संस्कृति, स‌ं‌‌‌स्कार स्थान अनुसार परिवर्तन र सुधार हुन सक्छ, पुरै विस्थापित हुँदै हुँदैनन्
फर्कलान् र ती दिनहरू
आश्विन २४, २०७७

आजभोलि खोइ किन हो, मन उद्विग्न हुन थालेको छ । धेरै यादहरूले पोलेर पनि  हुनसक्छ, धेरै कुराहरूमा महत्त्वाकाङ्क्षा पालेकोले पनि हुनसक्छ । थाहा छैन किन हो, मन उद्वेलित छ , हुनसक्छ, कोभिड १९ को प्रभाव हो या आफैँमा निहित कमजोरीहरूले पोल्न थालेको हो । एउटा कुरा त पक्कै हो, जीवनमा धेरै कुरा धेरै पटक मनमा आउँथे तर ती सबै व्यवस्थापन हुन सकेनन् होला । अव्यक्त भावनाको  कतै पुञ्जहरू होलान् र ती मूर्त हुन नसकेका कुराहरूले आफैँ त्यसै सताएका पनि हुन सक्छन् । म कुनै योजनाबद्धरुपमा हिँड्ने व्यक्ति पहिलेदेखि होइन र अहिले पनि होइन । तर कसो कसो जीवन धानिएको छ एउटा सामान्य मानिसको रुपमा । गर्दै जाँदा, भन्दै जाँदा र भोग्दै जाँदा धेरै कुराहरूको अनुभव बटुलिएको होला । 

एउटा कुरो अझ भनूँ चिप्ले किरो बालुवा हिँड्दै जाँदा क वा ख वा र वा कुनै अर्थ लाग्ने अक्षर  देखिन्छ या बन्छ । या ज्यामितिका विभिन्न कोणहरू बनाउँदै जान्छ । तर उसले ती शब्दहरू जानेर वा चित्रहरू थाहा पाएर लेखेको पनि होइन तर पनि त्यहाँ देखिने गरी, बुझिने गरी अक्षर वा चित्र हुन्छ नै । जीवन पनि त्यस्तै हो रहेछ । सोचेको त हुन्छ कुनै बेला जीवनमा, सुतेको बेलामा वा कल्पनामा वा एकान्तमा । यौवनावस्थामा या प्रौढावस्थामा । बालककालमा समेत । कल्पनाशीलता त हुन्छ नै । झन् हाम्रो समाजमा ज्योतिष शास्त्रलाई प्रामाणिकता मानिन्छ र ज्योतिषले कुनै भविष्यवाणी गरेका पनि हुन सक्छन् । 

एक जना नामुद ज्योतिषी हुनुहुन्थ्यो रे !  पूर्व २ नम्बर रामेछापको बडी मुहान क्षेत्रमा काशीनाथ उपाध्याय घिमिरे  ! उहाँका घरमा मानिसहरूको लाम नै लाग्थ्यो रे !  भविष्य हेराउन । भनिन्थ्यो रे उहाँले भनेका कुरा एकदम मिल्थ्यो रे ! । आमाको मावलीतिरको बाजे पर्ने हुनुहुँदो रहेछ । एक पटक म सानै हुँदा मलाई बोकेर आमा आफ्नो मावल जानु भएको थियो रे !  मलाई केही पनि याद छैन सायद एक वर्ष वा दुई वर्ष नपुग्दै होला । उहाँसँग भेट हुने बित्तिकै मेरो अनुहार हेरेर भन्नुभयो रे ! - 'यो जेठी नातिनीको छोरो हो क्यारे  !, यो बालकले आफ्नै खुट्टामा टेकेर खानेछ । आमालाई यो कुराले ठुलो ढाडस भएछ र मलाई बारम्बार भनिरहनु हुन्थ्यो । अनि मेरो चिना लेख्ने गुरु तथा आदरणीय दाजु टीकाहरि काफ्लेले ७ हात लामो चिना लेखेर भन्नुभयो - 'याे मानिस एक दिन प्रधानमन्त्री हुन्छ । मलाई त्यो कुरो भनियो, अझ त्यो पनि ५२वर्षको उमेरमा । बा खुसी भएर हो कि लामो चिना लेखेकोले श्रमको मूल्य दिनु भएको हो, करिब १५० रुपयाँ दिनु भएको थियो रे ! दाइलाई ।

दाइका लागि म अविस्मरणीय विद्यार्थी थिएँ र तीन वर्ष भयो टीकाहरि दाइको निधन भएको  पनि। म उहाँको नाममा पनि तर्पण दिन्छु जस्तो कि पिताजीलाई दिन्छु । मलाई विश्वास छ, दाइको गणनामा होइन, मेरो प्रयास र क्षमतामा कतै कमी भयो होला । एउटा भनाइ छ नि, ग्रहहरूले बाटो देखाउँछन्, अनि ज्योतिष शास्त्र मूर्त विज्ञानभन्दा पनि अमूर्त मनोविज्ञान हो ।

एक पटक नेपोलियन महानलाई उनी सेनाको नायक हुँदा एउटा ज्योतिषले भनेछ रे ! - 'यदि तपाईँको हातमा भाग्यको रेखा वारपार भएको भए तपाईँ सम्राट् हुनुहुन्थ्यो । अनि उनले तत्काल आफ्नो  कम्मरको तरबारले त्यो रेखा जहाँबाट छिनेको थियो, त्यहीँबाट स्वाट्ट काटेर वारपार बनाएपछि भनेछ रे ज्योतिष डरैले ! -अब त भयो हजुर वारपार, अब हजुर सम्राट् हुनुहुनेछ ।

तर त्यसो भनेर नेपोलियनले चुपचाप बसेका भए सायदै उनले पदको माथिल्लो पदमा पुग्ने थिएनन् । सायद एउटा निर्जन टापुमा बन्दी भएर पनि मर्नु पर्ने थिएन होला । महत्त्वाकाङ्क्षाले पक्कै पदको शिखरमा पुर्‍याउँछ तर जब त्यो प्राकृतिक हुँदैन, त्यो एक दिन गल्र्याम गुर्लुम ढल्छ । जीवन भनेको खतराहरूको खेल पनि हो । खतरा मोल्न नसक्दा प्राप्त भएको पनि गुम्न सक्छ , खतरासँग खेल्दा असम्भव पनि सम्भव हुनसक्छ । तर म जस्तो सामान्य मानिसले न त ठुला खतरा मोल्न सक्छ , न त खतरा विना जीवन नै बाँच्न सक्छ ।

कतिपय ठाउँमा संस्कृतका श्लोकहरूले मन्त्रहरू भन्नुपर्छ, अब त्यो सम्भव भएन । बरु के गरिन्थ्यो, त्यही गर्ने हो । जस्तो कि न्वारन गर्नुर्‍यो । नाम त राख्नुर्‍यो । सुत्केरीलाई चोख्याउनु पर्‍यो । नेपालमा जस्तै गर्न गाह्रो छ, नेपालमा पनि एकल परिवारमा पनि गाह्रो छ । तर न्वारन गरिन्छ, जन्मेको नक्षत्रअनुसार नाम राखिन्छ । ब्रतबन्ध गरिने समुदायमा जसरी पनि ब्रतबन्ध गरिन्छ तर त्यो संस्कारको निरन्तरताका लागि मात्र । त्यसैले संस्कृति मर्दैन भन्छन् ।

अलिकति भाग्य, अलिकति कर्म, अलिकति भवितव्य अनि अलिकति सम्भावनाको नियमित आकस्मिकता । न सोचे जस्तो जीवन हुन्छ, नसोचे न त जाने बाटो नै थाहा हुन्छ । कल्पनाले एउटा बाटोको निर्माण गर्छ अनि त्यो बाटोको अमूर्तपनलाई कर्मले , निरन्तरताको प्रयासले मूर्तता प्रदान गर्न पनि सक्छ, नगर्न पनि सक्छ । त्यस कारणले जीवनलाई जस्तो भोगिन्छ, त्यस्तै व्याख्या गरिने गरिन्छ । 

कुनै कुरा यसरी भएको हुन्छ कि जस्तो कि श्री स्वस्थानी कथामा गोमापुत्र नवराजलाई हात्तीले माला लगाएर राजा बनाए जस्तो । तर सबैलाई बाटोमा माला लिएर हिँड्ने हात्ती अर्थात् समयले पुरस्कार दिँदैन । प्रयास गर्नेहरू पनि  सबै सफल हुँदैनन् । सफल हुनेले पनि सदैव त्यही परिणाम पाइरहन्छ भन्ने पनि छैन । हाम्रै देशमा त्यस्ता उदाहरणहरू प्रशस्तै छन् ।

कुनै पनि माथिल्लो पदमा आसीन व्यक्तिको बारेमा अनुसन्धान गरेमा कुनै न कुनै नियमित आकस्मिकता भेटिन्छ । या भवितव्य भेटिन्छ । तर अहिलेको अवस्था कस्तो छ भने राजनीतिप्रति चासो छ भन्ने बित्तिकै कुनै दलाल नै होला भन्ने पर्न थालेको छ । वास्तवमा नीतिहरुमध्ये सबैभन्दा ठुलो नीति राजनीति हो र पनि फोहोरको थुप्रोले भरिएको राजनीतिक खेललाई शुद्ध बनाउनु भन्दा झन् झन् फोहोरी बनाउन थालेकाले फोहोर पानीले धुँदा लुगा सफा हुँदैन भन्ने सिद्धान्तझैँ भएको छ ।

भन्थे रे चाणक्य, गलत मानिसहरूले मात्र राजनीति गर्ने भनेर छोड्दा खराबहरूको भीडले राजनीतिलाई अरु प्रदूषित बनाउँछन्, त्यसैले विज्ञ, योग्यहरूले राजनीतिमा प्रवेश गरेपछि मात्र राजनीतिले राम्रो काम गर्छ । चाणक्य पो  साधु थिए र त्यसलाई कार्यान्वयन गर्न सके, आजको विश्वको राजनीतिक माहौल नै खराबहरूका बिचको खराब या खराबमध्येको असलको छनौट मानिन्छ । 

कहाँ म चाडपर्वका बारेमा कुरा गर्दै थिएँ , कहाँ आफ्नो उद्वेलनका बारेमा व्याख्या गर्न थालेछु। वास्तवमा व्यक्ति एउटा आफैमा प्रयोगशाला हो र उसका अनुभवहरूको पुञ्ज नै व्यावहारिक जीवनका लागि नयाँ गोरेटो बन् नसक्ने हुन्छ । आफूमा असफल भएको व्यक्ति स्वयं ठिक बाटोका पहिचान गर्ने हुनसक्छ । 

जब जब चाडपर्वहरू आउन थाल्छन्, अनि पुराना यादहरूले सताउन थाल्छन् । सम्झनाका चाङहरूबाट भुलिसकेका कुराहरू पनि फुत्त फुत्त स्मृतिमा सलबलाउन थाल्छन् । हाम्रो पुस्ताले सामान्यतया आफ्नो गाउँ ठाउँमा प्राथमिक विद्यालयमा मात्र पढ्न पाइयाे । गाउँ गाउँमा अहिले जस्तो माध्यमिक विद्यालय थिएनन्, झन् कक्षा ११ र १२ त छँदै थिएन किनभने ती कक्षाहरू कलेजमा मात्र पढाइ हुन्थे । आइए , आइकम, आइएस्सी, आइएड, आइएल या प्राविधिक कक्षाहरू त झन् सहरमा मात्र थिए ।

कृषि, स्वास्थ्य शिक्षा जस्ता विषयमा । कानुनको पनि पढाइ धेरै कम ठाउँमा थियो । त्यसो हुँदा विद्यालय बिदा हुँदा वा कलेज बिदा हुँदा मात्र घरमा आइन्थ्यो, त्यो भनेको दसैँको लामो बिदा नै हुन्थ्यो । बर्खे बिदा त हुन्थ्यो सिन्धुलीमा, जनकपुरमा तर वर्षामा घर आएपछि कतै जाने कुरा हुँदैनथ्यो बाढीका कारणले, खेतीका कारणले । त्यसैले चाडपर्व भन्ने बित्तिकै दसैँ नै महत्त्वपूर्ण मानिन्थ्यो ।  तिहार त्यसपछि । 

त्यो बेलामा पनि श्राद्ध पनि एउटा हामी केटाकेटीका लागि राम्रो स्मरणीय पर्व थियो किनभने श्राद्ध आउनु भन्दा केही समय पहिलेदेखि नै श्राद्धका लागि केराको व्यवस्था हुन्थ्यो । मालभोग , हाम्रो जनजिब्रोमा माल्लो केरा । अनि त्यो दिन आमाले सेल रोटी पकाउनु हुन्थ्यो । बाहरू छुट्टिएपछि प्रत्येक घरमा हजुरबुबा  र हजुरआमाको श्राद्ध गरिन्थ्यो । एउटा चाड नै हुन्थ्यो, पर्व त आफैँमा त्यो पितृ तार्ने दिनको रुपमा लिइएकै हो । एकोद्दिष्ट र  पार्वण श्राद्ध हुन्थ्यो । हजुरबाको श्राद्ध बुद्ध जयन्तीको पर्सिपल्ट र द्वितीय तिथि र हजुरआमाको तिथि फागु पूर्णिमाको पर्सिपल्ट द्वितीयामा पथ्र्यो । बारुले आफ्ना आफ्ना घरमा गर्नुहुन्थ्यो ।

कान्छा बाको २०२४ सालमा नै निधन भएकाले बा र माइला बाले मात्र हजुरबाको र हजुरआमाको श्राद्ध गर्नुहुन्थ्यो । कान्छी आमा जेठी हजुरआमा बाँचुन्जेर माइलाबाको घरमा जानु भयो र पछि हाम्रा घरमा आउनु हुन्थ्यो श्राद्धका दिनमा । अर्थात् एउटा श्राद्ध फागुनमा, अर्को जेठमा अनि सोह्र श्राद्धको चाहिँ पार्वण श्राद्धचाहिँ हजुरबाको तिथि द्वितीयामा गरिन्थ्यो र हजुरआमाको तिथि सायद पुराणका अनुसार नवमी तिथिमा पनि गरेको जस्तो लाग्छ । जब बाले अठार पुराण लगाउनु भयो, अनि पुराणका अनुसार श्राद्धका विधिहरू सुरु भएको थियो । हुन त सबै विधि पहिले पनि वैदिक ने हो । अहिले मैले पनि त्यही विधि नै पालना गरेको छु । 

सोह्र श्राद्धको मौसम भनेको श्राद्धको पक्ष हो । पितृ पक्ष हो, पितृ पर्व हो । द्वितीयाका दिन हजुरबाको श्राद्ध,  तृतीयामा कान्छा बाको श्राद्ध हुने भएकाले दुवै दिन श्राद्धको रुपमा पितृ प्रसाद गरिन्थ्यो । पछि मातृ श्राद्धको तिथि पनि बाले सुरु गर्नु भएकाले नयाँ पर्व थपिएको थियो । ती सबै दिन रोटी र केरा प्रशस्त खान पाइन्थ्यो अनि खाना खाने बेलामा खिरको भोजन झन् स्वादिष्ट हुने नै भयो ।

मैले थाहा पाउँदा नै पुरोहितको रुपमा भानिज बा ईश्वरीप्रसाद पोखरेल हुनुहुन्थ्यो । सकेसम्म पुरोहितमा भान्जा वा ज्वाइँलाई राख्ने चलन रहेछ पहिलेदेखि । पुरेत बाको नामले चिनिनु हुन्थ्यो हाम्रा लागि । पुरेत बा अन्तरे बाजेका छोरीका छोरा हुनुहुन्थ्यो र हाम्रा बाहरु साहिँलाका छोरापट्टिका छोराहरू हुनुहुन्थ्यो । उहाँ अन्तरे बाजेका जेठी छोरीका जेठा छोरा हुनुहुन्थ्यो ।

पछि उहाँको निधन भएपछि माहिली दिदीका माहिला छोरा र कान्छा छोरा भोजराज पोखरेल भानिज बा र ज्वालाप्रसाद पोखरेल कान्छा बाले हाम्रा तीन घरमा पुरोहितको जिम्मेवारी लिनुभयो । वास्तवमा भान्जा पुस्ता भएकाले बाध्यता जस्तै भयो । अहिले हाम्रै पुस्ताको इन्द्रप्रसाद पोखरेल दाइले मात्र त्यो जिम्मेवारी लिनु भएको रहेछ । अरु कसैले लिएको देखिएन ।

बरु बितिजोर खोलादेखि भानिज बाका छोराहरूले जिम्मेवारी लिएका रहेछन् कर्मकाण्डको । कर्मकाण्डलाई जसरी लिए पनि त्यो रहेछ जन्मँदाको काम र मर्दाको काम । बाँकी जीवन नगरे पनि हुने , आफ्नो इच्छामा भर पर्ने । जन्मँदा पनि अरूले गरिदिनु पर्ने, मरेपछि पनि अरूले गर्नुपर्ने । 

चाडपर्वमा आफ्ना पुराना यादहरू झन् ताजा भएर आउन थाल्छन् । जब हामी साना थियौँ, अरूले भनेको सुनिन्थ्यो हाम्रा पालामा यस्तो थियो, उस्तो थियो । अर्थात् अहिले त्यस्तो छैन । प्रत्येक पिँढी तर आफूलाई पहिलो पुस्ताभन्दा प्रगतिशील ठान्दछ र आफ्नो पुस्ता अहिलेको भन्दा उम्दा मानेकै हुन्छ । तर संस्कृति भनेको पुस्तान्तरण भए पनि नामले भनेको हुन्छ , थरले भनेको हुन्छ, व्यक्तिको व्यवहारले देखाएको हुन्छ । खानपिनले संस्कृतिलाई झल्काएको हुन्छ । 

अहिले त म शुद्ध शाकाहारी हुँ तर १२ वर्ष अघिसम्म म मांसाहारी पनि थिएँ । मेरो आमा जीवितै हुनुहुन्थ्यो । एक दिन मलाई बिस्तारै भन्नुभयो - बाबु , म बुढी पनि भएँ, बिरामी पनि छु दीर्घ रोगी । मेरा माइतीहरूमा बा र आमा कृष्ण प्रणामी हुनुहुन्थ्यो । कस्तो घरमा परौली भनेर मलाई प्रणामी धर्ममा दीक्षित त गर्नु भएन तर मैले मासु खाइन तँ नजन्मिने बेलासम्म । करबलले बेराताको जुठो खानु परेकोले मासु त खाएँ पछि उहाँलाई सम्झाएर म पूर्णरुपमा कृष्ण प्रणामी भएँ । उहाँले आफ्नो अन्तिम कालसम्म पनि मासु छोड्नु भएन तर मलाई भने  कर गर्नु भएन ।

अब म मेरा किरिया गर्ने मुख्य छोराले मासु नखाएको होस् भन्ने चाहना छ । के तँ मासु छोड्न सक्छस् ? तेरी बाहुनी पनि कृष्ण प्रणामी छे, तेरा छोराछोरीहरू पनि धेरै कृष्ण प्रणामी छन् । अनि मैले भनेँ - आमा , म कोसिस गर्छु । अनि आमाले हाँसेर भन्नुभयो - आखिर मैले त ख्वाएको हो नि, अब नखा भन्छु , मान है । तेरो कान्छो छोरो सानो छ र त खाँदैन, कान्छी छोरी सानी छ र त खान्न भने तँ पनि नखा है । 

मैले आमाको वचन मान्नका लागि केही समय पर्खेँ र आफूलाई भोज भतेरमा पनि मासु नखाने बनाएँ । अहिले खान्न किनभने ६ वर्ष अघि नै आमाले मलाई छोडेर जानुभयो , त्यो बेलामा मैले मासु नखाने कुरा उहाँलाई थाहा थियो र खुसी हुनुभएको थियो । 

पहिले त खसीको मात्र मासु खाइन्थ्यो किन हो हामीले अरूको मासु नखाने चलन थियो । दसैँमा पनि खसी नै काटिन्थ्यो । खस जातिको इतिहासमा छाग वा साग के हो भनिन्छ क्यारे, छाग भनेको बोको पनि हो क्यारे । अहिले पनि नेपालको पहाडी भेगका हिन्दुहरूका लागि दसैँ भनेको नै दुर्गाको पूजा, दशमीका दिन टीका लगाउने र खसीको मासु खाने नै हो । नेवार समुदायले राँगाको मासु खान्छन् र पनि दसैँ घरमा बोकाको बली दिने चलन छ क्यारे !  दसैँ दुर्गाको पूजा, टीकाका दिन  जमरा सहितको टीका, अनि मासु खाने , आफूभन्दा मान्यजनका घरमा गएर टीका थाप्ने अर्थात् आशीर्वाद लिने । 

समाजका बानीहरू परिवर्तनशील छन् । बिस्तारै नयाँ नयाँ संस्कृतिले स्थान ग्रहण गर्छ । तर त्यस्तो हुँदा त्यही संस्कृतिमा परिवर्तन र सुधार हुन्छ , पुरै विस्थापित हुँदैन । जस्तो कि नेपालीहरू जहाँ गए पनि दसैँ मान्छन्, तिहार मान्छन् र आफ्ना संस्कारहरूलाई चलन अनुसार मान्छन् । ठ्याक्क नेपालको पुरानो चलन अनुसार नगरे पनि संस्कारलाई निरन्तरता दिन्छन् ।

कतिपय ठाउँमा संस्कृतका श्लोकहरूले मन्त्रहरू भन्नुपर्छ, अब त्यो सम्भव भएन । बरु के गरिन्थ्यो, त्यही गर्ने हो । जस्तो कि न्वारन गर्नुर्‍यो । नाम त राख्नुर्‍यो । सुत्केरीलाई चोख्याउनु पर्‍यो । नेपालमा जस्तै गर्न गाह्रो छ, नेपालमा पनि एकल परिवारमा पनि गाह्रो छ । तर न्वारन गरिन्छ, जन्मेको नक्षत्रअनुसार नाम राखिन्छ । ब्रतबन्ध गरिने समुदायमा जसरी पनि ब्रतबन्ध गरिन्छ तर त्यो संस्कारको निरन्तरताका लागि मात्र । त्यसैले संस्कृति मर्दैन भन्छन् ।

बाङ्लादेशमा अहिले पनि कतिपय ठाउँमा गाईको गोबरले लिप्ने चलन रहेछ र इस्लाम परिवारमा पनि कतिपय परिवारमा गाईका मासु नखाने चलन रहेछ । त्यसो हुनुमा केही पुस्ता मात्र भयो इस्लाम भएको, त्यसैले पुरानो बानीलाई निरन्तरता दिएको देखिन्छ । अहिले पनि इन्डोनेसियामा इस्लाम धर्मावलम्बीको नाम पनि हिन्दु नाम जस्तै हुन्छ । पूर्व राष्ट्रपति मेगावती सुकार्नोपुत्रीको नामले स्पष्ट पार्छ । बाङ्ला देशमा एउटा नाम संस्कृतको हुन्छ अर्को नाम इस्लामको हुन्छ ।

कसैले बाङ्ला देश, इन्डोनेसियाम बुद्धि, प्रज्ञा, यज्ञ, रामा, कृष्णा जस्ता नाम भेट्ने बित्तिकै हिन्दु नहुन सक्छन् जबकि ती देशहरूमा संस्कृत भाषाको अहिले पनि प्रभाव कायम छ । कम्बोडियाका राजाको नाम नरोत्तम सिंहमुनि हो । उनका बाको नाम नरोत्तर सिँहानुक थियो । यिनै राजाको दाजुको नाम नरोत्तम रणऋद्ध हो जसलाई राजा हुन नदिएर अहिले पनि देशबाट निष्कासन गरिएको छ । पहिले ती अहिलेको प्रधानमन्त्री हुन सेनका सभामुख थिए ।

मिलेर राजतन्त्र स्थापना गरे तर पछि रणऋद्धलाई धोखा दिएर उनका सौतेनी भाइलाई सांसदले राजा बनायो र रण ऋद्धलाई देश निकाला गरियो । मैले त्यो संस्कृतिको कुरा गरेको जुन आज पनि हट्न सकेको छैन बुद्ध संस्कृतिमा पनि । आजको परिवर्तित जमानामा पनि । क्रमशः

 

 


अधिकारी दर्शन, राजनीति र साहित्यमा कलम चलाउनुहुन्छ ।