नमस्ते सर
आश्विन २४, २०७७

घाउ हो यो मेरो मुटु 
यी सभ्यताका माम्रीहरुमा 
समेटिन नसकेको, 
यी मान्छेहरुका चल्तीका 
आचार–विचार 
नीति–प्रीति 
झिँगा समान हुन् यसका लागि, 
बेइमानी हुनु भनेको 
जड्याँह–भड्याँह 
यस्तै–यस्तै मानपद्वीद्वारा 
मण्डित हुनु हो 
त्यसैले एउटा कविको ट्याग लगाएर 
म बसेको छु 
झिँगा धपाउँदै, 
एक–दुई वटा मर्छन् पनि यी हातबाट 
यसमै छु, किञ्चित रमाउँदै ।

तिमी जाबो 
ती उप्की जाने 
थोपाभर आँसुुले पखालिइजाने 
यी क्षणभङ्गुर माम्रीहरुमा आश्वस्त रहेर 
दैनिक भेटघाटमा
म बिरामीलाई नटक्रयाऊ 
‘नमस्ते’ नामक
सम्मानका क्याप्सुलहरु ।

म अधमरो हुँ 
न त ज्युँदो 
न त मुर्दा 
तर, तिम्रो त्यो 
ज्युँदोपनको तुजुगलाई 
म ‘मुर्दा’ भन्छु,
तिम्रो त्यो आँगनीमा सीमित संसारलाई 
म ‘मसान’ भन्छु, 
मेरो नाकमा छैन
लिङ्गको जस्तो कर्डियक मसल
साना–तिना 
फस्रायक–फुस्रुकले उत्तेजित भइहाल्ने ।

यसमा ज्वरो छ साथी ! 
ननिभ्ने ज्वरो 
त्यो शान्त हुन 
बदलिनु पर्छ संसार । 

म तिमीलाई ‘कुपको मण्डुक’ भन्छु भने
तिमी मलाई सोझै ‘सन्काहा’ भन्न सक्छौ 
सोझै भन ‘सन्काहा’ 
नपारीकन मनलाई धरमर,
चटुकारले चाटुकरिता घसेजस्तै 
विन्ती नभन ‘नमस्ते सर’ ।

तिम्रो एक कप चियामा पनि 
म चाख्छु– मेरो स्वत्वमानै जहर,
तिम्रा हरेक सम्मानित शब्दमा पनि 
म सुन्छु– अपेक्षाका पहर,
बेशक ‘सन्काहा’ भन्यौ भने साथी 
मन देखाउने ‘आँटी’ भन्छु 
बदलिनुका लागि गर्दिनँ 
कुनै बल, कुनै कर 
यदाकदा जम्काभेटमा गर्नेछु 
एउटा मर्दको ठहर,
त्यसैले– अब आइन्दा 
मेरो सामुन्नेमा 
नपुसंकजस्तो उभिएर 
बिन्ती नभन मलाई 
‘नमस्ते सर’ !       

 

नारायणगढ, चितवन