सिँजामा  सामूहिक जडिबुटी खेती

सिँजामा  सामूहिक जडिबुटी खेती

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन २७, २०७७

जुम्ला । जुम्लाको सिँजा गाउँपालिका – ६ का युवाले सामूहिक जडिबुटी खेती गर्न थालेका छन् । सो वडाको माझखर्क जङ्गलका बीचमा उनीहरुले अत्तिस खेती गर्न थालेका हुन् । 

स्थानीयवासी लालबहादुर बुढाले गत वर्ष अत्तिसको बीउ बेचेरै  ६ लाख अम्दानी गरिएकामा यस वर्ष  १८ लाखसम्म आम्दानी हुने अनुमान गरिएको बताउनुभयो ।'अत्तिसको बीउ प्रतिकिलो रु ५० हजार र जरा रु दुई  हजारमा बिक्री हुने गरेको छ । पहिले भारतका गल्लीगल्लीमा घुम्ती व्यापारमा निस्कने ती युवा अहिले गाउँमै सामूहिक जडिबुटी खेतीलाई आम्दानीको स्रोत बनाइरहेका छन् ।

माझखर्क कृषि फर्म दर्ता गरेर अहिले चार हेक्टर जमीनमा जडिबुटी खेती गरिएकोे अर्का युवक नवीन बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, 'लोप हुँदै गएका अत्तिस, अक्करकाँडा, सुमयो, सतुवा, गन्नइनो, पाँचऔँले, पदमचाल, बायाँजडीलगायत गरी २६ प्रजातिका जडिबुटी  फर्ममा लगाएका छौँ । सबैभन्दा बढी अत्तिसको बीउ माग  भएको छ । पहिले नुन, तेल र खाद्यान्न कसरी जोहो गर्ने भन्ने पिरलो हुन्थ्यो, अहिले आम्दानीको स्रोत कसरी बढाउने भन्नेमै ध्यानकेन्द्रित हुने गरेको छ ।'
    
जुम्ला बहुमूल्य जडिबुटीको खानी भएकाले  सो उद्योगको विकास गर्न सके मात्रै यहाँका नागरिकको जीवन सुधार हुने भएकाले यसमा ध्यान दिन स्थानीय, प्रदेश  र सङ्घीय सरकारलाई युवाले आग्रह गरेका छन् ।
     
पहिले काला पहाडमा दिनभरि भारी बोक्दा मुश्किलले दैनिक ५०० कमाइ गर्ने युवाले गाउँमै बसी जटिबुटी खेती गर्न थालेपछि खुशी छाएको स्थानीयवासी मुनबहादुर बुढाले बताउनुभयो । सो जडिबुटी फर्मका लागि गत आर्थिक वर्षमा सिँजा गाउँपालिकाले  १० लाखमा भवन निर्माण गरिदिएको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले जानकारी दिनुभयो ।