राहुल गान्धीको भाषणमा सन्दीपको दिमाग

राहुल गान्धीको भाषणमा सन्दीपको दिमाग

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १९, २०७५

काठमाडौं । कुनै बेल कांग्रेसका प्रधानमन्त्री डा. मनमोहन सिंहलाई कालो झण्डा देखाउने संदीप सिंह अचेल राहुल गान्धीका लागि चुुनावी भाषण लेखिरहेका छन । 

संदीप सिंह जवाहरलाल नेहरु युािभर्सिटीका पूर्व विद्यार्थी हुन । वामपंथी सोच भएका संदीप विद्यार्थी राजनीति गर्दै जेएनयूमा विद्यार्थी संघको अध्यक्ष भएका थिए । 

भारतीय कांग्रेसको आधिकारिक राजनीतिक सल्लाहकार घोषणा नगरिए पनि यिनले कांग्रेसका लागि काम गर्दै आएका छन । विभिन्न राज्यमा कांग्रेसले गरेको अन्य पार्टीसँगको गठबन्धन होस वा प्रियंका गान्धीको ‘लान्चिग’ दुबैमा संदीपको महत्वपूर्ण भूमिका रहेको थियो । प्रियंका गान्धीको उत्तरप्रदेशका दुबै भ्रमणमा संदीप प्रियंका सँगसँगै देखिएका थिए । ‘राहुल गान्धीले संदीप माथि अति नै विश्वास गर्छन’ कांगे्रससँग सम्बन्धित एक जना नेताले भने ।

उत्तर प्रदेशको प्रतापगढ जिल्लाको स्थायी बासिन्दा संदीप २०१७ देखि नै राहुल गान्धीको कोर टीमममा सम्मिलित छन । 

२००५ मा प्रधानमन्त्री मनमोहन सिंहले जेएनयू भ्रमण गर्दा संदीपले कालो झण्डा देखाएका थिए । २००७ मा उनी जेएनयू विद्यार्थी संघको अध्यक्ष निर्वाचित भएका थिए । सन्दीप केही समयका लागि अन्ना हजारेको आन्दोलनसँग पनि जोडिएका थिए ।

२०१७ मा कांग्रेस निकट आएपछि उनले राहुल गान्धीका भाषण लेख्न थाले । गरीबको समर्थन र कर्पोरेट जगतका विरोधमा बोलिने राहुलका वक्तब्यका पछाडि संदीप कै दिमाग हुने गर्छ ।