रुसी विपक्षी नेता नाभाल्नीको अनुभव र आरोप : रासायनिक हतियार प्रयोगमा राष्ट्रपति पुटिनको हात !?

रुसी विपक्षी नेता नाभाल्नीको अनुभव र आरोप : रासायनिक हतियार प्रयोगमा राष्ट्रपति पुटिनको हात !?

लोकसंवाद संवाददाता  |  विदेश  |  आश्विन २६, २०७७

रुसका विपक्षी नेता एलेक्सी नभाल्नी यतिबेला जर्मनीमा छन् । एउटा यात्राका क्रममा विष दिइएपछि उनलाई उपचारका लागि जर्मनी लगिएको थियो ।

अस्पतालबाट डिस्चार्ज गरिएकाे र कडा सुरक्षा व्यवस्था भएको होटलमा बस्दै आएका विपक्षी नेता एलेक्सी नभाल्नी स्नायु सम्बन्धी विषको प्रभावबाट निस्कन आफूलाई लामो समय लाग्ने बताउँछन् । उनमा रातिसम्म निद्रा नलाग्ने र उठबस गर्न समेत अप्ठ्यारो हुने समस्या देखा परेको छ । पूर्ण रुपमा स्वास्थ्यलाभ गरेपछि उनी पुनः रुस फर्किने योजनामा छन् । उनलाई ३२ दिन बर्लिनस्थित च्यारीटे अस्पतालको सघन उपचार कक्षमा राखिएको थियो ।

उनलाई सुरूमा कामज्वरो आएको थियो । शरीरमा दुखाइ थिएन । ‘तर त्यो मेरो अन्त्य यही रहेछ भन्ने महसुस गराउने किसिमको थियो’, उनी स्मरण गर्छन्, ‘मलाई कत्ति पनि र कतै पनि दुखेको थिएन । ला ! के भयो भनेर आत्तिएको पनि होइन । तर सुरूमै केही गडबड भयो भन्ने थाहा भइहाल्यो । र म सोचिरहेको थिएँ लौ सिद्धियो । म अब मर्नेछु ।’

उनी साइबेरियाको टम्स्कबाट विमानमा उडेको केही समयमा नै बेहोस भएपछि विमानले ओम्स्कमा आपत्कालीन अवतरण गरिएको थियो । विमानबाट उनलाई सघन उपचार कक्षमा उपचारका लागि भर्ना गरियो । त्यसपछि उनलाई विमानमार्फत जर्मनी लगियो र औषधि दिएर कोमामा राखियो । 

रासायनिक हतियार सम्बन्धी अन्तर सरकारी संस्थाले रुसी विपक्षी नेता नामाल्नीलाई नोविचोक भनिने स्नायुमा प्रभाव पार्ने विष दिइएको पुष्टि गरेको छ । एउटा विज्ञप्तिमा सो संस्थाले उनको पिसाब र रगतमा प्रतिबन्धित रासायनिक हतियारको मात्रा भेटिएको उल्लेख गरेको छ । 

उनले निर्वासनमा जीवन बिताउने कुरा अस्वीकार गर्दै आएका छन् । ‘उनीहरूले मलाई लामो समयदेखि देश बाहिर निकाल्न चाहन्थे,’ नाभाल्नी भन्छन्, ‘घटनाक्रम कसरी विकसित होला मलाई थाहा छैन, म खतरा मोल्न चाहन्न । मेरो आफ्नो लक्ष्य छ, मेरो आफ्नो देश छ ।’ 

जर्मन वैज्ञानिकहरूले भनेजस्तै फ्रान्स र स्वीडेनको प्रयोगशालाहरूले पनि नभाल्नीलाई स्नायुमा असर पार्ने तत्व दिइएको पुष्टि गरेको छ । नोविचोक रुसी वैज्ञानिकहरूले शीत युद्धका बेला विकास गरेको अत्यन्तै विषालु तत्व हो । जसको सानो मात्राले पनि मानिसको ज्यान जानसक्छ । 

अस्पतालबाट सेप्टेम्बरको अन्त्यमा डिस्चार्ज भएपछि बीबीसीलाई उनले पहिलो भिडियो अन्तरवार्ता दिएका हुन् । जसमा उनले आगामी वर्ष हुन लागेको संसदीय चुनावमा रुसी अधिकारीहरूको दबदबालाई खतरा पुर्‍याएकाले आफ्नो हत्या गर्ने उद्देश्यले आफूलाई विष दिइएको उल्लेख गरेका छन् ।

 रुस सरकारले भने उनलाई विष दिएको आरोप अस्वीकार गर्दैै आएको छ । नभाल्नीको उपचारमा संलग्न रुसी डाक्टरहरूले नभाल्नीमा कुनै विष फेला नपारेको बताउँदै आएका छन्

।‘यसमा राष्ट्रपति भ्लादिमिर पुटिनको हात छ । त्यसबाहेक म माथि आक्रमण हुनुको अर्को कारण छैन,’ उनले जर्मन म्यागेजिन डेर स्पीगेलसँग भनेका छन् । 

उनी साइबेरियामा भ्रष्टाचार विरोधी अभियानमा लागेका उनी सहकर्मीलाई स्थानीय निकायमा जिताउन प्रचारप्रसारमा लागेका थिए । सोही क्रममा उनी बिरामी भए । उनी राष्ट्रपति पुटिनका कट्टर आलोचक मानिन्छन् । 

सामाजिक सञ्जालमा उनका दशौँ लाख फलोअरहरू छन् । उनले सत्तामा रहेकाहरूले गरेका भ्रष्टाचार सामाजिक सञ्जाल मार्फत् सार्वजनिक गर्दै आएका छन् । 

उनले निर्वासनमा जीवन बिताउने कुरा अस्वीकार गर्दै आएका छन् । ‘उनीहरूले मलाई लामो समयदेखि देश बाहिर निकाल्न चाहन्थे,’ नाभाल्नी भन्छन्, ‘घटनाक्रम कसरी विकसित होला मलाई थाहा छैन, म खतरा मोल्न चाहन्न । मेरो आफ्नो लक्ष्य छ, मेरो आफ्नो देश छ ।’ 

विष उनको शरीरमा फैलिँदै गएपछि उनी केहीमा पनि केन्द्रित हुन सकेनन् । तर उनका अगाडि भएका मानिस र वस्तुहरू मदिरापान गरेका बेला जस्तो धमिलो पनि देखिएका थिएनन् ।

अस्पतालमा लामो समयपछि उनले सबै कुराहरु विस्तारै स्मरण गर्दै गए । ‘लामो समयसम्म म दिग्भ्रमित भइरहेँ’, उनले भने । उनकी श्रीमती युलिया, डाक्टरहरू र उनका सहकर्मी लिओनिड भोल्कोभले उनी दुर्घटनामा परेको र उनले खुट्टा गुमाएको भनिरहेका जस्तो उनले सुनेका थिए । उनलाई लाग्थ्यो, ‘मलाई चिकित्सकहरूले नयाँ मेरुदण्ड र नयाँ खुट्टाहरू दिनेछन् ।’

उनले त्यही नै वास्तविकता भएको ठानेका थिए । रातमा उनलाई दुस्वप्नको समस्या हुन थालेको थियो ।

‘मेरो मुख्य समस्या चाहिँ सुताइमा आएको छ । मैले सुत्न सक्दिन । निद्रा लगाउने औषधि बिना सुत्नै सक्दिन । यस्तो समस्या यसअघि मलाई कहिल्यै थिएन’, उनी भन्छन्, ‘मेरो हात कहिलेकाहीँ हल्लिन थालेको छ तर त्यो यहीबेला यस्तै हुन्छ भन्ने छैन ।’

उनी अहिले पनि नियमित रूपमा स्वास्थ्य जाँच गराइरहेका छन् । शरीरमा कुनै दुखाइ नभएकाले उनलाई राहत भएको छ । तर सानो भकुण्डो फ्याँक्न प्रयास गर्दा पनि खेल प्रतिस्पर्धामा ‘गह्रौं भकुन्डो’ फाल्न चाहिने मेहनत गर्नुपर्ने भएको उनी बताउँछन् ।