वैकल्पिक सिकाई केन्द्रमार्फत सिकाइ सहजीकरण

वैकल्पिक सिकाई केन्द्रमार्फत सिकाइ सहजीकरण

लोकसंवाद संवाददाता  |  शिक्षा  |  आश्विन २६, २०७७

डडेल्धुरा ।  कोरोना   भाइरसका   कारण विगत सात महिनादेखि बन्द रहेका विद्यालयहरू तत्काल खोल्न सकिने अवस्था   नहुँदा   जिल्लाका   अधिकांश   विद्यालयले   वैकल्पिक सिकाई केन्द्रमार्फत सिकाइ सहजीकरण सञ्चालन गरेका छन् । 
जिल्लाका   केही   विद्यालयले   आफ्नो   सेवा   क्षेत्रभित्र   पर्ने   टोलबस्तीमा   अस्थायी रूपमा   निर्धारण   गरेका   सिकाइ   केन्द्रहरूबाट विद्यार्थीलाई   सिकाइ   सहजीकरण   शुरु गरेका हुन् । 

चालु शैक्षिकसत्रको आधाभन्दा बढीसमय सकिन लाग्दा पनि विद्यालयमा पढाउन मिल्ने अवस्था नरहेकाले शिक्षक, विद्यालय व्यवस्थापन समिति र  अभिभावकसँगको    छलफलमा    अस्थायी   सिकाई   केन्द्रमार्फत बालबालिकाहरूका लागि  सिकाइ   सहजीकरण   शुरु गरिएको  उग्रतारा माध्यमिक   विद्यालयका   प्रधानाध्यापक   चन्दबहादुर   शाहूले बताउनुभयो । 

विगत सात महिनासम्म विद्यार्थीहरू विद्यालयमा आउन नपाएको, घरमा  पनि पढ्ने   वातावरण   नभएको र  वैकल्पिक   सिकाइका   माध्यममा विद्यार्थीको   पहुँच   नहुनाले  बालबालिकाको पढाइमा   समस्या देखिएको महेन्द्र माध्यमिक  विद्यालयका   शिक्षक  प्रज्ज्वल भट्टले जानकारी   दिनुभयो   ।   उहाँले   भन्नुभयो,   'विद्यार्थीहरूमा पढाइको  चिन्ताभन्दा    कोरोनाको  त्रासले यस्ता केन्द्रमा कमै मात्र विद्यार्थी आउने गरेका छन् ।'