हावाहुरीको पूर्वानुमान उपकरण नेपालमा अभाव

हावाहुरीको पूर्वानुमान उपकरण नेपालमा अभाव

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १९, २०७५

काठमाडौं । बारा र पर्सामा आइतबार साँझ शक्तिशाली हावाहुरी आउनुभन्दा केही समयअगाडि मात्र साँझ ६ बजे मौसम पूर्वानुमान महाशाखाले निकालेको बुलेटिनमा नेपालको मध्य भूभागमा मेघ गर्जनसहित वर्षा हुने अनुमान गरिएको थियो। त्यसको केही समयपछि नै आएको शक्तिशाली हावाहुरीको पूर्वानुमान भने सो महाशाखाले गर्न सकेन। सोमबार महाशाखाद्वारा जारी विज्ञप्तिमा भने बारा र पर्सामा क्रियाशील मौसम प्रणाली हालसम्मकै शक्तिशाली रहेको जनाइएको छ। त्यसको गति ९० किलोमिटर प्रतिघन्टा भन्दा बढी रहेको महाशाखाको भनाइ छ।

हवाई उड्डयनका लागि सिमरा विमानस्थलमा जडित मौसम स्टेसनले पनि हावाहुरीको पूर्वसंकेत गर्न सकेन। महाशाखाका अनुसार हावाहुरीको छुट्टै अनुमानका लागि आवश्यक पद्धति र उपकरण नेपालमा छैनन्। महाशाखाले मेघ गर्जनसहित वर्षा हुने अनुमान मात्र गर्ने गरेको छ।

महाशाखााका अनुसार हावाहुरी आउने पूर्वानुमान गर्न राडार नेटवर्क टेक्नोलोजी, विविध टेक्नोलोजी र इनसेम्बर वेदेर फोरकास्टिङ (संख्यात्मक मौसम पूर्वानुमान पद्धति) आवश्यक पर्ने मौसमविद् सुजन सुवेदीले बताए। हावाहुरी अनुमान गर्न थप प्रविधि र जनशक्ति आवश्यक पर्ने उनको भनाइ छ। ‘अब हावाहुरीको पूर्वानुमानबारे अध्ययनका लागि थप प्रविधि आवश्यक छ,’ उनले भने। अहिले नेपालमा भएको प्रविधिबाट हावाहुरीलाई मेघ गर्जनसहित वर्षा हुने अनुमानभित्र राखिएको उनले जानकारी दिए। आजको नारिक दैनिकमा खबर ।