पासाङ दोर्ची शेर्पा : नेत्र सहायकदेखि आँखा रोग सम्बन्धी जनस्वास्थ्य विज्ञसम्मको यात्रा

पासाङ दोर्ची शेर्पा :  नेत्र सहायकदेखि आँखा रोग सम्बन्धी जनस्वास्थ्य विज्ञसम्मको यात्रा

आशिष पौडेल  |  अन्तर्मन्थन  |  आश्विन २४, २०७७

भोजपुरको एउटा शेर्पा ठिटो समयसँगको हण्डर, ठक्कर र पढाइप्रतिको एउटा लगनका कारण नेत्र सहायकदेखि आँखा सम्बन्धी जनस्वास्थ्य विज्ञको रुपमा आफ्नो परिचय बनाउन सफल नाम हो, पासाङ दोर्ची शेर्पा । 

केवल पेसाका रुपमा मात्र सफल नभई विभिन्न सामाजिक सेवाका माध्यमबाट समेत आफूलाई परिचित र स्थापित बनाउन सफल हुनुभएको छ उहाँ । 

उहाँको समाज सेवा प्रतिको निष्ठा र लगनबाट अरु सामान्यजनले पनि सिकेर आफ्नो देश तथा समाजमा आफूले नै केही गर्ने हो र चाहने हो भने धेरै गर्न सकिन्छ भन्ने कुराको उदाहरण उहाँबाट प्राप्त गर्न सकिन्छ । 

जन्म र बाल्यकाल 

उहाँको जन्म भोजपुरको किमालुङ गाविसमा भएको हो । अहिलेको षडानन्द नगरपालिका वडा नं ९  ।  जन्म २०२० साल । नागरिकतामा भने २०१९ साल । एसएलसी दिन १६ वर्ष पुर्‍याउनु पर्ने भएका कारण उहाँ एक वर्ष बुढो हुनुभयो जन्म भन्दा । 

उहाँको मध्यम स्तरको परिवार हो । खेतीपाती र पशुपालन नै परिवारको आर्थिक स्रोत हो । चौँरी, भेडा बाख्रा पाल्नु हुन्थ्यो आमा बुबाहरू । पछि भने दाइहरू ब्रिटिस तथा इन्डियन लाहुरे हुनुभयो । काम गर्ने मान्छे नभएपछि पशुपालन छुट्यो । 

उहाँको दुई जना आमा । उहाँको आमा बितेपछि बुबाले कान्छी आमा बिहे गर्नुभएको हो । उहाँ भने जेठीपटिको कान्छो छोरो । 

सानोमा उहाँले डण्डीबियो, कपर्दी, गुच्चा तथा पाङ्ग्रा पनि गुडाउनु भएको थियो । कहिलेकाहीँ साथीभाइको सङ्गतमा स्कुल छोडेर खोलामा पौडी खेल्न समेत जाने गर्नु हुन्थ्यो ।

उहाँ सानो छँदा घरमा परेवा र कुकुर थिए । त्यो कुकुरले चाहिँ उहाँलाई साह्रै माया गर्दो रहेछ । उहाँ स्कुल जाँदा कुकुर पनि सँगै स्कुल जाने गर्थ्यो रे ! त्यसलाई बेलायती कुकुर भनिन्थ्यो । त्यो कुकुर पछि हरायो । कुकुर हराउँदा कुकुरसँगको एक प्रकारको आत्मीयपनका कारण उहाँ धेरै रुनुभएको थियो । 

प्रारम्भिक शिक्षा 

उहाँको प्राथमिक शिक्षा भने किमालुङको यशोधरा प्राथमिक विद्यालयमा भएको हो । उहाँलाई जोड, गुणन, भागा तथा मसः, लसः सबै आउँथ्यो । त्यस कारण उहाँ तीन कक्षाबाट चार कक्षा नपढी एकै पटक पाँच कक्षामा जानुभएको हो । 

त्यतिखेर पढ्ने विद्यार्थी पनि कम थिए । शिक्षक पनि कम नै थिए । पढाउने शिक्षकहरू उहाँको घरमा नै बस्नुहुन्थ्यो । त्यस कारण पनि उहाँलाई पढ्न सजिलो भयो । 

गाउँमा प्रशस्त काठ पात पाइने हुनाले विद्यालयमा डेस्क बेन्च नै थिए बस्नलाई । उहाँ फर्स्ट बेञ्चमानै बस्नुहुन्थ्यो । शेर्पा पोसाक लगाएरै उहाँ विद्यालय जानुहुन्थ्यो । 

शेर्पा अलि मस्सुर खालको विद्यार्थी हो । जे कुरामा पनि आफूले जित्नुपर्ने । आफूले भनेको अरूले मान्नुपर्ने । उहाँ ‘फर्स्ट ब्वाई’ ! त्यस कारण पनि उहाँ कक्षाको ‘मनिटर’ ! मनिटरले भनेपछि अरूले मान्नै पर्ने बाध्यता थियो त्यो बेला । 

उक्त विद्यालय प्राथमिक मात्रै । पाँच कक्षा सकेपछि भने उहाँ जानुभयो कुलुङको वीरेन्द्र माध्यमिक विद्यालयतर्फ । किनकि  हिँडेर पुग्ने ठाउँमा कुनै पनि माध्यमिक विद्यालय थिएनन् । 

उहाँ माध्यमिक शिक्षाका लागि कुलुङमा मित बाको घरमा बस्न जानुभयो । मित बाको घरबाट स्कुल आधा घण्टाको पैदल दूरीमा थियो । बुबाले उहाँलाई वर्षभरि पुग्ने धान मित बाको घरमा ठेकिदिनुहुन्थ्यो । 

कुलुङमा भने बाहुन, क्षेत्री, शेर्पा, तामाङ, राई सबै खालका विद्यार्थी साथी थिए । उहाँको काइँला दाइ पनि त्यही स्कुलमा पढ्नुहुन्थ्यो । त्यस कारण पनि उक्त विद्यालयमा घुलमिल हुन उहाँलाई त्यति गाह्रो भने भएन । 

उहाँ बुधवार जन्मनुभएको त्यस कारण न्वारनको नाम लाक्पा शेर्पा थियो । तर, उहाँको काइँला दाइले लाक्पा शेर्पा भन्यो भने सबैले खिसी गर्छन् भन्ने  डरले उहाँको नाम फेरिदिनुभयो । लाक्पा शेर्पा अब बालकुमारमा फेरियो । 

उहाँको हालको व्यस्तता भने ग्रिन सिटी हस्पिटलमा रहेको आँखा विभागमा छ । जहाँ उहाँले आँखाको उपचार तथा सामान्य अपरेसन समेत गर्नु हुन्छ । आँखा बाहिर रगत जम्ने, मासु पलाउने जस्ता सामान्य अपरेसनको अधिकार उहाँलाई छ । तर, मोतीबिन्दु जस्तो आँखाको विशिष्ट उपचारको अधिकार भने उहाँलाई छैन । 

उहाँको काइँला दाइले पनि नाम फेरेर प्रेम निमा राख्नुभएको थियो । पछि उहाँलाई यो नाममा चित्त बसेन र आठ कक्षाको रजिष्टेशन फर्म भर्ने बेलामा आफैँले पासाङ दोर्ची शेर्पा राख्नुभयो । जुन आजसम्म कायम नै छ । 

छ कक्षामा भने उहाँको नतिजा त्यति राम्रो भएन । तर, सात कक्षामा त्यहाँको वातावरणमा भिज्न थालेपछि भने उहाँ फेरि प्रथम नै हुनुभयो । सबै विषयमा । उहाँको जति नम्बर कसैले पनि ल्याएन । 

उहाँ प्रथम भएपछि मनिटरको जिम्मेवारी फेरी उहाँमा नै आयो । उहाँको अक्षर पनि एकदम राम्रो थियो । बस्नलाई भने कहिले बिचतिर त कहिले अगाडि बस्नुहुन्थ्यो । उहाँको छेउमा बस्न साथीहरू झुत्ती नै खेल्थे रे ! 

पछि भने उहाँ कविता लेख्ने, वादविवाद प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगितामा भाग लिने गर्नुहुन्थ्यो भने गीत तथा नृत्यमा पनि सहभागी हुनुहुन्थ्यो । कक्षा आठमा पढ्दा लहर नामक पत्रिकामा उहाँको कविता प्रकाशित समेत भएको थियो र !  

एक पटक उहाँ माध्यमिक स्कुलमा पढ्दा साथीभाइहरूसँग पौडी खेल्न इरखुवा खोलामा जानुभएको थियो । पौडी खेलेर पारी तरेपछि खोलामा ठुलो बाढी आयो । अब बेलुका घर पनि फर्किनु छ । के गर्ने गर्ने भयो । साँझ परेपछि बाटो पनि नदेखिने हुनाले जसरी पनि खोला तर्नै छ । के गर्ने गर्ने भयो ।

त्यस बेला पाइजामा लगाउने चलन थियो । एक जना साथीले आइडिया निकाल्यो । पाइजामा दुईतिरबाट बान्यो । त्यसमा मुखले हावा भर्‍यो । अनि फेरि त्यता पनि बन्द गर्‍यो । पाइजामा अब हावा भरेर पुरै बन्द । अनि त्यसलाई कम्मरमा बानेर एक जना तर्‍यो । फेरि पारी फाल्यो । अनि अर्को तर्‍यो । त्यसरी त्यो दिन ज्यान जोगाएर आएको उहाँको स्मरणमा अझै ताजै छ । 

उहाँले कुलुङबाटै एसएलसी उत्तीर्ण गर्नुभएको हो । २०३४ सालमा । दोस्रो श्रेणीमा । प्रथम श्रेणीलाई केही नम्बर पुगेन उहाँको । 

उच्च शिक्षा 

एसएलसी पछि उहाँ उच्च शिक्षाको लागि भोजपुर बहुमुखी क्याम्पस आउनुभयो । मानविकी अध्ययनका लागि । उहाँको प्रमुख विषय थियो, अर्थशास्त्र । 

प्राप्ताङ्कका हिसाबले त उहाँले काठमाडौँमै पढ्नुपर्ने हो, उहाँ भन्नुहुन्छ । तर, ०३४ सालमा उहाँको आमा बित्नुभयो । जन्डिस लागेर । सुरुमा थाहा भएन जन्डिस भन्ने । के के खानुभयो कुन्नि ! 

अब उहाँले घरमा पनि हेर्नुपर्ने भयो । त्यस कारण उहाँ काठमाडौँ आउन सक्नुभएन । भोजपुरमै भयो पढाई । उहाँले ०३५/३७ मा आइए पास गर्नुभयो । तर, उहाँको मन भने प्राविधिक विषयले तानिरहेको थियो । रुचि त्यसमै थियो । 

काठमाडौँको यात्रा 

उहाँ ०३९ सालमा पहिलो पटक काठमाडौँ आउनु भएको हो । गाडीमा । तर, गाडी चढ्न भने हिँडेर धरानसम्म पुग्नुपर्थ्यो । काठमाडौँ आउँदा गाडी सुनधारामा रोकियो वा बसपार्क त्यति यकिन भएन उहाँलाई । पहिलो पटक काठमाडौँ आउँदा उहाँको बसाई रह्यो पुतलीसडक । साथीभाइको कोठामा । 

त्यस बेला काठमाडौँमा गाडी पनि धेरै पातलो । मान्छे पनि फाट्टफुट्ट मात्रै । पुतलीसडकमा बसेको मान्छेलाई बानेश्वर पनि टाढा लाग्ने । 

पछि फेरी उहाँ आउनुभयो काठमाडौँ २०४० सालमा । त्यस बेला पनि उहाँको बसाई पुतलीसडकमै भयो । तर, यस पटक अलि स्थायी किसिमको । घर भाडा थियो ६० रुपैयाँ । चार जना बस्नुहुन्थ्यो । एक जनाको भागमा १५ रुपैयाँ पथ्र्यो । 

उहाँलाई घरबाट त्यतिखेर महिनाको तीन सय पचास पठाइदिने गरिएको थियो । सुन पनि त्यस्तै तीन सय पचास नै थियो होला हो, उहाँ भन्नुहुन्छ । चिया बिस पैसा कप । प्लेन भाडा नै दुई सय देखि दुई सय पचास थियो । उहाँलाई घरबाट पठाइदिएको पैसाले पोखरा कता कता घुमेर पनि बच्थ्यो ।  

काठमाडौँ आएर थापाथली तथा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा फर्म बुझाउनु भयो । पुल्चोकमा नाम निस्किएन । थापाथलीमा नाम निस्किएको थियो । यसो हेर्दा डांग्री लाएर काम गरेको देख्नुभयो । अब फेरि पढेर दुःख गरेर यही डांग्री लाएर काम गर्ने हो भने किन पढ्नु भनेर छोड्नु भयो । भन्नुहुन्छ, त्यस बेला गाइड गर्ने मान्छे पनि कोही थिएन । 

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा नाम ननिस्किएपछि उहाँले पाटन संयुक्त क्याम्पसमा बिए पढ्न थाल्नुभयो । अर्थशास्त्रमा । 

जीवनको अर्को पाटो 

उहाँ पाटन क्याम्पस पढ्दै गर्दा एक जना चिनेको दाइ आँखा अस्पताल त्रिपुरेश्वरमा काम गर्नुहुन्थ्यो । त्यस बेला अस्पतालमा अन्धोपन निवारण आयोजनाको कार्यक्रम चलेको थियो । परियोजनाले नेत्र सहायक पदमा मान्छे मागेको थियो । ती दाइले आवेदन दिँदा राम्रै हुन्छ भन्नुभयो । पछि पढ्न पनि पाइन्छ । डाक्टर पनि हुन पाइन्छ भन्नुभयो । त्यसो हो भने किन आवेदन नदिने भनेर उहाँले पनि आवेदन दिनुभयो । पास पनि हुनुभयो । त्यसपछि आँखाको पढाई पनि सुरु भयो । छात्रवृत्तिमा । पछि यो नै जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो । 

पहिलो जागिर 

उहाँको पहिलो जागिर भने गाउँमै अस्थायी शिक्षकका रुपमा थियो । तलब थियो होला झन्डै दुई सय पचास, उहाँ भन्नुहुन्छ । 

उहाँको पहिलो तलब भने उहाँले खर्च गर्न नै नपाइ अर्कैले उम्काएछ । त्यतिखेर गाउँमा देउसी भैलो खेलेर जम्मा भएको केही पैसा समेत थियो उहाँसँग । साथीले ब्याज दिन्छु भनेर पैसा माग्न आउनुभयो । उहाँले देउसीको भाग मात्र नभएर आफ्नो तलब समेत दिएर पठाउनु भयो । तर, न सावाँ फिर्ता भो, न त ब्याज नै पाइयो, उहाँ भन्नुहुन्छ । 

यता आँखा अस्पतालमा भने उहाँको तलब तीन सय पचास थियो । 

अन्धोपन निवारण आयोजना डब्लुएचओ अन्तर्गतको कार्यक्रम हो । यसले नेत्र विशेषज्ञ तथा नेत्र सहायकलाई तालिम दिने तथा गाउँ गाउँमा आँखाको अन्धोपन निवारण सम्बन्धी कार्यक्रम गर्ने गथ्र्यो । 

आयोजनाले तीन ब्याच नेत्र सहायक पनि उत्पादन गर्‍यो । छ महिनादेखि एक वर्षको पढाई पनि हुन्थ्यो र अस्पतालमा तालिम पनि हुन्थ्यो । उहाँ तेस्रो ब्याचको उत्पादन । एक ब्याचमा करिब ४० देखि ५० जनासम्म हुन्थे । हाल उक्त नेत्र सहायककाे काेर्सलाई 'एकेडेमिक' मान्यता प्रदान गरिएकाे छ भने  पढाई पनि तीन वर्षे हुने गरेकाे छ । 

आयोजनामा काम गर्दा उहाँले करिब नेपालका ६०–६५ जिल्ला घुम्नुभएको छ । त्यहाँ शिविरहरू सञ्चालन गर्नेदेखि लिएर व्यवस्थापनसम्मको काम गर्नुपर्थ्यो । 

शिविरको एउटा घटना उहाँ आज पनि सम्झनुहुन्छ । सुर्खेतको लेखपर्सा भन्ने ठाउँमा एउटा आँखा शिविर सञ्चालन भएको थियो । खोला पारी माओवादी भेटिन्थे भने वारी आर्मी । वारी आउँदा आर्मीले उता माओवादी देख्यौ भनेर सोध्थे भने पारी जाँदा माओवादीले आर्मी देख्यौ भनेर सोध्थे । 

 संखुवासभाको तुम्लिङटारमा शिविर आयोजना गर्दा एउटा कुपोषण भएको बालकलाई टाउकोको उपचार गर्नुपर्ने हुनाले उहाँले तीन महिना काठमाडौँ राखेर उपचार गरेर पठाउनु भएको थियो । त्यस्तै सुर्खेतको एक जना महिलालाई पनि उहाँले काठमाडौँ राखेर उपचार गरेर पठाउनु भयो । 

तुम्लिङटारमा शिविर गर्दा एक जना वृद्ध मान्छेको आँखा उपचार गरेर उहाँहरूले घर पठाउनु भयो । घर पठाउँदा पनि राम्रै थियो । अपरेसन गरेको एक महिनासम्म भारी नबोक्ने, धेरै नखोक्ने, रक्सी जाँड, चुरोट, सुर्ती तमाखु नखाने सल्लाह दिएर पठाउने गर्नुहुन्छ उहाँहरूले । 

तर, उहाँले के गर्नु भो थाहा भएन । उहाँको आँखामा भने रगत जमेछ । उहाँ तुरुन्तै पनि आउनु भएन । आएको भए केही उपाय निस्कन्थ्यो होला । उहाँको आँखामा जल बिन्दु भएछ । तिलगंगामा देखाउँदा उपचार नहुने बताइयो । अनि उहाँ आँखा अस्पतालमा आउनु भयो । 

उहाँको छोरा एक जना पत्रकार हुनुहुँदो रहेछ । उहाँले त्यो समस्या मन्त्रीदेखि मेडिकल काउन्सिल सबैतिर पुर्‍याउनु भयो । अपरेसन गरेको त उहाँहरूको टिमले नै थियो । 

अनि उहाँलाई घर पठाउँदाको सबै ‘हिस्ट्री’ हेरियो । जाँदा सबै ठिकै थियो । त्यसपछि मेडिकल काउन्सिलदेखि स्वास्थ्य सेवा विभागको डाइरेक्टरसम्म सबैले बिरामीको गल्ती भएको बताएपछि उहाँ दोषमुक्त हुनुभयो ।   

दैलेखको मानिसमा भने आँखाको नानी काटिने समस्या धेरै रहेको पनि जानकारी पनि उहाँले शिविरबाट प्राप्त गर्नुभयो । 

सहायक बनिसकेपछि कोही साथी भने एमबिबिएस पढ्न तिर लागे । कोही नेत्र विशेषज्ञ बने । उहाँ भने पब्लिक हेल्थ पढ्न तिर लाग्नुभयो । 

विवाह 

उहाँको विवाह २०५२,५३ सालतिर भएको हो । मागी विवाह नै हो । उहाँका आफन्त मार्फत कुराकानी भएर विवाह भएको हो । श्रीमती शेर्पा सोलु निवासी । उहाँ लिङ्कन स्कुलमा पढाउनुहुन्थ्यो । 

उहाँका दुई छोरी । दुबै अमेरिकामा छन् । एक जना ग्रयाजुएशन गर्दै भने अर्को कलेज पढ्दै । 

तर, दुखद कुरा भने श्रीमती शेर्पाको देहावसान भएको करिब दश वर्ष भयो । दुबै छोरी अमेरिका गएको पाँच वर्ष भयो । उहाँ पाँच वर्षदेखि भने एक्लै हुनुहुन्छ । 

टोकियो युनिभर्सिटी 

अन्धोपन निवारण आयोजनामा दश वर्ष काम गरिसकेपछि उहाँ क्यारियर बनाउनको लागि भनेर बिपिएच पढ्नका लागि टोकियो युनिभर्सिटि जानुभयो । आफ्नै खर्चमा जानुभएको हो पढ्न । 

अस्पतालले पढ्न जानका लागि उहाँलाई अध्ययन बिदा समेत दिएन । यसमा भने उहाँको चित्त दुखाई छ । राज्यले उहाँ जस्तो जनशक्ति तयार पार्नका लागि कति लगानी गर्नुपर्छ तर, आफ्नै खर्चमा पढ्न जान्छु भन्दा पनि बिदा समेत नदिने यो कस्तो नीति हो ? उहाँ प्रश्न गर्नुहुन्छ । 

भाषा पढ्न भने आफैँले खर्च ब्योहोर्नु पर्‍यो । आंशिक छात्रवृत्ति थियो त्यो । बिपिएचको कोर्स चार बर्सको हो । तर, उहाँले बिए पास गरेको तथा स्वास्थ्य सम्बन्धी अनुभव पनि भएका कारण एक वर्ष मात्र पढ्नु पर्‍यो । 

सन् २००१ मा उहाँ बिपिएच सकाएर नेपाल फर्कनुभयो । 

नेपाल फर्किएपछि उहाँले अस्पतालमा काम गर्नका लागि आवेदन पनि दिनुभयो । तर, तीन चार महिनासम्म पनि अस्पतालले कुनै चासो देखाएन । जागिर नै खानुपर्छ भन्ने पैसाको त्यस्तो दुःख पनि थिएन, उहाँ भन्नुहुन्छ । जापानबाट पनि काम आउँथ्यो भने यहाँ पनि क्लिनिकमा काम भएकै हुन्थ्यो । त्यस कारण पनि जागिरमा खासै रुचि रहेन । 

उहाँले निप्पोन नेपाल संस्थासँग मिलेर काम गर्न थालिसक्नु भएको थियो । निप्पोन नेपालको अध्यक्ष योसिनोवो उइनो भन्ने हुनुहुन्थ्यो । उहाँको संस्था भने हिमालय हेल्थ एन्ड एजुकेसन सोसाइटी । त्यसको अध्यक्ष भने उहाँ नै हुनुहुन्थ्यो ।

जापानबाट बिपिएच सकेर आएको केही वर्ष पछि फेरि उहाँ एमपिएचका लागि बङ्गलादेश जानुभयो । त्यो पनि एक वर्षकै कोर्स थियो ।  

सामाजिक सेवा 

उहाँ अध्यक्ष रहेको हिमालय हेल्थ एन्ड एजुकेशन सोसाइटीले लुम्बिनीमा पाँच वटा, काभ्रेमा पाँच वटा, सुर्खेतमा तीन वटा, नुवाकोटमा तीन वटा गरी स्कुल मात्रै १६ वटा बनाएको छ । त्यस्तै लुम्बिनीमा एउटा हेल्थ पोस्ट पनि बनाएको छ यो संस्थाले । भोजपुरमा एउटा हाईस्कूल र एउटा प्राइमरी स्कुल बनाएको छ । 

भोजपुरमा महिला छात्रावास तथा भोजपुरमै एउटा आँखा केन्द्र पनि बनाएको छ संस्थाले । हेल्थ क्याम्पको हिसाबै छैन, उहाँ भन्नुहुन्छ । एउटा परियोजना अन्तर्गत गोकर्ण जोरपाटीमा आँखाको विभिन्न उपकरण लगेर स्थापित गर्नुभएको छ । जहाँबाट अहिले आँखाको अपरेसन समेत हुन्छ । 

सङ्घसंस्थामा संलग्नता 

उहाँ विगतमा थुप्रै सङ्घसंस्थामा संलग्न हुनुहुन्थ्यो । शेर्पा सङ्घदेखि लिएर जनजाति महासङ्घ लगायत लायन्स क्लबमा समेत उहाँको सहभागिता थियो । भोजपुरे सेवा समाज लगायत अन्य थुप्रै संस्थामा उहाँको संलग्नता रहेको छ ।  

सम्मान तथा पुरस्कार 

विभिन्न संघसंस्थाहरुले गरेका सम्मान र दिएका प्रशंसा पत्र त कति हो गनी साध्य छैन, उहाँ भन्नुहुन्छ । नेपाल सरकारले उहाँलाई जनसेवा श्री पदक दिने घोषणा गरिसकेको छ । कोरोना तथा अन्य कारणले होला अहिलेसम्म उहाँले पदक प्राप्त भने गर्नुभएको छैन । 

हालको व्यस्तता 

उहाँको हालको व्यस्तता भने ग्रिन सिटी हस्पिटलमा रहेको आँखा विभागमा छ । जहाँ उहाँले आँखाको उपचार तथा सामान्य अपरेसन समेत गर्नु हुन्छ । आँखा बाहिर रगत जम्ने, मासु पलाउने जस्ता सामान्य अपरेसनको अधिकार उहाँलाई छ । तर, मोतीबिन्दु जस्तो आँखाको विशिष्ट उपचारको अधिकार भने उहाँलाई छैन । 

नेत्र सहायकबाट सुरु भएको उहाँको क्यारियर अहिले पनि जारी छ । कहिलेकाहीँ आँखा विशेषज्ञहरूले यी त नेत्र सहायक मात्र हुन कि भने जस्तो व्यवहार भने आफूले नभोगेको उहाँ बताउनुहुन्छ । किनकि आँखाको अपरेसन भनेको त एउटा ‘टिम वर्क’ हो । टिममा कसले के गर्ने भन्ने जिम्मेवारी भएका कारण पनि त्यस्तो हुँदैन । नेपालमा खास गरी मोतीबिन्दु, जल बिन्दु लगायतका समस्या अधिक रहेको उहाँ बताउनुहुन्छ ।  

अन्त्यमा 

मानिसमा केही गर्ने चाह तथा लगन छ भने एउटा सामान्य मानिसले पनि सामाजिक सेवादेखि लिएर आफ्नो जीवनमा पनि कायापलट गर्न सकिन्छ भन्ने एउटा उदाहरण हो पासाङ दोर्ची शेर्पा ।