धेरैको मृत्यु टाउकाको चोटले

धेरैको मृत्यु टाउकाको चोटले

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १९, २०७५

काठमाडौँ । बारामा आइतबार साँझको शक्तिशाली हुरीका कारण ज्यान गुमाएकामध्ये अधिकांशको टाउकामा चोट देखिएको छ । मृतकहरूको मुचुल्का विवरण संकलनमा खटिएका प्रहरी अधिकारीहरूका अनुसार वयस्क र अधबैंसेहरू भाग्दा टाउकाको पछाडि वा अगाडिको भागमा चोट लागेको देखिएको छ । बालबालिकाको मृत्यु भने गुम्सिएर भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका इन्स्पेक्टर चन्द्रकिशोर साहका अनुसार २६ जनाको मुचुल्का र सनाखत सोमबारै भएको छ । मृतक एक भारतीय नागरिकको भने परिवार वा आफन्त नआएकाले सनाखत र मुचुल्का भएको छैन । सबै मृतकको सोमबारै नारायणी अञ्चल अस्पतालमा पोस्टमार्टम सकिएको छ ।

पोस्टमार्टममा संलग्न डा. आशुतोष बादलले हावाहुरीका बेला भागदौडमा ठोक्किएर धेरैको मृत्यु भएको बताए । ‘भाग्दा टाउकाको अगाडि वा पछाडिको भागमा गहिरो चोट लागेर आन्तरिक रक्तस्राव भएको देखिन्छ,’ उनले भने, ‘केहीको भने गह्रौं वस्तु टाउकामा खसेर चोट लागेको छ ।’ आजकाे कान्तिपुर दैनिकमा खबर छ ।