देवेन्द्र केसीका मुक्तकहरू
आश्विन २४, २०७७


पीडाका खातहरूले घेरिएको छ मान्छे
समस्याका बाढीहरूले बेरिएको छ मान्छे
महामारीको रौद्र रूप विश्वभरि नै फैलिएको छ
लाचार र विवश मुहारमा फेरिएको छ मान्छे ।


फूल चढाउनेलाई तिरस्कार गर्‍यौ कि कतै
बगेकी प्रेम–गङ्गामा जहर छर्‍यौ कि कतै
जाति हुन्न हजुरको मनमा पाप भर्नेलाई
मेरी मनकी चरीले बास सर्‍यौ कि कतै !


कसैले इमान्दारीको गुणगान गाए
कसैले सत्य र न्यायको बखान सुनाए
इमान, सत्य र न्याय पर्दा पछाडि रोए
बेइमान, भ्रष्ट र घातीले धन–मान कमाए ।


जन्मथलो बिर्सिनेहरूलाई पाप लाग्छ पक्कै
कर्मथलो मात्र चुम्नेहरूलाई मात लाग्छ पक्कै
कर्मथलो र जन्मथलो छुट्याउनुहुँदैन स्वार्थमा
इमान बेचिदिनेहरूलाई घात लाग्छ पक्कै ।


होचो कसैको कद हुँदैन 
आत्मा कसैको बध हुँदैन 
दुखी रहोस् यो नाथे मन 
अटुट कसैको पद हुँँदैन ।


दुष्ट मति पसिसकेपछि केही लाग्दो रहेनछ 
कुलतमा फसिसकेपछि केही लाग्दो रहेनछ 
माटोको माया नै नलागेपछि बाँकी के नै रह्यो र ?
इमानबाटै खसिसकेपछि केही लाग्दो रहेनछ ।


अक्षरहरू उनेर मुक्तक, कविता बनाउन खोज्छ ऊ 
अनायासै रोइदिन्छ पापी मन, मनाउन खोज्छ ऊ 
होचो कदको सिकारुलाई वाहवाह किन चाहियो ?
अग्लाहरूको अगाडि उपस्थिति जनाउन खोज्छ ऊ ।


समुद्र आँसु खोज्दै मेरै घर आइपुगेछ 
पीडा, छट्पटी बोकेर झन् वर आइपुगेछ 
तिम्रो कित्तामा नपुगोस् दुःख मनसुवा मेरो 
गाउँतिर सारेको पाइला शहर आइपुगेछ ।


नखोस मान्छे हो खुसी चोट पर्न सक्छ 
अँध्यारोमा लुकेर वैरीले दागा धर्न सक्छ 
भर छैन यहाँ अचेल कोही आफ्फ्नैको पनि 
व्याधा बनेर स्वप्निल चाराहरू छर्न सक्छ ।

१०
भो चाहिँदैन बरु सहानुभूति इमान बाँचे पुग्छ 
तिम्रो खुट्टा पनि देखियो रत्यौली ननाचे पुग्छ 
सतीले सरापेको भन्ने चरितार्थ नै भइसकेपछि 
घर त हाँसेकै छ लाजले अब जग नहाँसे पुग्छ ।

(केसीको प्रकाशोन्मुख मुक्तककृतप 'इमानको पहाड'बाट)


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक केसी साहित्का किवता, गीत, गजलमा कलम चलाउनुहुन्छ ।