प्रा.डा.खगेन्द्र लुइँटेलको 'बौद्धिक चोरी'मा डा.दैवकी देवीको पत्र: 'म जस्ता पीडितहरू अरु कति होलान् ?'

प्रा.डा.खगेन्द्र लुइँटेलको 'बौद्धिक चोरी'मा डा.दैवकी देवीको पत्र: 'म जस्ता पीडितहरू अरु कति होलान् ?'

सुनिता सूर्यबङ्शी  |  समाचार  |  आश्विन २७, २०७७

सम्पादक ज्यू

 लोकसंवादको समाचार पढेपछि गुवाहाटी विश्व विद्यालयको सन्दर्भका बारेमा केही कुरा स्पष्ट पार्नु परेको हुँदा यो पत्र तयार गरी पठाइएको छ । आशा छ उचित स्थान दिनु हुने नै छ । 

समाचार प्रति गएको हाम्रो ध्यान  

लोकसंवाद डटकममा २०७७ असोज १६ गते ‘प्राध्यापक खगेन्द्रप्रसाद लुइँटेलमाथि लज्जास्पद बौद्धिक चोरीका आरोपै आरोप’ शीर्षकमा सप्रमाण समाचार छापिएको विषयमा दैवकी देवी तिम्सिनाले पहिलो पटक समाजकि सञ्जाल फेसबुक मार्फत जानकारी दिनु भएपछि म लगायतले थाहा पाएका हौँ । नेपालको नेपाल प्रज्ञाप्रतिष्ठाने प्राध्यापक खगेन्द्रप्रसाद लुइँटेलमाथि छानबिनको लागि समिति नै बनाएको कुरा पनि तपाईँको अनलाइनबाट अवगत भयो । 

यसैबिच प्राध्यापक खगेन्द्रप्रसाद लुइँटेलले पनि उक्त समाचार झुटो भएको भनी लामो खण्डन तयार गरेर पठाउनु भएको रहेछ त्यसलाई पनि लोकसंवादले नै असोज २० गते मङ्गलवार प्रकाशन गरेको रहेछ । त्यो पनि पढ्न पाइयो । 

लोकसंवादले प्रकाशन गरेको र  लुइँटेललाई लागेका बौद्धिक चोरी र ठगीका थुप्रै आरोप अरूको बारेमा मलाई थाहा छैन । तर त्यहाँ प्रकाशन भएका मध्ये गुवाहाटी विश्व विद्यालयमा नेपाली विषयको स्तातकोत्तर तहको पाठ्यपुस्तक लेखनका क्रममा गरेका बदमासी र ठगीको कुरा पनि उल्लेख भएको विषयमा शिक्षक तथा विद्यार्थीको ध्यान गएको छ ।  

लुइँटेलले आफ्नो ‘खण्डन तथा स्पष्टोक्ति’मा उक्त विश्वविद्यालयमा आफूले आफ्नो नेतृत्वमा नेपाली विषयका २१ वटा पाठ्यपुस्तक तयार पारेको र आफूले विदेशमा समेत नेपाली भाषाको श्रीवृद्धि गर्ने पुण्य कार्य गरेको उल्लेख गरेका पाइयो। साथै लुइँटेलले कुनै पनि विश्वविद्यालय अन्तर्गत नपढाउने र पाठ्यपुस्तक लेखनका निम्ति कुनै ज्ञान र आधिकारिकता नभएकी आफ्नी श्रीमती लीला लुइँटेललाई समेत विज्ञ बनाई पाठ्यपुस्तक लेखनमा लगाएको र रकम झ्वाम पारेको भन्ने कुराको खण्डन गर्दै स्पष्टोक्तिमा आफ्नी श्रीमती लीलाको लेखकीय योगदान भएकैले उनका कृतिहरू समेत गुवाहाटी र उत्तरबङ्ग विश्वविद्यालयका पाठ्यक्रममा समावेश भएको उल्लेख गरिएको छ । 

लुइँटेलले आफ्नी श्रीमती लीला विज्ञ नै भएकाले पाठ्यपुस्तक लेखनमा जिम्मेवारी पाएको जिकिर प्रस्तुत गर्दै  र उक्त खण्डनमा लुइँटेलले यी सबै कुराको सत्य तथ्य गुवाहाटी विश्वविद्यालयमा बुझ्न पनि अनुरोध गरिएको छ ।  यस सम्बन्धमा उक्त समाचार पढेपछि  आसाम तेजपुरको सतिया कलेजमा पढाउने, नेपाली भाषामा त्रिभुवन विश्वविद्यालयबाट पिएचडी गरेकी र प्राध्यापक लुइँटेलसँगै पाठ्यपुस्तक लेखनको टिममा रहेकी डा.दैवकी देवी तिम्सिनाले लोकसंवादलाई लिखित पत्र पठाएको जानकारी दिनुभएको छ । यसरी लोकसंवादलाई पठाएको पत्र एक प्रति म लगायतका साथीहरूलाई उपलब्ध गराउनु भएको छ ।

डा.दैवकी देवीको पत्रको सम्पादकलाई पत्र

डा. दैवकी देवी तिम्सिनाले उपलब्ध गराएको पत्रले कसरी उहाँ बौद्धिक चोरी र ठगी गर्नु हुन्थ्यो भन्ने बारेमा स्पष्ट हुन्छ । जुन पत्र यस प्रकार रहेको छ ।

  

 म लगायतका साथीहरूले डा. दैबकी देबीको साथमा गुवाहाटी विश्वविद्यालयमा बुझ्दा निम्न लिखित तथ्यहरू  फेला परेको जानकारी  गराउन चाहन्छौ । 

‘खण्डन तथा स्पष्टोक्ति’ माथि तथ्य आफै बाेल्छ

विश्वविद्यालयले दिएको जानकारी अनुसार गुवाहाटी विश्वविद्यालयको नेपाली पाठ्यपुस्तक लेखनको नेतृत्व खगेन्द्रप्रसाद लुइँटेलले गरेका र त्यसमा श्रीमतीलाई विज्ञ बनाई पाठ्यपुस्तक लेखनमा समावेश गरी माथि उल्लिखित दैवकी देवीले लेखेको पाठ्यांश लीलाका नाममा छपाई बौद्धिक ठगी गर्नुका साथै लीलाका कृतिहरू समेत दम्पती मिलेर पाठ्यपुस्तकमा राखिएको हो । लीला लुइँटेललाई नेपालको कुनै क्याम्पसमा पढाइरहेको देखाउनलाई बी क्याम्पस, काठमाडौँ लेखी विश्वविद्यालयलाई गुमराहमा पारेको साथै स्वयं खगेन्द्रप्रसाद लुइँटेलले आफू त्रिविको प्राध्यापक भइसकेको भनी सन् २०१० मा प्रकाशन भएका सबै पाठ्यपुस्तकमा प्रोफेसर लेखी विश्वविद्यालयलाई झुक्काएको विश्वविद्यालयको आधिकारिक स्रोतले बताएको छ । काठमाडौँमा बी क्याम्पस  नामको कुनै क्याम्पस नै छैन । तलको करभमा उनले प्रोफेसर लेखेको र लीला लुइँटेलको पढाउने क्याम्पस बी क्याम्पस लेखेको प्रस्टसँग देख्न सकिन्छ । 

विश्वविद्यालयको स्रोतले भन्यो– हामीलाई उहाँले प्राध्यापक हुँ भनेर लेख्न लगाउनुभयो तर उहाँ त्यस बेला प्राध्यापक हुनुहुँदो रहेनछ । पछि बुझ्दा हुँदा २०७० सालमा मात्र प्राध्यापक हुनुभएको रहेछ । लोकसंवादले डा. दैवकी देवीको उक्त पत्रका सम्बन्धमा पनि उल्लिखित प्रसिद्ध साहित्यकार नव सापकोटासँग बुझ्दा उहाँले मेरा बारेमा दैवकी देवीले नै लेख्नुभएको तर पाठ्यपुस्तकमा चाहिँ लीलाको नाम छापिएर आएको कुरा सत्य भएको बताउनु भयो । 

यसरी नै गुवाहाटी विश्वविद्यालयको नेपाली विभागका  अनुसार दूर तथा खुला शिक्षा अध्ययन संस्थानको नेपाली एम. ए.का विभिन्न पत्रका पाठ्यपुस्तकमा समावेश भएका सामग्री अनधिकृत रूपमा स्वयं खगेन्द्र लुइँटेलले नेपालको पैरवी प्रकाशनबाट प्रकाशित भएका नाट्य समालोचना, निबन्ध समालोचना र काव्य समालोचना नामका कृतिमा हुबहु राखी प्रकाशन गरेर बौद्धिक बेइमानी गर्नुभएको विषयमा यसभन्दा पहिला नै लिखित जानकारी आएको छ । लुइँटेलबाट विश्वविद्यालय नै  ठगिएको र तत्कालीन विभाग प्रमुखले दुःख व्यक्त गरिसकेको जानकारी दिएको छ । 

म लगायतका साथीहरू उत्तरबङ्ग विश्वविद्यालयसँग पनि सम्पर्क गरिरहेको छौँ र त्यहाँ भएका पनि यस किसिमका प्राध्यापक लुइँटेलका बौद्धिक ठगी धन्दाका कुराहरू भएको जानकारी नेपाली विषयका प्रध्यापकहरुले जानकारी दिनु भएको छ । प्राप्त हुनासाथ सप्रमाण  उपलब्ध गराइने छ । उचित स्थान दिनुहुनेछ । 

गुवाहाटी, आसाम 

याे पनि 

प्राध्यापक खगेन्द्र लुइँटेल माथि लज्जास्पद 'बौद्धिक चोरी' का आरोपै-आराेप !

लोकस‌ंवाद प्रभाव : प्रज्ञा–प्रतिष्ठानद्वारा प्राध्यापक खगेन्द्र लुइँटेले 'बौद्धिक चोरी' का बारेमा छानबिन समिति बनायो

प्राध्यापक खगेन्द्र लुइटेलको स्पष्टोक्ति : पर्दापछाडि बसेर समाचार लेख्नेको जन्म कुण्डली बाहिर ल्याउन बाध्य नपारियाेस

'बौद्धिक चोरी' को समाचारमा टिप्पणीको प्रतिटिप्पणी : केहीको चित्त फाट्यो, केहीको हड्डी हाँस्यो