन आएको थिएन । तीन दिन वीती सक्दा पनि इन्द्रदेवको कोप  कम भइरहेको थिएन । हालिनाको भनाई थियो ‘यो अविरल वर्षामा बाढी आएको क्षेत्रमा जाने जोखिम लिनु हुन्न’ ।

उनकी पत्नीलाई मसँग गफमा लीन  भएको त्यति साह्रो  मन परेको रहेनछ, उनले  इशाराले केही आपत्ति गर्दा युवकले भने ‘यी नयाँ सन्यासी हुन्, आवेग र नवजोशले भरिएका, मेरा अनुभवले यिनलाई केही मद्दत  हुन सक्छ भने तिमीले किन छट्पटी मानेको ? यिनीसँग आखिर मेरो यो पाँच सात घण्टाको साथ न हो, पछी यी कहाँ म कहाँ ?

 मेरो हठले तीन दिन होटल कोठाको थुनाइमा बिते, हालिनाले खजुराहो तिर लाग्ने कर गर्न थालिन, ‘होइन यो होटलको कोठामा थुनिनुको के मतलब ? ट्याक्सि लिएर हामी खजुराहो जाउँ’ ।

मलाई भेटघाट नगइ जबलपुर छाड्ने मन थिएन तर परिस्थिति भने अनुकूल थिएन र अन्ततः मन मारेर मैले साथीको प्रस्ताव मान्नु पर्यो । झण्डै दुइसय किमीको यात्रा ट्याक्सीबाट गर्नु पनि जोखिममय नै थियो, आफु सुरक्षित हुनलाई महँगो भए पनि होटेलबाट नै ट्याक्सी लियौ । ड्राइभरले पानी परेकाले र मध्यप्रदेशका ‘दिग्विजय सिंहकालीन’ सडक भएकाले खजुराहो पुग्न चौदह घण्टाको समय लगाए  ।

रात्रि बाह्र बजेतिर हामीले खजुराहो टेक्यौ । चारैतिर रात्रिको निस्तब्ध्तता ... कता जाने ? ट्याक्सी ड्राइभरले दुइवटा होटल खोलाउने प्रयास गरे, तर कहीबाट केही प्रत्युत्तर पाइएन । हामी थाकेका थियौ, तर ट्याक्सी ड्राइभर भने भनी रहेका थिए ‘साहबजी चिन्ता नगर्नुहोस कुनै न कुनै होटलमा कोठा  पाइहाल्छ' ।

आखिर उनको प्रयासले सफलता पायो, जैन होटलका मालिकले ढोका खोले र हामीलाई कोठा उपलब्ध गराए । जबलपुरबाट हिड्ने बेलामा हतारमा होश नपुर्‍याकाले हामीसँग ड्राइभरलाई भुक्तानी दिने भारतीय रुपैया थिएन । दुई हजार रुपैया अपुग छ र  ड्राइभरले ‘यूरो’ चिन्दैन।

 ‘यूरो’को भाउ पनि थाहा छैन र ऊ जबलपुर फर्किने हतारो पनि गर्दैछ ।

समस्यामा समाधान लिएर आए जैन होटलका मालिक, उनले अपुग धनराशी ड्राइभरलाई भुक्तानी गरी दिए र उसलाई रात्रि नफर्किने सल्लाह दिदै खाने र बस्ने व्यवस्था सित्तैमा मिलाइ दिए ।

जैन होटलका मालिकको व्यवहार हाम्रा लागि अप्रत्याशित थियो, मानौ उनकै छोरा छोरी धेरै वर्ष पछी घर फर्केका हुन् । सुतीसकेका कामदारलाई उठाएर हाम्रा लागि चिया र खाना पकाउने व्यवस्था गराए । उनको हामीप्रतिको व्यवहार औपचारिकता एवम् व्यवसायिकता भन्दा निकै माथि अपनत्व र मानवताको थियो ।

बिहान खाजा खाए पछी हामी खजुराहोका मन्दिर हेर्न पुग्यौ, विशाल प्राङ्गणमा अवस्थित ढुंगै ढुंगा कुदिएर बनाएका अनेकौ मन्दिर । ती मन्दिरले हज्जारौ वर्ष पहिलाको भारतीय संस्कृति र सभ्यताको परिचय दिइ रहेका थिए । सबै मन्दिरका भित्ति  कामक्रीडाका तमाम आकृतिले भरिएका । भारतीय पुरातत्व विभागले मन्दिर प्राङ्गणको हेरचाह पनि सुव्यवस्थित ढंगले मिलाएको थियो  । हालिनाको लागि मन्दिर प्रांगड़ काबा,  काशी, जेरुसलम बन्न पुग्यौ । मन्दिर अवलोकन मै उनका दिन बीत्न थाले । आफुलाई भने कलाको कुनै  ज्ञान र त्यसप्रति कुनै रुची पनि नभएकाले त्यहाँको चौरमा सुत्ने बाहेक  अन्य कुनै आकर्षणले छोएनन् ।

हालिना भने ‘गाइड’ फिल्मको वहीदा रहमान जस्तै एक एक मन्दिरको एक एक मूर्तिसँग संवाद स्थापित गर्ने प्रयास गर्थिन, मूर्ति जस्तै भावभगिंमा बनाऊथिन, नाच्थिन, गाउथिन, गाउदै नाच्थिन । मन्दिरमा आएका अन्य पर्यटक भने पत्थरका मूर्तिसंगै एउटा सजीव मूर्ति पनि हेर्थे तर हालिना  भने आफैमा मगन, उनलाई अरु कसैको मतलब हुन्नथियो ।

जैन होटलका मालिकको अति ममत्व र अपनत्वको व्यवहार हामीलाई सहन भएन।  हालीनाले भनिन, ' ही ट्रीट मी लाइक माई फादर, आई आल्सो फिल हिम लाइक माई फादर ,सो आई क्यांन  नट स्टे हियर मोर ,प्लीज चेंज होटल '।  

'चेन्ज' गरेको होटल एउटा ओशो सन्यासीको परेछ।  नाम पनि राजू गाइड, कर्मचारीदेखि मालिक सबैजना अति बिन्दास।  मलाई भने ओशो सन्यासीहरुको बोली होस, हांसो होस अथवा अन्य कुनै व्यवहार कहिलयै पनि स्वाभाविक लागेनन , मलाई ओशो सन्यासीको जीवन नै कृतिम लाग्छ।

हालीनाले खजुराहो 'एन्जॉय' गरी रहेकी थिइन, मलाई भने पुणे झै दिक्क लागि सकेको थियो। म कुनै धार्मिक स्थल अथवा कुनै शान्त पहाड़ी स्थलमा जान चाहन्थे , तर त्यों बेला मलाई अहिलेको जस्तो भारतबारे ज्ञान पनि थिएन।  त्यस माथि परीरहेको अविरल  झरीले यात्रा गर्नु सुगम पनि थिएन।  एक दिन चिया पिउदै मैले भने यो पानी ले दिक्क लायो।
ओशो सन्यासीले बड़ो बिंदास पाराले भने - महाराज जल ही जीवन है।

'अगर आप जल भी जीवन है कहते तो आपसे बात करने में मजा आता'।

'आपने तो एक लाइन में ही मुझे धराशायी ही नहीं वरन गूढ़तम ज्ञान दे दिया।  कोई एक चीज या तत्व जीवन कैसे हो सकता है जीवन तो  सभी का जोड़ निचोड़ अथवा आपके कहे अनुसार सामंजस्य है।  मैं आपका मुरीद हुआ'।  

यस्तैमा एक दिन हालीनासँग गफ्फीदै  पैसाको प्रसंग आयो।  उनले भनिन, 'पैसा नभए जीवन चलन सक्दैन'।  

मैले प्रतिवाद गरे।

उनले  भनिन ,'यस विषयमा तर्कले काम चल्दैन।  के तिमी पैसा नभए यहाँ बाँचेर देखौं सक्छौ '?

मैले सहमति दिए।

यसरी प्रोग्राम 'फिक्स' भयो म एक साताका लागि हालीनालाई खजुराहो मैं छाड़ी एक्लै खजुराहोबाट अन्य कतै  जाने भए पैसा नलिइकन। हिड्ने बेलामा उनले ५०० रुपैया दिँदै भनिन -यो इन्टरनेटमा मसँग सम्पर्क गर्नका लागि मात्रै हो, यसको उपयोग तिमीले आफ्नो लागि गर्यौ भने तिमी आफुलाई हारेको ठान्नु।  सात दिनमा तिमीले फर्किनु पर्छ, सात दिनमा  तिमी फरकेनौ भने म 'फ्लाइट' को टिकट काटेर जर्मनी फर्किन्छु।

 भोली बिहान  म सात दिनका लागि  पैसाविहिन यात्रा अनुभव लिन हिंडे ।  खजुराहोबाट नजीकको बस स्टैंड जान टेम्पो पार्कतिर लागे,   बाटोमा एकजना मुस्लिम युवक भेटिये।  उनी आफ्नो नव विवाहिता पत्नीसँग खजुराहो घुम्न आएका थिए र घर फर्किदैं थिए । उनले ॐ नमो नारायण भने।  मैले प्रत्युत्तरमा नमो नारायण भने।

कहाँबाट आउनु भएको, कता जादै हुनुहुन्छ उनले सोधे।

म नेपालबाट भारत घुम्न आएको।  केही दिन पहिला खजुराहो आई पुगेको थिए। मेरो विदेशी साथीलाई अझै खजुराहो बस्न मन छ।  मलाई भने दिक्क लाग्यौ।  त्यसैले साथीलाई खजुराहोमैं छाड़ी म सात दिनका लागि कतै  घुम्न हिडेको हुँ।

'अनि  कहाँ जाने विचार छ' ? उनले सोधे।

'थाहा छैन म मध्य प्रदेशमा पहिलो पटक आएको हुँ'।

ल त्यसो भए बस स्टैंडसम्म सँगै जाउ भनी उनले टेम्पोमा बस्न भने।  

 टेम्पो चढ्दै म उनको  सहयात्री हुन पुगे । उनी चित्रकूट नजीकको एउटा  सानो शहर बांदामा बस्थे।  । दुब्ला र मिजासिला स्वभावका अत्यन्त मिलनसार उनले नै   मेरो पनि टेम्पो भाड़ा तिरे । मलाई सन्यासी पोशाकमा हेरेर उनले धर्म र धर्माचार्यहरुको सम्म्बन्धमा मसँग निकै गफ गरे ।

'तपाईँलाई रामले आफ्नो वनवासको सबैभन्दा बढी समय कहाँ बिताएको थाहा छ'?

'थाहा छ, चित्रकूट हो '।  

'त्यसो भए तपाईँ पनि आफ्नो स्वेच्छिक वनवासको अवधि चित्रकूटमै गएर बिताउनुस।  गजबको धार्मिक स्थल हो चित्रकूट'।

'ठीक भन्नु भयो तपाईले।  मसँग धेरै पैसा पनि छैन।  धार्मिक स्थलमा कुनै आश्रममै बस्न पाए हुन्थ्यो'।

'तपाईँ सन्यासीहरुलाई पैसाको के चिन्ता र कमी ! तपाई चाहनु हुन्छ भने म तपाईलाई पैसाको खानीमै पठाई दिन्छु'।  

 चित्रकुट उनको स्थायी घरबाट नजिक भएका हुनाले उनी त्यहाँका आश्रमहरुमा गएर बस्ने गर्दा रहेछन र प्रायः जसो सबै आश्रम र आश्रमका मठाधिसहरुलाई चिन्दा रहेछन् । उनकी पत्नीलाई मसँग गफमा लीन  भएको त्यति साह्रो  मन परेको रहेनछ, उनले  इशाराले केही आपत्ति गर्दा युवकले भने ‘यी नयाँ सन्यासी हुन्, आवेग र नवजोशले भरिएका, मेरा अनुभवले यिनलाई केही मद्दत  हुन सक्छ भने तिमीले किन छट्पटी मानेको ? यिनीसँग आखिर मेरो यो पाँच सात घण्टाको साथ न हो, पछी यी कहाँ म कहाँ ?

'तपाईँ चित्रकूट जाने भए मसँग हिड्नुस, म जुन ट्रेन चढ्छु त्यै ट्रेन चित्रकूट पनि जान्छ।  म चित्रकूट भन्दा पहिला ओर्लिन्छु।  म ओर्लेको २-३ स्टेशन पछि चित्रकूट आउँछ'।  

उनको प्रस्ताव मानी म उनीसँग ट्रेन स्टेशन गए।   स्टेशनमा पुगेर उनले चिया नास्ता गराए।  म बिहान खजुराहोबाट चिया नखाई नै हिडेको थिँए ,किनकी आज बिहानदेखि मैले हालीनाको पैसाले आफ्नो लागि केही खर्च नगर्ने संकल्प गरेको थिँए।

चिया खाए पश्चात् उनले बांदाको २ वटा टिकट र चित्रकूटको एउटा टिकट किनेर मलाई दिदै भने, ट्रेन आउँन  अझै ३ घण्टा बाँकी छ तपाई यो टिकट राख्नुस।  मेरो एकजना परिचित यही बस्छन, म उनलाई भेट्न जान्छु।  ट्रेनको समयमा आई पुग्छु।

उनी गए पश्चात्  स्टेशनमा एकजना अधबैंशे भेटिए। ख्वाई उनी कता जाने ट्रेन समाउन आएका थिए।  उनको ट्रेन आऊंन  पनि २-३ घण्टा बाँकी थियो।  उनले विभिन्न धार्मिक प्रसंगमा कुरा गर्दै धेरै पटक चिया ख्वाए।  चित्रकूटको ट्रेन आउनु भन्दा २० मिनट पहिला ती मुस्लिम युवक आई पुगे।

ट्रेन समयमै आई पुग्यौ । हामी ट्रेन चढ़्यौ।  त्यति साह्रो भीड़ थिएन।  हामी तीनैजनालाई बस्ने सीट पाइयो।

'भन्नुस तपाईँ चित्रकूटमा कस्तो आश्रममा बस्न मन पराउनु हुन्छ '? उनले सोधे।

'मलाई बस्ने व्यवस्था भए पुग्छ'।

उनले आफ्नो ब्यागबाट दुइवटा खाम  झिक्दै भने।  मैले दुईवटा आश्रमका गुरुलाई पत्र लेखी दिएको छु।  तपाईँ यी मध्ये जुन सुकै ठाउँमा गए हुन्छ। दुबै ठाउँमा  तपाईँको सारा व्यवस्था हुन्छ।

खाम लिएर हेरे।  एउटा  खाममा  लेखिएको थियो - कर्णाटक  वाली माताजी र अर्को खाममा स्वामी दिव्यानन्दजी महाराज ,अखण्ड चित्रकूट आश्रम।

उनले नै भने - अखण्ड चित्रकूट आश्रम ठूलो संस्था हो, धेरै पुरानो संस्था हो।  भारतभरी यस संस्थाका २५० भन्दा बढी आश्रम छन्।  दिव्यानन्दजी यस आश्रमका उत्तराधिकारी 'प्लस' व्यवस्थापक हुनुहुन्छ।  उहाँ मेरो मित्र हो।  र कर्णाटक वाली माताजीको आश्रम सानो छ। माताजी मसँग अपार स्नेह गर्नु हुन्छ।

मैले उनलाई सोधे, तपाई मुस्लिम भएर हिन्दू आश्रममा गएर बस्दा र हिन्दु गुरुहरुसँग संगत गर्दा तपाईलाई अप्ठेरो हुदैन ?

किन अप्ठेरो हुनु  ? उनीहरु पनि मानिस हुन, म पनि मानिस हो । मेरो मन जोसँग मिल्छ, जहाँ मलाई स्नेह र सम्मान पाइन्छ त्यहाँ जान मलाई के ले रोक्न सक्छ ??  म मेरो लागि र आफ्नो घर परिवार समाजमा मुस्लिम हो, त्यो बाहेक म मानिस हो । आफ्नो घर परिवार समाज र धार्मिक स्थल बाहिर म मानिस हो, मानव हो।   मेरा लागि धर्म आन्तरिक आचरणको कुरा हो । बनावटी र देखावटी धर्म मेरा लागि मात्र पाखण्ड हो, आडम्बर  मात्र हो ।

हठात् कति ठूलो र मर्मस्पर्शी कुरा गरिदिए ती युवकले ! जुन कुराको बोध जति धर्मग्रन्थ पढे पनि जति उपदेश सुने पनि धर्मका ठेकेदारहरुले बुझ्न सकेका छैनन् । यो पृथ्वीमा मानिसको इतिहाँस नै देखाउटी र आडम्बरी धर्मले ग्रसित रही आएको छ । धर्मले लुगाका लागि, रंगका लागि, आफूले मानेका आफ्ना विम्बहरुका लागि, आफुले  बनाएका मन्दिर -मस्जिद- चर्च -गुरुद्वाराका लागि सधै लडिआएको छ । यहाँ पुस्तकका लागि युद्ध भएका छन्, सिद्धान्त र मतका लागि रगत बगेको छ । काश ! एक्काइसौ शताब्दीको मानिस ती मुस्लिम  युवक जस्तो धर्मको व्याख्या बुझ्न, ग्रहण गर्न समर्थ हुन्थ्यो !!

त्यसपछि म मेरा लागि मात्र हिन्दु रहे, मेरा लगि मात्र सन्यासी भए र क्रमशः एक दिन ‘त्यो मेरा लागि’ पनि तिरोहित हुँदै गयो । म रही रहे, म अझै छु तर मेरा सारा पहिचानहरु ध्वस्त भए । मेरा गुमनाम गुरुको लिस्टमा एउटा नाम  थपियो ,अकिंत भयो, ती मुस्लिम युवक । .

सात दिन पछि म खजुराहो फर्किदा मसंग चित्रकूटमा भेटिएको भोपालको २०-२२ जनाको एउटा दल रहेको थियो।  यो दल म चित्रकूट पुगेकै दिन मसँग ठोक्किएको थियो। ४-५ दिन चित्रकूटका विभिन्न स्थल यसै दलले घुमायो, चिया -खाजा -चुरुट -इन्टरनेट  आदिमा यसैले खर्च गर्यौ।  

फर्किदाको भाड़ा पनि यसैले तिर्‍याे। खजुराहोमा यस दललाई जैन धर्मशालामा बसै म हालीना बसेको होटल गए।

हालीना सबै कुरा सुनेर छक्क परिन, उनको ५०० रुपैयामा १० रुपैया भने खर्च भएको थियो।  भएको के थियो भने हनुमान धारा जाँदा म भोपालको ग्रुप सँगै थिए तर मन्दीरबाट फर्किदा दलका सदस्य म भन्दा पहिला ओर्लिये।   भार्‍याङ्ग ओर्लिदा मेरो लुगा बांदरले समायो।  यी बांदर त्यहाका बाल बालिकाका व्यापारिक पार्टनर हुँदा रहेछन।  बाल बालिका बांदर लिएर भार्‍याङ्ग बस्दा रहेछन, यिनका माता पिता अथवा अन्य साथी त्यही छेउछाउमा चना बेचछन।  बांदरले समाए पछि यी बाल बालिका भन्छन 'भैयाजी इसे चना खरीद कर दीजिये तभी छोड़ेगा'। मानव र बांदरको सयुंक्त व्यापारिक साझेदारी हेर्दा रीसको सट्टा हाँस उठ्यो।  मैले दस रूपयाको चना किनेर  बांदरलाई अर्पित गर्नु पर्‍यो।

बांदर व्यापारको कुरा सुनेर हालीना पनि हासिन।  उनले भोपालबाट मसँग आएको दललाई भेट्ने इच्छा गरिन।  मैले हालीनाको आशय बुझी सकेको थिए।  हालीनालाई लिएर जैन धर्मशाला गए। मलाई साथीसँग आएको देखेर दलका सबैजना अति खुशी भए।  हालीनाले सबैलाई आफु बसेको होटलमा ल्याई ब्रेकफास्ट गराइन। २०-२२ जना कै लागि दिउँसोको खाना आर्डर गरिन । ग्रुपसँगै गएर खजुराहो का मन्दिर अवलोकन गराइन।  खाना खाए पछि ग्रुपले  भोपाल प्रस्थान गर्यौ।

साँझ म मैले हालीनासँग सोधे, त्यस ग्रुपका लागि  यत्रो खर्च गर्ने के आवश्यकता थियो ? ब्रेकफास्ट र खानामा झण्डै  ८ हज़ार खर्च भएको थियो।

'तिमीलाई तिम्रो चित्रकूटको यात्रामा भेटिने सबैजना दैवीय प्रेरणाले सञ्चालित थिए। ती दैवीय प्रेरणाले ओतप्रोत रहेका व्यक्तिहरुको सानिध्यका लागि ८ हज़ार कुनै ठूलो रकम होइन' यति भनी हालीनाले  आफु मौन  हुने इशारा गरिन   ।


म साहित्य,कला,धर्म, दर्शन, अध्यात्म, विज्ञान लगायत कुनै पनि विधाको विज्ञ हाेइन ।