तत्काल पूर्वानुमान नहुँदा ठूलो क्षति

तत्काल पूर्वानुमान नहुँदा ठूलो क्षति

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १९, २०७५

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आइतबार अपराह्न पूर्वी र मध्य भूभागका लागि मौसमबारे प्रक्षेपण गरेको थियो, ‘धेरै स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना छ ।’ मध्यको बारा र पर्सा क्षेत्रमा आइतबार साँझको मौसम मेघ गर्जन र क्षणिक वर्षामा मात्र सीमित भएन ।  कल्पनै नगरिएको हावाहुन्डरीले क्षणभरमै दर्जनौंको ज्यान लिनुका साथै करोडौंको क्षति गर्‍यो ।

महाशाखाले उपलब्ध प्रविधिका आधारमा मौसमी ‘फरकास्ट’ त गरेको थियो तर ‘नाउकास्ट’ गर्न नसक्दा राज्यले अनगिन्ती क्षति ब्यहोर्‍यो । पोखराको वायुमण्डलमा अपराह्न ५ बजेतिर मौसमी प्रणाली विकसित भएको थियो । महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार पोखराको वायुमण्डलमा देखा परेको त्यो प्रणाली हावाहुरी ल्याउने खालको थियो । पोखरामा विकसित प्रणाली पूर्व सर्दै एउटा काठमाडौं र अर्को दक्षिणपूर्व चितवन हुँदै ७ बजेपछि बारा र पर्सा पुग्यो । काठमाडौंमा अलि कमजोर किसिमको प्रणाली आइपुग्यो भने बाराको वायुमण्डलमा बलियो किसिमको प्रणाली फैलियो । आजकाे कान्तिपुर दैनिकमा खबर छ ।