निर्जला कक्षपति | जीवनदर्शन | आश्विन २७, २०७७
विदेशी संस्कारमा प्रभावित भएर हामी साथीभाइ, नातागोतासँग भेट्दा हुँदा नमस्कार गर्न छाडेर अङ्कमाल गर्ने संस्कार बसी सकेको थियो । यो आम प्रवृत्तिको रुपमा विकास भइरहेको थियो । कोरोना कहरले हामीलाई हाम्रो पुरानो संस्कार नै ठिक रहेछ भन्ने निष्कर्ष पुर्याएको छ ।
हिजोआज हामी कसैलाई भेट्दा हात मिलाउने वा अङ्कमाल गर्ने आयातित संस्कारलाई बिस्तारै परित्याग गर्दै नमस्कार गर्न थालेका र्छौ । टाढैबाट नमस्कार गर्नुलाई कोरोना भाइरसबाट बच्ने उपायका रुपमा यसो गर्न थालेका हौँ । कोभिड- १९को उत्दगम स्थल चीनमा समेत खुटा जोडेर अभिवादन गरेको भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भए र भइरहेका छन् ।
अङ्कमाल र हात मिलाउने संस्कार र संस्कृति भएका मुलुकमा समेत बिस्तारै अभिवादनकाे ढाँचा परिवर्तन हुन थालेका छन् । बिस्तारै नमस्कारको संस्कृति अनुसार गर्ने प्रवृत्ति विकास भएको छ । 'नमस्कार' शब्द संस्कृतको नमबाट लिइएको हो । जसको अर्थ प्रणाम हुने गर्छ ।
मानिसको शरीर इश्वरयी तत्त्वले बनेको हुन्छ जसलाई हामी आत्मा भनेर भन्ने गर्छौ । नमस्कार गर्दा पनि एउटा मानिसको आत्माले दोस्रो व्यक्तिको आत्मालाई अभिनन्दन गरिरहेको हुन्छ । नमस्कार मार्फत एकले अर्कोलाई सम्मान दर्साइ रहेका हुन्छौ । नमस्कारले कृतज्ञता र भक्तिको भावना पनि जागृत गराउँदछ ।
भनिन्छ यसले आध्यात्मिक विकासमा समेत सहयोग पुर्याउँछ । राम्रो भावना राखेर गरिएको नमस्कारले मनमा स्वच्छ भावनाको समेत विकास गराउँदछ । जसले गर्दा सकारात्मक सोचको समेत विकास हुन्छ ।
पश्चिमी संस्कृतिको प्रभावमा परेर पछिल्ला पिढींहरु एक आपसमा भेट्दा नमस्कार गर्नुको साटो अङ्कमालको संस्कृति अंगाली रहेका थिए । तर कोभिड-१९ ले हामीलाई फेरी हाम्रो पुरानो संस्कार नै ठिक रहेछ भन्ने बिन्दुमा पुर्याइदिएको छ । दुई हात जोडेर नमस्कार गर्दा नै हामी सुरक्षित हुने रहेछौँ भन्ने कुरा सिकाएको छ ।
यदि तपाईँ नचिनेको मानिसलाई पनि नमस्कार गरेर म फलानो भन्दै आफ्नो परिचय दिनुहुन्छ भने तपाईँ प्रति अर्को व्यक्तिले राम्रो भावनाको विकास गर्छ । अर्को शब्दमा भन्दा मानिस सभ्य छ कि छैन भन्ने कुरा पनि यही नमस्कार शब्दले दर्साउँछ ।
नमस्कार गर्नु भनेको अभिभावदन गर्नु हो । त्यसो त हाम्रो समाजमा विभिन्न जात र समुदाय अनुसारका अभिवादन गर्ने आ-आफ्नै ताेरतरिका पनि रहेका छन् । नेवारहरूले नमस्कार गर्दा 'ज्वज्वलप्पा' भन्ने गर्छन् । लिम्बुले-सेवारो, राजवंशीले-बन्दगी, फ्याफुला- गुरुङले, दर्शन-क्षेत्रीले, रामराम-मारबाडीले, प्रणाम-मैथिलीले भन्ने चलन रहेको पाइन्छ । अन्य समुदायले आ-आफ्नाे अभिभावदनका तैरतरिका रहेकाे पाइन्छ ।
यो चाहिँ आ-आफ्नो जात र समुदाय अनुसार गरिएको नमस्कार अर्थात् अभिवादन हो । यसै गरी धर्म अनुसार पनि नमस्कार अथवा अभिवादन फरक-फरक चलन रहेको पाइन्छ । सलाम अलेकुम- इस्लाम धर्मावलम्बी, प्रणाम- कृष्ण प्रणामी, राधे राधे-बैष्णव, साइराम-साइभक्त, हरे कृष्ण-अन्तराष्ट्रिय कृष्ण भावना वृत्त सङ्घ इस्कोन, ओम शान्ति- ब्रम्हकुामारी राजयोग केन्द्रका अनुयायी यी सबै नै अभिवादनका स्वरूपहरू हुन् ।
यति मात्र नभएर हाम्रो देशमा त पार्टी अनुसार फरक फरक सम्बोधनले अभिवादन गरिन्छ । जस्तो नेपाली काङ्ग्रेसले-जय नेपाल, मदेसवादी दलले-जय मधेस , नेपाल कम्युनिस्ट पार्टी र त्यसका विभिन्न समूहरुले-लालसलाम भनेर सम्बोधन गर्ने चलन रहिरहेको पाइन्छ ।
हाम्रो देशमा प्राचीन काल देखि नै नमस्कार गर्ने चलन रही आएको पाइन्छ । हाम्रा ऋषिमुनीहरु समेत नमस्कार गर्ने गरेको पौराणिक ग्रन्थहरूमा पाइन्छ । । एकले अर्कालाई भेट्दा नमस्कार गरेर सम्मान दर्साउने नेपाली समाजको पुरानै चलन हो ।
पश्चिमी संस्कृतिको प्रभावमा परेर पछिल्ला पिढींहरु एक आपसमा भेट्दा नमस्कार गर्नुको साटो अङ्कमालको संस्कृति अंगाली रहेका थिए । तर कोभिड-१९ ले हामीलाई फेरी हाम्रो पुरानो संस्कार नै ठिक रहेछ भन्ने बिन्दुमा पुर्याइदिएको छ । दुई हात जोडेर नमस्कार गर्दा नै हामी सुरक्षित हुने रहेछौँ भन्ने कुरा सिकाएको छ ।
नमस्कार गर्ने यो अभिवादन पूर्वीय संस्कृति हो । हाम्रो समाजमा साथी भाइ भेट्दा, अफिसमा आफू भन्दा ठुला ओहोदाका कर्मचारीलाई भेट्दा नमस्कार गर्ने चलन रहेको छ । आफूले मान्नुपर्ने आफन्त नाता गोताका व्यक्तिलाई भने ढोग गर्ने नै चलन हिजो आज पनि रही आएको छ । कोभिड-१९ ले ढोग गर्नु पर्नेलाई पनि नमस्कार गरेर अभिवादन गर्नु पर्ने बनाइदिएको छ । देवस्थलमा भने हामी दुई हात जोडेर नै शिर झुकाएर नमस्कार गर्ने गर्छौ । नमस्कार को अगाडिको नमः ले नमन गर्नु अथवा झुक्नु भन्ने नै बुझाउँछ ।
दुई हात जोडेर नमस्कार गर्दा हातमा एक प्रकारको प्रेसर पर्दछ । यसले गर्दा हाम्रो नाक कान आँखा र दिमागलाई सक्रिय बनाउँछ । यति मात्र नभई योगा गर्दा सूर्य नमस्कार गर्ने चलन हिजोआज बढ्दो मात्रामा छ । सूर्य नमस्कार गर्दा शरीरलाई 'भिटामिन डी' प्राप्त हुन्छ भन्ने मान्यता छ । नमस्कार हाम्रो परम्परागत संस्कार हो ।
शिष्टाचार, मर्यादा र अनुशासन पनि हो । त्यसैले पश्चिमा देशका मानिसहरूले कोभिड-१९ पछि नमस्कार गर्न सिके पनि हामीले भने प्राचीन काल देखि नै नमस्कार गर्दै आएका छौँ । नमस्कार गर्ने चलन कति फाइदाजनक रहेछ भन्ने कुरा हामीलाई पनि अहिले आएर अरूले भनिदिनु परिरहेको छ ।