केराले सहज बजार पाएपछि किसान खुशी

केराले सहज बजार पाएपछि किसान खुशी

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन २८, २०७७

कैलाली । लकडाउनमा उत्पादित केरा बिक्री नभएर घाटा व्यहोरेका कैलालीका किसान सहजै बजार पाएपछि यतिखेर भने खुशी छन् । लामो समय बजार बन्द हुँदा बारीमै केरा सडाएका किसान बजार खुलेपछि धमाधम केरा बजार पठाउन थालेका हुन् । टीकापुरबाट दैनिक १० ट्रकसम्म केरा अन्य जिल्लामा जाने गरेको छ । भारतीय केरा नेपाली बजारमा आउन नपाएपछि नेपाली केराले राम्रो बजार पाएको केरा व्यवसायी बताउँछन् ।

'यो समय राम्रो केरा उत्पादन हुने समय हो । यतिखेर केराले बजार पाएमा किसानले राम्रो आम्दानी लिन सक्छन्', केरा व्यवसायी शेरबहादुर साउदले भन्नुभयो, 'लकडाउनको पाँच महिना घाटा भयो । त्यो घाटा अहिले पूर्ति गर्ने सोचले हामी ढुक्क भएका छौँ । अहिले केरा धमाधम गइरहेको छ ।'

अघिल्ला वर्षजस्तो व्यापार नभए पनि अहिलेको अवस्थाअनुसार राम्रै व्यापार भइरहेको साउदले बताउनुभयो । 'विगतमा भारतीय केराले बजार ढाक्थ्यो, हाम्रो उत्पादनले मूल्य पाउन कठिन हुन्थ्यो', साउदले भन्नुभयो, 'यस वर्ष बजार पनि पाइएको छ र मूल्य पनि पाउन सहज भएको छ । सबै बजार नेपाली केराले ओगटेको छ ।'

अहिले केरा व्यवसायीको बारीबाटै प्रतिदर्जन ३५ देखि ४० रुपैयाँ मा र किलोका हिसाबमा बिक्री गर्ने व्यवसायीले प्रतिकिलो २० देखि २४ रुपैयाँ मा काँचो केरा बेचिरहेका छन् । आफूले सोचेअनुसार केराको व्यापार गर्न नसके पनि अहिलेको समयअनुसार यो मूल्य राम्रै भएको अर्का केरा व्यवसायी नेपबहादुर चौधरीले बताउनुभयो । 'लकडाउनको समयमा मैले पनि लाखौँको घाटा व्यहोरे, पाकेका केरा बारीमै सडे', चौधरीले भन्नुभयो, 'त्यो बेला बिक्री नभएका केरा क्वारेन्टिनमा बसेका नागरिकलाई बाँडे, अहिले व्यापार राम्रो छ ।'

कोरोना भाइरस सङ्क्रमणको जोखिमपछि भारतबाट आउने केरा सजिलै आउन सकेको छैन । सरकारले पनि भन्सारमा कडाइ गरेका कारण यहाँका केराले बजार पाएको केरा व्यवसायी विनोदकुमार शाह बताउनुहुन्छ । 'भन्सारमा कडाइ गरिँदा नेपाली केरा किसानले राहत पाए, लकडाउनमा मेरो त करोडौं घाटा भयो, अहिले चित्त बुझेको छ', शाह भन्नुहुन्छ, 'अहिले दैनिक छ ट्रकसम्म केरा बाहिरी जिल्ला जाने गरेको छ ।'

कैलालीमा उत्पादन भएको केरा सुदूरपश्चिमका पहाडी जिल्लालगायत नेपालका ठूला शहर सुर्खेत, नेपालगञ्ज, बुटवल, पोखरा, काठमाडाैंसम्म निर्यात हुने गरेको छ । अहिले उत्पादन भएको केरा बजारमा पठाउने समय हो । चैतमा उत्पादन भएका केरा बजार पठाउने समयमा लकडाउनका कारण घाटा व्यहोरेका केरा व्यवसायी अहिले पनि लकडाउनको हल्लाले चिन्तित भएका छन् । 'दैनिक छ ट्रक केरा बाहिरी जिल्ला जान्छ, लकडाउन भए हामी त बर्बाद हुन्छौँ', व्यवसायी शाहले भन्नुभयो, 'अब बजार, यातायात बन्दजस्ता कार्य गर्नुहुन्न । अब कृषि नै अर्थतन्त्रको आधार हो । कृषिका लागि सहज वातावरण चाहिन्छ ।'

केरा व्यवसायी सङ्घ कैलालीकाअनुसार कैलालीमा एक हजार हेक्टर जमिनमा केराखेती भइरहेको छ । एक हजार हेक्टरमध्ये रानी जमरा, कुलरिया सिँचाइ आयोजनाको कमाण्ड क्षेत्रमा मात्र ७५० हेक्टरमा केराखेती भइरहेको छ ।