बिरानो घाम
आश्विन २४, २०७७

सागरको वल्लो किनारबाट निस्कन्छ
पल्लो किनारमा हराउँछ 
र, सधैँ निर्वोध सागरमाथि दौडिदै आउँछ 
अनि शहरका चिल्ला बाटाहरूमा चिप्लिन्छ
सिसमहलहरूमा ठोकिन्छ
आँगन टेक्न नपाई धुरीहरूमा रोकिन्छ घाम  ।

हिजो पनि यसरी नै आउँथ्यो
पारि डाँडाबाट हिमालयको बाटो हुँदै   
मेरो आँगनमा  टेक्ने गर्थ्यो 
आँखी–झ्यालबाट चिहाउँदै घचघच्याउँथ्यो
अनुहारभरि सुमसुम्याउँदै म्वाई खान्थ्यो
एउटा न्यानो स्पर्श
अपनत्वको मीठो अनुभूति  
बारीको डिलभरि फुलेका फूलहरूजस्तो घाम 
आमाको  वात्सल्य प्रेमजस्तो घाम ।

वल्लो  किनारबाट  निस्कन्छ 
पल्लो  किनारमा  हराउँछ  
आज पनि यसरी नै
तर खोइ पहिलेको जस्तो  न्यानो छैन ?
किन किन अपनत्वको आभास पनि छैन 
तातो आगोको गोलाजस्तो 
बिरानो बिरानो  लाग्छ  घाम  ।

 

हङकङ