अमेरिकी नागरिकलाई पनि बहुप्रवेश भिषा

अमेरिकी नागरिकलाई पनि बहुप्रवेश भिषा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १९, २०७५

काठमाडौ । नेपाली नागरिकले लामो समयदेखि प्राप्त गर्दे आएको पाँच वर्षीय भिषा कार्यक्रम अब अमेरिकी नागरिकका हकमा पनि लागु हुने भएको छ। नेपालले अमेरिकी नागरिकका लागि जारी गरेको पहिलो पाँच वर्षीय बहुप्रवेश पर्यटक भिसा कार्यक्रम सोमबार हस्तान्तरण गरिएको छ।

अमेरिकी दूतावासका कन्सुलर शाखा प्रमुख माइक म्युस्सी र अध्यागमन विभागका महानिर्देशक ईश्वर पौडेलको उपस्थितिमा उक्त कार्यक्रम हस्तान्त्ररण गरिएको हो। यससँगै नेपाल र अमेरिकी आगन्तुकका हकमा भिसाका लागि एउटै सर्त लागु हुने भएको छ। यसले अमेरिका र नेपालबीच अझै निकट र गहिरो सम्बन्धको सहजीकरण हुने विश्वास गरिएको छ।

अमेरिका र नेपालबीचमा अक्टोबर २०१७ देखि नै सबै प्रकारका भिसामा पारस्परिकता स्थापित हुँदै आएको छ। गत वर्ष मात्र ९० हजारभन्दा बढी अमेरिकी नागरिकले नेपाल भ्रमण गरेका थिए। सन् २०१७ को तुलनामा अमेरिकी आगन्तुकको संख्यामा १५ प्रतिशतले वृद्धि भएको छ। पाँच वर्षका लागि बहाल रहने बहुप्रवेश सुविधासहितको पारस्परिक पर्यटक भिसा प्राप्तिसँगै अमेरिकी नागरिकहरूले सहजै र अझै धेरैपटक नेपाल आउने मौका पाउने भएका छन्। आजकाे नागरिक दैनिकमा खबर छ ।