लोककथा, लोकगीत, लोकनृत्य र सबैजसो लोकसंस्कृतिका पक्षहरूमा नदीको संस्कृतिको प्रभाव
नेपालमा नदी संस्कृति: एक अबलोकन
आश्विन २४, २०७७

विश्वका जुनसुकै देशको संस्कृति वा सभ्यता भनौँ तिनीहरूको शुरूआत वा जन्म कुनै न कुनै नदीसँग जोडिएको पाइन्छ । सिन्धुघाँटी सभ्यता इन्दस अर्थात् सिन्धु नदीसँग जोडिएको छ भने मिश्रको सभ्यता नाइल नदीसँग जोडिएको छ । त्यस्तै नेपाल उपत्यकाको संस्कृति र सभ्यता वाग्मती, विष्णुमती नदी र अन्य खोला–नालासँग जोडिएको छ । मूलतः वाग्मतीसँग जोडिएको नेपाल उपत्यकाको यो सभ्यता 'वाग्मती सभ्यता' भनी प्रसिद्ध छ । 

नेपालको भू–भागबाट बग्ने सबै नदी–नालाहरू अन्ततः भारतको गङ्गा नदीमा गई मिसिने हुनाले हामीहरू नदीलाई गङ्गाजी भनी सम्बोधन गर्छौँ । हाम्रा नदीहरू चाहे ती कोशी, कर्णाली, भेरी, राप्ती, सेती, महाकाली र मेची नै किन नहुन् यी सबै ठूल्ठूला नदीहरूका साथै नेपाल उपत्यकालाई सिञ्चन गरी हराभरा पारी जीवन्तता प्रदान गर्ने वाग्मती या विष्णुमती हुन् ती सबै हाम्रा लागि गङ्गाजी झैँ पवित्र तथा पुण्य छन् । 

गङ्गा र नदी हामी नेपालीहरूको लागि पर्यायवाचक शब्द हुन् । हामी नेपालीहरू नदी भन्ना साथ गङ्गाजीलाई सम्झन्छौँ । नेपालको भू–भागमा बगिरहेका सम्पूर्ण नदी–नालाहरूको स्रोत मुख्यतया हिमालय पर्वत शृङ्खला नै हो । पुराणअनुसार गङ्गा हिमालयकी पुत्री हुन् । परापूर्व कालमा गङ्गा स्वर्गमा थियो । कपिल ऋषिले सगर राजाका साठी हजार छोराहरूलाई भष्म गरेपछि भगिरथ राजाले आफ्नो तपस्याको बलले गङ्गाजीलाई स्वर्गबाट पृथ्वी ल्याएको कुरा पुराणहरूमा वर्णित छ । यस गङ्गाजीसँग जोडिएका धेरै कथाहरू हाम्रा धार्मिक ग्रन्थहरूमा पाइन्छन् । 

महादेव अथवा भगवान् शिवको जटाबाट निस्केकी, भगवान् विष्णुको देब्रे खुट्टाको औँलाले ब्रह्माण्डमा थिच्दा प्वाल पर्न गई त्यहाँबाट निस्केकी हुनाले गङ्गालाई 'विष्णुपदी' पनि भनिन्छ । पौराणिक ग्रन्थहरूमा यसरी हाम्रा नदीहरूको ब्रह्मा, विष्णु र महेश्वर तीनै देवताहरूसँग सम्बन्ध गाँसिएका वर्णनहरू पाइन्छन् । 

नेपालमा करिव छ हजारओटा नदी र खोला–नालाहरू छन् । हाम्रा ठूल्ठूला मुख्य नदीहरूमा कोशी, गण्डकी, कर्णाली र महाकाली नदीहरूको उद्भव हिमालहरूबाट भएका छन् भने मेची, कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती र बबई नदीहरूको प्रादुर्भाव महाभारत पर्वत शृङ्खलाबाट भएका छन् । 

नेपाल र नेपालीहरूको लागि गङ्गा अर्थात् नदीको धार्मिक, सामाजिक, सांस्कृतिक र आर्थिक महत्व छ । हामीहरू नदीलाई यस लोक (पृथ्वी) र परलोक अर्थात् स्वर्गलोकसँग जोड्ने माध्यम अथवा पुलको रूपमा मान्दछौँ । त्यसैले पितृ कार्यहरू जस्तै श्राद्ध, तर्पण, दान, धर्म आदि नदीमा गई गर्नाले पितृले चाँडै नै त्यसका फलहरू प्राप्त गर्दछन् भनी विश्वास गर्दछौँ । नेपाली समाजमा राष्ट्रका सबैजसो प्रमुख नदी र खोलाहरूको आ–आफ्नै किसिमको धार्मिक एवम् सांस्कृतिक महत्व छ ।

तर सबैभन्दा बढी महत्व भने काठमाडौँ उपत्यकाभित्र बगिरहेका वाग्मती र विष्णुमतीलाई नै दिने गरेको पाइन्छ । 'नेपाल माहात्य' मा भनिएको छ ः नदीहरूमा श्रेष्ठ वाग्मती हुन्, त्यसमा जहाँ कहीँ नुहाइयो भने पनि वाजपेय र अश्वमेघ यज्ञ गरेको फल प्राप्त हुन्छ । त्यसरी नै 'पशुपति पुराण' मा भनिएको छ :  पवित्र जल भएकी वाग्मतीमा स्नान मात्र गर्नाले पनि तीर्थसेवी पुण्यात्माहरूको सबै किसिमको आध्यात्मिक, भौतिक, दैविक सम्पूर्ण बिघ्न (दुःख–कष्ट) हरू नाश हुनेछन् । बराह पुराणको २१५ देखि २१७ सम्मको अध्यायमा वाग्मतीको माहात्म्यको वर्णन छ । 'अग्नि पुराण' मा भनिएको छ : नदीले जुनसुकै ठाउँबाट बगे पनि त्यो पवित्र हुन्छ । नदीमा नुहाउनु भन्नु नै स्वर्गको अनुभूति प्राप्त गर्नु हो । 

नदीको पवित्रता, धार्मिक मान्यता र महिमा दुई नदी मिलेको ठाउँ सङ्गम अथवा दोभानको झन बढी हुन्छ । त्यस्तै तीनओटा नदी मिलेको ठाउँलाई त्रिवेणी भनिन्छ । जसको अझ बढी धेरै महत्व हुन्छ । त्रिवेणीलाई ब्रह्मको द्योतक ‘ओम्ः’ सँग सम्बन्धित र गङ्गा, यमुना र सरस्वती नदीहरूको प्रतीक मानिन्छ । पौराणिक कथनअनुसार ‘ओम्ः’ को तीन भाग अर्थात् अ, उ एवम् म् ले क्रमैसँग सरस्वती, यमुना र गङ्गालाई प्रतिनिधित्व गर्दछ र यी तीनै नदीहरूलाई भगवान् विष्णुका प्रद्युम्न, अनिरुद्र र सङ्कर्षका प्रतीक मानिन्छन् ।  

हाम्रो धर्म र परम्पराअनुसार दोभान (वेणी) र त्रिवेणी सबै तीर्थ हुन् । ती तीर्थहरूमा गई स्नान, दान, धर्म आदि पुण्य कामहरू गर्नाले मोक्ष प्राप्त हुने, अभिलाशा पूरा हुने, निरोगी हुने र गरेको काम सिद्ध हुने विश्वास गरिन्छ । नेपालका प्रसिद्ध त्रिवेणीहरूमा नारायणी, सोना र पञ्च नदीहरूको रूपमा नवलपरासी जिल्लामा रहेको त्रिवेणी, उदयपुर जिल्लाको कमला नदी, तावा खोला र ककरु खोलाको त्रिवेणी र कोशी र कोका नदीको सङ्गम रहेको बराह क्षेत्र पनि त्रिवेणी हुन् । भनिन्छ वाग्मतीको मात्रै सङ्गम तीर्थहरू ८८ ओटा छन् । यसरी हाम्रो देशका सबै नदीनालाहरूबाट सयौँको सङ्ख्यामा दोभान वेनी, त्रिवेणी आदि तीर्थस्थलहरू बनेका छन् । 

नेपाली चाहे त्यो हिन्दु होस् वा बौद्ध जोसुकैलाई पनि इहलोकबाट परलोक अथवा मृत्युपछि प्राप्त हुने स्वर्गलोक या अन्य जुनसुकै लोक होस् ती लोकहरूमा प्रस्थान गर्न नदीलाई नै एउटै मात्र माध्यम मानिन्छ । त्यसैले नदीले हामीलाई बाँचुन्जेल अमृत जलप्रवाह गरी जीवन्तता प्रदान गर्दछ भने मृत्यु पर्यन्त पनि हाम्रो यो भौतिक शरीरलाई मोक्ष प्रदान गर्ने, यो भवसागरबाट तार्ने र उद्धार गर्ने काम गर्दछ ।

वागद्वारबाट बग्दै आएको वाग्मतीको किनार अवस्थित गोकर्णेश्वर महादेवको ठूलो महिमा छ । काठमाडौँ उपत्यकाको ब्रह्मतीर्थ एवम् उत्तरगयाको नामले प्रसिद्ध यस तीर्थस्थलमा कुशेऔँसी, बाबुको मुख हेर्ने दिनमा परलोक भएका बाबु, बाजेहरूको नाम श्राद्ध गर्नेहरूको ठूलो भीड लाग्ने गर्छ । वाग्मती बग्दै बग्दै पशुपतिमा आइपुग्दछ र आराध्यदेव श्री पशुपतिनाथलाई आर्यघाटबाट बग्दै गएको वाग्मतीको पानी चढाई दर्शन गर्ने र वर्षभरि महत्वपूर्ण पर्वहरूमा आर्यघाटमा आई नुहाई पशुपतिनाथको दर्शन गर्नाले संसारिक दुःख–कष्ट हरण हुनुका साथै मुक्ति प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । खास गरी शिवरात्रि, ऋषिपञ्चमी, एकादशी, पूर्णिमा र ग्रहणका दिनहरूमा वाग्मतीमा स्नान गर्ने चलन छ ।

वाग्मती शंखमूलमा आइपुग्दा वाग्मती, मनोहरा र गङ्गाको त्रिवेणीमा परिणत हुन्छ । काठमाडौँका बौद्धमार्गीहरूले नेवारी महिनाको नवौँ महिनामा मनाउने 'गुँला' पर्वमा महिनाभर नै धर्मभीरुहरू नदीमा आई बालुवा र भातको मिसावट गरी स–साना चैत्य बनाउँद छन् र अन्तिम दिनमा ती चैत्यहरू नदी बीच दोभानमा लगी बगाउने गर्दछन् । यस क्षेत्रको सबैभन्दा महत्वपूर्ण वाग्मती र विष्णुमतीको सङ्गम रहेको स्थान टेकु दोभान अर्थात् चिन्तामणि तीर्थ हो । यो तीर्थस्थल हिन्दु र बौद्ध दुवैको लागि अति नै पवित्र मानिन्छ । 

नेपाल मण्डल अर्थात् काठमाडौँ उपत्यकाभित्र बारओटा प्रमुख तीर्थस्थलहरू छन् ती सबै कुनै न कुनै पवित्र नदीहरूका सङ्गमस्थल पनि हुन् । जस्तै गोकर्णलाई चन्द्रभागा नदी र वाग्मतीको सङ्गमस्थल ब्रह्मतीर्थ (उत्तरगया) भनी मान्दछन् । गुह्येश्वरीलाई मारदायिणी र वाग्मती नदीको सङ्गमस्थल शान्त तीर्थ भनी मान्दछन् । शंखमूललाई मणिमती र वाग्मतीको सङ्गमस्थल शंकरतीर्थ भनी मान्दछन् । धन्तलीलाई राजमन्जरी र वाग्मतीको सङ्गमस्थल राजतीर्थ भनी मान्दछन् । खुसीख्यलाई विमलावती र केशावती नदीको सङ्गमस्थल निर्मल तीर्थ भनी मान्दछन् । कंग खुसीलाई सुर्वणवती र केशावतीको सङ्गमस्थल निधानतीर्थ भनी मान्दछन् । कह्रखुसीलाई पाप नाशिनी र केशावतीको सङ्गमस्थल ज्ञान तीर्थ भनी मान्दछन् । पञ्चली (टेकु) लाई वाग्मती र केशावतीको सङ्गमस्थल चिन्तामणि तीर्थको रूपमा मान्दछन् । दानिगा (दागा खुसी) लाई वाग्मती र प्रभावतीको सङ्गमस्थल सुलक्षण तीर्थको रूपमा मान्दछन् र अन्तमा नेखु (नख्खु) लाई प्रभावती र वाग्मतीको सङ्गमस्थल जयतीर्थको रूपमा मान्दछन् । 

पूर्वी नेपालमा कोशीलाई मुख्य नदी मानिन्छ । यो नदी र कोका नदीको दोभानमा अवस्थित बराह क्षेत्र त्यस भेगको सबैभन्दा ठूलो तीर्थस्थल हो । राई समुदायका मानिसहरूले परिवारमा कसैको मृत्यु भएमा बराह क्षेत्रमा कात्र्तिक पूर्णिमाको दिन आई नचोखिउन्जेलसम्म सम्पूर्ण घर नै अपवित्र रहेको मान्दछन् । पूर्वी नेपालको उदयपुर जिल्लाको कमला नदीमा तावा खोला मिलेको ठाउँभन्दा अलि पूर्वमा तावा खोलामा ककरु खोला मिल्ने भएकोले त्रिवेणी सङ्गमको रूपमा यस स्थानलाई मानिन्छ ।

यहाँ हरेक वर्ष माघे सङ्क्रान्तिमा मेला लाग्दछ । जुन नेपालको पूर्वी भागमा लाग्ने माघे मेलाहरूमा सबैभन्दा ठूलो हो । सो मेला भर्न भारत विहारबाट पनि प्रशस्त तीर्थयात्रीहरू आउँदछन् । तिनीहरूले कमला नदीमा नुहाई कलिला पाठा, परेवा आदिको भोग चढाउने गर्दछन् । यो मेला मैनी मेलाको नामले प्रख्यात छ । यसरी नै खोटाङस्थित साप्सु खोलामा पनि पञ्चबलि चढाई भाकल पूरा गर्ने चलन छ । यो चलन खास गरी किरात समुदायका मानिसहरूमा बढी पाइन्छ । पूर्वी नेपालमा खोलाहरूमा बलि दिने एउटा अनौठो चलन छ । यसरी नदीहरूमा बलि दिने चलनलाई नेपालको आफ्नो मौलिक र बेग्लै पहिचान दिने परम्परा मान्न सकिन्छ । 

नेपालको मध्यमाञ्चल क्षेत्रको सिन्धुली जिल्लामा कमला नदी र ग्वाङ खोलाको सङ्गम कमलामाई स्थानलाई प्रख्यात धार्मिकस्थल मानिन्छ । माघे सङ्क्रान्तिको दिन यहाँ ठूलो मेला लाग्दछ । निकै टाढा टाढाबाट मानिसहरू मेला भर्न आउँछन् । यस अवसरमा यहाँ हजारौँको सङ्ख्यामा पाठा, परेवा आदि बलि दिइन्छ । काभ्रे जिल्लाको पनौती बिहावर खोला (रोसी) र पुण्यमती नदीको सङ्गमस्थल त्रिवेणी दोभान हो । यहाँ प्रत्येक १२ वर्षमा माघ महिनाभर मक्कर मेला र प्रत्येक ६ वर्षमा कुम्भ मेला लाग्छ । त्यसबखत हजारौँ मानिसले यहाँ आई स्नान गरी पूजापाठ गर्ने गर्दछन् । 

चितवन जिल्लामा अवस्थित कालीगण्डकी र त्रिशूली गङ्गाको सङ्गमस्थल देवघाटलाई धार्मिक दृष्टिकोणले अति महत्वपूर्ण तीर्थस्थल मानिन्छ । यो सप्तगण्डकी,  काली, सेती, मादी, मस्र्याङ्दी, दरौदी, बूढी र त्रिशूलीको सङ्गमस्थल देवघाट भनी प्रसिद्ध छ । माघे सङ्क्रान्तिको दिन यहाँ ठूलो मेला लाग्दछ । गण्डकी महात्म्यले देवघाटलाई हरिहर क्षेत्र र आदि प्रयाग भनी मानेको छ । नुवाकोट जिल्लामा त्रिशूली र टाढी नदीको दोभानलाई त्रिवेणी अर्थात् देवीघाट भनिन्छ । यहाँ जाल्पादेवीको मन्दिर छ । देवीको दर्शन गर्न र त्रिशूलीमा स्नान गर्न हरेक चैत्र शुक्ल पूर्णिमाको दिन यहाँ मेला लाग्दछ । यसलाई देवीघाटको मेला भनिन्छ । यही पवित्र देवीघाटमा राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको अन्तिम दाहसंस्कार भएको थियो । मकवानपुर जिल्लाको पालुङमा सोल्टु अथवा सोलु खोला र महादेव खोला (पाण्डुकेश्वर महादेव) र हात्ती पाइले खोलाको त्रिवेणी सङ्गमलाई शंखमूल भनिन्छ । यहाँ जनैपूर्णिमाको दिन हिले जात्रा र सँगैको इन्द्रायणी देवीको चौरमा तीन वर्षमा एकपटक इन्द्रायणी मेला लाग्दछ । 

पर्वत जिल्लाको सदरमुकाम कुश्माको दक्षिण भागमा श्रीकृष्ण गण्डकी काली र मोदी नदीको सङ्गमलाई मोदी वेणी तीर्थस्थल भनिन्छ । यहाँ हरेक एकादशी, माघेसङ्क्रान्ति, श्रीपञ्चमी, फागुपूर्णिमा र शिवरात्रिमा मेला लाग्दछ । यस पवित्र सङ्गमस्थलमा नरसिंह भगवान्को प्रादुर्भाव भएको विश्वास गरिन्छ । यहाँ नरसिंह भगवान्को सुन्दर मूर्ति र मन्दिर छ । यसै जिल्लामा सेती खोला र कालीगण्डकीको दोभान सेती वेणी पनि एक प्रमुख तीर्थस्थलको रूपमा रहेको छ । यहाँ कार्तिक, माघ र वैशाख महिनाको सङ्क्रान्तिमा मेला लाग्दछ । 

मुस्ताङ जिल्लामा अवस्थित कालीगण्डकी क्षेत्रमा शालिग्राम पाइने हुनाले त्यो सम्पूर्ण क्षेत्र नै पवित्र र पुण्य मानिन्छ । कृष्णगण्डकी र कालीगण्डकीको सङ्गम अर्थात् वेणी मुस्ताङको कागवेणी नेपालीहरूको एक महान तीर्थस्थल हो । यहाँ आई पितृको श्राद्ध गर्नाले पितृ चाँडै तर्छन् भन्ने जनविश्वास र धार्मिक आस्था छ । 

म्याग्दी जिल्लाको सदरमुकाम वेणी कालीगण्डमी र मङ्गला नदी (म्याग्दी खोला) को सङ्गमस्थलमा अवस्थित छ । प्राचीन कालमा पुलस्य ऋषिले तप यज्ञादि कर्म गरेको भूमि हुनाले यस तपोभूमिलाई पुलत्स्य प्रयाग 'पुला' पनि भनिन्छ । वेणीबाट एक कोस जति उत्तरतर्फ कालीगण्डकी र राहुघाट खोलाको दोभाननिर साह्रै ठूलो र भव्य शिला छ । यसै शिलाकोे माथि एउटा शालिग्राम छ । यसैलाई गलेश्वर महादेव भनी पुज्ने गर्दछन् । गलेश्वर महादेव बारे धेरैले विश्वास गर्दछन् । गलेश्वर मन्दिरको पूर्वपट्टिको किनारमा जडभरतको शिला पनि छ । यहाँ बालाचतुर्दशीमा ठूला मेला लाग्दछ । 

बाग्लुङ बजारदेखि पूर्वतिर कृष्णगण्डकीको किनारमा निरहे घाटमा जंगेश्वर महादेव र लक्ष्मीनारायणको मन्दिर छ । यहाँ कात्र्तिकको ठूलो एकादशीको दिन मेला लाग्दछ । जनैपूर्णिमाको दिन ढोरपाटन, उत्तर गङ्गामा मेला लाग्दछ । रिँडी, रुकुम आदि ठाउँबाट समेत भक्तजनहरू मेला भर्न आउँछन् । कालुङ खोला र कालीगण्डकीको दोभानमा परापूर्व कालमा जयमुनि ऋषिले तपस्या गरेको भनिने यस स्थानलाई ज्यामिरघाट भनिन्छ । यहाँ माघे सङ्क्रान्तिमा ठूलो मेला लाग्छ । 

पश्चिमाञ्चल विकास क्षेत्रको रिँडी अर्थात् रुरु क्षेत्रलाई अति नै पवित्र तीर्थस्थल मानिन्छ । कालीगण्डकीको किनारमा रुरु क्षेत्रमा अवस्थित छ । यहाँको ऋषिकेश नारायणको मूर्ति पाल्पाली राजा मुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्दा अकस्मात भेट्टाएर यहाँ स्थापना गरेको हो भन्ने जनश्रुति छ । कात्र्तिक एकादशीदेखि पूर्णिमासम्म यहाँ ठूलो मेला लाग्दछ । उक्त दिन कालीगण्डकीमा स्नान गर्न र ऋषि केशवको दर्शन गर्न यस जिल्लावाहेक छिमेकी जिल्लाका पनि हजारौँ मानिस आउँछन् । माघे सङ्क्रान्तिमा यहाँ तीन दिनसम्म ठूलो मेला लाग्छ । यसलाई 'रिँडी मेला' पनि भनिन्छ । गुल्मी जिल्लाको अर्को पवित्र तीर्थस्थल रुद्रवेणी हो । बडीगाउँ नदी कृष्णगण्डकीमा मिसिने दोभानको नाउँ रुद्रवेणी हो । बडीगाउँलाई रुद्र गङ्गा पनि भनिन्छ । जनैपूर्णिमा, माघेसङ्क्रान्ति, कात्र्तिक एकादशी आदि दिनहरूमा यहाँ नुहाई मर्यादा पुरुषोत्तम रामको दर्शन गरी पाप पखाल्ने तथा पुण्य सञ्चय गर्ने मानिसहरूको घुइँचो लाग्दछ । अर्घाखाँची जिल्लाको चुत्राबेँसीलाई वागी खोला, घोचो खोला र भद्रे खोलाहरूको सङ्गममा परेको हुनाले यस ठाउँलाई त्रिवेणीपुर पनि भनिन्छ । शिवरात्रि र माघे सङ्क्रान्तिमा यहाँ मेला लाग्छ । फागुपूर्णिमा र कात्र्तिक महिनाको ठूलो एकादशीमा पनि यहाँ मेला लाग्छ । वडा दशैँको द्वादशीको दिन यहाँ लाग्ने मेलामा सराय नाच पनि नचाउने चलन छ । 

कपिलवस्तु जिल्लाको सबैभन्दा ठूलो महत्वपूर्ण नदी वाणगङ्गा हो । रावणले नर्तनाचलभन्दा केही दक्षिणमा आफ्नो वाणले पहरो फोरेर पानी निकालेको ठाउँबाट बग्ने नदी हुनाले यस नदीलाई वाणगङ्गा भनिएको हो । अर्को किम्बदन्तीअनुसार यो नदी रामचन्द्रले वाण हानी उत्पन्न गरेको हुँदा वाणगङ्गा भनिएको हो । यस नदीको किनारमा रामघाट, लक्ष्मणघाट आदि धार्मिक दृष्टिकोणले महत्वपूर्ण स्थानहरू छन् । यी स्थानहरूमा माघेसङ्क्रान्ति र अन्य महत्वपूर्ण चाडको बेला मेला लाग्दछ । अनावृष्टिको बेला गङ्गाको रामघाटमा गई पाठपूजा, यज्ञ आदि गरी पानीमा डुबुल्की मार्‍यो भने पानी पर्छ भन्ने विश्वास गरिन्छ । 

हुम्ला जिल्लाको कर्णाली र दोजाम खोला दोभान खार्पुनाथ त्यस जिल्लाको प्रमुख तीर्थस्थलहरू मध्ये एक हो । कर्णालीको नीलो पानी र दोजाम खोलाको सेतो पानी मिलेको दोभानमा बर्सेनि माघेसङ्क्रान्ति र शिवरात्रिमा ठूला मेलाहरू लाग्छन् । तिव्रिकोटमा तिला र जबा नदीको सङ्गमस्थल दानसाँगु नामले प्रसिद्ध छ । यस सङ्गममा जुम्ला र तिव्रिकोटका निवासीहरू हरेक ठूल्ठूला पर्वहरूमा नुहाउन आउने गर्दछन् । विशेष गरी तीजको दिन आसपासका गाउँका महिलाहरूको मेला लाग्दछ । यो स्थान जुम्ला र तिव्रिकोट वरपरका तेह्र गाउँका मानिसहरूले घाटको रूपमा प्रयोग पनि गर्दछन् र यसलाई त्रिवेणी मसानघाट पनि भनिन्छ । त्रिवेणीमा शिवजीको प्रसिद्ध मन्दिर पनि छ । खडेरी परेको बेलामा यस भेगका मानिसहरू भेला भई–शिवपूजा गरी पानी माग्ने चलन छ । दैलेख जिल्लाको नाभी खोला, छामगाड खोला र पादुका खोलाहरूको दोभान र किनारमा अवस्थित पञ्चकोशी अथवा पञ्चतीर्थ जिल्लाकै सबैभन्दा प्रमुख र प्रसिद्ध धार्मिकस्थल हुन् ।

जनुश्रुतिअनुसार सतीदेवीका अङ्गहरू पतन हुँदा शिरस्थानमा शिर, नाभीस्थानमा नाभी, पादुका स्थानमा पाउ, कोटिलामा अङ्ग र धुलेश्वरमा अङ्गको धुलो पतन भएको थियो साथै शिरस्थान, नाभीस्थान र पादुकास्थानमा ज्वालाहरू नारायणको शिर, नाभी र पाउबाट निस्केका ज्वालाहरू हुन् भन्ने भनाइ पनि छ । शिरस्थान नाभी खोला र छामगाड खोलाको दोभानमा पर्दछ । शिरस्थानमा ज्वालादेवी मन्दिर छ र त्यहाँ परापूर्व कालदेखि ज्वाला बलिरहेको छ । पत्येक वर्ष शिवरात्रिमा यहाँ ठूलो मेला लाग्दछ र मेला भर्न यस जिल्लाका साथै बाहिर जिल्लाहरूबाट पनि तीर्थ यात्रीहरू आउँछन् । मृत व्यक्तिहरूको दाहसंस्कार यहाँ भएमा पुण्य रूपले तर्छन् भन्ने विश्वास यहाँ पाइन्छ । नाभीइ खोलाको तीरमा नाभीस्थान छ । नाभीस्थानमा पनि परापूर्व कालदेखि ज्वाला बलिरहेको छ । यहाँ प्रत्येक वर्ष माघे सङ्क्रान्तिमा मेला लाग्दछ । पादुका खोलाको किनारमा पादुका स्थान रहेको छ । यहाँ पनि परापूर्व कालदेखि बलिरहेको ज्वाला छ । यहाँ प्राचीन मूर्ति र मन्दिरहरू छन् । यहाँ हरेक वर्ष माघ शुक्ल पूर्णिमाको दिन ठूलो मेला लाग्दछ । छामगाड खोलाको पूर्वी किनारमा कोटिलाको मन्दिर छ । यो महादेवका मन्दिर हो । वर्षात्मा पानी नपरेमा यस मन्दिरमा गई पानी मागे पानी पर्छ भन्ने विश्वास गरिन्छ । दैलेख जिल्लाकै लोहोरे खोला र पराजुल खोलाको दोभानमा डुङ्गेश्वर महादेवको मन्दिर छ । श्रीपञ्चमीको दिन यहाँ ठूलो मेला लाग्दछ । 

नेपालको सुदूर पश्चिमाञ्चलको दार्चुलाको महाकाली नदीको किनारमा अवस्थित तपोवन एउटा पवित्र स्थान हो । महाशिवरात्रिको दिन यहाँ ठूलो मेला लाग्छ । यहाँ एउटा तातोपानीको धारो छ जहाँ यात्रीहरू स्नान गर्ने गर्दछन् । महाकाली नदी किनारमा रहेको अर्को धार्मिकस्थल हो जोलजिबी । यो स्थान महाकाली नदी र गौरी नदीको सङ्गमस्थल हो । यहाँ कात्तिक मसान्तदेखि लगातार पाँच दिनसम्म सुदूर पश्चिममा नेपालको सबभन्दा ठूलो मेला लाग्दछ । 

नेपाली संस्कृतिलाई आध्यात्मिक पुट दिएर धनाढ्य तुल्याएर, मनोरञ्जक बनाएर नेपाली जनजीवनलाई रसिलो, भरिलो र बाँच्न लायक बनाउन नदी अर्थात् पानीले ठूलो भूमिका खलेको छ । यो कुरा हामीले हाम्रा चाड, पर्व, जात्रा, मेला, उत्सव र रीति–रिवाजहरूबाट थाहा पाउँछौँ । हाम्रा यी हिम नदीहरू, तालहरू, तलाउहरू, कुण्डहरू तथा पोखरीहरू आदि सब हाम्रा चाड, पर्व, जात्रा, मेला, उत्सव, रीति–रिवाज आदिका स्रोत प्रेरणाका केन्द्रहरू बनेका छन् । नेपालीहरूको सबैभन्दा ठूलो चाड वडा दशैँ अथवा दुर्गा पूजालाई नवरात्रिको रूपमा मनाइन्छ । नवरात्रिको नौ दिनसम्म विभिन्न तीर्थस्थलहरूमा गई स्नान गर्ने परम्परा छ । जस्तै प्रत्येक महिनाको पहिलो दिन सङ्क्रान्तिलाई पनि हामी धेरै पवित्र दिन मान्दछौँ । सङ्क्रान्तिको दिनमा नदीमा गई स्नान गरी दान धर्म गर्ने हाम्रो परम्परा छ । सङ्क्रान्तिहरू मध्ये वैशाख सङ्क्रान्ति, श्रावण सङ्क्रान्ति र माघे सङ्क्रान्तिलाई हामी धेरै महत्व दिन्छौँ । ती दिनहरूमा कुनै पवित्र नदीमा गई स्नान गर्नाले पुण्य पाइन्छ भन्ने विश्वास गरिन्छ । 

हाम्रो देशको लोककथा, लोकगीत, लोकनृत्य आदि सबैजसो लोकसंस्कृतिका पक्षहरूमा पनि नदीले ठूलो र महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । जस्तै मेची अञ्चलको लोकगीतमा 'कोशी किनार को फूलै फुल्यो, सुनकेवरा फूल फूलै फुल्यो है, मग मग बास........ ।' सगरमाथा अञ्चलको लोकगीतमा 'तम्मरैपारि महाचीन, आएन हाम्रो सुख दिन, लौ लौ माया लौ लौ' आदि ।

यसरी हाम्रो देशको पूर्व मेचीदखि पश्चिम महाकालीसम्म, उत्तर हिमालदेखि दक्षिण तराईसम्म मानिसहरू युगौँदेखि गाउँदै आएका, नाच्दै आएका, रम्दै आएका लोकगीत, लोक नाचहरूमा हाम्रो देशका पवित्र नदीहरू कोशी, कर्णाली र वाग्मतीहरूको प्रशंसा र वर्णनहरू पाइन्छन् । लोककथामा पाटनको प्रसिद्ध ग्वाय बाजेको शंखमूल तीर्थको पानीले मृत व्यक्तिलाई जीवित पारेको कथा उपत्यकाभरि प्रसिद्ध छ । 

नेपाली संस्कृतिमा नदीहरूको अत्यन्तै महत्वपूर्ण भूमिका छ । केही वर्ष अघिसम्म जीवनका अन्तिम दिनहरूमा घाटहरूको स्वच्छ जलवायु र त्यहाँ रहेका देवदेवीहरूको छत्र छायामा बसी प्राण त्याग गर्नु नै सबै नेपालीहरूको अन्तिम इच्छा हुन्थ्यो । तर हिजोआज प्रदूषित नदी र औषधोपचारको धेरै सुविधा भएको हुनाले मानिसहरूको यो इच्छा प्रायः नगन्य नै भइसकेको छ । तैपनि सबै ठाउँबाट निराश भइसकेपछि नेपालीहरूको प्राण त्याग गर्न नदी र घाटमा आउने चाहना भने अझै जीवितै  छ । मृत व्यक्तिले अन्तिमपटक यही नदीको पवित्र जल सेवन गर्दछ । मृत व्यक्तिको अवशेष (खरानी) लाई यही नदीले पार लगाउँछ अथवा मुक्ति प्रदान गर्दछ । मृतक व्यक्तिको आत्माको शान्तिको लागि र मृतक व्यक्तिलाई यस ब्रह्माण्डबाट मुक्ति दिनको लागि गरिने वर्ष दिनभरिको विभिन्न शुद्धीकरणका क्रियाकलापहरू, श्राद्धहरू, दानहरू सबै नदीमा नै आई गरिन्छ । 

नेपाली चाहे त्यो हिन्दु होस् वा बौद्ध जोसुकैलाई पनि इहलोकबाट परलोक अथवा मृत्युपछि प्राप्त हुने स्वर्गलोक या अन्य जुनसुकै लोक होस् ती लोकहरूमा प्रस्थान गर्न नदीलाई नै एउटै मात्र माध्यम मानिन्छ । त्यसैले नदीले हामीलाई बाँचुन्जेल अमृत जलप्रवाह गरी जीवन्तता प्रदान गर्दछ भने मृत्यु पर्यन्त पनि हाम्रो यो भौतिक शरीरलाई मोक्ष प्रदान गर्ने, यो भवसागरबाट तार्ने र उद्धार गर्ने काम गर्दछ । तसर्थ नेपालीहरूको लागि नदीको महत्व र महिमा साँच्चै नै अपार छ र नेपाली संस्कृतिको मूल स्रोत नै नदी भएको हुनाले नेपाली संस्कृतिलाई नदी संस्कृति भन्न सकिन्छ । 

सन्दर्भ  ग्रन्थहरू :
१)    राणा प्रसाद शर्मा, २०२८, 'पौराणिक कोश, ज्ञानमण्डल लिमिटेड, वाराणसी ।
२)    श्रीमद्भागवद् महापुराण (प्रथम खण्ड), २०६५ गीता प्रेस, गोरखपुर ।
३)    मुक्तिनाथ खनाल (अनुवादक), २०२८, 'नेपाल महात्म्य' नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान ।
४)    मधुसुदन रिसाल ‘प्रदीप’ (अनुवादक), २०२१, 'पशुपति पुराण' नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान ।
५)    रेडियो नेपाल प्रकाशन, २०२०, हाम्रो लोकगीत ।
६) जगमान गुरुङ, २०६१, नेपालको राष्ट्रिय समीकरणको परिप्रेक्ष्यमा गण्डकी प्रस्त्रवन क्षेत्रका तीर्थस्थलहरूको विश्लेषणात्मक अध्ययन, त्रि.वि., नेपाल तथा एसियाली अनुसन्धान केन्द्र ।
७)    साफल्य अमात्य, २०५३, काठमाडौँ नगरायण, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान ।
८)      साफल्य अमात्य, २०६०, पानी र संस्कृति, नेपाल खानेपानी संस्थान ।
९)  Shaphalya Amatya, Water & Culture, Lalsrot Vikas Sansthan (JVS), 2006, Kathmandu, Nepal
१०) Shaphalya Amatya, Riverine Heritage of Kathmandu Valley, The Sunday Post, April 9, 1995.
११) J.B. Disanayaka, Water in Culture: The Srillankan Heritage, 1992, Ministry of Environment And Parliamantary Affairs, Sri Lanka.
१२)  Goethe- Institute, 1995, Bagmati, Kathmandu.

(नेपाल प्रज्ञा–प्रतिष्ठानको हीरक जयन्तीको उपलक्ष्यमा २०७४ साल जेठ ६–८ गते प्रज्ञा–भवन काठमाडौँंमा आयोजित राष्ट्रिय वाङ्मय सङ्गोष्ठीमा प्रस्तुत कार्यपत्र)