पात्लेखेतका एक पुरुषको धुलिखेल अस्पतालमा कोरोना सङ्क्रमणका कारण काभ्रेमा मृत्यु

पात्लेखेतका एक पुरुषको धुलिखेल अस्पतालमा कोरोना सङ्क्रमणका कारण काभ्रेमा मृत्यु

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन २५, २०७७

काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणका कारण धुलिखेल नगरपालिका–११ पात्लेखेतका एक पुरुषको धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । यससहित कोरोना सङ्क्रमणका कारण काभ्रेपलाञ्चोकमा चार महिला र पाँच पुरुषको मृत्यु भएको छ । 

कोरोना सङ्क्रमण भएपछि ५२ वर्षीय ती पुरुषलाई दुई हप्ताअघि उपचारार्थ धुलिखल अस्पतालमा भर्ना गरिएको थियो । पुरुषमा ‘क्रोनिक अल्कोहलिक लिभर डिजिज’ समेत भएको अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमणका कारण उपचारका क्रममा आज बिहान ६ बजे अस्पतालमा उनको निधन भएको वडाध्यक्ष विष्णु धितालले बताउनुभयो । 

कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका अनुसार हालसम्म काभ्रेपलाञ्चोकका ९५८ मा कोरोना सङ्क्रमण देखिएको छ । कूल सङ्क्रमितमध्ये नौको मृत्यु भएको छ भने ५८५ उपचारपछि घर फर्किएका छन् । तीन सय ६५ सक्रिय सङ्क्रमितमध्ये ११० जना अस्पतालको आइसोलेशन र २५५  जना होम आइसोलेशनमा उपचाररत छन् । 

यसैबीच काभ्रेपलाञ्चोकका १३ मध्ये तीन गाउँपालिका कोरोनामुक्त अवस्थामा छन् । बेथानचोक, तेमाल र खानीखोला गाउँपालिका कोरोनामुक्त भएका हुन् । हाल जिल्लाकै कूल सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी ३७ प्रतिशत अर्थात् १३५ सङ्क्रमित बनेपा नगरमा छन् । सबैभन्दा कम चौँरीदेउराली गाउँपालिकामा एक  पुरुष  छन् । हाल सक्रिय सङ्क्रमितमध्ये धुलिखेलमा ११२, पनौतीमा १८, पाँचखालमा ३४, नमोबुद्धमा २६, मण्डनदेउपुरमा १०, भुम्लु गाउँपालिकमा तीन, रोशीमा १० र महाभारत गाउँपालिकामा तीन छन् ।