महोत्तरीका २५ वर्षीय सङ्क्रमित युवकको मृत्यु

महोत्तरीका  २५ वर्षीय   सङ्क्रमित युवकको मृत्यु

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन २८, २०७७

महोत्तरी । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा कोभिड–१९ को सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ चाँदनीचोक बस्ने २५ वर्षीय युवक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताउनुभयो ।

मिर्गौला रोगका बिरामी रहेका ती युवकलाई असोज २२ गते भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्र जोरपाटीमा उपचार गर्ने क्रममा २३ गते पिसीआर परीक्षण गर्दा २६ गते उनी कोरोना पोजेटिभ भएका थिए । कोरोना पोजेटिभ युवक सिकिस्त बिरामी भएपछि म¬ङ्गलबार उनको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुर तथा नेपाली सेनाले उनको शव पशुपति आर्यघाटमा व्यवस्थापन गरेको जनाइएको छ । युवकको मृत्युसँगै महोत्तरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।